Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

पृथ्वीबाहिर जीवको अस्तित्व

E-mail Print
(0 votes, average 0 out of 5)

पृथ्वीका सबै कुनाकाप्चामा विभिन्न आकार र प्रकारका जीव पाइन्छन्। के यसैगरी ब्रह्माण्डको अन्य कुनै स्थानमा पनि जीवहरू पाइन्छन्? यो प्रश्न विज्ञानका लागि सदियौँदेखि अनुत्तरित रहँदै आएको छ। ब्रह्माण्डको विशालता, त्यहाँ रहेका अनगिन्ती तारा र तिनलाई परिक्रमा गर्ने असंख्य ग्रहहरू एवं ती सबैलाई सञ्चालन गर्ने भौतिक सिद्धान्त तथा नियमलाई ध्यानमा राख्दा पृथ्वीबाहिरको संसारमा जीव पाइने ठूलो सम्भावना भएको वैज्ञानिकहरूको ठहर छ।

स्टिफन् हकिङजस्ता कयौँ विश्वविख्यात वैज्ञानिकहरूका अनुसार पृथ्वीबाहिरको संसारमा जीव पाइएमा कुनै आश्चर्य मान्नुपर्दैन, बरु नपाइएमा आश्चर्य मान्नुपर्छ। प्रथम आणविक बम निर्माणमा संलग्न नोबेल पुरस्कार विजेता भौतिक शास्त्री एनरिको फेर्मी पनि वाह्य संसारमा उच्च सभ्यता भएका जीवको अस्तित्वमा विश्वास गर्थे। वाह्य संसारबाट लामो समयसम्म कुनै आगन्तुक जीव पृथ्वीमा नआई पुगेकोमा उनले सन् १९५० मा आश्चर्य प्रकट गरेका थिए। करिब दुई हजार वर्षअघि ग्रिक दार्शनिक मेट्रोडोरोसले पनि भनेका थिए - 'जसरी ठूलो गहुँको खेतमा गहुँको एउटामात्र डाँठ भेटिनु अति अस्वाभाविक हुनेछ, त्यसरी नै यत्रो विशाल ब्रह्माण्डमा केवल पृथ्वीमा मात्र जीव भेटिनु त्यति नै अस्वाभाविक हुनेछ।' उनको भनाइ थियो, पृथ्वीबाहेक ब्रह्माण्डको अन्य धेरै भाग जीवले भरिएको हुनुपर्छ।
पृथ्वीबाहिरको संसारमा जीवको अस्तित्व वास्तवमै सम्भव छ वा छैन भन्ने प्रश्नको उत्तर खोज्नुअघि पृथ्वीमा जीवको उत्पत्ति कसरी भयो भन्नेबारे केही बुझ्नु जरुरी छ।
पृथ्वीमा जीवको उत्पत्ति कसरी भयो भनेर आज पनि वैज्ञानिकहरूले यकिन गर्न सकेका छैनन्। केही वैज्ञानिक अन्तरिक्षबाट पृथ्वीमा खसेका पत्थर (मीटिअराइट्)ले बाह्य संसारबाट पृथ्वीमा जीवलाई साथमा ल्याएको विश्वास गर्छन्। तर यसको कुनै ठोस र भरपर्दो प्रमाण आजसम्म भेटिएको छैन।
कतिपय वैज्ञानिकहरूका अनुसार पृथ्वीमा पाइने जीवको इतिहास वर्तमान जीवको कोष र त्यसभित्र पाइने अणुहरूमा स्पष्ट लेखिएका छन्। कोषीय जीव विज्ञान, अणु जीव विज्ञान र जैविक रसायनशास्त्रका क्षेत्रमा भएका आधुनिक विकासले जीवको कोष र अणुमा लेखिएका ती इतिहासलाई राम्ररी पढ्न र बुझ्न मद्दत पुर्‍याएको वैज्ञानिकहरूको भनाइ छ। यिनै इतिहासको अधारमा अहिले अधिकांश वैज्ञानिकहरू पृथ्वीमा प्राकृतिक प्रक्रियाबाट नै जीवको स्वउत्पत्ति भएको विश्वास गर्छन्।
उत्पत्तिकालमा पृथ्वीको वायुमण्डल कार्बन, हाइड्रोजन, अक्सिजन, र नाइट्रोजनजस्ता रासायनिक तत्वबाट बनेका संयोजनका स्वतन्त्र एवं अस्थिर अंशाणु (रेडिकलस्)ले भरिएका थिए। यी अंशाणुहरू निकै प्रतिक्रियात्मक प्रकृतिका थिए। यिनै अंशाणुहरूबीचको प्रतिक्रियाबाट त्यस्ता स्थिर रसायनिक अणुहरू बने जसको संयोजनबाट जीवको उत्पत्ति भयो। यस प्रकारको प्रक्रिया सिद्धान्ततः सम्भव छ भन्ने प्रमाण सिकागो विश्वविद्यालयका वैज्ञानिक स्टान्ले मिलरले सन् १९५० को दशकमा गरेको एक प्रयोगबाट प्राप्त भएको थियो।
मिलरले प्रयोगशालामा हाइड्रोजन, मिथेन, अमोनिया र पानीको बाफको मिश्रणलाई विद्युतीय झट्का दिएर हरेक जीवमा पाइने अमिनोअसिडलगायतका विभिन्न प्रकारका जीव रसायनिक तत्वहरू उत्पादन गरेर देखाएका थिए। यसैगरी अहिले वैज्ञानिकहरूले प्रयोगशालामा विभिन्न रसायनिक तत्वबाट जीवको निर्माण गर्ने कार्यमा ठूलो फड्को मारिसकेका छन्। नैतिक मूल्यका कारणमात्र उनीहरू प्रयोगशालामा नव जीवनको निर्माण गर्न हिच्किाइरहेका हुन्। यस्ता प्रयोगले कुनै अलौकिक दैवी शक्तिबिना अजैविक तत्वबाट जीवको निर्माण हुनसक्छ भन्ने पुष्टि गर्छन्। यस प्रकारको खोज नतिजाले पृथ्वीमा जीवको स्वउत्पत्ति भएको भन्ने सिद्धान्तलाई टेवा पुर्‍याउँछ।
त्यतिबेलाको पृथ्वीजस्तै आज पनि ब्रह्माण्डका अन्य ग्रहहरू कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र सिलिकनजस्ता विभिन्न रासायनिक तत्वको संयोजनले बनेका 'बादल'ले ढाकिएको विश्वास गरिन्छ। जसरी त्यतिबेला पृथ्वीको वायुमण्डलमा भएका रसायनिक तत्वबीच प्रतिक्रिया भएर जीवका लागि आवश्यक अणुहरूको निर्माण भई जीवको उत्पत्ति भयो, त्यसरी नै ब्रह्माण्डका अन्य भागमा पनि जीवको स्वउत्पत्ति हुनसक्ने सम्भावना प्रबल भएको वैज्ञानिकहरू बताउँछन्।
बाह्य संसारमा पनि जीवका लागि आवश्यक जैविक अणुहरूको निर्माण हुँदो रहेछ भन्ने तथ्य बेलाबेलामा अन्तरिक्षबाट पृथ्वीमा खसेका पत्थरले पनि पुष्टि गरेका छन्। उदाहरणका लागि अन्तरिक्षबाट पृथ्वीमा खसेका कतिपय पत्थरमा पृथ्वीका जीवको कोषमा पाइने अमिनोअसिडलगायतका महत्वपूर्ण जीव रसायनिक तत्वहरू भेटिएका छन्। अमेरिकी वैज्ञानिक संस्था नासाले हालसालै दिएको जानकारीअनुसार पृथ्वीको जीवमा पाइने आनुवंशिक तत्व डीएनएको निर्माणका लागि आवश्यक रसायनिक तत्वसमेत वाह्य संसारमा निर्माण हुनसक्ने प्रमाण अन्तरिक्षबाट पृथ्वीमा खसेका पत्थरको अध्ययनबाट थाहा भएको छ। तसर्थ, जुन प्राकृतिक प्रक्रियाबाट पृथ्वीमा जीवको स्वउत्पत्ति भएको थियो त्यसै प्रक्रियाद्वारा पृथ्वीबाहिरको संसारमा पनि जीवको स्वउत्पत्ति हुनसक्ने वैज्ञानिकहरूको राय छ।
पृथ्वीबाहेक ब्रह्माण्डको अन्य भागमा वातावरण प्रतिकूल रहेकोले त्यहाँ जीवको उत्पत्ति हुन नसक्ने शंका पनि कतिपयले गर्छन्। तर पृथ्वीको वातावरण पनि उत्पत्तिकालमा जीवलाई बाँच्नका लागि अनुकूल थिएन। उदाहरणका लागि पृथ्वीको उत्पत्ति करिब ४.५ अर्ब वर्षअघि भएको अनुमान गरिन्छ तर पृथ्वीमा जीवको उत्पत्ति ३.५ अर्ब वर्षअघि मात्र भएको विश्वास गरिन्छ। यसरी उत्पत्तिकालपछि करिब एक अर्ब वर्षसम्म पृथ्वीको वातावरण जीवको उत्पत्ति र विकासका लागि अनुकूल रहेन। तर यस्तै प्रतिकूल वातावरणमा पनि पृथ्वीमा अन्ततः जीवको उत्पत्ति र विकास भयो। यसरी नै पृथ्वीबाहिर पनि प्रतिकूल वातावरण हुँदाहुँदै पनि कालान्तरमा जीवको उत्पत्ति र विकास सम्भव भएको वैज्ञानिकहरूको भनाइ छ।
आज पनि पृथ्वीको अत्यन्त प्रतिकूल वातावरणमा समेत जीवहरू बाँचिरहेको उदाहरण प्रशस्त पाइन्छ। केही जीवाणुहरू भकभक उम्लिदो पानी, हिउँको भित्री भाग, नुनिलो पानी, तेजावयुक्त माध्यम र उच्च मात्रामा विकिरणयुक्त स्थानमा समेत जिउँदो अवस्थामा भेटिएका छन्। कतिपय जीवहरू अति उच्च चापको अवस्थामा समेत बाँचेको पाइन्छ। उदाहरणका लागि कतिपय जीवाणुहरू जमिनको हजारौँ मिटर गहिराइमा भेटिएका छन् भने गड्यौँला, शंखेकीरा, गंगटो तथा पुच्छे्रमाछा आकारका विकसित प्राणीहरू सूर्यको प्रकाश कहिल्यै नपुग्ने समुद्रमुनि १६ सय मिटरको गहिराइमा पाइएका छन्। यसबाट जीवहरू अति प्रतिकूल रासायनिक एवं भौतिक वातावरणमा पनि बाँच्न सक्छन् भन्ने प्रमाणित भएको छ। त्यसले ब्रह्माण्डको कतिपय भागमा वातावरण प्रतिकूल भए पनि जीवको उत्पत्ति र विकास असम्भव छैन भन्ने देखाउँछ।
ब्रह्माण्डमा देख्न सकिने ताराको समूह वा आकाशगंगा (जसलाई वैज्ञानिक शब्दमा 'ग्यालक्सी' भनिन्छ)को संख्या १ सय ७० अर्बभन्दा बढी भएको अनुमान गरिन्छ। प्रत्येक यी ग्यालक्सीमा सयौँ अर्ब तारा अवस्थित छन्। यी तारामध्ये कम्तीमा दस प्रतिशतलाई सूर्यलाईजस्तै ग्रहहरूले परिक्रमा गर्ने गरेको अनुमान गरिन्छ। एक अनुमानअनुसार एक अर्ब यस्ता ग्रहमध्ये एउटामा मात्र पनि जीवको अस्तित्व सम्भव भए पनि सम्पूर्ण ब्रह्माण्डमा ६ अर्बभन्दा बढी यस्ता ग्रहहरू भेटिन्छन् जहाँ जीवको अस्तित्व सम्भव हुनेछ। त्यसैले वैज्ञानिकहरू पृथ्वीबाहिरको संसारमा जीव पाइने सम्भावना निकै ठूलो देख्छन्।
ब्रह्माण्डमा पाइने अर्बौँ ग्यालक्सीमध्येको एक हो 'मिल्की वे ग्यालक्सी'। यही ग्यालक्सीको एक अंग हाम्रो सौर मण्डल पनि हो। यस ग्यालक्सीमा मात्र करिब दुईदेखि चार सय अर्ब तारा रहेको अनुमान गरिन्छ र ती अर्बौं तारामध्येका एक तारा हो हाम्रो सौर मण्डलको सूर्य। (धेरै जना सूर्य र तारा फरक ठान्छन्। वास्तवमा सूर्य पनि एउटा तारा हो।) हामी बसोवास गर्दैआएको पृथ्वी यिनै सूर्यलाई परिक्रमा गर्नेमध्येको एक ग्रह हो। केही वैज्ञानिकका अनुसार हामी रहँदै आएको ग्यालक्सीमा मात्र हजारौँ वा लाखौँको संख्यामा जीव भएका ग्रहहरू हुनसक्छन्।
केही वर्षअघिसम्म मिल्की वे ग्यालक्सीमा हाम्रो सौर मण्डलबाहिर पनि ग्रह छन् भन्ने वैज्ञानिकलाई थाहा थिएन। तर विगत केही वर्षयता वैज्ञानिकहरूले यस ग्यालक्सीमा सौर मण्डलबाहिर छ सयभन्दा बढी ग्रहहरू पत्ता लगाइसकेका छन्, जसलाई 'एक्सोप्लानेट्स' भनिन्छ। यस्ता थप ग्रहहरू पत्ता लगाउने काममा वैज्ञानिकहरू सफल हुँदैआएका छन्। मिल्की वे ग्यालक्सीमा यस्ता ग्रहको संख्या ताराको संख्याभन्दा बढी हुने अनुमान गरिन्छ। सौर मण्डलबाहिर पाइएका यी 'एक्सोप्लानेट्स' मा जीव पाइने ठूलो सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन्।
हाम्रो सौर मण्डलमा पृथ्वीबाहेक जीवको विकास हुनसक्ने सम्भावित स्थानमध्ये शुक्र र मंगल ग्रह पर्छन्। केही महिनाअघि मंगल ग्रहमा पानी हुनसक्ने नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको खोजले देखाएपछि त्यहाँ जीव पाइने आशा अझ बढेको छ। यसैगरी बृहस्पतिलाई परिक्रमा गर्ने 'युरोपा' नामको क्षुद्र ग्रह (जसलाई ' नेचुरल स्याटेलाइट्' वा 'मुन' पनि भनिन्छ) र शनिश्चरलाई परिक्रमा गर्ने 'टाइटान' र 'एनसेलाडस' नामका क्षुद्र ग्रहमा पनि जीव पाइने ठूलो सम्भावना देखिएको छ। सन् २०११ को मे महिनामा नासाका वैज्ञानिकहरूले दिएको जानकारीअनुसार पछिल्लो समयमा सौर मण्डलमा पृथ्वीबाहेक जीव पाइनसक्ने सम्भावित स्थानमध्ये 'एनसेलाडस' सबैभन्दा आशाजनक र उपयुक्त थलो देखिएको छ। यसबाहेक 'ग्लिस ५८१ सी, जी र डी' नाम गरेका सौर मण्डलबाहिरका ग्रहमा पनि जीव पाइने ठूलो सम्भावना भएको बताइन्छ। यी ग्रहका बनोट र वातावरण पृथ्वीसँग मिल्दोजुल्दो भएको र त्यहाँ पानी पाइने पनि ठूलो सम्भावना भएको विश्वास गरिन्छ।
अन्तरिक्षमा जीवको खोजी जारी छ। जीवको खोजीमा उच्च प्रविधियुक्त अन्तरिक्षयान अन्तरिक्षमा पठाउने काम भइरहेको छ। पृथ्वीमा जडान गरिएका उपकरणद्वारा पनि वाह्य ससारमा रहेका जीवबाट प्राप्त हुने सम्भावित संकेतको निगरानी भइरहेको छ। पृथ्वीमा पाइने जीव मूलतः कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, फोसफोरस र सल्फरलगायतका २६ रसायनिक तत्वबाट बनेको र जीवको अस्तित्वका लागि पानी उपलब्ध हुनु अपरिहार्य भएकाले पृथ्वीबाहिर जीव खोज्ने क्रममा वैज्ञानिकहरू मूलतः यी तत्वहरूको खोज गर्ने गर्दछन्।
हालसम्म पृथ्वीबाहिर जीवको अस्तित्व भएको प्रत्यक्ष प्रमाण भेटिएको छैन। तर प्रमाण नभेट्नुको अर्थ प्रमाणै नभएको भने होइन, अहिलेसम्म नभेटिएको मात्र हो। कतिपय वैज्ञानिकहरूका अनुसार विज्ञान प्रविधिका क्षेत्रमा भइरहेको अति द्रुत गतिको विकासबाट भविष्यमा ब्रह्माण्डसम्बन्धी अनुसन्धानका लागि उपलब्ध हुने प्रविधिका मद्दतले ढिलोमा यस शताब्दीको अन्त्यसम्म पृथ्वीबाहिर जीवको अस्तित्व भएको अकाट्य प्रमाण भेटिनेछन्। वैज्ञानिकका लागि अन्तरिक्षमा जीवको खोजी गर्ने काम निकै चुनौतीपूर्ण रहेको छ। पृथ्वीबाहिरको संसारमा जीवको अस्तित्व भएको प्रमाण भेटिएमा त्यो विज्ञानका लागि अनुपम उपलब्धि ठहरिनेछ र यसले हामीले जानेको विज्ञानको मुहार नै बदलिने छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता