Home ब्लग ब्लग बाबुरामको घोडा

बाबुरामको घोडा

E-mail Print
(0 votes, average 0 out of 5)
सम्म बाटो सकिएर पहाड भर्खरै सुरु भएको थियो, घोडा चढेका बाबुराम बिस्तारै उकालिँदै थिए। हामी पैदलै पछिपछि आइरहेका थियौं।
बाबु, हामीले प्रचण्डले घोडा चढेको त देखेका थियौं। उनका दुइटा बलिया घोडा थिए- एउटा खैरो, अर्को सेतो। कालो पुच्छर भएको सेतो घोडा त दन्त्यकथामा वर्णन गरिनेजस्तै वायुपंखी थियो। प्रचण्ड त्यो घोडा चढेर सुस्तरी हिँड्थे, लसकलसक।
घोडालाई हात्तीजसरी हिँडाउँदा हुन्छ त बाबु? तर, प्रचण्डसँग को बोल्नसक्ने?
त्यो दिन बाबुरामले घोडा चढेको देखेर हामी खुब खुसी भएका थियौं। बाबुराम उति बोल्दैनथे, कहिलेकाहीँ मुसुक्क हाँस्थे। अरूभन्दा बुद्धिजीवी हुन् भन्ने थाहा भएकाले हामी पनि उनको अगाडि बोलिहाल्ने हिम्मत गर्दैनथ्यौं।
त्यो दिन बाबुरामको अनुहार अर्कै भएको थियो- रातोरातो, चम्किलो। दारीजुँगा पूरै सफाचट। झ्याप्प दारीजुँगा पालेका बेला त बाबुराम साँच्चिकै डरलाग्दा पो लाग्थे त बाबु!
उनको पछि थुप्रै मान्छेको हुल थियो। सबै रमाएका। सबैको सगोल आवाज एकैपटक सुन्दा कस्तोकस्तो नबुझिने चित्कारजस्तो सुनिन्थ्यो। आकाशमा चम्किलो जून थियो, ताराहरू पनि चम्किरहेका थिए।
हुलमा कोहीकोही यस्ता पनि मानिस थिए जो बाबुरामलाई घोडा चढ्नै आउँदैन, अलि माथि पुगेर बङ्लङ्ग पछारिन्छन् भन्थे। तिनको कुरा सुनेर मलाई अलि डर लाग्थ्यो। खै किन हो कुन्नि बाबु, मलाई त्यो दिन यी नलडून्जस्तो लागेको थियो। घोडाको तेज देख्दा भित्री मनमा अलि माथि पुगेर पछारिएलान् कि जस्तो पनि लाग्थ्यो। त्यो बेला मनमा ठ्याक्कै के खेलिरहेको थियो भनेर अहिले उसैगरी भन्न त सक्दिनँ। तैपनि मलाई कस्तोकस्तो मुटुबाटै खुसी छचल्किएला जस्तो भएको थियो। भित्री आँतमा भने अलिअलि डर थियो।
बाबुराम उक्लँदै गरेको पहाड नाकै ठोक्किने ठाडो थियो, फेरि बाटो पनि लामो पो थियो त! घोडाको गतिसँग हाम्रो हिँडाइको तारतम्य त्यति मिलिरहेको थिएन। कोहीकोही त 'आ... होस् है' भनेर आधा बाटोबाटै फकर्िंदै थिए। मलाई पनि स्वाँस्वाँ भइरहेको थियो, बिस्तारै लामो सास फेर्दै पहाड उक्लिरहेको थिएँ। भित्री मनमा बाबुराम जहाँसम्म पुग्लान्, त्यहाँसम्म पुगुँला भन्ने थियो।
...
बाबुराम प्रधानमन्त्री निर्वाचित भएको घोषणा भएको क्षण म संविधानसभा भवनको पश्चिमी गेट आडैको सानो रेस्टुरेन्टमा बसेर चिया सुर्क्याउँदै थिएँ। दुई सय मिटर टाढा रहेको संविधानसभा भवनका गतिविधि रेस्टुरेन्टको चौध इन्च टिभीमा लाइभ आइरहेको थियो। मतदान भर्खरै सकिएको थियो। सभामुखले मर्यादापालकलाई संविधानसभा हलका सबै गेट खोल्न आदेश दिइसकेका थिए। सभासदहरू हलमा कल्याङमल्याङ आवाज निकालिरहेका थिए। सभामुख आफ्नो टेबलमा भर्खरै आइपुगेको नतिजा रुजु गर्दैथे।
सभामुखले औपचारिक भाषामा संविधानका धारा उद्धृत गर्दै घोषणा गरे- बाबुरामले ३ सय ४० मत पाएका छन्। अर्थात भर्खरैको यही क्षणमा यी पिएचडी डाक्टर आफ्नो दसौं वर्षको अव्यक्त सपना र तीन वर्षयताको सार्वजनिक सपना पूरा गर्दै मुलुकको ३५ औं प्रधानमन्त्री चुनिएका छन्।
बाबुराम प्रधानमन्त्री भएको खुसीले कपमा बाँकी रहेको चिया एकैपटक घुट्क्याएर म सडकमा निस्केँ। संविधानसभा निर्वाचनयता मुलुकको टेस्टमा लगातार तीन प्रधानमन्त्री फेल भइसकेका थिए र अब चौथोको पालो थियो। फेल हुने होइन, टेस्ट हुने। बाबुरामसँगै मुलुकको एउटै र लगभग अन्तिम आशामा पनि कसी लाग्दै थियो।
मैले संविधानसभा बाहिर मानिसहरूको आँखामा एकखाले आशा र उत्साह देखेँ। आफ्नै भित्री मनमा लुकेर बसेको आशा र उत्साह अरूको आँखामा देखेको हो कि भन्ने पनि लाग्दै थियो।
नयाँबानेश्वर चोकमा गुडिरहेका सयौं गाडीको ट्याँट्याँ हर्नप्रति बेपरवाह म गम्दै सडकमा लम्किरहेको थिएँ। संविधानसभाको अब थपिने तीन महिनामा बाबुरामले शान्ति र संविधानको एजेन्डामा केही प्रगति गरिहाल्लान् कि भन्ने झिनो आशा मनमा खेल्दै थियो।
नेपालीहरू निराश भइहाल्ने जात होइनन् भन्ने मलाई लाग्छ। कमसेकम नयाँबानेश्वरमा त्यो दिन मैले जजसको अनुहार हेरेँ, तिनको आँखाले यस्तै बताइरहेको थियो। संविधानसभाको सिन्कोसम्म नभाँचिएको तीन वर्ष तीन महिनाको आयु उनीहरूले भर्खरै बिर्सेका थिए। आँखामा अर्को तीन महिनाका लागि आशामात्र चम्केको देखिएको थियो।
बानेश्वरचोकको रेडलाइट काटेर म सडक बायाँपट्टि आएँ र लुरुलुरु माइतीघरतिर हिँड्न थालेँ।
कार्यालय आइपुगेर कम्युटरमा न्युज फोटोहरू हेर्न थालेँ। बाबुराम मालैमालाले ढाकिएका, बाबुराम र प्रचण्ड अँगालो हालेका, अरू नेताहरूले हात मिलाउँदै बधाई दिएका, बाबुरामले वृद्ध बुबासँग आशीर्वाद लिएका। संविधानसभा भवनका र बाबुरामको सानेपा निवासका दर्जनौं फोटाले मनमा एकखाले तरंग सिर्जना गर्‍यो। फेसबुक र ट्विटरमा सयौं नेपालीले बाबुरामप्रति आफ्ना आशा सार्वजनिक गरेका थिए। हजारौंको प्रतिक्रिया आइरहेको थियो। बहुसंख्यक नेपाली आशावादी देखिएका थिए।
मनमा जिज्ञासा उठिरहेको थियो- प्रधानमन्त्रीका रूपमा बाबुराम पनि सफल भएनन् भने के नेपालीको मनबाट आशा भन्ने भाव नै लोप भएर जानेछ?
...
भोलिपल्ट आगोको फिलिंगोजसरी एउटा हल्ला सारा नेपालभरि फैलियो- लौ है, बाबुरामले प्राडो, पजेरो, ल्यान्डक्रुजर, बिएमडब्लु नचढ्ने, नेपालमै बनेको मुस्ताङ गाडी चढ्ने रे।
रमाइलो लाग्यो।
प्रधानमन्त्रीले करोड मूल्य हाराहारीका महँगा विदेशी गाडी नचढेर नेपालमै बनेको 'मुस्ताङ' चढ्नु राम्रो हो जस्तो लाग्यो। नभन्दै राष्ट्रपति कार्यालयमा शपथ लिएर मन्त्रिपरिषद कार्यालय आउँदा अघिअघि बाबुरामको मुस्ताङ, पछिपछि अन्य संवैधानिक अधिकारी, सचिवहरूका काला, चिल्ला, चम्किला विदेशी गाडीको ताँती देखियो। टिभीमा एकपछि अर्को ब्रेकिङ न्युज आइरहेको थियो।
मुस्ताङको आवाज चाहिँ हवाईजहाजको जस्तो हुँदो रहेछ- गुडुडुडुडु। कहिल्यै नदेखे पनि यो गाडीको नाम मैले धेरै सुनेको थिएँ। फ्लप भइसकेको हुलास मोटर्सलाई प्रधानमन्त्रीले सञ्जिवनी दिने भए!
बिजुली चम्किएसरी दिमागमा अचानक पूर्वप्रधानमन्त्री माधवकुमार प्रकट भए। उनी कहिले सहर बढार्न निस्कन्थे, कहिले सडकका खाल्टाखुल्टी निरीक्षण गर्थे, कहिले आफैं मुग्लिङ पुलको सापट जाँच्न पुग्थे। उनले झन्डै एक वर्ष संविधानसभा र नेपालीको आयु बर्बाद गरेका थिए।
मुस्ताङ चढेर हिँडेका बाबुरामलाई टिभीमा हेर्दै म जथाभावी नसोच्न मनलाई आग्रह गर्थें। कताकता उनको यो निर्णयमा केटाकेटीपनाको झल्को देख्थेँ। तैपनि मनलाई थामथुम पार्थें।
हुलास मोटर्सलाई भने बाबुराम प्रधानमन्त्री बनेकै उसैका लागि मात्र हुन् कि जस्तो भएको थियो। 'हामी प्रधानमन्त्रीको विश्वास टुट्न दिने छैनौं' भन्नेजस्ता फिल्मी संवाद पत्रपत्रिकामा आइरहेका थिए।
बाबुराम प्रधानमन्त्री भएको तेस्रो कि चौथो दिन थाहा पाएँ- उनलाई चढ्न भनेर हुलास मोटर्सले मुस्ताङ गाडीलाई अपडेट गर्दै विशेष सुविधायुक्त बनाउँदै छ रे! दुई महिना लाग्छ रे!
मनमा चिसो पस्यो- डेढ महिनामा शान्तिप्रक्रियाका मूलभूत काम टुंग्याउन नसके यो सरकार सबैभन्दा कम आयुको हुनेछ भनेर सचिव र सुरक्षाप्रमुखसँग भनिसकेका बाबुरामले के हुलास मोटर्सको अपडेटेड मुस्ताङ गाडी चढ्न पाउलान्? कि त्यही तेह्रसिटे गन्द्रङ-रङरङरङ गर्दै कुद्ने ओल्ड भर्सन प्यासेन्जर जिपमै बाबुराम सरकारको आयु सकिएला?
...
प्रधानमन्त्री भएको पाँचौं दिन मेरो ससुराली गाउँतिरबाट कसैले फोनमा खबर सुनायो- लौ है, गाउँमा त अहिलेसम्म पनि बाबुराम प्रधानमन्त्री भएकै कुरामात्र भइरहन्छ। कुनै कुनै गाउँमा त अझै दिपावली भइरहेको छ। सभासद हुँदा त बाबुराम हप्तैपिच्छे गाउँ आउँथे, अब त झन् सातामै दुई दिन आउलान् भन्ने खालको हल्ला पनि फिँजिएछ।
बाबुरामले एसएलसीमा बोर्डफर्स्ट गरेको लुइँटेल स्कुल भएको गोरखाको आँपपिपल गाउँ मेरो ससुराली हो। भनेपछि बाबुरामसँग मेरो भावनात्मक सम्बन्ध छ। ससुराली गाउँतिरबाट मलाई बाबुरामका खबर आइरहन्थे।
पालुङटार, आँपपिपल, खोप्लाङतिरका चियापसलमा गाउँलेहरू खुकुरी चुरोटको सर्को स्वाट्ट पारेर 'बाबुरामले गरे लौ' भन्दै एक हातमा अर्को हात बजार्न थालेका छन् रे।
'बाबुरामले जसरी पनि लडाकुलाई सेनामा मिसाउँछन् हेरिराख' भन्दै गाउँले जोस्सिन थालेका छन् रे।
'खै, यिनले पनि के गर्लान् र' भन्नेहरू एकदुई निस्कन खोजे भने गाउँलेले सातो खान्छन् रे।
चियापसलमा बिक्री बढ्न थालेको छ रे।
गोरखा बजारमा त झन् अर्कै उल्लास छ रे।
बाबुराम प्रधानमन्त्री भएको एक साता भइसक्दा पनि उनको चर्चा घटेको छैन रे।
पत्रपत्रिकामा बाबुरामलाई आइरहेका शुभकामनामध्ये ९० प्रतिशत गोरखाबाटै आएका हुन्थे। मानौं, उनी त्यही जिल्लाका लागि मात्र प्रधानमन्त्री बनेका हुन्। गोरखाका विज्ञापनहरूले मात्र पत्रपत्रिका भरिन थालेपछि सायद लजाएर बाबुरामले 'मलाई सरकारी कोषबाट शुभकामना नदिनू' सम्म भन्नुपरेको थियो।
खोप्लाङतिर त गाउँ आइरहनुपर्ने आफ्नो स्वभावका कारण बाबुरामले मुस्ताङ गाडी रोजेका हुन्सम्म भन्न थालेका छन् रे।
बाबुराम प्रधानमन्त्री रहिरहे भने योपटक दसैंमा ससुराली जाँदा एकदुई दिन उनको क्षेत्र घुमेर गाउँलेहरूसँग संवाद गर्नुपर्ला। बाबुरामले सोचेजस्तो भयो भने त्यतिन्जेल शान्तिप्रक्रिया पनि टुंगिसक्ला! चौध वर्षदेखिको हिंसा जरैदेखि साम्य भएको दिन त म आफैं ससुराली गाउँमा दिपावली गर्न पुग्नेछु। (यो मेरो अहिलेको तात्तातो भावावेशमात्र पनि हुनसक्छ।)
बाबुरामले प्रधानमन्त्री भएको एक साता जुन रफ्तारमा आफूलाई अघि बढाइरहेका छन्, प्रचण्ड र माओवादीको सहयोग पाए भने अबको छ सातामा शान्तिप्रक्रिया टुंग्याउन पनि के बेर! त्यतिखेर आँपपिपल, पालुङटार, खोप्लाङतिरमात्र होइन, देशका सबै गाउँमा दिपावली होला नि!
...
एक सातादेखि टिभी/पत्रपत्रिकामा बाबुराममात्र छाइरहेका छन्। बिहान टिभी खोल्यो बाबुराम, दिउँसो बाबुराम। साँझ बाबुराम, राति घर पुगेर टिभी खोल्दा पनि बाबुराम। कालो ढाकाको टोपी ढल्काएर गम्भीर मुद्रा प्रस्तुत गरिरहेका बाबुरामका थुप्रै संस्करण यसबीच मिडियामा देख्न पाइएको छ।
सकारात्मक कुरा नेपाली मिडियाले खुब प्रचार गर्छन्। जनताको आशा पनि बाबुराममा बढ्दै गइरहेको छ। एक सातामै मलाई पनि नेपालमा अरू कोही नेता नै छैनन् होलाजस्तो लाग्न थालेको छ। टिभीले अरू नेताको त बाइट नै बजाउन छाडिसके। कहिलेकाहीँ यसो झल्याकझुलुकमात्र। त्यही पनि बाबुरामको वरिपरि वा पछाडि।
यो एक सातामा मिडियामा के आएन! बाबुरामले एसएलसी पास भएपछि लगाएको कट्टु, लिगलिगको डाँडा उक्लिएर उनले भावुक हुँदै गाउँतिर हेरेको बायाँ कञ्चटमात्र देखिएको फोटो, जवाहरलाल नेहरू युनिभर्सिटीमा उनका सहपाठी, उनलाई पढाउने गुरु, गुरुआमाका प्रोत्साहन र उत्साहका खबर, एसएलसीपछि आइएस्सी पढ्न उनी अस्कल आउँदा सँगै बसेका नातेदार यामप्रसाद भट्टराईका कोट, छोरी मानुषीको नाममा भएको खोप्लाङको उनको पुर्ख्यौली घर, त्यो घर रुङ्न लमजुङबाट आएको परिवार। टिभी र पत्रपत्रिका निरन्तर फलो गरिरहनेलाई बाबुरामको एकएक थाहा भइसकेको थियो।
मुस्ताङ गाडीबारे त अब कसलाई के थाहा नहोला?
...
बाबुराम प्रधानमन्त्री भएको पाँच दिनपछि फेरि संविधानसभा भवनबाहिर हिँडिरहेको थिएँ। म्याद थप्न नदिन राप्रपा नेपाल र अन्य आइएनजिओका प्रायोजित कार्यक्रमका पाल उठिसकेका थिए। मानिसहरू आआफ्नै काम र गन्तव्यमा लुइँलुइँ बाटो लागिरहेका देखिन्थे।
अचानक कसैले पछाडिबाट च्याप्प हात समात्यो। फर्केर हेरेँ- आफूले कहिल्यै नदेखेका ५५ वर्षजतिका अधवैंशे।
मैले नचिनेको अनुहार लगाएपछि उनले भने, 'चिन्नुभएन?'
मैले कुरा मिलाएँ, 'चिनेझैं लाग्यो तर अहिले ठ्याक्कै सम्भि्कन सकिनँ।' उनले पछाडि भिरेको झोलाको एउटा पकेट खोले, एउटा कार्ड निकाले र मतिरै फर्काइदिए।
लौ मेरै कार्ड पो रहेछ!
अझै मैले नचिनेपछि उनी बोले, 'हत्तेरी! कस्तो नचिन्नुभएको, म क्या, पालुङटारमा हाम्रो भेट भएको थियो नि!'
फ्याट्ट दिमागको बिर्को खुलेझैं भयो। कस्तो हुस्सु भइसकेँ म पनि! महेश दाइ क्या त! महेश घिमिरे। गोरखाको पश्चिमी भेगमा माओवादी आन्दोलनको प्रभाव, बाबुरामको पकड, त्यहाँको भूगोलबारे उनले मलाई पालुङटार प्लेनम सुरु हुनु अघिल्लो दिन गत मंसिरमा झन्डै एक घन्टा बताएका थिए। त्यो क्षेत्रबारे मेरो अहिलेसम्मको जानकारीका मुख्य स्रोत महेश दाइ नै त हुन्!
म मुस्काएँ र उनको हात समातेर त्यही रेस्टुरेन्टमा लगेँ जहाँ बसेर बाबुराम प्रधानमन्त्री निर्वाचित भएको दिन मैले टिभीमा संसदको लाइभ टेलिकास्ट हेरेको थिएँ।
'चिया खाऊँ दाइ,' मैले भनेँ र तत्कालै वेटरलाई दुइटा चिया ल्याउन इसारा दिएँ।
कुनाको कुर्सीमा बसिसकेपछि मुस्काउँदै भनेँ, 'ल बधाई छ है दाइ, बाबुराम प्रधानमन्त्री भए।' उनले अनुहार उज्यालो पारे। भूमिगतकालकै माओवादी महेश दाइ अहिले पार्टीमा त्यति सक्रिय छैनन्। तैपनि सद्भाव त रहिहाल्छ नि!
सोधेँ, 'कहिले आउनुभयो काठमान्डु?'
'तीनचार महिना भयो बाबु, म यतै छु, छोरा कीर्तिपुरमा पढ्दैछ, म अब यहीँ सानोतिनो व्यापार गरौं कि भनेर सोच्दैछु,' उनले जवाफ दिए।
'बाबुराम प्रधानमन्त्री भएर दंग पर्नुभएको होला!' मैले ठट्टाको शैलीमा भनेँ।
उनी हाँसे र भने, 'मलाई कसोकसो यो पालि बाबुराम नै प्रधानमन्त्री हुन्छन्जस्तो लागेको थियो, सहमतिको सरकार त नबन्ला तर बहुमतीयमा उनी नै छानिएलान् भनेर भित्री मनले भनेको थियो।'
हामी झन्डै एक घन्टा रेस्टुरेन्टको त्यही कुनामा गफिइरह्यौं।
...
मैले भनेँ नि, त्यो दिन जुन चम्किला थिए। म स्याँस्याँ भए पनि सुस्तरी बाबुरामको घोडा पछ्याइरहेको थिएँ। कालो ढाकाटोपी लगाएर फुर्तीसाथ घोडा अगाडि लगाइरहेका बाबुरामलाई भेट्न बेलाबेला मलाई सकस हुन्थ्यो।
भूमिगतकालमा चुरोट धेरै खाइएछ, अलिकति उकालो चढ्नेबित्तिकै स्याँस्याँ बढिहाल्छ।
पहाडको बीचतिर पुगेपछि चारवटा काला घोडा खै कताबाट हो, बाबुरामसँगै मिसिए। एकछिन उनीहरू बाबुरामको घोडाकै पछिपछि हिँडेको म तलबाट हेर्दै थिएँ। बाबुरामको पछि लागेर तलबाट आउने मानिसको संख्या पातलिँदै गएको थियो।
एकैछिनमा ती चारवटा काला घोडा त बाबुरामको घोडाको अघिअघि पो हिँड्न थाले। घोडामा सवार मानिस पनि काला देखिन्थे। कसैको पनि अनुहार भने अहिले सम्झन सक्दिनँ।
बु‰नुभयो बाबु, अलि माथि पुगेपछि ती चारवटा घोडाले बाबुरामको बाटो छेके। बाबुरामको घोडा त कता जाउँजस्तो भएर त्यहीँ टक्क अडियो। मेरो त मुटुको चाल बढिहाल्यो नि! स्याँस्याँ झनै बढ्यो। पाइलै चल्न छाडेजस्ता भए।
यसो तल हेर्दा त बाबुरामको पछि लाग्दै फाँटबाट उक्लेका मानिस त एकैजना पनि देखिएनन्। म के गरुँ के गरुँजस्तो भएर त्यहीँ रोकिएँ।
माथि आकाशतिर हेरेँ- जून पनि बादलले ढाकेको थियो। टाढा आकाशमा एकदुई तारामात्र टिल्पिलाइरहेका थिए।
म थुचुक्क भुइँमा बसेँ।
बाबु, त्यसपछि झल्याँस्स निद्रा खुल्यो। कीर्तिपुरमा छोराको कोठामा सुतेको रहेछु, ‰याल खोलेँ। पूर्वतिरबाट आएको घामको किरण ओछ्यानमै पर्‍यो।
बाबुराम प्रधानमन्त्री भएकै बिहानको कुरा त हो!
त्यही दिनदेखि आधा डर र आधा भर लिएर मनमनै बाबुरामको पक्षमा कामना गर्दै हिँडेको छु। मैले त भाकलै गरिसकेँ बाबु, उनको एकलव्य चेष्टा खेर गएन भने गोरखकालीमा एउटा बोको चढाउँछु।
तपाईं पनि उनको पक्षमा कामना गरिदिनुस् है!
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ट्याग्स

कमेन्ट