Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th
Home ब्लग ब्लग कविता रिपोर्टिङ

कविता रिपोर्टिङ

E-mail Print
(0 votes, average 0 out of 5)
बुकवर्म ट्रस्टले आयोजना गरेको एनसेल नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको अन्तिम सत्र युवा लेखकमा केन्द्रित थियो। सहभागी थिए- मनु मन्जिल, राजन मुकारुङ, मनिषा गौचन र युग पाठक। बहसकर्ता झलक सुवेदी मनुप्रति जिज्ञासु भए, 'बाँकी तीनजना उपन्यासमा छिरिसके, तपाईं कविका रूपमा यहाँ एक्लै हुनुहुन्छ।'

मनुको गहुँगोरो आत्मविश्वासबाट अर्थ लाग्थ्यो- हो, कविका रूपमा म एक्लै छु। तर मेरो सौभाग्य भनुँ वा दुर्भाग्य, कमसेकम म छु।
कविको हैसियत (हविगत?) साहित्यमा यस्तै छ। सुनिन्छ- विश्वसाहित्यमा पनि कविको अवस्था औसत छ।
कविबारे सहरमा थुपै आरोप छन्। चुट्किला पनि त्यत्तिकै। 'आकाशबाट पाँच छ थोपामात्रै पानी बर्सियो भने कम्तिमा एक थोपा कुनै कविको टाउकोमा खस्छ खस्छ,' कविका निरपेक्ष व्यंग्यकर्ताको टिप्पणी।
अर्को अभियोग- कवि हरपल गुनासो गरिरहन्छ। शान्ति छाएका बेला क्रान्तिको बिगुल फुक्छ। उथलपुथलका बेला शान्तिको भाकल गर्छ। सधैं असन्तुष्ट कवि। ऊ सधैं दुःखी।
कविको चेतना समयसँगै फेरिइसक्यो। तैपनि इतरकविहरू तिनलाई पुरानै विम्बमा हेर्न रुचाउँछन्। उदाहरणका लागि, तितो सत्य हास्य टेलिशृंखलामा एक कवि छन्, जो अहिलेका कविसँग पटक्कै मेल खाँदैनन्।
सञ्चारमाध्यम पनि कवि र कवितालाई खासै 'इन्टरटेन' गर्दैनन्। प्रकाशन गृहदेखि पसलेसम्म एउटै स्वर उराल्छन्- कविता बिक्दैन। तिनको अभिव्यक्ति सुन्दा यस्तो लाग्छ, मानौं कविताका पाठकको सर्वेक्षण गर्ने हो भने कविको जमानत जफत हुन्छ।
यतिका आरोप, उपेक्षा र तनावका बीच पनि कवि लेखेका लेख्यै छन्। किन?
किनभने, यस विधाको ताकतप्रति कवि अझै पनि आश्वस्त छन्। भन्छन्- कविता केमा छैन? सत्तामा पुग्नसमेत नेताले कविता भजाउने गरेकै हुन्। भूपी शेरचनको 'हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए' लाई २०४८ सालमा नेकपा एमालेले रिमिक्स गरेर भित्तामा लेखेको थियो, 'बन्दैन मुलुक कम्युनिस्टहरू सरकारमा नगए।'
पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाले गणतन्त्र घोषणा हुने दिन संसदमा बोलेका थिए, 'एक युगमा एक दिन एकचोटि आउँछ। त्यो एक युगमा आउने एक दिन आज हो।'
लेखनाथ पौडेलको दुहाइ दिँदै 'मै लाउँ्क, मै खाउँ्क सुखसयल वा मोज म गरूँ' भनी एकै पंक्तिमा जहानियाँ राणाशासनबारे सर्वसाधारणलाई बुझाउने गरिन्थ्यो। लक्ष्मीप्रसाद देवकोटाकृत 'मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन' लाई भेदभावरहित समाज बनाउन प्रयोग गरियो। ज्ञानेन्द्रको शासनलाई पत्रकारले 'कतै आफ्नो भुमरीमा आफैं पर्‍यौ कि' भनी आलोचना गरे।
माथिका कवितांशको वजन प्रमाणित भइसकेको छ। तिनले बहसकर्ताको तर्कलाई जहिले पनि बलियो पार्न सघाए। कविता कविताका लागि होइन, अरू नै उद्देश्यका लागि उपयोग गरिएको पनि साँचो हो। कविता घोकेर भाषण गर्ने नेताका लागि यो विधा सिंहदरबार वैद्यखानाको त्यस्तो औषधी हुनपुग्यो, जसको 'एक्सपायरी डेट' पनि तिनीहरू सिंहदरबार उक्लिएको दिन नै सकिन्छ। कवितालाई भर्‍याङ बनाइएका यस्ता अनेक दृष्टान्त छन्।
चुनावका नारा हुन् वा व्यापारिक संस्थानका विज्ञापन। धार्मिक ग्रन्थ हुन् वा नियोजित गाली। कविता कुनै न कुनै स्वरुपमा ल्याइएकै हुन्छ।
युवा लेखकको ध्यान आख्यानतिर मोडिदै गर्दा केही प्रभावशाली कवि जिम्मेवारीपूर्वक कविताका वकिल हुन कस्सिएका छन्। कविताको औचित्य अझै पनि नसकिएको र कहिले पनि नसकिने मिसिल तिनीहरूसँग छ।
व्यावसायिक प्रकाशन गृहको रुचि कवितामा बढ्दै गएको देखिन्छ। पछिल्लो एक सालयता श्रवण मुकारुङको बिसे नगर्चीको बयान, हरि अधिकारीको गार्मेन्टकी गायत्री, बुद्धिसागरका कविताहरू, नारायण श्रेष्ठको साक्षी, अनमोलमणिको सबुत बजारमा छन्। पुराना तर लोकप्रिय पोखरेली कविको संग्रह 'तीर्थ श्रेष्ठका कविता' को पाठकबीच राम्रै चर्चा छ।
इटहरीलाई डेटलाइन बनाएर कविता लेखिरहेका मनुको संग्रह 'ल्याम्पपोस्टबाट खसेको जून' फाइनप्रिन्टले छाप्दैछ। भुपिन व्याकुल आगामी संग्रह 'पागलको गीत' का लागि चितवनमै काव्यिक स्वरपरीक्षा दिँदैछन्। स्वर्गीय स्वप्निल स्मृति बौरिएको खबर छ। उनी नयाँ संग्रह 'बाडुली र सुदूर सम्झना' का लागि पक्लुङ हानिरहेका छन्।
प्रकाश सायमीले 'गालिबको चिहान र अरू कविता' सहित फेरि एकपटक कविको परिचयपत्र नवीकरण गरे। महेश पौड्याल प्रारम्भले 'डान्सिङ सोल अफ माउन्ट एभरेस्ट' नामक ३ सय ४० कविताको अंग्रेजी अनुवाद गरे। गोपालप्रसाद रिमालयताका प्रतिनिधि कविका कविताले प्रारम्भको अनुवादमार्फत रातो पासपोर्ट पाए। साहित्यको विश्व भ्रमणमा निस्कन तिनलाई छुट छ।
पछिल्लो समयमा कविता लेखेर मनग्गे चर्चा बटुलिरहेका उमेश अकिञ्चन 'मोनालिसा र मार्च ८' सहित बजारमा छन्। हालसालै नयाँ संग्रह नछापिए पनि मोेमिला, अभय श्रेष्ठ, मणि लोहनी, राजकुमार बानियाँ, टंक उप्रेती, ठाकुर बेलबासे, विप्लव ढकाल, राजन मुकारुङ, चन्द्रवीर तुम्वापो, पदम गौतम, राजकुमार केसी आदि कवि भएवापत नमस्कार भेटिरहेकै छन्। पाठकमाझ तिनका कविताको वर्चस्व अद्यापि स्थापित छ।
सगुन सुसाराको माङ्फुनको कायाकल्प, विष्णु सुुवेदीको बुढो माझी, सुधा त्रिपाठीको जिराहा वर्तमान, विक्रम काङ्भाको निसर्त प्रार्थना, सचित राईको अर्को भ्रम, धर्मेन्द्रविक्रम नेम्वाङको कवितासंग्रह 'भीरैभीरको रंग र अर्को संस्करण' लगायत संग्रह आएको आयै छन्। निबन्धझैं लाग्ने नेम्वाङको किताबको विधा भने झुक्किएर कविता भएजस्तो छ। जानकारीमा नआएका प्रकाशित कविको संख्या यसको चौब्बर बढी छ भनी यस्सै आकलन गर्न सकिन्छ। कविको तथ्यांकशास्त्र जान्न गाह्रो छ।
यति धेरै कविता कृति आइरहेका छन्। तैपनि बजारमा तिनको खास चहलपहल देखिन्न। वरिष्ठदेखि कनिष्ठ कविसम्मको बाध्यता उही छ- ठूलो झोलामा कविताका पुस्तक बोकेर सभागोष्ठी धाउनु, कविता संग्रह निशुल्क बाँड्नु र नमागीकनै अटोग्राफ दिनु।
साठीको दशक सकिनै लाग्यो। अझै पनि हामीकहाँ पुरानै मानक छन्। श्रवण मुकारुङले आफूलाई नयाँ ढलोटमा उभ्याउन मसी खर्चेको देखिन्छ। नत्र, अहिले पनि रोलमोडल कविको रोलकल बदलिएको छैन। उही पुरानै धरोहर- भूपि शेरचन, मोहन कोइराला, वैरागी काइँला।
'सरलतावादी'ले भूपिलाई महागुरु मान्छन्। भूपि, हरिभक्त कटुवाल, दिनेश अधिकारी आदि बुझिएकाले चर्चित छन्। मोहन र ईश्वर वल्लभ, कृष्णभक्त श्रेष्ठ आदि नबुझिएकाले। छन्दकवि पनि छन्। तिनीहरू नयाँ कविलाई छन्द न बन्दका मान्छन्। नयाँले पनि छन्दवालालाई खासै 'बाल' दिएको देखिएन।
जान्नेसुन्नेहरू भन्छन्, कविता सबैभन्दा बढी लेखिने र सबैभन्दा कम पढिने विधा हो। कविताका पाठक किन यति थोरै त?
श्रवणको तर्क छ, 'कवितालाई म पूर्वीय दर्शनले भनेको ब्रह्मनाद वा क्वान्टम फिजिक्सले भनेको डिभाइन साउन्ड भन्छु। आवाज सर्वत्र छ, तर सामान्य अवस्थामा सुन्न सकिँदैन। त्यसलाई सुन्न जो कोही विशेष अवस्थामा पुग्नैपर्छ।'
अंग्रेजी साहित्यमा रोमान्टिसिजम युग कविताले हाँकेको थियो। पहिलो चरणका स्वच्छन्दतावादी विलियम वर्डस्वर्थ, स्यामुयल टी कोलेरिज र विलियम ब्लेक। दोस्रो चरणका पिबी शेली, जोन किट्स किट्स र लर्ड बाइरन। त्यो दुइटै पुस्ता कवि थियो। अहिले पनि उत्तिकै महान मानिन्छन्।
बीसौं शताब्दीका कविले कवितामार्फत गरेको क्रान्तिको आह्वान सार्वकालिक छ। कविता क्रान्तिको औजार नै थियो। निकारागुआका नेता डेनियल ओर्टेगाको भनाइ यहाँ सान्दर्भिक छ, 'क्रान्तिकारी हुनलाई तपाईंले कवि बन्नैपर्छ, तपाईंले सपना देख्नैपर्छ।'
कविबारे दाहिने र देब्रे दुवैतिरबाट यति धेरै टिकाटिप्पणी भइरहेका छन्। यसैबीच पनि साठीको दशकका केही कवि पूरै आत्मविश्वाससाथ उभिएका छन्। मनु, भूपिन, उपेन्द्र सुब्बा, स्वप्निल स्मृति तिनका उदाहरण हुन्। कवि निगाहको पात्र होइन, प्रतिष्ठा र हैसियतको दावेदार हो भन्ने अवस्थामा तिनले आफूलाई पुर्‍याएका छन्।
मोफसलका मनुको काव्यिक दादागिरीलाई काठमाडौंले सकारेकै छ। तीव्र संवेगयुक्त लेखन छँदैछ। ओजपूर्ण प्रस्तुति र हेलाहोचोमा परेको भनिएको विधालाई कम आँक्न नहुने मनुको निरन्तर ढिपीले नेपाली कवितामा उनको नाम बिस्तारै 'हेजेमनी' बन्दैछ।
थुप्रै पुराना कवि पनि कविता लेखेकैले बढी प्रतिष्ठित र कम बदनाम छन्। यहाँ श्यामलको नाम छुटाउनु अन्याय हुनजान्छ। विमल निभा, गोविन्द वर्तमान, रमेश क्षितिज, तुलसी दिवस, गोपाल पराजुली, कृष्णभूषण बल, दिनेश अधिकारी, सरुभक्त, मीनबहादुर विष्ट, मन्जुल, दुर्गा दाहाल र थुप्रै नाम छन्। तिनले कविताकै नाममा धेरै मानसिक व्यायाम गरेका छन्। देहान्त भए पनि विनय रावल, हीरा आकाश, जीवन आचार्यहरूको नाम समकालीन कविकै सूचीमा राख्ने गरिन्छ।
साठीको दशकका कविको सामर्थ्यमाथि अघिल्लो पुुस्ताले भरोसा पनि गरेको छ। 'उहाँहरूको अपेक्षा हाम्रो पुस्ताप्रति बेसी छ,' भूपिन भन्छन्, 'त्यसैले यो पुस्तासँग नेपाली कविताको विरासत थाम्ने र नयाँ शिरा खोज्ने सामूहिक जिम्मेवारी पनि छ।'
नारी लेखनमा 'पाइन' छ। कविता लेखनप्रति उनीहरू संवेदनशील पनि देखिन्छन्। शारदा शर्मा, मोमिला, उषा शेरचनदेखि अहिलेकी शकुन्तला जोशी, विमला तुम्खेवासम्मको नाम समकालीन कवयित्रीको मेनु हो। राष्ट्रिय कविता महोत्सवको दौडमा लीला अनमोल, रीता खत्रीलगायतले अरूलाई 'टपिरहेका' छन्। निभा शाह, मिश्र वैजयन्ती, प्रतिसरा सायमी, लक्ष्मी माली, ज्योति जंगल केही प्रतिनिधि नाम हुन्।
आदिवासी, सीमान्तवर्ती चेतना र पहिचान प्राप्तिको लडाइँलाई साहित्यको मोर्चाबाट कविताले हाँकिरहेको छ। अन्य विधामा भर्खर लेखिन थालेको उक्त चेतना पचासको दशकमा नै कवितामार्फत मुखर भइसकेको थियो।
एकल कविता वाचनको लहर आएको छ। गुरुकुलबाट संस्थागत भएको एकल वाचन अहिले देश दौडाहामा छ। जिल्लाजिल्लामा त्यसकै सिको छ।
कविहरूका थुप्रै दुखेसा होलान्। उनीहरूमाथि पनि केही सिकायत छन्। एकाध अपवाद छाड्ने हो भने थुप्रै कवि निर्मित सत्ता फाल्न वा अमुक शत्रु घोषणा गर्दै विरुद्धमा वाण हान्न अक्षर खर्चिरहेछन्। विषयमा नयाँपन पहिचान गर्न नसकेको अभियोग कविहरूमाथि छ। जीवनको समग्रता त्यतिमात्रै होइन। राजनीति, भोक, युद्ध, क्रान्ति आदिलाई कवितामा बन्देज गरौं पटक्कै भनेको होइन। तर तिनीहरूदेखि बाहिर पनि कविताको विशाल 'कार्यक्षेत्र' छ। त्यो लेखिनुपर्छ। कविले बहुरंगी जीवनको 'एस्थेटिक्स' लेख्न भुल्नुहुन्न।
कविताको माहोल अझै पनि कम छैन। तर, 'कविज्यू' को कवि भएवापत पारितोषिक कति छ त? उमेश अकिन्चनलाई आकर्षक कलेवरमा छापिएको 'मोनालिसा र मार्च ८' बेस्टसेलर होला भन्ने भ्रम छैन। 'हजार वर्षको निद्रा' संग्रहबाट वाहवाही पाएका भूपिनले कति रोयल्टी पाए होलान्? मेरो जिज्ञासालाई उनले एकै पंक्तिमा व्यवस्थापन गरिदिए, 'कहाँ पाउनु, एउटा कविका लागि संग्रह छापिनु नै यहाँ सबैभन्दा ठूलो रोयल्टी भइरहेको छ।'
उनी र दुईचार शालीन कविलाई हेरेर भन्न मन लाग्छ- पागल, फटाहा आदि ट्याग लागेर कवि बदनाम भएको देशमा कविकै संज्ञामा प्रतिष्ठित हुनु पनि आफैंमा एउटा रोयल्टी हो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ट्याग्स

कमेन्ट