Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 19th

भलिबल सुन्दरीहरू

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज घर्तीमगर- सानो चौरमा खेल्न सकिने भलिबल नेपालको लोकप्रिय खेल हो। अझ महिला भलिबललाई खेलप्रेमीले बढी माया गरेका छन्। नेपाली महिला भलिबलमा लामो समयदेखि पोखरेली टिमको वर्चस्व रहँदै आएको छ। नेपाल पुलिस क्लब र पोखराको ज्ञानुबाबा उच्च मावि भलिबलका बलिया टिम हुन्। नेपालमा हुने विभिन्न पोखरेली टिम सधैँ आफ्नो दबदबा कायम राख्न सफल हुने गरेको छ।

ठूलो धनराशि पुरस्कार भएका नेपालमा हुने महिला भलिबल प्रतियोगितामा पोखरेली टिमले सबैलाई पछि पारेको छ। जिफोर स्पोटर्स क्लबले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल, ढोरपाटन ब्लु स्काई कप महिला भलिबल डबल लिग, राष्ट्रिय महिला भलिबल मात्रै हैन, राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पोखरेली टिम अग्रणी हुने गरेको छ। ढोरपाटन ब्लु स्काई कप महिला भलिबल डबल लिग पोखराको ज्ञानुबाबाले पाँचपटक जितिसकेको छ। पोखरेली टिम तीनपटक राष्ट्रिय च्याम्पियन भइसकेको छ। 'नेपाली महिला भलिबलमा पोखराको निकै ठूलो योगदान छ,' पश्चिमाञ्चल भलिबल संघका सचिव डिबी नेपाली भन्छन्, 'अन्तर्राष्ट्रियस्तरमा बेला बेला खेल्ने अवसर पाउने हो भने पोखराको टिमले नेपाललाई विश्वमै चिनाउनेछ।' भलिबलमा जमेका पोखरेली चेली थुप्रै छन्। यीमध्ये मञ्जु, सिपोरा र परीक्षा गुरुङ सर्वाधिक चर्चित छन्।
एयर होस्टेस बन्ने सपना बोकेकी मञ्जुको सपना अहिले भलिबलले दिएका मान र सम्मानले बदलिदिएको छ। 'एयर होस्टेस बनेको भए मलाई निकै कम मानिसले चिन्थे,' उनी भन्छिन्, 'भलिबलले मलाई आत्मसम्मान मात्रै दिएको छैन, पोखरा चिनाउने अवसर पनि दिएको छ।' नौ वर्षकै उमेरदेखि भलिबल प्रतियोगितामा भाग लिन थालेकी मञ्जुको यात्रा अहिले सार्कस्तरसम्म पुगिसकेको छ। सुरुमा भलिबल खेल्दा घरपरिवारले पढाइ बिग्रन्छ भनेर उनलाई खेल्न नदिन निकै कसरत गरेको थियो तर भलिबलको नसाले उनलाई भलिबल खेलाडी बनाइछाड्यो। मञ्जु अध्ययनरत ज्ञानुबाबा उच्च माविले पनि उनलाई भलिबल खेल्न निकै हौस्यायो। उसो त भलिबलका राष्ट्रिय खेलाडी दाजु विक्रम गुरुङबाट पनि उनले निकै प्रेरणा पाइन्। पछिल्लो पटक दसौँ सार्क गेममा सहभागिता जनाएकी मञ्जुले आफ्नो टिमलाई तेस्रो बनाइन्। त्यतिबेला उनी क्याप्टेन थिइन्। दर्जनौँ संघसंस्थाले गरेको सम्मानको उनले हिसाबकिताब राख्न सकेकी छैनन्।

राष्ट्रिय पहिचान बनाएकी अर्की खेलाडी हुन् सिपोरा गुरुङ। उनले नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित बजाज पल्सर स्पोर्ट्स अवार्डमा पपुलर प्लेयर अफ दि इयरको उपाधि जितेकी छिन्। उनी राष्ट्रिय भलिबलमा तीनपटक पश्चिमाञ्चल च्याम्पियन भइसकेकी छिन्। सिपोरा ११ वर्षको कलिलो उमेरमै १०औँ साउथ एसियन गेममा सहभागी भएकी थिइन्। उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सबैभन्दा कम उमेरकी नेपाली भलिबल खेलाडी हुन्।

राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी सिपोरा पटक पटक उत्कृष्ट खेलाडी घोषित भइसकेकी छिन्। उनी बेस्ट स्पाइकरका रूपमा सुपरिचित छिन्। हालसम्म उनले ५० भन्दा बढी पदक पाइसकेकी छिन्। 'यतिको सफलता पाइएला भन्ने कल्पनै गरेको थिइनँ,' सिपोरा भन्छिन्, 'मान्छेको मन लोभी हुँदो रहेछ, योभन्दा राम्रो गरौँ भनेर यहाँसम्म आइपुगेको छु।'

मञ्जु र सिपोरासँगै भलिबलमा आफ्नो पहिचान बनाएकी अर्की चर्चित खेलाडी हुन् परीक्षा गुरुङ। पोखरा-२, मिरुवाकी उनी पनि भलिबलकी स्टार हुन्। ढोरपाटन कपमा २०६७ सालमा टिभिएस प्लेयर अफ दि इअर भएर पुरस्कारस्वरूप स्कुटी हात पारेपछि उनको चर्चा बढेको हो। पुरस्कार पाएको त्यही स्कुटीमा उनी अहिले हुइँकिरहेकी छिन्। उनी पनि विपक्षी कोर्टमा सर्ट हान्न माहिर छिन्।

सुरुमा घर परिवारले पढाइ विगारेर भलिबल खेल्ने भन्दै हप्काउँदा उनी निकै दुखी हुन्थिन्। तर अहिले उनको सफलता देखेर घरपरिवार समेत खुसी छन्। १८ वर्षीया परीक्षाले खेलसँगै पढाइलाई पनि अघि बढाएकी छिन्। उनी अहिले बिबिए प्रथम वर्षमा अध्ययनरत छिन्। खेलकुद परिषद्ले प्रतिभा भएका खेलाडीलाई विदेशमा खेल्ने अवसर नदिएको उनको गुनासो छ। 'अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपाललाई पदक दिलाउने इच्छा छ,' उनी भन्छिन्।
भलिबलमा अर्को परिचित नाम हो, मान्ति आलेमगर। कक्षा ७ मा पढ्दै गर्दा २०६३ सालदेखि भलिबल खेल्न थालेको उनी डिफेन्समा निकै जमेकी खेलाडी हुन्। पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरालाई च्याम्पियन बनाउन मान्तिको पनि ठूलो योगदान छ। 'खेलेर राम्रै गरेको जस्तो लाग्छ,' उनी भन्छिन्,'म भलिबललाई निरन्तरता दिनेछु।'

पोखरामा थुप्रै प्रतिभाशाली भलिबल खेलाडी छन्। अरुणा शाही, खुसी खड्का, एकिना गुरुङ, लक्ष्मी गुरुङ, होमकुमारी पुन, सरस्वती चौधरी, सञ्जु पुर्जामगर, देवीखान ठकुरी, हिरा केसी, अञ्जु मगर, रञ्जनाखान ठकुरी, कमला पौडेललगायत दर्जनौँ भलिबल खेलाडी पोखराकै पुत्री हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार