किरा परोस् नारा नकारात्मक छः अख्तियार सचिव भगवतीकुमार काफ्ले

E-mail Print
(0 votes, average 0 out of 5)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने संविधानप्रदत्त अधिकार छ। झन्डै दुई वर्षदेखि आयोगका प्रमुख आयुक्तको समेत जिम्मेवारी सम्हालेका सचिव भगवतीकुमार काफ्ले भ्रष्टाचारविरोधी अभियानका अधिकारकर्मीझैं मैदानमा ओर्लिएका छन्। उनको काम भ्रष्टाचार अनुसन्धान गरी मुद्दा दायर गर्नु हो कि सडकमा नाराबाजी गर्नु? नागरिकका किरण भण्डारीले गरेको कुराकानी :

'भ्रष्टाचारीलाई किरा परोस्' लेखिएका टिसर्ट सबै सचिवलाई लगाइदिनुभयो !
- मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामेश्वर खनालहरूले भ्रष्टाचारविरोधी अभियान चलाउनुभएको रहेछ। उहाँहरूले आन्दोलन सशक्त बनाउन सहयोग माग्नुभयो। हामी पनि विगतदेखि भ्रष्टाचार रोकथाममा प्रचारात्मक अभियान चलाइरहेकै छौं। नारा र अभियन्ताहरू चित्त बुझेर सहकार्य गरेका हौं।

कानुनी शासन स्थापना गर्ने ओहोदामा बसेर 'किरा परोस्' भन्ने नारामा के आकर्षण देख्नुभयो?
- हामीमा धार्मिक विश्वास पनि छ। वरत्र मात्र हैन, परत्र पनि सुधार्नुपर्छ भन्ने धारणा मनमा दह्रोसँग गढेको छ। मरण राम्रो होस्, प्राणले सजिलै शरीर छाडेर जाओस् भन्ने रहर सबैमा हुन्छ। त्यसका लागि पुण्य कमाउनुपर्छ। यो नाराले भ्रष्टाचार गरे मरण राम्रो नहोला भन्ने त्रास पैदा गर्ने भएकाले ठिक लागेको हो।

शासनलाई भ्रष्टाचारयुक्त बनाउने कि मुक्त भन्ने मुख्य भूमिका सचिवहरूकै हो। उनीहरूले कर्त्तव्य पूरा गरे टिसर्ट लगाइरहनुपर्ला?
- सचिवहरू काबिल भए नीतिगतबाहेक अरू सबै भ्रष्टाचार रोक्न सकिन्छ। असी प्रतिशत भ्रष्टाचार कम हुन्छ। त्यसैले उनीहरूलाई कर्तव्य पालन गर्न डर, त्रास र उत्प्रेरणा मिलोस् भनेर टिसर्ट लगाइदिएका हौं।

आधुनिक राज्य व्यवस्थामा कानुनले नै दण्ड दिन्छ। त्यसको ग्यारेन्टी गर्ने जिम्मा तपाईंहरूको पनि हो। त्यता आँखा चिम्लने, अनि उच्च अधिकारीले नै श्राप दिँदै हिँड्न सुहाउँछ?
- यो नारा आध्यात्मिक विश्वासका आधारमा लेखिएको छ। भौतिकवादी हिसाबले बनाए राम्रो हुन्थ्यो भनेर प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सुझाव दिनुभएको थियो। हामीले बनाएको नारा पनि हैन। बिबिसी नेपाली सेवाका पत्रकार रवीन्द्र मिश्रले नै अगुवाइ गरिरहेकाले हामीले पनि ठिकै होला भन्ठानेका हौं। हाम्रा आफ्नै नारा छँदै थिए। भ्रष्टाचारमा शून्य सहनशीलताको विकास, भ्रष्टाचारीको चुह्लोचौका बारौं, भ्रष्टाचारीलाई बहिष्कार गरौं, भ्रष्टाचारीसँग लिनेदिने नगरौं भन्ने नारा छन्। त्योभन्दा यो प्रभावकारी होला भन्ने ठानेर समर्थन गरेका हौं।

यो नारा सभ्य छ कि छैन?
- त्यसो त, भन्नैपर्दा सकारात्मक भन्दा नकारात्मक छ।

बाइस महिनादेखि अख्तियारको प्रमुख आयुक्त तपाईं नै हुनुहुन्छ। अख्तियारलाई भ्रष्टाचारशून्य बनाउनुभयो?
- हामीले भित्रै पनि शून्य सहनशीलताको नीति लिएका छौं। तैपनि अख्तियारकै अधिकारीले पैसा मागे भन्ने गुनासो यदाकदा सुन्नुपर्छ। त्यस्तोमा हामी तुरुन्त छानबिन थालिहाल्छौँ। अख्तियारमा रहेका पाँचवटै कर्मचारी संगठनले पनि हाम्रो काम हेरिरहेकै छन्। कुनै केसमा पैसा मागियो भनेर कोही आए हामी छानबिन थालिहाल्छौं।

अख्तियारको अधिकार व्यापक र जिम्मेवारी ठूलो छ। त्यो हासिल गर्न तपाईंसँग सदाचारमा अब्बल कर्मचारी छन्?
- त्यो म भन्न सक्दिनँ। कर्मचारी छनौट गर्ने अधिकार हामीलाई छैन। निजामति, प्रहरी र अरू सरकारी निकायका कर्मचारीलाई ल्याएर हामीले काम लगाउने हो। त्यसैले हाम्रा कर्मचारीमा पनि खोट हुन सक्छ।

३१ वर्षको निजामति करिअरमा तपाईं सधैं भ्रष्टाचारप्रति शून्य सहनशील रहनुभयो?
- जानाजान दुःख दिने नियतले काम गरिनँ। भ्रष्टाचारको नियत राखेर काम गरिनँ भनी दाबीका साथ भन्न सक्छु।

त्रिभुवन विमानस्थलमा भन्सार प्रमुख हुँदा पनि तलब मात्र थाप्नुभयो?
- भ्रष्टाचार गरिनँ। यो मेरो चुनौती नै भयो।

भन्सारमा पनि ओभानै रहनुभयो?
- म हाकिम भएर जाँदा वार्षिक ७० करोड राजस्व उठ्थ्यो। त्यसलाई दुई वर्ष नपुग्दै १ अर्ब ४० करोड पुर्‍याएँ। भन्सार बुझेकालाई सोध्नुस्, १८ वर्षपहिला मैले जे सुधार गरेँ, अहिलेसम्म विमानस्थल त्यहीँ छ।

तपाईंका भन्सार अधिकृत र कर्मचारीले पनि सुख्खा तलबमै काम गरे?
- कर्मचारीहरू दुधले नुहाएका थिए भन्न सक्दिनँ। इतिहासमै बढी सुन समातियो। तस्करीको लाइन बन्द भयो। एकैपटकमा चार/पाँच सय किलो सुन समात्यौं। यी कारणले राजस्व बढ्यो। राम्रो गरे भन्ने प्रमाण यिनै हुन्।

भन्सार, कर वा अरू कार्यालयमा राजस्व बढ्नुलाई भ्रष्टाचार नियन्त्रण भएको शतप्रतिशत प्रमाण मान्न सकिन्छ?
- यो मात्रै आधार त हुँदैन। तर भ्रष्टाचार र राजस्वको सम्बन्ध छ। भ्रष्टाचार ह्वात्तै बढ्यो भने त राजस्व घटिहाल्छ नि।

सरकारको काम हेरिरहनुभएको छ। अख्तियार प्रांगणमा भ्रष्टाचारविरोधी टिसर्ट लगाएका सचिवहरू कार्यकक्षमा कति सदाचारी छन्?
- उहाँहरूले कानुनले दिएको अधिकार राम्रोसँग प्रयोग गर्न नसकेको अवस्था छ। म कसैको नाम तोक्न चाहन्नँ। सुशासन ऐनले सचिवहरूलाई प्रशस्त अधिकार दिएको छ। तर उहाँहरूले विवेकशील र पारदर्शी हिसाबले प्रयोग गर्न सक्नुभएको छैन।

सुशासन ऐन वा अरू कानुनले दिएको अधिकार प्रयोग गर्नसक्ने योग्यता, क्षमता र साहस भएका सचिव कोही छैनन्?
- मुख्य सचिवले सरुवा वा काज सबैभन्दा ठूलो विकृति हो भनेर पटकपटक सचिवहरूलाई भनिरहनुभएको छ। मन्त्रीको दबाबमा जथाभावी काज सरुवा नगर्न पनि निर्देशन दिइरहनुभएको छ। मन्त्रीहरूको बढी रुचि रहने जिल्लास्तरीय कार्यालय प्रमुख, अधिकृत र सहायक कर्मचारी सरुवाको अधिकार सचिवकै हो। तर, मन्त्रीको अनुचित दबाब नटेर्ने हिम्मत एकदम कममा देखिएको छ।

यो टिसर्ट लगाएपछि अब उहाँहरूका सबै खोटमा एकैचोटि क्षमता झल्किएला त?
- सबै सचिव इमानदार छन् भनेर म भन्दिनँ, तर उनीहरूले टिसर्ट लगाएर सुधि्रने प्रण गरेका छन्। तँ भ्रष्टाचारी होस्, सुध्रनै पाउन्नस् भन्ने कि मौका दिने? हामीले दोस्रो उपाय रोज्यौं। निश्चय नै राम्रो रिजल्ट आउला।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय