सचिवज्यूका कस्मेटिक कीरा

Thursday, 22 September 2011 15:32 ऋषिकेश दाहाल
Print
(0 votes, average 0 out of 5)
केही नेतृत्वदायी मिडियाकर्मीलाई साथ लिएपछि पछिल्लो समय नेपालमा राम्रा/नराम्रा सबैखाले गतिविधि सफल हुन थालेका छन्। ठेक्कपट्टादेखि विकासे संयन्त्र, साहित्य र कला सबैतिर फष्टाएको छ यो रोग।
राजधानीमा चल्न लागेको एउटा फिल्मले जुन हलमा धेरै पैसा कमाइ हुन्छ, त्यो पैसा पत्रकारको एउटा सङ्गठनलाई दिने घोषणा गरियो तीन दिनअघि मात्रै। पत्रकारिताको विद्यार्थीका नाताले यो समाचारले तान्नु स्वाभाविक थियो। फिल्म कम्पनीले घोषणा गर्नासाथ बुझियो- अब यो सिनेमा नराम्रै भए पनि यसबारे कुनै आलोचना हुने छैन।
केही दिनअघि एक ठूला पर्यटन व्यवसायी र पछिल्लो समय लेखक भएर चिनिएका कर्ण शाक्यको फिल्म त्यसरी नै बजारमा आयो। कसैले यो फिल्मको 'क्रिटिसाइज' गरेनन्। कारण थियो- कर्ण शाक्यको बजार मूल्य। र, उनको सकारात्मक सोचको कथित नारा। खसखस ज्यादै लागेपछि नागरिककै फिल्म समीक्षक सन्तोष रिमाललाई सोधेँ- किन रिभ्युसमेत लेखेनौं यार ? उसले दिएको सोझो जवाफ थियो- फिल्म भन्न पनि लायक छैन। रिभ्यु गर्नु कसरी !

बिबिसीमा खरो प्रश्‍न सोधेर चर्चित रहँदै आएका पत्रकार रवीन्द्र मिश्र अहिले पत्रकारिताभन्दा धेरै भ्रष्टाचारीलाई कीरा पार्ने अभियानमा छन्। उनी बिबिसीका पत्रकार थिएनन् भने नेपाल सरकारका सचिवहरु लामबद्ध भएर उनले उपहार दिएको टिसर्ट लगाएर फोटो खिचाउँदैनथे। यो ध्रुवसत्य हो। आज सबैजसो पत्रिकामा मिश्रको कीराले सम्मानजनक ठाउँ पाएको छ। कीरे टिसर्ट प्रधान मन्त्री बाबुराम भट्टराईले पनि लगाएकै हुन्। त्यसो त प्रधान मन्त्री भट्टराईले मितव्ययी बन्न सस्तो गाडी चढेर आफैंबाट भ्रष्टाचारविरोधी अभियान थालेको बताएका छन्। उनले यस्तो अभियान अगाडि बढाए पनि उनको आगेपिछे लाग्नेहरु स्वार्थरहित छन् भन्ने कसरी ? बाबुरामको यो नारालाई मुस्ताङ गाडीकै अघिपछि कुद्‍ने पजेरो/प्राडोले गिज्याइरहेका छन्।
भ्रष्टाचारीलाई कीरा परोस् लेखेको टिसर्ट लगाउने यी सचिवमध्ये भ्रष्टाचार नगर्ने कोही छ ? यिनले भ्रष्टाचारीलाई कीरा परोस लेखेको टिसर्ट लगाउँदैमा के अब मुलुकमा भ्रष्टाचार हुन्न ? भ्रष्टाचार नियन्त्रण गर्ने र यस्तो गर्नेलाई कारबाही गर्ने जिम्मेवारी पाएका यी सचिवलाई आफ्नो जिम्मेवारी पूरा गर्नबाट कसले रोकेको छ ? पत्रकारलाई देखाउने गरी यस्तो टिसर्ट लगाएर फोटो सेसन गरेर सस्तो लोकप्रियता कमाउनुभन्दा आफूअन्तर्गतका क्षेत्रलाई भष्टाचारमुक्त बनाए पुग्दैन ? आफ्नो आङमा रहेका भ्रष्ट र भ्रष्टाचारीलाई कारबाही गर्न सक्छन् यिनले ? यति काम भयो भने दुनिया हसाउनका लागि टिसर्ट लगाइरहनुपर्दैन सचिवहरुले। जनता हँसाउने जिम्मा हाँस्य कलाकारको हो, तपाईंहरुले टेन्सन लिइरहनु आवश्यक छैन।
केहीअघि कान्तिपुरमा पत्रकार मोहन मैनालीले अरुलाई कीरा परोस् भन्नु नै भ्रष्ट आचार भएको लेखेपछि पत्रकार मिश्रले कीरा परोसलाई शब्दका रुपमा मात्र नलिन विशेष आग्रहसहित भोलिपल्टै नागरिकमा लेख छपाएका थिए। मैनालीबाहेक कसैले पनि कीरा परोसमाथि तिखो टिप्पणी गर्न सकेनन्। किनकि चलेको मिडियाका सक्रिय पत्रकारमाथि प्रश्‍न उठाउने हिम्मत कसैमा पाइएन। स्पाइरल अफ साइलेन्स थ्यौरीको प्रभाव देखिन्छ यहाँ।
मिश्र राम्रा पत्रकार हुन्। उनको काम पत्रकारिता हो। उनले बिबिसीमा नेपालमा हुने भ्रष्टाचारका समाचार प्रसारण गरुन्। पत्रिकामा छपाउन्। कीरा परोस् नारा ल्याउँदैमा उनलाई मूलधारे मिडियाले वाहवाह गरेकै छ, भ्रष्टाचार उजागर गरुन्, उनलाई अभिनन्दन नै गर्नेछन्। सबैजसो मिडियामा राम्रै पहुँच राख्‍ने उनका लागि यो असहज पनि छैन।
कसैले उनको अभियानले जागरण पैदा गरेको भन्छ भने त्यो कस्मेटिक कुराभन्दा बढी केही हुन सक्दैन। हाम्रो पौराणिक ग्रन्थ रामायण नै हेरौं न, रामले भन्दा बढी पूजापाठ रावणले गर्थ्यो। रामले दायित्वमात्र पूरा गर्थे भने रावणले तपस्या र पूजा पाठ। किन रावणले बढी पूजा पाठ गर्‍यो ? किनकि उसले धेरै अपराध पनि गर्थ्यो। रामले पूजा पाठ गरेनन् किनकि उनी आफ्नो दायित्वबाट विमुख कहिल्यै भएनन्।
बाबुराम भट्टराईको टिनका पाता ठोकठाक गरेर पेच कसकास गरी तयार पारिएको 'नेपाली गाडी' मा हुइँकिनेदेखि कीरा परोससम्मका अभियान देख्दा र सुन्दा लाग्छ- महिलालाई हैरान पार्दै आएको कस्मेटिक ब्रान्ड अब सिङ्गै देशलाई प्रभाव पार्न सफल भएछ।