राजनीतिज्ञलाई अमर्यादित गर्ने राजनीति

E-mail Print
(0 votes, average 0 out of 5)
मनु जोसेफ, नयाँ दिल्ली- एक थकित वृद्धले गएको आइतबार मह मिसिएको नरिवल पानी पिएर आफ्नो भोक हड्ताल अन्त्य गरे। योसँगै भारत सरकारलाई बेइज्जत गर्ने शृंखलाको पनि अन्त्य भयो। भारतीय समाचार च्यानलहरूले 'आन्दोलन'को नाम दिएको यो 'भ्रष्टाचारविरोधी' पर्वको अन्त्य नाटकीय भए पनि स्वाभाविक थियो।
कसैकसैले यसलाई ठिहिरो जाडो याम सकिएर वसन्त आगमन हुनुअघिको 'संक्रमणकाल'सँग तुलना गरे। तर, जलवायु विभागका अनुसार भारतको मौसममा प्राकृतिक रूपले यस्तो संक्रमणकाल कहिल्यै आउँदैन।
भ्रष्टाचारविरुद्ध शक्तिशाली र स्वायत्त नियमन निकाय स्थापना गर्नुपर्छ भन्ने ७४ वर्षे समाज-सुधारक अन्ना हजारेको माग थियो। आफूले भनेजस्तै निकाय गठन नभए सास रहुञ्जेल भोक हड्ताल जारी रहने उनले चेतावनी दिए। सरकार यसको प्रतिरोधमा ओर्लियो। प्रतिक्रियास्वरुप हज्जारौं जनता हजारेको भोक हड्ताल स्थल रामलीला मैदानमा जम्मा भए र आमजनता राजनीतिक नेताहरूलाई कतिसम्म घृणा गर्छन् भन्ने उदाहरण प्रस्तुत गरे। हडताल स्थल संगीतले गुञ्जायमान भयो, आन्दोलनको नारा लाग्यो र यतिले नपुगेर राजनीतिक नेताहरूलाई सत्तोसराप गरियो। हजारेका समर्थकहरू हज्जारौंको संख्यामा देशभर फैलिँदै गए। र, अन्ततः सरकारले घुँडा टेक्यो।
जनता फेरि सडकमा ओर्लिए, आफ्ना नायक हजारेको जीतमा उत्सव मनाउन। कहिल्यै सरकारी ओहोदाको पछाडि नदौडिएका हजारेको जीतमा हार सरकारको भयो, जसका सदस्यहरूलाई भारतीय जनताले नै निर्वाचित गरेर पठाएका हुन्।
अधिकांश भारतीय जनता आफ्ना राजनीतिक नेताहरूप्रति यस्तरी टिकाटिप्पणी गर्छन्, मानौं ती नेता अर्कै ग्रहबाट झरेका हुन्। तर, सत्य यो होइन। भलै हाम्रा धेरै सांसद तथा नेताहरूले जनताको दिमाग खराब गराइरहेका छन्, तर सत्य के हो भने, उनीहरूलाई तिनै जनताले चुनेर पठाएका हुन्। हजारेको समर्थनमा देखिएभन्दा कैयौं गुना बढी जनताले नै उनीहरूलाई आफ्नो समर्थन दिएर सांसद बनाएका हुन्।
भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको सरकारलाई सन् २००९ मा १५ करोडभन्दा बढी जनताले मत दिएर सत्तामा पुर्‍याएका थिए। भन्नुको मतलब, त्यस वर्षको आमनिर्वाचनमा खसेको कुल मतमध्ये भन्डै ४० प्रतिशत यही सरकारको पक्षमा थियो। लोकतन्त्रमा बहुसंख्यक जनताको समर्थन नै आफैंमा लोकतन्त्र हो।
तर, सबै तह र तप्काका भारतीयहरू लोकतन्त्रको पक्षमा रहे पनि राजनीतिक नेताहरूलाई खुबै घृणा गर्छन्। संसारकै उत्कृष्ट राजनीतिक सिद्धान्त भनिएको लोकतन्त्रसँग यसलाई घृणा गर्ने मानवीय व्यवहार मिसिएरै आएको हुन्छ। यदि भारतीयहरू नेतालाई यतिविधि घृणै गर्छन् भने किन आमनिर्वाचनमा लामो नागबेली लाम लागेर आफ्नो 'अमूल्य' मत खसाल्छन्?
धेरै भारतीयहरू मत यस कारण खसाल्छन्, किनभने उनीहरू मत नखाल्ने हैसियतमै छैनन्। उनीहरूलाई आफ्नो जीवनयापन सहज ढंगले चलाउन कुस्त अनुदान दिने सरकार चाहिएको छ। बिहान-बेलुकीको हातमुख जोर्न रोजगार चाहिएको छ। सस्तो रासन चाहिएको छ। आफ्ना केटाकेटीका लागि निःशुल्क शिक्षा चाहिएको छ। यस्ता असीमित चाहना भएका धेरैलाई चुनावको समयमा नेताहरूले सजिलै फुस्लाउँछन्, पैसाको लोभ देखाएर, भौतिक सरसामग्री दिएर। रंगीन टेलिभिजन सेटमा भोटको मोलमोलाइ हुन्छ चुनावमा।
यतिमात्र होइन, उनीहरू आफ्नो जाति र समुदायको सशक्तिकरणका निम्ति पनि भोट हाल्छन्। अन्य जाति र समुदायको राजनीतिक सर्वोच्चता कायम नरहोस् भनेर पनि भोट हाल्छन्। यस्तो मोलमोलाइमा नेताहरूको अक्षमता, भ्रष्टाचारमा संलग्नता वा आपराधिक पृष्ठभूमिप्रति उनीहरूको ध्यान जाँदैन। हत्या, बलात्कार तथा अन्य थुप्रै आपराधिक गतिविधिमा संलग्न रहेको मुद्दा खेपिरहेका कम्तीमा७० जना सन् २००९ मा सांसद चुनिए। उनीहरूले यो राजनीतिक हैसियत मतपत्र चोरेर बनाएका होइनन्। मतदातालाई धम्क्याएका पनि होइनन्। भारतीय निर्वाचन पद्दतिभित्र सामेल भई कानुनी रूपमै हजारौं भोट ल्याउँदै उनीहरू त्यो हैसियतमा पुगेका हुन्।
त्यसैले, राजनीतिक नेताहरूविरुद्ध भारतीय मतदाताले देखाउने आक्रोस खोक्रो छ। औसत भारतीय नेताहरू भारतीय समाजकै प्राकृतिक उत्पादन हुन्। उनीहरूको काम गर्ने तौरतरिका पनि निश्चित रूपमा समाजका औसत व्यक्तिहरूकै जस्तो हुन्छ।
केही व्यक्तिहरू भन्छन्, भारतीय राजनीति यति गन्हाएको छ, मतदाताहरूले असल र स्वच्छ छविको उम्मेदवारै फेला पार्दैनन्। तर, यो आंशिक सत्यमात्र हो। अर्को सत्य यो पनि हो, हामीकहाँ इमानदार र शिक्षित उम्मेदवारले आफूभन्दा कम क्षमताका व्यक्तिबाट नराम्ररी पराजित हुनुपरेका उदाहरण थुप्रै छन्।
यही अप्रिलमा दिल्लीबाट भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दा हजारेले नै भनेका थिए, 'मैले कहिल्यै चुनाव लडिनँ, किनभने मलाई जित्छु भन्ने नै लागेन।'
भारतका सहरी, शिक्षित मध्यम वर्गलाई दुईवटा काममा बाहेक अरू बेला सरकारको खासै आवश्यकता पर्दैन। एउटा, पासपोर्ट बनाउन र अर्को, आतंकवादी हमलाहरूबाट सुरक्षित रहन। यी दुइटा काम पनि नभइदिएको भए मध्यम वर्गले दिनभरि लाम बसेर भोट खसाल्ने कष्ट कुनै हालतमा गर्ने थिएनन्। उनीहरू ज्यादातर आफूलाई राजनीतिक प्रक्रियाबाट टाढै राख्छन्, तैपनि राजनीतिक नेताहरूविरुद्ध चरम कुन्ठा बोकेर हिँड्छन्।
भारतका यिनै मध्यमवर्ग देशभरि मात्र होइन, संसारभरि नै छरिएर रहेका छन्। र, यिनको संख्या यति कम छ, राजनीतिक प्रणाली त्यसलाई महŒव दिन आवश्यकै ठान्दैन। तर, पछिल्ला केही वर्षयता यही वर्गलाई व्यावसायिक स्वार्थपूर्तिका निम्ति सबभन्दा शक्तिशाली शक्तिका रूपमा अंगाल्न थालेको छ। खासगरी भारतको मूलधारको भनिने पत्रकारिताले।
भारतमा केही वर्षयता अंग्रेजी भाषाका सञ्चार माध्यम, खासगरी टेलिभिजन च्यानल सहरी मध्यम वर्गको निम्ति आफ्नो कुन्ठा ओकल्ने प्रभावकारी माध्यम बनेका छन्। र, यस्तै सञ्चार माध्यम महŒवपूर्ण हुँदै गइरहेका पनि छन्, किनकि अंगेजी टेलिभिजन च्यानलले नै अन्य सबै सञ्चार माध्यमका लागि राजनीतिक एजेन्डा निर्धारण गर्ने गरेका छन्।
अंग्रेजी सञ्चार माध्यमहरूले हजारेको अभियानलाई अतिरञ्जित ढंगमा उचाल्दा उनको पछाडि समर्थकहरूको यति ठूलो भिड छँदै थिएन। तर, यो टेलिभिजन च्यानलका लागि एउटा बिकाउ विषय थियो। एक सामान्य व्यक्ति फिल्मी हिरोको शैलीमा भ्रष्टाचारविरुद्ध खडा भएको दृश्य, जसलाई विज्ञापनदाताहरू सर्वाधिक मन पराउँछन्। उनीहरूले विज्ञापनदाताहरूको रुचिलाई हेरेर हजारेको नाटकीय भोक हड्ताल पछ्याउन थाले र अन्ततः उनीहरूले सोचेजस्तै 'टिआरपी' (दर्शक संख्या मापन गर्ने परिसूचक) लगातार बढ्दै गयो। हजारेसँग अत्यन्त निकट रहेका र 'टिम अन्ना'को अभिन्न अंगका रूपमा चिनिएका प्रशान्त भुषणले गएको अप्रिल महिनामा अनुहारभरि मुस्कान छर्दै मलाई भनेका थिए, 'सञ्चार माध्यमहरू यति धेरै आकर्षित होलान् भन्ने मैले सोचेकै थिइनँ।' उनको भनाइको आसय के थियो भने, हजारेको भोक हड्तालले सहरी मध्यम वर्गमा जुन खालको उत्साह ल्यायो र उनीहरू जसरी हज्जारौंको संख्यामा हजारे अभियानमा सरिक भए त्यो टिम अन्नाको आंकलनभन्दा निकै ठूलो उपलब्धि थियो।
भारत सरकार अन्ना हजारेसँग डराएका होइनन्। उनीहरू खासमा सञ्चार माध्यमहरूसँग डराएका हुन्।
टिम अन्नाले सञ्चार माध्यम र भारतको मध्यम वर्गलाई कुशलतापूर्वक खेलाए। जब हजारेले यो अभियान सुरु गरेका थिए, उनी बस्ने मञ्चको पृष्ठभूमिमा गान्धीको ठूलो तस्बिर र हिन्दु भगवानको भेषभुषामा 'भारत माता'को कलात्मक आकृति सजाइएको थियो। भारत माताको त्यो कलात्मक आकृति दक्षिणपन्थी हिन्दु राष्ट्रवादी समूहहरूका प्रायः सबैजसो जमघटमा देखिन्थ्यो। उनको अनसन लम्बिँदै जाँदा भारत माताको आकृति एकाएक हरायो र गान्धीको तस्बिरमात्र देखियो, जसले उनको यो अभियान धर्मनिरपेक्ष समूहहरूका लागि पनि स्वीकार्य हुँदै गयो।
आइतबार मह मिसिएको नरिवल पानी पिएर अनसन तोडेका हजारेले आफूलाई पानी पिलाउन दुई सानी नानीलाई रोजे, जसमध्ये एकजना मुस्लिम थिइन् भने अर्की पानीसम्म चल्दैन भनिने दलित समुदायकी। तर, यी दुवै समूहका नेताहरूले हजारेको अभियानबाट आफूलाई टाढै राखेका थिए। धेरै मुस्लिम नेताहरू हजारेलाई हिन्दु राष्ट्रवादी समूहसँग नजिक रहेको ठान्छन्। त्यही भएर समर्थन गर्न हिच्किचाउँछन्। दलित समुदायका बौद्धिक वर्गले भने उनको यो अभियानलाई मध्यम वर्गको सस्तो मनोरञ्जनका रूपमा लिँदै आएको छ। उनीहरूका भनाइमा, परम्परागत जातीय संरचनाको सबभन्दा तल्लो तप्कामा पर्ने दलितहरूका निम्ति भ्रष्टाचारभन्दा निकै ठूला र गम्भीर समस्याहरू छन्, जसको हालसम्म कुनै सुनुवाइ भएको छैन।
हजारेको अभियानलाई भारतीय सञ्चार माध्यमले राजनीतिविरुद्धको स्वस्फुर्त जागरण भनी व्याख्या गरेको छ। खासमा हजारेप्रति जुन खालको राष्ट्रिय आकर्षण देखियो त्यसको एउटै कारण छ, आमजनतामा हजारे राजनीतिक नेता होइनन् भन्ने विश्वास। तर, यो एक किसिमको अपरिपक्व विश्वास हो। किनकि, यी तिनै हजारे हुन्, जसले पछिल्ला २० वर्षमा धेरैचोटि मर्ने धम्की दिइसके, तर जीवितै छन्।
- इन्टरनेसनल हेराल्ड ट्रिब्युन साभार
(मनु जोसेफ भारतीय साप्ताहिक समाचारपत्रिका 'ओपन'का सम्पादक र 'सिरियस म्यान' उपन्यासका लेखक हुन्।)
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार