गृहमन्त्रीको आकस्मिक निरीक्षण, थुनुवा र चालकले भने - प्रहरीको व्यवहार ठीक छैन

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- गृहमन्त्री विजयकुमार गच्छदार बिहीबार अकस्मात् उपत्यकाका विभिन्न प्रहरी कार्यालय र नाका पुगेर प्रहरी कार्यशैलीको छड्के गरे। थुनुवा र चालकसँग प्रहरीको व्यवहारबारे जिज्ञासा राखे अनि आचरण र शैली सुधार्न प्रहरीलाई निर्देशन दिए।
 

दिउँसो अचानक महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका मन्त्री गच्छदारले त्यहाँको प्रहरी कक्ष, मुद्दा शाखा र थुनुवा कक्ष निरीक्षणमात्र गरेनन्, केहीबेर थुनुवासँग कुराकानी पनि गरे।

उनले कोठाकोठा पुगेर थुनुवासँग पक्राउ पर्नुको कारण र समस्याबारे जिज्ञासा राखेका थिए। गृहमन्त्रीसँग भेट्दा हौसिएर थुनुवाहरूले पनि अव्यवस्थित शौचालयदेखि कोठामा चिसो, उडुस-उपियाँको समस्यासम्म निर्धक्क राखेका थिए।

हनुमानढोका थुनुवा कोठाको क्षमता एक सय २० जनामात्र रहे पनि त्यहाँ उनले २ सय २० थुनुवा कोचेर राखिएको भेटे।

थुनुवाले प्रहरीको व्यवहार ठीक नरहेको गृहमन्त्रीलाई सुनाए। पक्राउ परेको लामो समयसम्म प्रहरीले अनुसन्धानै नगरी थुनामा राखेर दुःख दिने गरेको उनीहरूको गुनासो थियो।

समयमा म्याद थप नगर्ने र जानीजानी बढी समय थुनामा राख्ने गरेको गुनासो सुनेपछि गच्छदारले एसपी केदार रिजाललाई तत्काल सुधार गर्न निर्देशन दिए। 'सकेसम्म चाँडो अनुसन्धान सकेर अदालत लैजाने व्यवस्था गर्नुस्,' गच्छदारले निर्देशन दिँदै भने, 'भौतिक पूर्वाधार पनि सुधार्नुस्।'

काठमाडौं परिसरको निरीक्षण सकेर मन्त्री गच्छदार महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए। उनले महाशाखाको सामान्य अवलोकनमात्र गरे र सिधै काठमाडौं प्रवेश गर्ने नाका नागढुंगा पुगे।

त्यहाँ उनले केहीबेर चालकहरूसँग कुराकानी गरे। 'प्रहरीले कति ठाउँमा चेक गरे, चेक गर्ने क्रममा पैसा मागे कि मागेनन्?' मन्त्रीले उनीहरूसँग सोधेका थिए।


त्यस क्रममा केही चालकले चेकिङको बहानामा प्रहरीले दुःख दिएको गुनासो गरेपछि मन्त्री गच्छादारले तत्कालै कार्यक्षेत्रमा खटिएका प्रहरीलाई छवि सुधार्न निर्देशन दिएका थिए।

आकस्मिक निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री गच्छदारले 'प्रहरी संगठनको कार्यशैली र छवि सुधार्न यो पहिलो सुरुवात' भएको बताए। 'यो प्रारम्भमात्र हो,' उनले भने, 'यसलाई निरन्तरता दिन्छु।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय