Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

मैले हिँडेका पाइलाहरु

E-mail Print
(0 votes, average 0 out of 5)
इन्द्रबहादुर राई- लेख्न थालेको ५३ वर्षअघिबाट हो। पहिले मैले उपन्यास लेख्न थालें- आज रमिता छ। त्यो सन् १९५८ मा लेखिसकेको थिएँ। त्यतिबेला मेरो विचार साहित्य के थियो?
उपन्यासको भूमिकामा मैले दुईपटक भनेको छु- साहित्यले जीवन र जगत्को अध्ययन गर्छ, जीवन र जगत्लाई लेख्छ। यो कुरा पत्रपत्रिका, पुस्तकहरूमा पनि लेखिएको पाइन्छ। विभिन्न लेखकले सोचेर विचारेर लेखेको हुनुपर्छ। अरु कतैबाट थाहा पाएर पनि लेखिएको हुनसक्छ।

मैले चाहिँ त्यो कहाँबाट टिपें? सायद एउटा सफाइ दिनुपर्छ। मैले त्यसबेला पढेको एउटा पुस्तक थियो, अंग्रेजीका ठूला लेखक म्याथु आर्नोल्डको एसेज इन क्रिटिसिजम्। त्यो पुस्तक सन् १८६५ मा प्रकाशित भएको थियो। पुस्तकमा आर्नेल्डले जर्मन कवि गेटेका सम्बन्धमा लेखेका छन्, 'उनका कविता नेसेसरी सब्जेटयुक्त छन्।' कविहरूको हुनैपर्ने सब्जेट म्याटर हो - लाइफ एन्ड द वर्ल्ड। जीवन र जगत् भन्नुपर्ने शब्द अंग्रेजीमा त्यहाँ पाएँ। अनि त्यसैलाई भूमिकामा लेखें। जीवन र जगत्लाई लेख्ने कोसिस त्यो उपन्यास र पछिका कथा संग्रहहरूमा पनि भयो।
हामी कलेजमा भर्ना हुँदा पहिल्यैबाट जान्न पाउँछौं- ज्ञानको शाखा साइन्स, आर्टस्, कर्मस कतिपट्टि जाने हो। तर साहित्यमा अगाडि बाटै जान्ने त्यस्तो कुनै बाटो छैन। कुन बाटो लागेर कहाँ पुग्छु? कुन बाटोको शक्ति कति छ? लेखनविधिको सीमा कहाँ छ? थाहा हुँदैन। जुन पुस्तक हातमा आइपुग्यो, त्यही पढ्छौं, त्यसैले प्रभावित हुन्छौं। त्यसैको प्रभावमा लेख्नुपर्छ। यो एउटा दूर्भाग्य नै भनौं हामीलाई छ। पछिपछि भने पढ्दै जाँदा हाम्रा आँखा खुल्छन्, कताकता चेतना आउन थाल्छ। तर समय धेरै बितिसकेको हुन्छ। मैले पनि म्याथु आर्नोल्ड भेट्टाएँ। त्यसपछि जीवन र जगत्लाई लेख्नुपर्छ भन्नेमा पुगें।
धेरै पुस्तक पढिन्थ्यो त्यतिबेला। प्रेमचन्द, रवीन्द्रनाथ ठाकुर उता फ्रेन्च आन्द्रे जेडहरूको पढिन्थ्यो, धेरै अंग्रेजीका लेखक, नाटककारहरूको पुस्तक पढिन्थ्यो। एउटा पुस्तक फेरि भेट्टाएँ, सजिलो पुस्तक समरसेट ममको कथासंग्रह। एउटा लाइब्रेरीमा तीन भोल्युम थिए। एक ठेलीमा एक सय कथा। दुई ठेली पढें अनि त्यसले प्रभावित भएँ। सरररर कथा लेख्ने, बुझ्न पनि कठिन नहुने, पढ्दा आनन्द पनि लाग्ने। त्यसैको प्रभावमा विपना कतिपय लेखें। २० वटा कथाको संग्रह करिब २० दिनमै लेखें। विवेकमा त्यही आयो, त्यही लेखें।
फेरि एकदिन एउटा पत्रिकामा समरसेटको अन्तर्वार्ता देखें। त्यसमा उनले एउटा आश्चर्य प्रकट गरेका थिए, 'मैले त्यत्रो विघ्न पुस्तक, संग्रह लेखें। उपन्यास, कथासंग्रह, पुस्तकको संख्या प्रशस्त छ। नोबेल पुरस्कार पनि पाएँ। तर किन समालोचकहरूले मेरोबारे चाहिँ थोरै किताब लेखेका छन्। उता हेविङ वे, विलियम फोकनर, डिएस लरेन्सबारे ठेलीका ठेली लेखिँदैछन्। मेरो विषयमा चाहिँ किन थोरै।'
त्यसमा अर्न्वार्ता लिने समालोचकको टिप्पणी पनि थियो, 'उनको विषयमा के लेख्नु त? सररर बुझिने छ। जति कथा छ त्यति छ, त्यसबाहेक केही छैन। गहिरिएर खोज्नु पनि छैन, पछितिर परेको केही खोज्नु पनि छैन। के प्रभाव पर्छ भन्ने पनि छैन, जति पढ्यो सकिइहाल्यो अनि के लेख्नु?'
अन्तर्वार्ता पढेपछि तर्सिएँ, हाम्रो पनि भाग्य त्यस्तै हुने रहेछ। अनि आतिएर पढ्न थालियो। बाटो खोजिरहेको थिएँ, सन् १९६३ को अगस्ट-सेप्टेम्बरको एक दिन दार्जिलिङका गणेशबहादुर प्रसाईंले तिलबिक्रम नेम्वाङ (बैरागी काइँला) र ईश्वर वल्लभजीलाई लिएर आउनुभयो। हाम्रो साहित्यिक संगती स्थापना भएको दिन त्यही थियो। अनि त हामी नछुटिने भयौं, सधैंैसधैं केके कुरा गर्थ्यौं केके? पाएका पुस्तक जति नै पढ्थ्यौं हामी।
यस्तै बेलामा काइँलाले पढ्नु भएछ- टिएस इलियटको एउटा पुस्तक। इलियटको त्यसबेला ठूलो नाम थियो। एंग्लो अमेरिकन वर्ल्डका जम्मै विद्वान्, साहित्यिकहरू घुँडा टेकेर भनुँ इलियटसामु खडा थिए। ठूला नाम चलेका लेखकको किताब पढ्न हामीलाई पनि चासो लाग्थ्यो। इलियटले वेन जोन्सनमाथि लेखेको एउटा लेख काइँलाले पढ्नु भएछ। त्यसमा एउटा वाक्य रहेछ, 'वेन जोनसनका नाटकमा जति पात्र छन्, तिनको चरित्र चित्रणमा तेस्रो आयाम छैन। अर्थात् ती चरित्र पूर्ण चरित्र छैनन्, दुई आयाममात्र भएका चेप्टा छन्। सोलोडोलो र जीवन्त छैनन् ।'
काइँलाले यो सुनाएपछि एउटा विचार आयो- हामीले लेखेकोमा पनि पूरा तीन आयाम हुनुपर्छ, लमाइ, चौडाइ अनि मोटाइ। अहिले लमाइ र चौडाइ त हुन्छ, मोटाइ हुँदैन। अर्थात् गहनता हुँदैन। खोतल्नुपर्ने कुरा हुँदैन। कुनै दार्शनिक प्रश्न औंल्याउँदैन, वैज्ञानिक-मनोवैज्ञानिक तथ्यतर्फ पनि संकेत गर्दैन भने त्यो थर्ड डाइमेन्सन नभएको हुन्छ। यो गर्न बौद्धिकता चाहिन्छ। हामी तीन जना त्यसबेला साह्रै परिपक्व थिएनौं। सबैभन्दा जेठो मेरो उमेर पनि ३०-३५ थियो, ईश्वर वल्लभ माइलो अनि उमेरमा कान्छो काइँला।
हामीले सोच्यौं। हाम्रो सोच कति पुग्यो, कति पुगेन भन्न सक्दैनौं। यस्तो साहित्य लेखौं, जसको मोटाइ होस्, गहनता अर्थात् तेस्रो आयाम होस्। अझ समयको आयाम चौथो आयाम पनि होस्। चारै आयाम भएको लेख्नुपर्छ भनेर सन् १९६३ मा काइँलालाई सम्पादक राखेर तेस्रो आयाम भन्ने पत्रिका निकाल्यौं। पातलो थियो त्यो। त्यसमा काइँलाले सम्पादकीय लेखेका छन्। एउटा वाक्य थियो - व्यक्तिचरित्र, व्यक्तिको जीवन र उसको अनुभव जस्तो हुन्छ, त्यसलाई वर्तमान सामाजिकताले चेप्टाउँछ, दुई आयामको तुल्याउँछ। वर्तमानको बाँच्ने विधि नै यस्तो छ, हामीलाई चेप्टाउन खोज्छ।
यो कुरा उहाँले त १९६३ मै देख्नुभएको छ। एक वर्षपछि अंग्रेजीमा एउटा पुस्तक छापियो, एकदम प्रसिद्ध पुस्तक भयो- अल्बर्ट मार्कुसको द वन डाइमेन्सनल म्यान। त्यो पुस्तक पढ्दा आज पनि हामी धेरै कुरा चाल पाउँछौं। त्यसमा त्यही कुरा भनिएको छ, जुन एक वर्षअघि नै काइँलाले भन्नुभएको थियो। मार्कुस पनि भन्छन् - वर्तमान समयमा मानिसलाई जसरी पनि दुई आयामिक बनाउन अर्थात् चेप्टाउन खोज्छन् समाजको व्यवस्था नै त्यस्तो छ।
यो साँच्चै हो। हामी वास्तवमा तीन आयाम भएका र समयमा बाँचेकाले चार आयामका छौं। संसारका जम्मै कुरा चरा, मुसादेखि लिएर चौकी, टेबल, घर, बाटो, समाज, पुरुष, स्त्री, बालक सबै चार आयामले युक्त छ तर लेख्दा, विचार गर्दा वा त्यसबारे बोल्दा के हुन्छ कुन्नि? हामी उनीहरूलाई दुई आयामको बनाएर मात्रै कुरा गर्न सक्छौं। यसो गर्दा सजिलो हुन्छ। यो केले हो? त्यसतिर लाग्न वा खोज्न हामीलाई त्यसबेला आवश्यक लागेन। तर यो हुँदो रहेछ।
जुनै मानिस पनि तीन आयामका हुन्छन्। उहाँ एउटा कार्यालयमा काम गर्नुहुन्छ, त्यो एउटा परिचय। तर घरको मूली पनि हुनुहुन्छ, त्यो अर्को उहाँको परिचय। कसैको दाजु, भाइ, कसैले देखेको सज्जन, कसैले देखेको दुर्जन। उनले कति काम गर्छन्, विभिन्न पक्ष छ एउटै मानिसको। ती सबै पक्ष भेद भएका एउटै मानिस त चार आयामवाला नै हुनछन् वास्तवमा। तर लेख्न पर्‍यो भने कुन्नि के हुन्छ? विचार गर्न पर्‍यो भने हाम्रो विचार गर्ने विधि कुन किसिमको हुन्छ कुन्नि? कसोकसो दुई आयाम बनाएर विचार गर्न, लेख्न, बोल्न सजिलो लाग्छ। यसविरुद्ध अब कोसिस गर्न पर्‍यो भनेर त्यसतिर लाग्यौं।
हामीले चाह्यौं- पूर्ण मानिसलाई लेख्नुपर्छ। सम्पूर्णता हाम्रो एउटा नारा नै भयो। सबै चिज सम्पूर्णतामा बाँचेको हुन्छ, झुठ्याएर दुई आयामिक बनाएर किन लेख्ने? यो लेखाइ भएन। यसविरुद्ध जानुपर्छ भन्ने जमर्को हामीबाट भयो। पहिलो अंकमा काइँलाले एउटा कविता दिनुभयो- मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण। त्योपछि प्रसिद्ध पनि भयो।
हामी कसोकसो आफूलाई दुई आयामिक नै सम्झँदा रहेछौं। एउटा पसल थापेर बस्ने मान्छे पनि त साँच्चैमा धेरै पक्ष भएका हुन्छन् नि। तर हामी उनलाई पसले मात्र चिन्छौं। एउटै परिचयमा सीमित बनाउन खोज्छौं। मेरो पनि धेरै पक्ष छन्, तर मलाई तिमीचाहिँ एउटा मात्र शिक्षक हौ भनेर एउटा परिचयमा मात्र सीमित बनाउन खोज्छ समाजले। एउटा मजदुर छ भने उसको पनि त धेरै पक्ष हुन्छ। उसलाई धर्म मन पर्छ, पूजाआजा गर्न, पैसा कमाउन मन पर्छ। बाबु हो। असल बाबु हुन मन लाग्छ, असल पति हुन मन लाग्छ। तर हामी भन्छौं- तिम्रो आधारभूत परिचयचाहिँ मजदुर मात्र हो। मजदुर मात्र मानेर त्यसै अनुसार काम गर आन्दोलन गर। यसरी हामीलाई बलजफ्ती पनि समाजले एउटै परिचयमा सीमित गराउन खोज्छ- दुई आयाममा।
त्यही भएर हामीले सम्पूर्ण मानिस लेख्ने विचार गर्‍यौं। अब सम्पूर्ण मानिस कहिले पाउने? दिउसो चेतन अवस्थामा काम गर्दा त हामी आफैंले पनि आफूलाई 'शिक्षक हुँ' भनेर एउटा परिचयमा घटाउँछौं। तर काइँलाले बरु मातेको मान्छे, चेतना अलि कम भएको र अचेतना बढेको, अचेतना मुक्त भएको बेला सायद ऊ बढी पूर्ण हुन्छ कि भनेर त्यो कविता लेख्नुभयो। मातेको मान्छे अरु मानिसभन्दा धेरै नै पूर्ण हुन्छ। उसलाई डर हुन्न। काइँला भन्नुहुन्छ- मातेको मान्छेले ढाँट्दैन। हामी त बोल्दा कति कुरा आफैंले दबाउँछौं, लुकाउँछौं तर मातेको मान्छेले यसो गर्दैन। त्यो लुकाउने मान्छे पूर्ण हो कि मातेको मान्छे? पूर्ण मानिसको खोजीमा हामी अघि बढ्यौं।
अनि मध्यरातपछिको सडक। मध्यरात भनेपछि एउटा दिन सकिएर सुरु हुने नयाँ दिन, नयाँ युगलाई आह्वान हो त्यो कविता। यसरी घटाएर एक परिचयमा बाँध्ने सामाजिक व्यवस्थाविरुद्ध हामीले लेख्ने कोसिस थाल्यौं। इश्वर वल्लभले पनि त्यही अंकमा एउटा कथा लेख्नुभएको थियो- बन्द कुहिरोमा नानीको पाइला। त्यसमा एउटा सानो छोरा छ, बामे सर्दै गरेको। बल्लबल्ल उसले सिँढी उक्लन सिकेको छ। कथामा बाबुले भन्छ- छोरा तिमी मलाई जित। म त कसोकसो अपूर्ण मानिस भएँ, तिमी मजस्तो अपूर्ण मानिस नरहनु। तिमी पूर्ण, चार आयामको मानिस बन। यही पूर्णताको आह्वान लिएर हामीले लेख्न सुरु गर्‍यौं।
यसको पछाडि कुनचाहिँ सिद्धान्त वा विचार थियो त? बुझ्न अप्ठ्यारो पर्छ। हामीले पूर्णता खोजी गर्दा पूर्णता के-के हो? मानिसको पूर्णता त हो नै। मानिसमा पनि धेरै कुरा हुन्छ। मानिस कुनै समयमा बाँचेको हुन्छ। समय पनि भाग-भागमा हामी जान्दछौं- भूतकाल, वर्तमानकाल र भविष्यत्। हामी वर्तमान कालमा बाँचेका छौं तर समयको पनि त पूर्णता हुन्छ। त्यसको पूर्णता खोज्न हामीले पुस्तकहरू पल्टाउन थाल्यौं। दार्शनिकले के भन्छन्? वैज्ञानिकले समयमाथि के भन्छन्? यसरी सबैलाई सोध्दै हिँड्यौं, पुस्तकहरूको माध्यमबाट। त्यहाँ पनि पायौं- समय त एउटै हुँदो रहेछ। टुक्रा-टुक्रा हुँदो रहेनछ, समय एउटै हुन्छ।
आइज्याक न्युटनको पुस्तक पढ्यौं, त्यसमा पनि सिमेटि्रकल टाइम भन्ने छ। समय यसरी खण्डखण्ड बाँडिएको भन्नु भूल विचार हो। समय एउटै छ भन्ने त्यहाँ पायौं। तर हामीले तेस्रो आयामको मूल आधार लिएको आइन्सटाइनको सापेक्षता सिद्धान्तलाई हो। उनले स्पष्ट भनेका छन्- समय सबै एउटै छ, खण्डखण्ड छैन। खण्डखण्ड सम्झनु भ्रम मात्रै हो।
हामीले धार्मिक पुस्तकहरू पनि हेर्‍यौं समयलाई कसरी लिइएको रहेछ भनेर। त्यहाँ पनि त्यस्तै कुरा पायौं- त्रिकालज्ञ, सबे कुरा मान्ने शिव र अन्य देवहरू। तीनै काल देख्न सक्ने भनेपछि तीनै कालसँगै रहेछ र त देख्न सकिन्छ? एउटा गइसकेपछि, नदेखिने भइसकेपछि, आझेल भएपछि त तीनै काल देखिने कुरै रहेन। तीनै काल सँगै हुन्छ, देख्नेले देख्छन् धर्मले भन्दो रहेछ।
धर्ममा पनि ज्ञानको कुरा हुन्छ, अन्धविश्वास मात्र हुँदैन। लौकिक विचारमा कतै यो अन्धविश्वास हुन्छ होला तर धार्मिक ज्ञानभित्र त तर्कैतर्कै छ। अलिकति पनि कुतार्किक कुरा गर्न दिँदैन धर्मले। तर्कसहित विश्लेषण गरिएको धर्मबाट ज्ञानका धेरै कुरा पाइने रहेछ। यसरी अब हामीले देख्नुपर्छ हामीले एउटै समय रहेको। एउटै समयलाई लेख्नुपर्छ, अविभाजित समय, अविराम वर्तमान। जहिले पनि एउटै छ। अनि सम्पूर्णता समयको खोज्यौं। वैज्ञानिकहरुले पनि त्यही कुरा भनेका रहेछन्। हाम ित वैज्ञानिक होइनौ., उनीहरुले गणितबाट सबै हिसाब निकालेर प्रमाणित गरिदिएका छन् समय एउटै हो भनेर। अनि हामीलाई लाग्यो समय एउटै छ।
अर्को कुरा, हामी त जीवनलाई लेख्छौं भन्छौं। जीवन पनि एउटै छ कि विभाजित? समय भिन्दैभिन्दै आएजस्तो हाम्रो व्यवहारिक बुझाइमा जीवन पनि यसरी नै बाँडिएको छ कि एउटै छ? अनि चेतना पनि एउटै छ कि भिन्नाभिन्नै?
हामी त त्यतिधेरै चिन्तन गर्ने मानिस थिएनौं। हामीभन्दा अघि भाग्यले धेरै विचार गर्नेहरू गइसकेका छन्। उनीहरूले लेखेर छाडेका कुरा हामी पढ्न पाउँछौं। उनीहरूले भनेका छन् - चेतना पनि एउटै छ। जसरी घाम बाटोमा लाग्छ, त्यही घाम घरको छत र कुनै खोलामाथि पनि लागेको हुन्छ, त्यो भिन्नाभिन्नै घाम होइन। जसरी वायुमण्डल एउटै छ, मैले फेर्ने सास र अरुले फेर्ने सास भिन्नाभिन्नै होइन। एउटै वायुबाट सास फेर्छौं। जसरी घाम एउटै छ, वायुमण्डल एउटै छ, चेतना पनि एउटै छ।
आजकल जम्मै दार्शनिक, वैज्ञानिकहरूले पनि यही कुरा भन्दैछन्। हामीलाई कसरी सबै कुरा चार आयाममा हेर्न नलगाएर दुई आयाममा हेर्ने बनाउँछ, यही भ्रमहरूले लगाउँदो रहेछ। त्यसैगरी जीवन पनि एउटै छ कि अंशअंशमा बाँडिएको हुन्छ। उहाँको जीवन, मेरो जीवन र काइँलाको जीवन अलगअलग हो कि भित्रबाट एउटै छ? हामी सोच्थ्यौं, कुरा गर्थ्यौं। हजार वर्षअगाडि कसैमाथि अत्याचार भएको थियो रे, सीतामाथि अथवा लुसिपसका छोरीहरूमाथि। त्यो अत्याचार र आज कसैमाथि भएको अत्याचार एउटै हो कि भिन्नाभिन्नै खालको हो? गुणात्मक किसिमले भिन्नाभिन्नै हो कि भित्रबाटै एउटै हो?
देख्छौंं, जीवन एउटै छ। उसलाई पनि मन दुखेकै हो, अहिलेकोलाई पनि मन दुख्छ। अहिलेकोलाई पनि पीर लाग्छ, उतिबेला पनि पीर लाग्थ्यो। समय मात्रै भिन्न हो जीवन त एउटै छ। यसरी जीवन एउटै छ अघिदेखि आजसम्म पनि समय एउटै छ, चेतना सधैं एउटै छ यो कुरामा यो निष्कर्षमा हामी पुग्यौं।
निष्कर्षमा त पुगियो तर लेख्ने कसरी? बुझ्नु र लेख्नुमा धेरै ठूलो खाडल छ, त्यो पार गर्नुपर्छ। आएको कुरा लेख्न सकिएन भने त्यसको अर्थ हुँदैन। लेख्न पहिले आफ्नो शैली र परिधि तयार गर्नुपर्‍यो, उपयुक्त प्रविधि खोज्नुपर्‍यो। कस्तो प्रकारले लेख्यो भने यी कुराहरू आउँछन्। धेरै टाउको दुखाउनुपर्‍यो- सम्पूर्णता देखाउने कुन-कुन थोकले चाहिँ हामीलाई सहायता गर्ला? चित्रकलाहरू हेर्‍यौं, संगीतका पुस्तकहरू हेर्‍यौं, मनोविज्ञान, समाजशास्त्र सबै किसिमका किताब हेर्‍यौं। कहाँबाट अलिकति सहायता पाउँछौं भनेर।
त्यसबेला काइँला अनि बल्लभले एउटा उपाय ल्याउनु भयो- मिथकबाट लेख्नुपर्ने रहेछ। मिथकले उहिलेको कुरा पनि भन्छ, जुन सधैंका लागि हुन्छ। सधैंको समय लेख्न मिथकले सहायता गर्छ। मिथक रहेछ, समात्नुपर्ने एउटा प्रविधि। तर त्यसलाई कसरी लेख्ने? कतै संगीतकार, चित्रकारले पो यो कोसिस गरेका छन् कि? पश्चिमा र पूर्वीय संगीतका पुस्तकहरू पनि हेर्‍यौं। त्यसबेला हामीले चित्रकलाबाट एउटा ठाउँमा सहायता पायौं, सम्पूर्णता दिन। त्यसबेला चित्रकलामा चलेको थियो- घनवाद, जसले सम्पूर्णता दिन खोज्ने रहेछ। एउटै टेबुलको पेन्टिङ गर्न खोज्यो भने माथिबाट हेर्दा एउटा रूप हो, तलबाट हेर्‍यो अर्को, दाहिनेबाट अर्को। बिहान एउटा रूप हो, दिउसो अर्कै। यी सबै रुप जोडेर समपूर्णता हुन्छ। अब यी सबै रूपलाई गाँसेर घनवादले लेख्छ।
त्यसपछि हामीले घनवाद ल्यायौं। काइँलाको कविताभरि घनवादको टेक्निक छ। बल्लभका कविताभरि, मैले कथाभरि त्यही लगायौं सम्पूर्ण दिन। कोसिससम्म गरेका हौं, कति आयो सम्पूर्णता हामी ग्यारेन्टी गर्न सक्दैनौं। बाटो त्यति नै भेट्यौं। सबैको आ-आफ्नो सीमा हुन्छ।
लेख्दा हाम्रा मनमा भाव, भावना आउँछन्। रीस उठ्छ, कुतै कुरा राम्रो लाग्छ, कसैलाई देखेर खुसी लाग्छ। जीवन भनेको अनुभव र अनुभूति त हो नि। कसैलाई भेट्दा खुसी लाग्छ, आनन्द लाग्छ। अब यो आनन्दहरूलाई पनि लेख्नुुपर्छ, खुसीहरू, क्रोधहरूलाई पनि लेख्न पर्छ भन्नेमा पुग्यौं।
लेख्ने कसरी? यी क्रोध, आनन्द हर्ष, मनमा जसरी आउँछ, त्यसरी नै लेख्नुपर्छ। अहिलेसम्म हाम्रो साहित्यमा मनमा लागेको हर्ष, कुनै केही वस्तु समात्दा चीसो स्पर्श भयो, त्यो चीसोलाई कसरी लेख्ने? कुनै तरलपदार्थ छुँदा तातो लाग्छ, त्यसलाई कसरी लेख्ने? लेख्न त यी अनुभूति नै लेख्नुपर्छ, साहित्यमा। यो बाहेक अरू चिज छैनन्। चिसो जुन लाग्दछ, एकैचोटि लाग्दछ, विस्तार-विस्तार शब्दहरू वाक्यहरूको लाइनजस्तो, एउटा शब्दपछाडि अर्को शब्द गर्दै सय-डेढ सय शब्द, एक वाक्यपछि अर्को वाक्य हुँदै लम्बिएर त स्पर्शको अनुभूति हुँदैन। एकैचोटि हर्ष हुन्छ, क्रोध हुन्छ। एकैचोटि हुने अनुभव एकैचोटि लेख्नुपर्छ। त्यसरी लेख्दा हाम्रो अनुभूतिको सबै आयाम एकैचोटि आउँछ। तर त्यसलाई विवरणजस्तो बनाएर लम्बेतान लेख्यौं भने एकैचोटिमा हुने स्पर्शको अनुभूति झुठो हुन्छ। जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ। पढ्दा एकपृष्ठ लामो भयो भने हामीलाई स्पर्शको अनुभूति त एकपृष्ठ लामो भएको छैन, झट्टै पो आएको छ त।
अब झट्टै कसले दिन्छ? खोजी हिँड्यौं। हामीले भेट्यौं- चित्रकलाले दिँदो रहेछ। चित्र हेर्दा शब्दपछि शब्द वाक्यपछि वाक्य त्यहाँ छैन। झट्टै देखिन्छ एकैचोटि। चित्रकलाबाट सिक्नुपर्ने रहेछ। यसरी हामीले उपायहरू यता खोज्यौं, उता खोज्यौं। जति बुझ्न सक्यौं, त्यसैलाई लिएर तेस्रो आयाम सुरु गर्‍यौं। त्यसैअन्तर्गत लेख्यौं।
हामीले पछि विचार गर्‍यौं- अब बुद्धिलाई पछ्याएर जानु पर्छ। हाम्रो लेखनमा बौद्धिकताको तेस्रो आयाम पनि हुनुपर्छ। तर बौद्धिकता हाम्रो निम्ति काइँलाको शब्दमा उत्तरको धु्रवतारा थियो, जसलाई हेरेर, पछ्याएर हामी समुद्रमा पनि आँखा टेक्दथ्यौं। बुद्धि नै हाम्रो देवता। तर बुद्धिलाई पछ्याउँदै जाँदा पछिपछि कताकता शंका लाग्न थाल्यो - यो बुद्धि पनि साह्रै भरपर्दो ली होइन कि?
लाग्यो, मानिसलाई चिन्नुपर्ने छ। साहित्यमा मानिसको जीवनलाई लेख्नुपर्छ, मानिस नचिनी साहित्य लेखिँदैन। अनि मानिस कस्तो छ त वास्तवमा? पुस्तकहरू हेर्छौं के पायौं भने मानिसलाई चिन्न उसको प्रकृति चिन्नुपर्छ, स्वभाव चिन्नुपर्छ। मानिसको चरित्र यस्तो छ भन्ने जानियो भयो, उसका आवश्यकता यस्तो छ भनेर भन्न र लेख्न सक्छौं।
मानिसको प्रकृति स्वभाव कस्तो छ? कत्ति पुस्तक पल्टायौं, एक मत छैन। अहिलेसम्म पनि मनोवैज्ञानिकहरूबीच मानिसको प्रकृतिबारे सहमति छैन। मानिसको प्रकृति कस्तो छ भन्ने मै सहमति छैन भने लेख्ने कसरी? त्यसमा उनीहरू सहमतिमा नपुग्दा यो बुद्धि भन्ने कुरा पनि साह्रै विश्वास लाग्दो छैन कि भनेर विचार गर्न थाल्यौं। पछि हामीलाई पक्का भयो- यो बुद्धि साह्रै नै विश्वसनीय छैन। अनि काइँलाले आफ्नो एउटा कवितामा एक पंक्तिमा लेख्नुभयो- बुद्धिले सूर्य बालेर राँकोले हेर्छ, देख्दैन। बुद्धिमा अविश्वास भयो, जुन बुद्धिलाई पछ्याएर हामीले तेस्रो आयाम सुरु गर्‍यौं। पछि त यो बुद्धिमाथि नै अविश्वास जन्म्यो। यो अन्योलको अवस्थामा छँदै थियौं, हामी तीन जना छरपस्ट भयौं। उहाँहरू यता नेपाल आउनुभयो, म उता बसें।
तेस्रो आयाम कालमा हामीले सापेक्षताको आधार लिएर लेख्यौं। त्यसको पनि अनेक पक्ष छन्, धेरै पक्षलाई समात्दै लेख्दै थियौं। मूल पक्ष सापेक्षतालाई नै लेख्न चाहिँ हामीले समय नै पाएनछौं। कसोकसो त्यसलाई काइँलाले समात्नु भयो। बुद्धि त्यस्तो भएको बेला सत्य भन्ने त सापेक्ष मात्र हुनेरहेछ, एकापट्टिबाट हेर्दा एउटा देखिन्छ, अर्कोपट्टिबाट अर्कै। भेटिँदैन के हो यो। यस्तो बेलामा उहाँको कवितामा थियो - अन्धाले ब्रेल छामेजस्तो, हात्ती छामेजस्तो मात्रै हो जीवन बुझ्नु। उनीहरू त अन्धा थिए आँखाका। हामी त आँखा देख्ने अन्धाहरू हौं पढेका, आ-आफ्नो बुद्धिले अन्धो।
सापेक्षताभित्र सबै कुरा सापेक्ष हुँदैन। यसो भए त त्यसलाई सापेक्षतावाद भनिन्छ, जुन शून्यवादजस्तो हुन्छ। तर यसभित्र त एउटा वास्तविक संसार हुन्छ, जसलाई आधार बनाई अरूलाई सापेक्ष देख्न सकिन्छ। आइन्सटाइन घरीघरी होसियार गराउँछन्- सबै कुरा सापेक्ष हुँदैन, त्यहाँभित्र एउटा कुरा स्थिर हुन्छ, जसलाई केन्द्र मानेर अरुलाई सापेक्ष ठानिन्छ। अब त्यो केन्द्र हामीले खोज्नुपर्‍यो।
एउटा डाँडालाई पूर्वबाट हेर्दै साँच्चै बिरालोजस्तो देखिन्छ, पश्चिमबाट घरजस्तो र उत्तरतिरबाट हेर्दै अर्कै थोकजस्तो देखिएला। सब सापेक्षता। चार किसिमको देखिए पनि डाँडा त छ नि? र त त्यो किसिमकिसिमको देखिन्छ। डाँडै नभए त कुनै पनि किसिमको देखिन्न, त्यसैले स्थिर बिन्दु खोज्नुपर्छ। त्यो बिन्दु के हो त सापेक्षताभित्र? हामीले पायौं - त्यो वस्तुता हो।
वस्तुता भनेको के हो? दर्शनशास्त्रमा एउटा क्रिटिकल रियालिजम भन्ने एउटा सिद्धान्त छ। जति कुरा हामी देख्छौं, देखेर जान्दछौं, चिन्दछौं। हामीले देखेर मात्र तिनीहरू भएका हुन् त? हामीले न देख्दा तिनीहरू हुँदैनन्? क्रिटिकल रियालिजमले भन्छ- हामीले न देख्दा पनि तिनीहरू हुन्छन्। हामीमाथि भर परेर उनीहरूको अस्तित्व भएको होइन, उनीहरू आफैं अस्तित्वशील छन्। मानिसले देख्नुभन्दा अलग्गै, छुट्टै मुक्त नै उनीहरूको अस्तित्व छ।
हामीले देखेको जति सापेक्ष दृष्टि छन्, तिनीहरूभित्र पनि वस्तुता हुन्छ। त्यो सधैं नै हुन्छ। वस्तु हुन्छ तर त्यसलाई हामीले आ-आफ्नो दृष्टिले देख्छौं। हाम्रो दृष्टि सापेक्ष मात्र हुन्। ती दृष्टि वस्तुमाथि साँच्चै छ भनेर भन्न सकिँदैन, हामीले ओढाइदिएको अर्थ मात्र हो। त्यो त हाम्रो मूल्यांकन, अर्थांकनदेखि छुट्टै छ, त्यसलाई हाम्रो दृष्टिले छुँदैन। यसरी रहेका हुन्छन्, सबै वस्तु संसारमा। हामीले व्यर्थमा आआफ्नो आत्मपरकताबाट त्यसमा नयाँ अर्थ, मूल्यांकन, नयाँ दृष्टि, माया वा घृणा लगाइदिन्छौं। तर तिनीहरूलाई यी सबैको केही सरोकार छैन। यसरी रहेको हुन्छ, प्रत्येक चिज।
बौद्धिकतामाथि अविश्वास लाग्दैथियो। त्यसबेला काइँलाले लेख्नुभयो- आआफ्नो हेराइ मात्र हो, अन्धाले ब्रेल पढेजस्तो हात्ती छामेजस्तो मात्रै छ भनेर। यहाँसम्म आइपुगेपछि हामी आयामेली लेखनको समाप्तिजस्तोमा पुग्यौं। बुद्धिलाई अविश्वास गर्ने, के हो? कसो हो? जान्न सक्दैनौं कि भन्नेजस्तो अवस्थामा पुग्यौं, यही अवस्था हो- लीला लेखनको सुरु।
अघि त म्याथु आर्नेल्डलाई पछ्याएर जीवन र जगत्लाई लेख्छौं, लेख्नुपर्छ भन्थ्यौं। अब त जीवन र जगत्लाई बुझ्नै कठिन रहेछ, सायद बुझ्नै सक्दैनौं भन्नेमा हामी पुग्यौं। जीवन र जगत्लाई लेख्छौं भन्नुभन्दा यसलाई बुझ्न जति कठिनता छन्, ती कठिनताहरूलाई लेख्छौं भन्ने पर्छ कि भन्ने अवस्थामा पुग्दा हामी लीलालेखनको छेउमा आइपुग्छौं।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार