वैद्य समूहको उपत्यकामै 'राष्ट्रिय' भेला, चारबुँदे तत्काल खारेज गर्न माग

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ५ (नागरिक)- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले सरकार निर्माणका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पार्टीले गरेको चारबुँदे सहमतिले 'राष्ट्रियतामा समस्या खडा गरेको' ले तत्काल खारेज गर्न माग गरेको छ।

बुधबार राजधानीमा आयोजित वैद्य समूहको राष्ट्रिय अगुवा कार्यकर्ता भेलाले यस्तो माग गरेको हो।
चारबुँदेलाई कार्यकर्ता तहसम्म बहसमा लैजान पनि भेलाले सुझाव दिएको छ।
'बोल्ड डिसिजनका नाममा अर्को पक्षको सेना थप्न तयार हुने, आफ्ना सेनालाई निशस्त्रीकरण गर्न चाबी बुझाउने, यो कस्तो नेतृत्व हो?' भेलामा उपाध्यक्ष वैद्यले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईप्रति संकेत गर्दै प्रश्न गरे।
भेलामा स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले भने, 'हामीलाई शान्ति, संविधानविरोधी देखाइएको छ। हामी त आत्मसर्मपण विरोधी हौं।'
वैद्य विचार समूहका नेताहरूले भट्टराईको नेतृत्वमा सरकार निर्माण भएयता दुई साता देशभर कार्यकर्तासँग भेट गरी राष्ट्रिय भेला तयारी गरेको थियो।
तीन दिनदेखि वैद्य समूहका कार्यकर्ता राजधानीमा देखिए पनि भेला हुने स्थान गोप्य राखिएको थियो। बुधबार मध्याह्न मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा वैद्य पक्षधर देशभरका २ सय हाराहारी अगुवा भेला भएका थिए।

अन्तर्त्रि्कयामुखी उक्त भेलामा वैद्य, महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य देव गुरुङ, नेत्रविक्रम चन्दसहित पोलिटब्युरो र केन्द्रीय सदस्यहरू थिए।
चारबुँदेबारे भेलामा प्रश्नोत्तर शैलीमा सुझाव लिइएको थियो। 'शीर्षनेताले विचार राख्ने र अहिले राष्ट्रियताको समस्या जटिल बन्दै गएकाले यसको समाधान के हुन्छ भनेर सुझाव लिने काम भयो,' एक सहभागीले नागरिकसँग भने।
आफूहरूलाई शान्तिविरोधी देखाएर 'जसरी पनि घिसारेर लान खोजिएको' गुनासो भेलामा नेताहरूले राखेका थिए। 'जसरी हुन्छ घिसारेर, पेलेर लगिन्छ भन्नेमा जोड दिइयो। हामीलाई सम्मानजनक पार्टी एकता, सम्मानजनक सेना समायोजन, सम्मानजनक शान्ति चाहिएको हो', वैद्यलाई उद्धृत गर्दै ती सहभागीले भने।
भेलामा राष्ट्रियताको मुद्दा कार्यकर्तासम्म प्रवाह गरी बहसमा लाने निष्कर्षसहित भेला टुंगिएको छ। राष्ट्रियता, सेना समायोजन, किसानको जग्गा फिर्ता, चारबुँदे सहमति, पार्टी नीतिअनुरूप समावेशी समानुपातिक सरकार निर्माण नभएको बारे छलफल भएको पोलिटब्युरो सदस्य पम्फा भुसालले बताइन्।
'समावेशी, समानुपातिकका लागि जुन धोबीघाटबाट कमरेड बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो तर, गणतन्त्र आएयता सबभन्दा बढी असमावेशी सरकार बनेको छ। पार्टीको समानुपातिक नीति लागू गर्नुपर्छ,' भुसालले २२ सदस्यीय मन्त्रिमण्डलमा एकजनामात्र महिला रहेको तर्फ संकेत गर्दै आक्रोशपूर्ण शैलीमा भट्टराईप्रति कटाक्ष गर्दै भनिन्।
राष्ट्रिय राजनीतिमा देखिएका विषयलाई छलफल गर्न विचार समूहको अगुवा कार्यकर्ताको अगुवा राष्ट्रिय छलफल गरिएको उनले बताइन्। 'चारबुँदेले राष्ट्रिय स्वाधीनताविरूद्ध रहेको, समायोजनको सवालमा १९ हजार जनमुक्ति सेना नै योग्य छन्, देश कतै सिक्किमीकरण त भएको छैन भन्नेमा छलफल भयो। यी विषयहरूलाई सशक्त रूपमा आगामी केन्द्रीय समिति बैठकमा राखिन्छ', उनले भनिन्।
मधेसबाट १० हजार सेना समाबेश गराउने गलत भएको निष्कर्ष भेलाले निकालेको उनले जनाइन्। 'समायोजनमा जनमुक्ति सेना समूहगत प्रवेश हुनुपर्छ। जुन अहिले मुलुकमा एक लाख नेपाली सेना छ, त्यसको पुनर्संरचना हुनुपर्छ भन्नेबारे छलफल भयो,' उनले भनिन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय