त्यो भुइँचालो, यो भुइँचालो

E-mail Print
(0 votes, average 0 out of 5)

किशोर नेपाल
- ठूलो भुइँचालो गएको २३ वर्षपछि फेरि गयो भुइँचालो। २०४५ सालमा पनि पूर्वबाटै सुरु भएको थियो भुइँचालो। २०६८ सालमा पनि पूर्बवाटै सुरु भयो। त्यतिबेला भुइँचालो भदौले छुनासाथ गएको थियो, हजार मरेका थिए, धरान ध्वस्त भएको थियो। बेलायती सरकारले हर्क्युलिस जहाजमार्फत उद्धार सामग्री पठाएर नेपालीको घाउमा मल्हमपट्टी लगाएको थियो।
 
यो पटक असोजले छोएपछि गयो भुइँचालो। धेरैले ज्यान गुमाउनु परेन। राजधानीमा भुइँचालोले भत्काएको बेलायती दूतावासको पर्खालले थिचेर मानिस हताहत भएको घटना अनौठो बन्यो। भुइँचालो जानेबित्तिकै दूतावासले क्षतिपूर्ति नदिएकोमा मानिसका गुनासा सुनिए। पत्रकारका कलम ताते। मानिसको ज्यान र क्षतिपूर्तिबीच बढ्दै गएको सम्बन्ध घनिष्ठ भयो। बबुरो नेपाली मानिस पनि कारखानावाट उत्पादित एउटा वस्तु नै त हो, जो बाँचुन्जेल जीव हुन्छ र मरेपछि क्षतिपूर्तिको चोलामा भेटिन्छ।


तेइस वर्षअघिको भुइँचालोमा मरीचमानसिंह श्रेष्ठ प्रधानमन्त्री हुनुहुन्थ्यो। अहिलेको भुइँचालोमा बाबुराम भट्टराई हुनुहुन्छ र अमेरिकाको न्युयोर्कमा ह्यामबर्गर र कोक खाँदै हुनुहुन्छ। भुइँचालो गइसकेपछि देश सम्हाल्ने सबै ठूलाबडाको चेतनामा ह्वात्तै अभिवृद्धि भएकाले उहाँ ढुक्क हुनुहुन्छ। राजधानीका ८० प्रतिशत घर भूकम्प निरोधक नभएकोमा चिन्ता जाहेर गरिँदैछ। अन्यत्रका घरहरू के कस्ता छन्? ती थाहा पाइराख्नुपर्ने कुरै होइनन्। छड र सिमेन्ट कम्पनीहरूले नामुद कलाकारमार्फत आफ्नो उत्पादनका निर्माण सामग्रीको प्रयोग गरेर भूकम्प प्रतिरोधक घर बनाउने आह्वान प्रसारिण गरिरहेका छन्।

नेपाली सिनेमाका अमिताभ बच्चन, परेश रावल र जानी लिभरहरू विभिन्न ब्रान्डका निर्माण सामग्रीका पक्षमा उपभोक्तालाई आकर्षित गरेर चम्किरहेका छन्। कुन निर्माण सामग्रीको वास्तविक औकात के हो? जान्ने चेष्टा गर्नै परेको छैन। भुइँचालो सधैँ आउने कुरा त हुँदै होइन। अब २५/३० वर्ष त्यो पक्कै आउँदैन। पच्चीसतीस वर्षपछि आउनसक्ने विपत्तिका बारे अहिले नै किन चिन्ता गर्नु र? त्यतिबेलाको चिन्ता त्यतिबेलाकै मानिसले गरून्। हुनेखाने, जान्नेबुझ्ने र धनीमानीका लागि देश एउटा डेराभन्दा बढी केही होइन। डेराको चिन्ता गरेर टाउको दुखाउनै पर्दैन। डेरावाललाई घरको के चिन्ता?

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार