Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

भीमसेन होइन, नीतीश बन्नुहोस्

E-mail Print
(0 votes, average 0 out of 5)
शिक्षित भनिने हैसियतमा पुगेका आजका अधिकांश नेपाली देश विकास नभएकोमा दुख पुकारा गरिरहेका हुन्छन्। आफैँले तिरेको करको पैसाबाट तलब थापेर कामगर्ने सरकारी कर्मचारीले घुस नखाई काम गरेको समाचार पढेर फुरुंग पर्छन्। विकास गर्ने नेता नै भएनन् भनेर छटपटिन्छन्। कारण र तर्कभन्दा भावनामा बहकिन्छन्। विचार र विश्लेषणभन्दा मनोगत इच्छामा रुमल्लिएका हुन्छन्। न्यायिक सजायमा भन्दा प्रतिशोधको कारबाहीमा रमाउँछन्। इतिहासका यथार्थलाई केलाउने झन्झट बेसाउन कोही चाहँदैनन्। तत्कालको समस्या टरे सन्तुष्ट भइहाल्छन्। भोलिको चिन्ता सकेसम्म गर्नै चाहँदैनन्।

प्रधानमन्त्री बाबुराम भट्टराईका प्रशंसकले उहाँलाई नेपाली राजतन्त्रका कठोर पक्षधर तथा सामन्तवादी शासनका ठुला अधिनायक भीमसेन थापासँग तुलना गर्न थालेपछि स्तम्भकारलाई लाग्न थालेकोछ- नेपाल अझैपनि अतीतमा अल्झिएकै छ। अझैपनि यस समाजले आधुनिकताको उज्यालो देखेको छैन। बेपत्ता हुनुभएका समाजशास्त्री डोरवहादुर विष्टले व्याख्यागर्नु भएको 'भाग्यवादी' वृत्तवाट नेपाली समाज उम्किन सकेको छैन। प्रधानमन्त्री भट्टराईलाई भीमसेन थापासँग तुलनागर्नेहरूले थापाका एउटै पनि योगदानका बारे पत्तो पाएका छैनन्। उनका वारे स्वयं प्रधानमन्त्री भट्टराई नै पनि भ्रमित हुनुहुन्छ। त्यसो नभए, बडामहाराजा पृथ्वी नारायण शाहको नेपाल एकीकरणका कटु आलोचक कम्युनिस्ट नेता भट्टराईले राजतन्त्रका नामुद भारदार भीमसेनले जस्तै आफूपनि देशका लागि (कि, सत्ताका लागि?) सेरिएर मर्न तयार रहेको वक्तव्य दिनुहुने थिएन।
यो स्तम्भका एकजना नियमित पाठक विकेश बोहोराले अमेरिकाबाट फेसबुकमार्फत् प्रश्न गरेका छन्- तपाई किन भट्टराईको विरोध गर्नुहुन्छ? उहाँलाई कामगर्न दिनुहोस् न। स्तम्भकार भट्टराईको शुभचिन्तकमात्र नभएर उहाँको विद्वताको प्रशंसक पनि हो। उहाँको राजनीतिसँग मतभेद राख्दाराख्दै पनि राज्य रूपान्तरणका उहाँका विचारसँग सहमति राख्ने पत्रकार। त्यसैले प्रधानमन्त्री भट्टराईको विरोध गर्नुपर्ने कुनै कारण छैन मसँग। तर, जब कुनैपनि स्थापित सार्वजनिक व्यक्तित्व विदूषकजस्तो हास्यास्पद र उदेकलाग्दो भूमिकामा देखापर्छ त्यसमाथि नचाहेर पनि टिप्पणी गर्नैपर्ने हुन्छ।
प्रधानमन्त्री भट्टराईमा 'ठोकेको भरमा काम हुन्छ' भन्ने नवधनिक नेपाली समाजको मानसिकताको राम्रो समझ छ। सोझो बाँगो र जायज नाजायज सबै तरिका अपनाएर दुईचार पैसा कमाउने, किस्ताबन्दीमा किनेको गाडी चढेर फूर्तिफार्ती गर्ने, अखबार पढ्ने, रेष्टुराँ र डान्सबारमा नियमित रमाउने, फेसबुक चलाउने र देश विकासका लागि नेताले यो गरेनन् र त्यो गरेनन् भन्दै हल्ला गर्ने यो वर्ग नै दुर्भाग्यवश, अहिलेको जनमत निर्माता पनि हो। प्रचारको महत्वको अब्बल समझदारी राख्ने प्रधानमन्त्री भट्टराईले यो राम्ररी बुझ्नुभएको छ। उहाँले गोल्छा निर्मित मुस्ताङ जीप चढेर यही वर्गलाई सन्तुष्ट तुल्याउन खोज्नुभएको हो। जब सुविधाजनक वाहनमा सडकमा सररर्र गुडी रहेको यस वर्गको कुनै सदस्यले चर्को र कर्कश आवाज निकालेर समानान्तर गुडी रहेको सुविधारहित जीपमा प्रधानमन्त्रीलाई देख्छ तब उसको अहम् न्तुष्टि हुनुका साथै आन्तरिक कुण्ठाले पनि विश्रान्ति पाउँछ। यही प्रधानमन्त्रीको लोकप्रियतामा अनुवाद हुन्छ।
प्रधानमन्त्री भट्टराईलाई थाह छ, न त नेपालका गोल्छाहरूले तत्कालै विश्वस्तरको प्रतिस्पर्द्धात्मक बजारमा उत्रिनसक्ने वाहन निर्माणगर्न सक्छन्, न त नेपालसँग त्यसका लागि पूर्वाधार नै छ। तै पनि, प्रधानमन्त्री भट्टराई देशका महत्वपूर्ण र संगतिपूर्ण विषयलाई किनारामा पारेर चटकमा रमाउन थाल्नुभएको छ। चटक जति गरे पनि, दर्जनभर मधेसका नेता र आफ्नै पार्टीका अति महत्वाकांक्षी सदस्यको चेपुवामा पर्नुभएका प्रधानमन्त्री भिरको चिन्डोमा उभिनु भएको छ। सहमति भन्दाभन्दै विमतिको बाटो समात्न पुगेको कांग्रेस र बिभिन्डिएको वामपन्थी एमालेको सहयोगबिना शान्ति र संविधानको टुंगो लाग्नसक्दैन। त्यसका लागि दलहरूबीच तगडा र परिणाममुखी छलफलको खाँचो छ। तै पनि, उहाँ संयुक्त राष्ट्रसंघले बर्सेनि आयोजना गर्ने सरकार प्रमुखहरूको जाम्बुरीमा भागलिन न्युयोर्क जाँदै हुनुहुन्छ। न्युयोर्कमा उहाँको उपस्थिति व्यक्तिगत हिसाबले जरुरी पनि छ। राष्ट्राध्यक्षहरूसँग कुममा कुम जोडेर खिचाइएको तस्वीर भविष्यमा भट्टराईका लागि राजनीतिक सम्पत्तिका रूपमा काम जो आउनेछ।
प्रधानमन्त्री भट्टराईमा अर्थशास्त्रको राम्रो जानकारी छ। उहाँले अर्थशास्त्रका विभिन्न मोडेलका बारेमा मात्रै बुझ्नु भएको छैन, अर्थशास्त्र भनेको राजनीति, विभिन्न स्वार्थ, द्वन्द्वहरू र आवेगपूर्ण हुट्हुटीले भरिपूर्ण जीवनको सामूहिक सार हो भन्ने पनि बुझ्नु भएको छ। नेपालजस्तो गरिब देशमा हुकुम वा आदेशकै भरमा पनि छोटो समयका लागि परिवर्तन ल्याउन सकिन्छ। त्यो परिवर्तनलाई स्थायित्व दिन जनतालाई परिवर्तनको वृत्तमा ल्याउनु जरुरी हुन्छ। प्रधानमन्त्री भट्टराईले राहतका टालटुले काम त आदेशकै भरमा गर्नु भएको छ। त्यो आदेशअन्तर्गत आएको राहत उहाँ प्रधानमन्त्री पदमा रहेको दिनसम्म रहने हो कि त्यसले त्यसपछि पनि निरन्तरता पाउने हो? यो स्वयं उहाँले पनि भन्न सक्नुहुन्न।
राजनीति शक्ति र अधिकार हो। शक्ति र अधिकारको सान्दर्भिकता त्यस्तो समाजमामात्रै रहन्छ जुन समाज विविधता र विषमताले बनेको हुन्छ। सबै प्रकारका आर्थिक स्वार्थका खेलाडीबीचको द्वन्द्वलाई शक्ति र अधिकारको प्रयोगले समन र सन्तुष्ट तुल्याउन सक्छ। तर, प्रधानमन्त्री भट्टराईका तात्कालिक प्राथमिकता एकोहोरिएको देखिएका छन्। उहाँ विदेशमा कमाउन गएका तीसचालीस लाख नेपालीको आम्दानीमा बढी केन्द्रित हुन थाल्नुभएको छ। कुल गार्हस्थ उत्पादन तीन प्रतिशतभन्दा तल रहेको मुलुकमा मुद्रास्पि्कति पन्ध्र प्रतिशतभन्दा माथि उक्लिन्छ भने त्यसले के संकेत गर्छ? यो स्तम्भकारलार्ई भन्दा प्रधानमन्त्री भट्टराईलाई नै बढी थाहा हुने विषय हो।
प्रधानमन्त्री भट्टराईलाई नेपालका पहिलो प्राइम मिनिष्टर भीमसेन थापा वा त्यसभन्दा अघिका काजी भीममल्लसँग तुलना गरिरहनु पर्दैन। उहाँले पनि ती ऐतिहासिक पुरुषले जस्तो देशका नाउँमा सेरिएर वा झुन्डिएर मर्ने भावुक आकांक्षा राख्नुपर्दैन। उहाँले छिमेकी भारतको विहार राज्यका मुख्यमन्त्री नीतीशकुमारको जस्तो विविध विचारबीच सन्तुलन कायम गर्दै काममात्रै गरे पुग्छ। प्रधानमन्त्री भट्टराईले नीतीशले जस्तै शासन शैलीमा आकस्मिक र अप्रत्याशित परिवर्तन ल्याएर 'सक टि्रटमेन्ट' दिने आँट गर्नुभयो भने नेपाली समाजमा ठूलो परिवर्तन आउनेछ। आखिर नीतीशले नेतृत्व गरेको समाजभन्दा धेरै पृथक छैन नेपाली समाज। समाज परिवर्तन गर्न चाहने कुनैपनि परिवर्तनकारीले सबभन्दा पहिले चलनचल्तीमा रहेको शासनको ऐतिहासिक नियमलाई तोड्नसक्नु पर्छ। बदनाम भइसकेका ती नियमका अतिरिक्त भारी काँधमा यथावत झुन्ड्याउन नछाडेसम्म भट्टराईमात्रै होइन कुनैपनि प्रधानमन्त्रीले जनताको चित्त बुझाउन सत्तै्कन।
प्रधानमन्त्रीले मुस्तांग चढ्नु हुन्छ कि मर्सिडिज? त्यो महत्वपूर्ण होइन। समस्याको ज्वालामुखीमा उभिएको देशलाई विकृतिबाट मुक्त गराउने नाउँमा देशका प्रधानमन्त्रीले भावनाको नौटंकी देखाउनु राम्रो होइन। उहाँले असल 'डेलिभरी' गर्नु पर्छ र त्यस बापत ज्याला र सुविधा पुरै लिनु पर्छ। खुला अर्थ व्यवस्थाको नियम त यही हो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता