कांग्रेसमा भ्रातृ संस्था विघटन विवादः देउवा पक्षको पुरानै समितिलाई सघाउने चेतावनी

E-mail Print
(0 votes, average 0 out of 5)
गोविन्द परियार, काठमाडौं, असोज ५- भ्रातृसंस्था विघटनको विपक्षमा रहेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्णय फिर्ता नभए अहिलेकै समितिलाई अधिवेशन गराउन सघाउने भएको छ।
 

देउवा निवास बुढानीलकन्ठमा बुधबार भएको भेलाले निर्णय फिर्ता नभए अहिलेकै समितिलाई सघाउने निर्णय गरेको हो। 'भ्रातृसंस्था विघटन पार्टी एकीकरणलगायत विगतका सबै सहमति विपरीत भएको भेलाको ठहर छ,' केन्द्रीय सदस्य विमलेन्द्र निधिले भने, 'विघटनको निर्णय फिर्ता नगरे अहिलेकै समितिलाई महाधिवेशन गर्न सघाउँछौं।' सहभागी अर्का नेताका अनुसार एकदुई दिनभित्रै विघटनको निर्णय फिर्ता नलिए समानान्तर समितिका रूपमा सबै भ्रातृसंस्थामा अहिलेकै समितिलाई अधिवेशन गराउन सहयोग गरिनेछ।
भ्रातृसंस्था विघटन पार्टी एकीकरणको सहमति विपरीत भएको ठहर गर्दै भेलाले तत्काल निर्णय फिर्ता लिन आग्रहसमेत गरेको छ। भेलाले 'पार्टी सभापति सुशील कोइरालाको असहयोग र राष्ट्रिय राजनीतिले गर्दा भ्रातृसंस्थाहरूले महाधिवेशन गर्न नसकेको अवस्थामा निर्वाचित समिति विघटन गर्नु घोर अप्रजातान्त्रिक कदम भएको' आरोप लगाएको छ।
भेला सकिएलगत्तै देउवालगायत नेताहरू तीन भ्रातृसंस्थाले पार्टी मुख्यालयमा जारी राखेको आमरण अनशनमा समर्थन जनाउन पुगेका थिए। अनशनकारीबीच देउवाले निर्वाचित चार भ्रातृसंस्था विघटन गरेर सभापतिले 'टीकेप्रथा सुरु गरेको' आरोप लगाए। असहमत पक्षलाई सहमत गराउने कोशिशसमेत नगरी सभापतिले चार वर्षअघि पार्टी एक हुँदाको मूलभावना कुल्चिएको आरोपसमेत उनको थियो। 'पार्टीमा अप्रजातान्त्रिक र टीकेप्रथा सुरु भएको छ,' एक घन्टा अनशन नै बसेका देउवाले अनशनस्थलमा सञ्चारकर्मीहरूसँग उनले भने, 'गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) र मबीच पार्टी एकीकरण हुँदा भएको सहमति तोड्ने काम भएको छ, त्यसैले हामीले निर्णय अस्वीकार गरेका हौं।' पार्टी एकीकरण हुँदा अधिवेशन नभएसम्म भ्रातृसंस्था विघटन नगर्ने सहमति भएको देउवाले बताए। 'एकीकरण हुँदा भ्रातृसंस्थाको पनि भएको हो, जसरी पार्टीको एकीकृत केन्द्रीय समितिले अधिवेशन गर्‍यो, त्यसरी नै भ्रातृसंस्थामा पनि एकीकृत समितिले नै अधिवेशन गराउने सहमति भएको हो,' उनले भने।
देउवाले आफूहरू पार्टीमा विभाजन नचाहने उल्लेख गर्दै 'सबै निर्णय गरौं, भ्रातृसंस्था विघटन नगरौं' भनेर पटकपटक सभापतिलाई आग्रह गरे पनि 'निरंकुश चरित्र देखाएको' आरोप लगाए।
उनले पार्टीभित्र असहमत पक्षलाई सहमत गराउन नसकेर गलत प्रवृत्ति सुरु गरेको भन्दै नेतृत्वको आलोचना गरे।
एकदुई दिनमै निर्णय फिर्ता नगरे त्यसको प्रतिवाद कसरी गर्ने भनेर रणनीति बनाउने उनले बताए। 'हामी सल्लाह गर्दैछौं, एकदुई दिनभित्र निर्णय फिर्ता नभए के गर्ने भन्ने निर्णयमा पुग्छौं,' उनले भने।
देउवा, कोषाध्यक्ष चित्रलेखा यादवसहित खुमबहादुर खड्का, विमलेन्द्र निधि, गोविन्दराज जोशी, कुलबहादुर गुरुङलगायत केन्द्रीय सदस्य ऐक्यवद्धता जनाउँदै अनशनमा सहभागी भएका थिए।
जेठ अन्तिम साता धुलिखेलमा भएको जिल्ला सभापति भेलाले पनि भ्रातृसंस्थालाई अधिवेशन गर्न सघाउने निर्णय गरेको बताउँदै निधिले पदाधिकारी मनोनयन गर्दा भएकोलगायत सबै सहमति विपरीत निर्णय गरेर नेतृत्वले विश्वास गुमाएको आरोप लगाए।

अनशन 'जारी रहन्छ'
तीन दिनदेखि आमरण अनशन बसेका भ्रातृसंस्थाका प्रतिनिधिले विघटनको निर्णय फिर्ता नहुँदासम्म अनशन जारी राख्ने बताएका छन्। तरुण दल अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा पार्टी मुख्यालयमा सोमबार दिउँसोदेखि अनशन चलिरहेको छ। तीन दिनदेखि केही नखाएका अनशनकारीमध्ये थुप्रै बिरामी परेको तरुण दल केन्द्रीय सदस्य दिनेश भट्टले सञ्चारकर्मीसँग बताए। 'कसैको प्रेसर लो भएको छ, कोही बेहोस भएका छन्, नेतृत्वले समस्या बु‰ने कोशिशसमेत गरेको छैन,' उनले भने। पार्टी कार्यालयमा बाथरुम र पानी बन्द गरेको उनले बताए।
भ्रातृसंस्था विघटनको माग गर्दै पार्टी कार्यालयमै अनशन बसेका तरुण दल सहअध्यक्ष विनोद कायस्थ समूहले पनि महाधिवेशन तयारी समिति गठन नभएसम्म रिले अनशन जारी राख्ने बताएको छ। विघटन निर्णयको स्वागत गर्दै उनीहरूले महाधिवेशन तयारी समिति गठन भएपछि मात्रै रिले अनशन तोड्ने बताए।

जिल्लामा पनि
निर्णय फिर्ता लिन माग गर्दै तरुण दलले विभिन्न जिल्लामा पनि आमरण अनशन सुरु गरेको छ। अछाम, कास्की, धनकुटा, कञ्चनपुर, महोत्तरी, पाँचथरलगायत जिल्लामा बुधबार अनशन सुरु भएको छ। बिहीबार अरु जिल्लामा पनि आमरण अनशन सुरु हुने तरुण दल अध्यक्ष यादवले जानकारी दिए।

 
निर्णय फिर्ता नहुने
सभापति सुशील कोइरालानिकट केन्द्रीय सदस्यहरूको बैठकले भ्रातृसंस्था विघटन निर्णय फिर्ता नगर्ने ठहर गरेको छ।
बुधबार दिउँसो कोइराला निवास महाराजगन्जमा बसेको दुई दर्जन केन्द्रीय सदस्यको बैठकले महाधिवेशन तयारी समिति दुवै पक्षलाई मिलाएर बनाउन सकिने तर निर्णय फिर्ता नगर्ने उल्लेख गरेको छ। 'विघटन फिर्ताको कुरै आउँदैन, महाधिवेशन तयारी समिति सन्तुलित बनाउन तयार छौं,' कोइरालानिकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने।
बैठकले महाधिवेशन निष्पक्ष हुने, तयारी समितिमा सबै पक्ष समेट्ने भन्दै अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ।
बैठकको निर्णयपछि साँझ कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, गगन थापालगायत नेता पार्टी मुख्यालय पुगी अनशन तोड्न आग्रह गरे। उनीहरूले पार्टी निर्णयको विरोध गर्ने अरु फोरम पनि हुने भएकाले अनशन तोड्न आग्रह गरे। अनशनकारीले भने निर्णय फिर्ता नभएसम्म अनशन नतोड्ने अडान राखेका थिए। 'अनशन तोड्नुस्, महाधिवेशन तयारी समिति सन्तुलित बनाएर निष्पक्ष अधिवेशन गराउँछौ भनेर हामीले सभापतिको धारणा राख्यौं,' महतले अनशनकारीसँगको भेटपछि नागरिकसँग भने, 'उहाँहरूले निर्णय फिर्ताको अडान राख्नुभयो।'
 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय