Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

नेपालको गुन

E-mail Print
(0 votes, average 0 out of 5)
कुवेतमा हुने एसिसी महिला ट्वान्टी – २० क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली महिला टोली पाकिस्तानतर्फ लागेको छ। हुनत, बुधबार त्यसतर्फ गएको टोली पाकिस्तान एयरलाइन्सका विमानचालकहरूको हडतालका कारण बिहीबार दिउँसोसम्म नयाँ दिल्लीमै बस्न बाध्य भएका छन्। नेपाली महिला टोलीको यो भ्रमण नेपालका साथै पाकिस्तानका लागि उत्तिकै महत्वपूर्ण छ।

नेपाली महिला टोलीले पहिलो पटक टेस्ट स्तर प्राप्त राष्ट्रसँग अभ्यास गर्ने अवसर पाएको छ। पाकिस्तान क्रिकेट संस्कार भएको मुलुक हो। त्यहाँ क्रिकेट जनताको भावनासँग जोडिएको छ, खेल र प्रतियोगिताका रूपमामात्र सीमित छैन। त्यसैले अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानी महिला टोलीको हैसियत विश्वका अन्य टिमका तुलनामा जस्तो भए पनि नेपाली टोलीले उनीहरूसँग धेरै सिक्ने अवसर पाउनेछ। भारत, पाकिस्तान, र श्रीलंका (अनि अहिले बंगलादेश) जस्ता राष्ट्रमा क्रिकेट संस्कारकै रूपमा विकसित भइसकेको छ। त्यसको ज्वलन्त उदाहरण अहिलेसम्म खेलिएका विश्व कपमध्ये तीन वटा भारत, पाकिस्तान र श्रीलंकाले जित्नु हो। खेललाई संस्कार बनाएको टिमसँगको पं्रतिस्पर्धा गर्दाको नौलो अनुभव नेपाली महिला टोलीले अभ्यास खेलका रूपमा गर्न पाउनेछ। यो वास्तवमा निकै महत्वपूर्ण अवसर हो।

क्रिकेट ब्याट र बलबीचको खेलमात्र होइन। ब्याट र बलबीचको संघर्ष त मैदानमा गएपछि मात्र सुरु हुन्छ। तर त्यसअघि नै दुवै टोलीबीच मानसिक प्रतिस्पर्धा सुरु भइसकेको हुन्छ। त्यसबाहेक क्रिकेटको विकासमा खेलको वातावरणले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यो वातावरणलाई खेलाडीका रूपमा वुझ्ने अवसरसमेत पाएको छ नेपाली महिला टोलीले। त्यसको प्रभाव तत्काल कुवेतमा हुने प्रतियोगितालगायत भविष्यमा पनि पर्ने अपेक्षा गर्न सकिन्छ।

पाकिस्तानका लागि पनि नेपाली टोलीको भ्रमण दूरगामी रूपमा प्रभाव पार्ने किसिमको हुन सक्नेछ। नेपाली महिला क्रिकेट टोलीले गर्न लागेको यो भ्रमण सम्भवतः सन् २००९ को मार्चपछि पाकिस्तानमा कुनै पनि टोलीले गर्न लागेको पहिलो भ्रमण हो। सन् २००९ को मार्चमा श्रीलंकाली क्रिकेट टोलीमाथि भएको आतंकवादी आक्रमणपछि कुनै पनि विदेशी टोलीले त्यहाँको भ्रमण गर्न मानेको थिएन। स्थिति कति बिग्रिसकेको थियो भने पाकिस्तानले आफ्ना घरेलु क्रिकेट शृंखला पनि संयुक्त अरब इमिरेट्स र इंङ्ल्यान्डमा खेल्नु परेको थियो। यसबाट पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई करोडौं डलर नोक्सान भएको थियो। तर यो नोक्सानले क्रिकेटको घेरा नाघेर अन्य खेललाई प्रभावित पार्न थालेपछि भने त्यहाँ जनस्तरबाट चिन्ता व्यक्त हुन थालेको थियो। हँुदाहँुदा पाकिस्तानले पाएको डेविस कप टेनिसको आयोजना पनि न्युजिल्यान्डमा गर्नुपरेको थियो। त्यसबाहेक फेब्रुअरी १९ बाट हुने विश्वकप क्रिकेट प्रतियोगिताको सहआयोजक पहिले पाकिस्तान पनि थियो। तर ५ जना मारिने गरी तथा श्रीलंकाली क्रिकेट खेलाडीलगायत सात जना घाइते हुने गरी भएको उक्त आक्रमणका कारण त्यहाँको सुरक्षा स्थितिमा प्रश्न उठेपछि विश्वकपको आयोजना पाकिस्तानबाट खोसिएको थियो। त्यसपछि पनि दिनहँुजसो पाकिस्तानमा हुने गरेको आतंकवादी हमलाका कारण त्यहाँको सुरक्षा स्थितिप्रति विश्व समुदाय झन् सशंकित हुँदैआएको छ। पाकिस्तानले आफ्नो देशमा आउने टोलीको पूर्ण सुरक्षाको प्रतिबद्धता प्रकट गरे पनि सधैँजसो हुने त्यस किसिमका आक्रमणका घटनाले त्यसमा विश्वास गर्ने वातावरण बन्न सकेको छैन।

सबै मुलुक आफ्ना नागरिकको सुरक्षाप्रति सजग एवं संवेदनशील हुन्छन्। त्यसमाथि खेलाडीले त झन् मुलुककै पं्रतिनिधित्व गर्छन्। यस्तो अवस्थामा सुरक्षाको पूर्ण ग्यारेन्टी नभईकन कुनै पनि देशले आफ्नो टिमलाई त्यस्तो ठाउँमा पठाउन चाहँदैन। त्यसैले अहिले पाकिस्तानमा भएको नेपाली महिला टोलीको भ्रमण पाकिस्तानका लागि नेपालले लगाएको ठूलो गुन पनि हो। बाँकी विश्वले नेपाली टोलीको यो पाकिस्तान भ्रमणलाई सुरक्षाको दृष्टिबाट हेरिरहेको हुनुपर्छ। पाकिस्तानले सुरक्षाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान)लाई आश्वस्त पारेपछि मात्र नेपाली टोली त्यसतर्फ गएको हो। त्यसबाहेक नेपाली टोली बस्ने र अभ्यास गर्ने ठाउँ सँगै भएकाले पनि सुरक्षाप्रति बढी आश्वस्त हुन सकिने देखिन्छ।

नेपालले लगाएको यो गुन पाकिस्तानले पक्कै बिर्सने छैन। नेपाली टोलीको यस भ्रमणलाई देखाएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो देश पुनः भ्रमण योग्य भइसकेको दाबी गर्न सक्नेछ। त्यसबाहेक यस भ्रमणले पाकिस्तान—नेपालबीचको खेल सम्बन्धलाई दिगो बनाउने आशा पनि गर्न सकिन्छ। पाकिस्तानी दूतावासले नेपाललाई पाँच लाख रुपैया बराबरको क्रिकेटका खेल सामग्री सहयोग गर्ने वचन पनि दिई जो सकेको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता