Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

चीनमा नेपाली व्यापारी, हुन्डीको भर, अस्वस्थ होड

E-mail Print
(0 votes, average 0 out of 5)
पूर्ण बस्नेत, हङ्कङ, असोज ७ - ग्वान्झाओ (चीन)– दक्षिण चीनको ग्वान्झाओमा शीला ट्रेडिङ कम्पनी चलाइरहेका रोहित अग्रवालले छ वर्षयता यहाँ नेपाली व्यापारीहरू स्थापित हुँदै गएको स्पष्टै अनुभव गरेका छन्। उनका अनुसार यहाँको दैनिक गतिविधिले नै नेपाली व्यापारीको संख्या निकै बढेको देखाउँछ। 'छ वर्षअघिसम्म हामीलाई कुनै कार्यक्रम गर्न गाह्रो पर्थ्यो, अहिले सयजना नेपाली व्यापारी सजिलै जम्मा गर्न सकिन्छ,' उनले भने।


ग्वान्झाओ नेपाल–चीन व्यापारको मुख्य केन्द्र हो। नेपालमा सस्ता चिनिया सामानको बढ्दो मागसँगै यहाँ नेपाली व्यवसायीहरू स्थापित भइरहेका छन्। र, सँगसँगै समस्याहरू पनि थुप्रिन थालेका छन्। नेपालीबीच चुलिएको अस्वस्थ प्रतिस्पर्धा र हुन्डीको कारोबारले चिनिया र अन्तर्राष्ट्रिय व्यवसायीबीच नेपालीको विश्वसनीयता धरापमा परेको छ। त्यही भएर व्यवस्थित तरिकाले व्यवसाय गरिरहेका नेपाली व्यापारीको समूह आफ्नो विश्वसनीयता जोगाउन अग्रसर भएको छ।

चिनिया उत्पादन विश्वव्यापी बनिरहेका बेला चीनको प्रमुख व्यापार केन्द्र ग्वान्झाओमा वाणिज्य दूतावास स्थापना गरी नेपाल–चीन व्यापार व्यवस्थित गर्न सरकारलाई दबाब दिने उद्देश्यले युवा व्यापारीहरूको टोली केही साताभित्रै काठमाडौं आउने तयारीमा छ।

'बाबुराम भट्टराई अर्थमन्त्री हुँदा केही गर्ने प्रयास गरेका थिए, अहिले उनै प्रधानमन्त्री भएकाले खासा व्यापार व्यवस्थित हुने आशा छ,' गैर आवासीय नेपाली (एनआरएन) संघ चीनका उपाध्यक्ष तथा ग्वान्झाओ इन्टरनेसनल बिजनेस हाउसका सञ्चालक सञ्जय चेतानीले भने।

–––

विश्वभरका व्यापारीले भरिएको ग्वान्झाओ नेपालीका लागि सस्तो 'खासा माल' को मुहान मानिन्छ। नेपालीले करिब २० वर्षअघि ग्वान्झाओमा व्यापार सुरु गरे पनि सन् २००५ पछि मात्र यसले उचाइ लिएको हो। ग्वान्झाओ र वरपरका क्षेत्रमा बसेर व्यापार गर्ने नेपालीको संख्या तीन सय नाघिसकेको अनुमान छ। ग्वान्झाओका व्यापारीकै पहलमा एनआरएन चीन समेत गठन भैसकेको छ।

एनआरएन चीनका अध्यक्ष तथा ओम इन्टरनेसनलका सञ्चालक सुन्दर थापाका अनुसार चिनिया कर्मचारी राखेर कम्तीमा ३५ कम्पनी नेपालीले सञ्चालन गरेका छन्। उनीहरू ग्वान्झाओमा आफूलाई मध्यम स्तरका व्यापारी ठान्छन्। तर वैधानिक र व्यवस्थित तरिकाले व्यापार गर्ने यो संख्या यहाँको नेपाली व्यापारीको करिब १५ प्रतिशत मात्र हो। झन्डै ८५ प्रतिशत नेपालीले वैधानिक कार्यालय स्थापना नगरी घरबाट व्यापार गर्दै आएका छन्।

खासगरी यहाँ नेपाली व्यापारीले भाषाको व्यापार गर्छन्। सामान हेर्ने, किन्ने, ट्रक वा कन्टेनरमा लोड गर्नेदेखि डकुमेन्ट बनाउने सबै काममा चिनिया भाषा आवश्यक पर्छ। नेपालबाट आउने व्यापारीलाई चिनिया बोल्ने यहाँका व्यापारीको साथ अनिवार्य हुन्छ। त्यसैले यहाँका नेपाली व्यापारीले चिनिया कर्मचारी राखेर काम गर्छन्।

चीनमा नेपाली व्यापारी आउने पहिलो ठाउँ ग्वान्झाओ नै हो। ग्वान्झाओबाट आउने चिनिया कपडा, फर्निचर, जुत्ता, ब्याग, इलेक्ट्रोनिक्स, निर्माण सामग्री लगायतले काठमाडौंका होलसेलदेखि तराईका खुद्रा पसलसमेत भरिन थालेका छन्। कपडा लगायत केही चिनिया सामान नेपाल भएर भारतीय बजारसम्म पुग्छ। यहाँ नपाइने चिनिया सामान किन्न नेपाली व्यापारीहरू अन्य चिनिया सहर इयू, सेन्जेन, फुजियान र सांघाईसम्म पुग्छन्। 'छेङदु वा सांघाई जहाँबाट व्यापार गरे पनि नेपालीहरू पहिला ग्वान्झाओ आउँछन्,' थापाले भने।


खासा र कलकत्ता रुट
ग्वान्झाओका नेपाली व्यापारी जाडोका कपडाको व्यापार छोप्ने तयारीमा छन्। दसैंलगत्तै जाडोका सस्ता चिनिया कपडा र इलेक्ट्रोनिक्स किन्न नेपाली व्यापारीहरूको ठूलो भीड लाग्छ।

ग्वान्झाओको होलसेल बजारले चिनिया ज्याकेट र बाक्ला कपडा प्रदर्शनमा राखिसकेको छ। नेपालीमाझ लोकप्रिय बनेको 'खासा माल' ग्वान्झाओबाट ट्रकमा लोड भएर ल्हासा हुँदै खासाबाट नेपाल भित्रिन्छ। ग्वान्झाओबाट खासासम्म सामान आइपुग्न १२–१५ दिन लाग्छ।

युनिभर्सल ट्रेड सेन्टरका सुशील बेलबासेका अनुसार नेपाल लगायत दक्षिण एसियाका लागि ग्वान्झाओमा सस्तो सामान छुट्टै उत्पादन गरिन्छ। 'यहाँ उत्पादन हुने सबभन्दा सस्तो सामान नै खासा माल हो, अहिले इयू र फुजियानबाट पनि त्यस्तो माल जान थालेको छ,' बेलबासेले भने, 'नेपाली व्यापारीहरू पहिला खासा बजारबाट माल लैजान्थे, प्रतिस्पर्धा बढेर त्यहाँ पोसाउन छाडेपछि अहिले मुहानमै धाउन थालेका छन्।'

कपडाबाहेक फर्निचर, इलेक्ट्रोनिक्सजस्ता टुटफुट हुने र गह्रौं सामान पानी जहाजमा लोड भएर कलकत्ता हुँदै नेपाल भित्रिन्छ। समय बढी लाग्ने भए पनि वैधानिक कारोबार गर्नेहरूका लागि यो रुट सुरक्षित मानिन्छ। तर जहाजबाट भन्दा छिटो पुग्ने र थोरै सामान पठाउन सकिने भएकाले केही महँगो पर्ने भए पनि अधिकांश व्यापारीको छनोट ल्हासा रुट हुने गरेको छ। वैधानिक बाटो छलेर हुन्डीमा कारोबार गर्ने व्यापारीले नेपाल भित्त्याउन सजिलो हुने भएकाले ल्हासा रुट रोज्छन्।

'नेपालमा हुने वैधानिक र ठूलो स्केलको व्यापार कलकत्ता रुटबाट हुन्छ, सानो र हुन्डीको व्यापार खासा रुटबाट,' एनआरएन उपाध्यक्ष चेतानीले भने।

ग्वान्झाओबाट नेपाल आउने चिनिया सामानको प्रमुख हिस्सा कपडाले ओगटेको छ। अध्यक्ष थापा, उपाध्यक्ष चेतानी र महासचिव सुदेश झाको अनुमान छ– ग्वान्झाओबाट नेपाल आउने सामानको करिब ४० प्रतिशत गार्मेन्ट, २०–२० प्रतिशत इलेक्ट्रोनिक्स र फर्निचर तथा बाँकी २० प्रतिशत निर्माण र अन्य सामग्रीले ओगटेको हुन्छ।

ग्वान्झाओ आउने नेपाली व्यापारीले एकपटकमा दस लाखदेखि डेढ करोड रुपैयाँसम्मको सामान उठाउने गरेका छन्। पहिला काठमाडौं र त्यसपछि खासाबाट सस्ता चिनिया कपडा लगेर बेच्ने खुद्रा व्यापारीहरू समेत समूह बनाएर होलसेलमा किन्न सिधै ग्वान्झाओ आउने क्रम बढेपछि यहाँ नेपाली व्यापारीको भीड लागेको हो। ग्वान्झाओ आउने नेपाली व्यापारीको संख्या भारतीयभन्दा बढी हुने गरेको उल्लेख गर्दै चेतानीले भने, 'तर दसजना नेपालीले किन्ने बराबरको सामान एउटै भारतीय व्यापारीले उठाउँछ।'

हुन्डी कारोबार
ग्वान्झाओका नेपाली व्यापारीले नेपाल, भारतसहित दक्षिण एसियाली देश हुँदै दक्षिण पूर्वी एसिया र युरोपसम्म आफ्नो व्यापार विस्तार गरेका छन्। तर नेपालीबीच बढेको अस्वस्थ प्रतिस्पर्धा र हुन्डीको कारोबारले चिनिया र अन्तर्राष्ट्रिय व्यवसायीमाझ नेपालीको विश्वसनीयता कमजोर बन्दै गएको छ।

'हुन्डीमा कारोबार गर्ने र कुनै डकुमेन्ट बनाउनु नपर्ने भएकाले पर्यटक भिसामा बस्नेहरू सस्तोमा काम गर्छन्,' युनिभर्सल ट्रेडका बेलबासेले भने, 'त्यसले विश्वसनीयता कमजोर हुँदै गएकाले कम्पनी खोलेर वैधानिक रूपमा व्यापार गर्नेलाई मार परेको छ।'

खासा रूट भएर हुने व्यापारिक कारोबार हुन्डीमा निर्भर छ। सयौं व्यापारीको माल एउटै एजेन्टले भन्सार पास गराइदिने भएकाले यसको कुनै वैधानिक प्रमाण हुँदैन। खासाबाट हुने व्यापारको खरबौं रुपैयाँ बैंकमार्फत् वैधानिक तरिकाले आउने हो भने यसले देशलाई समृद्ध बनाउन सहयोग पुग्ने ठान्छन् अध्यक्ष थापा।

'सरकारलाई कर तिरेको वैधानिक प्रमाण नहुने भएकाले खासाबाट हुने व्यापारलाई अन्तर्राष्ट्रिय व्यापार भन्न मिल्दैन, पोखराको व्यापारीले काठमाडौंमा सामान किनेजस्तै हो यो,' उनले भने, 'जनताले यहाँबाट जाने सामान सर्वसुलभ उपभोग गर्न पाएका छन् तर सरकारले यसबाट फाइदा लिन सकेको छैन, सायद त्यसैले व्यापार व्यवस्थित गर्न चासो पनि दिएको छैन।'

चेतानीका अनुसार ग्वान्झाओबाट खासा हुँदै नेपाल सामान लैजान कुनै वैधानिक डकुमेन्ट चाहिँदैन। 'खासाबाट लैजाँदा सामान किनेको बिल, प्याकिङ लिस्ट, उत्पादनकर्ताको प्रमाण, इन्सुरेन्स केही चाहिँदैन, जसको माल हो उसले मात्र भन्सार क्लियर गर्ने व्यवस्था मिलायो भने धेरै सुधार आउँथ्यो,' उनले भने, 'हामी यहाँबाट ट्रकमा राखेर सामान खासा पठाइदिन्छौं, त्यहाँबाट सयजनाको सामान एउटै एजेन्टले भन्सार क्लियर गरेर काठमाडौं पुर्‍याइदिन्छ, वैधानिक कारोबार नहुँदा देशलाई नोक्सान भइरहेको छ।'

नेपाल सरकारले चासो नदेखाए पनि कडा आर्थिक नियम भएको चीनमा सरकारले हुन्डी कारोबार नियत्रण गर्ने प्रयास थालेको छ। चीनमा नेपाली व्यापारीहरू हुन्डी कारोबारमा संलग्न भएको थाहा पाएपछि भिसा प्रक्रिया कडा बनाइएको छ। ३–६ महिनाका लागि दिने 'मल्टिपल भिसा' एक महिनामा सीमित गरिएको छ। हङकङ, मकाउ प्रवेशमा रोक लगाइएको छ।

'हुन्डी सञ्चालन गर्ने नेपालीलाई चीन सरकारले केही वर्षअघि ग्वान्झाओबाट निकाल्यो,' थापाले भने, 'अहिले पैसा कसरी आउँछ भनेर भिसामा निकै कडा गर्दैछ।'


'दूतावासले सुरक्षा दिन्छ'
नेपाल–चीन व्यापार व्यवस्थित गर्न ग्वान्झाओमा तत्काल महावाणिज्य दूतावास खोल्न नेपाली व्यावसायीहरूले माग गरेका छन्। ग्वान्झाओका व्यापारीले एनआरएन चीनमार्फत् अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर दूतावास स्थापनाका लागि आग्रह गर्ने तयारी गरेका छन्।

दक्षिण चीनको ग्वान्झाओबाट काठमाडौं र बेइजिङस्थित नेपाली दूतावास उत्तिकै दुरीमा पर्ने भएकाले नेपालीको व्यापार व्यवस्थित गर्न यहाँ दूतावास आवश्यक भएको उनीहरूको ठहर छ। ग्वान्झाओमा दक्षिण एसियाका भारत, पाकिस्तानसहित ३० देशका वाणिज्य दूतावास छन्।

तीन वर्षअघि दूतावास स्थापना भएपछि भारतीय व्यापारीहरू संगठित भएको बताउँदै शीला ट्रेडिङका अग्रवालले भने, 'उनीहरूले ग्वान्झाओ–इन्डिया एसोसिएसन बनाए, इन्डियन स्कुल पनि ल्याउँदैछन्, दूतावास खुल्यो भने हामी नेपाली व्यापारीलाई पनि सुरक्षाको अनुभूति हुन्छ, गतिविधि बढाउन सकिन्छ।'

ग्वान्झाओ दक्षिण चीनका पर्यटक नेपाल आउने प्रमुख द्वार पनि हो। चाइना साउदर्न एयरलाइन्सले ग्वान्झाओ–काठमाडौं दैनिक उडान गरेकाले चिनिया पर्यटकका लागि यहाँबाट नेपाल उड्न सहज भएको छ। 'दूतावास स्थापना हुने हो भने नेपाल आउन चाहने चिनियालाई भिसाका लागि बेइजिङ वा हङकङ धाइरहनु पर्दैन,' अध्यक्ष थापाले भने, 'पर्यटक संख्या वृद्धि हुन्छ।'

बेइजिङस्थित नेपाली दूतावास र दक्षिण चीनका व्यापारी तथा विद्यार्थीहरूले केही वर्षदेखि ग्वान्झाओमा वाणिज्य दूतावास स्थापना गर्न पहल गर्दै आएका छन्। सरकारले भने खर्च अभाव देखाउँदै प्रस्ताव पन्छाउने गरेको छ। तर व्यापारीहरू दूतावास सञ्चालनका लागि सरकारले खर्च दिनु नपर्ने दाबी गर्छन्। 'नेपाल–चीन व्यापारलाई व्यवस्थित बनाउने हो भने त्यसबाट सरकारलाई हुने आम्दानीको थोरै प्रतिशतले दूतावास सञ्चालन गर्न पुग्छ,' थापाले भने।

अहिले ग्वान्झाओमा नेपालीलाई कुनै समस्या पर्‍यो भने एनआरएनमा आबद्ध व्यापारीहरूले नै समाधानको पहल गर्दै आएका छन्। 'दूतावासको नैतिक सहयोग भएपछि अहिलेको भन्दा ठूलो स्केलमा व्यापार गर्ने आँट बढ्छ, हामी दूतावासलाई सहयोग गर्छौं,' एनआरएन चीनका महासचिव तथा ग्लोबल बिजनेस इन्टरप्राइजेजका सुदेश झाले भने।

ल्हासाको बाटो भएर वर्षमा १५ सयदेखि दुई हजार ट्रक चिनिया सामान नेपाल भित्रिन्छ। तर नेपालले चीनमा आफ्नो उत्पादनको बजार प्रवर्द्धन गर्न नसक्दा खासाबाट ती ट्रक खाली फर्किन्छन्। दूतावास भयो भने चीनमा नेपाली सामानको बजार विस्तार सहज हुने व्यापारीहरूको धारणा छ। 

विश्वको दोस्रो आर्थिक शक्ति बनेको चीनको प्रमुख व्यापार केन्द्र ग्वान्झाओमा स्थापित हुने क्रममा रहेका नेपाली व्यवसायीको विश्वसनीयता धरापमा पर्दा नेपाल–चीन व्यापारमा ठूलो असर पुग्न सक्छ। चीनसँगको व्यापार घाटा सन्तुलन गर्ने मुख्य आधार नेपाली उत्पादन र व्यवसायीको विश्वसनीयता बढाउनु हो। सरकारले दूतावास स्थापना गरेर त्यसको पहल लिनसक्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.