पाटनमा कान्छो जात्रा

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज दाहाल, काठमाडौं, भदौ २४ - पाटन जात्राहरूको सहर हो। वर्षैभरि कुनै न कुनै जात्रा भइरहने यो सहरमा हिउँद सकिएर दसैं आउनुअघि त यस्ता सांस्कृतिक पर्व कति हुन्छन् कति! रातो मच्छिन्द्रनाथको रथ गुडाउँदै पाटनमा जात्राको याम सुरु हुन्छ। वैशाखदेखि दुई महिना चल्ने यो जात्रा असारमा भोटो देखाएर सकिन्छ र त्यसपछि दसैंसम्मै जात्रैजात्राले यो सांस्कृतिक सहर गुल्जार भइरहन्छ।

जनैपूर्णिमा, गाईजात्रा, मत्या, कृष्णाष्टमी, गणेशचौथी। यो वर्ष पाटनका लगभग सबै जात्रा सकिसकेका छन्। भोलि (आइतबार) इन्द्रजात्रा मनाएपछि आकाश खुल्दै जान्छ र दसैंको उल्लास सुरु हुन्छ। इन्द्रजात्रासँगै पाटनका सबै बर्खेजात्रा सकिन्छन्।
यसपालि भने क्यालेन्डर अलि बदलिएको छ।
इन्द्रजात्रासँगै सोह्रश्राद्ध त सुरु हुन्छ तर जात्रा सकिँदैन।
पाटनको सांस्कृतिक क्यालेन्डरमा यसै वर्ष थपिएको नयाँ जात्रा इन्द्रजात्राको पाँच दिनपछि शुक्रबार सुरु हुँदै छ, अढाइ दिन चल्ने गरी।
पाटनमा शुक्रबार (भदौ ३०) सुरु हुने यो कान्छो जात्रा स्थानीयको मात्र हुने छैन। काठमाडौं उपत्यकाको साँध काटेर जात्राको चमकदमक नेपालभरि फैलनेछ। त्यतिमात्र होइन, दक्षिण एसियामै सानोतिनो प्रभाव छाड्दै जात्राले त्यो सीमा थोरबहुत पनि काट्नेछ।
काठमाडौं उपत्यका र बाहिरका जोडेर ५६ नेपाली पण्डित र धेरैजसो दक्षिण एसिया तथा त्योभन्दा बाहिरका एक्कादुई गरी १३ विदेशी लेखक पाटनको कान्छो जात्राका मुख्य पाहुना बन्नेछन्।
काठमाडौं लिटरेरी जात्रामा सहभागी हुने अन्य दर्शक-आगन्तुक कति होलान् भनेर अहिल्यै यकिन गर्न सकिँदैन तर निश्चय पनि यो संख्या केही हजार पुग्नेछ।
पाटन दरबार स्क्वायरसँगैको संग्रहालयमा शुक्रबार अपराह्न सुरु हुने जात्राका 'गणेश' पाटनकै वृद्ध संस्कृतिविद् सत्यमोहन जोशी हुनेछन् जसले उद्घाटन वक्तव्य दिएर यो सांस्कृतिक पर्व सुरु भएको घोषणा गर्नेछन्।
पाटनमा हुने यो आधुनिक जात्रालाई 'जात्रा' नाम दिनुअघि आयोजक र शुभेच्छुकबीच ५६ वटा इमेल आदानप्रदान भएको उत्सवकी निर्देशक सुभानी सिंह बताउँछिन्, साढे दुई वर्षअघि साथीसँग मिलेर झम्सिखेलमा खोलेको पुस्तकपसल आडैको रेस्टुरेन्टभित्र अचारमा पूरै चोबेको एक डल्ला मोमो मुखभित्र हालिसकेपछि एकछिन पर्खिएर।
सुभानीमा पुस्तक र यस्ता साहित्यिक गतिविधिको भोक उनी मुम्बईमा पढ्दा जागेको हो जहाँ पुस्तक पसलहरूमा दिनैपिच्छेजसो विभिन्न लेखक आउँथे र किताबअंश वाचन गर्थे। काठमाडौं भोटाहिटीमा नाम लेखेर पसलेलाई दिएपछि भित्री चेपबाट धुलैधुलोले ढाकिएको किताब निकालेर दिने परम्पराको बानी परेकी क्षेत्रपाटीमा जन्मेहुर्केकी सुभानीको पुस्तकप्रेम मुम्बईले जागृत गरायो। पढाइ सकेर फर्केपछि उनले काठमाडौंका केही अन्तर्राष्ट्रिय संस्थाका कार्यालयमा काम गरिन् तर सन्तुष्ट भइनन्। अढाइ वर्षअघि उनले झम्सिखेलमा आफ्नै सानो तर सिर्जनात्मक पुस्तक पसल खोलिन् जसले बेलाबेला लेखक र पाठकबीच अन्तर्क्रियात्मक कार्यक्रम गरिरहेकै हुन्छ।
डेढ वर्षअघि पुस्तक पसलकै सिलसिलामा नयाँ दिल्ली जाँदा भेट भएकी नमिता गोखलेको सहयोग र गत माघमा जयपुरमा भएको साहित्य महोत्सवको प्रेरणाले सुभानीलाई काठमाडौं जात्रा गर्ने स्थितिसम्म ल्याइपुर्‍याएको हो। नमिता काठमाडौं लिटरेरी जात्राकी सल्लाहकार पनि हुन्। महोत्सवको आयोजना नेपाल इकोनमिक फोरमको छातामुनि हुँदै छ।
*******************************
२६ वर्षको उमेरमा ग्रिन पार्टीका तर्फबाट बेलायती संसदको निर्वाचन लडेका प्याटि्रक फ्रेन्च, ४५, जात्रामा सहभागी हुन बेलायतबाट आउँदै छन्। भारतीय उपमहाद्वीप र तिब्बतमा गहिरो रुचि भएका यी इतिहासकार लेखकको पछिल्लो किताब 'इन्डिया- अ पोट्रेट' ले १ अर्ब २० करोड भारतीयको राजनीतिक, सामाजिक र सांस्कृतिक गाथा सरल शब्दमा अभिव्यक्त गरेको छ। उनले इमेलमा भने, 'यो किताब मेरो दुई दशकको सोच र चाखको परिणाम हो।'
उनी रमाइला बायोग्राफर हुन् जसले अहिलेसम्म खोजकर्ता फ्रान्सिस यङहस्ब्यान्ड र भिएस नयपलका अतिरिक्त भारत, तिब्बत र भारतीय स्वतन्त्रता संग्रामको बायोग्राफी लेखिसकेका छन्। 'लिबर्टी अर डेथ- इन्डियाज जर्नी टु इन्डिपेन्डेन्स एन्ड डिभिजन' शीर्षकमा भारतीय स्वतन्त्रताको लडाइँबारे उनले लेखेको किताब भारतका केही ठाउँमा प्रतिबन्धितसमेत भयो। यसले फाइदा भने प्याटि्रकलाई नै भयो, किताब राम्रो बिक्यो। यही किताबकै सन्दर्भमा खुसवन्त सिंहले उनलाई 'पहिलो दर्जाको इतिहासकार र कथावाचक'को संज्ञा दिए।
जात्रामा अर्का विदेशी पाहुना हुनेछन्, स्टिङ रिपोर्टिङबाट चर्चा कमाएको भारतीय साप्ताहिक पत्रिका 'तेहल्का'का सम्पादक तरुण तेजपाल, ४८, जसले सन् २००६ मा छापिएको पहिलो उपन्यासबाट पनि तहल्का मच्चाए। दुई दशकभन्दा लामो अनुभवले खारिएका यी अनुसन्धानात्मक पत्रकारिताका बादशाहले पछिल्ला पाँच वर्षमै तीन उपन्यास लेखिभ्याएका छन् जसमध्ये अघिल्लो महिना मात्र प्रकाशित 'द भ्याली अफ मास्क्स'ले अहिले पत्रपत्रिकामा चर्चा पाइरहेको छ।
जात्रामा सहभागी हुन शुक्रबार काठमाडौं ओर्लिने यी पत्रकार-उपन्यासकारले यही अवसरमा आफ्ना बुबाआमालाई पशुपतिनाथको जात्रासमेत गराउनेछन्। उनले फोनमा भने, 'म पारिवारिक भ्रमणमा आउँदै छु, नेपालबारे जान्ने विशेष मौका पनि हुन्छ।'
जात्राका अर्का सहभागी विलियम डालरिम्पल, ४६, केही वर्षमै दक्षिण एसियाकै ठूलो साहित्य महोत्सव बन्न सफल जयपुर फेस्टिभलका निर्देशक हुन्। झन्डै तीन दशकदेखि भारतमै बसोबास गर्ने यी स्कट इतिहासकार लेखकको भारतका मिहीन विषयमा खुब रुचि छ।
दक्षिण एसिया, मुगल साम्राज्य, हिन्दु, बौद्ध तथा मुस्लिम धर्ममा खास चाख राख्ने यी लेखकको भर्खरै प्रकाशित पुस्तक 'नाइन लाइभ्सः इन सर्च अफ स्याक्रेड इन मोडर्न इन्डिया'ले चर्चा बटुलिरहेको छ। नेपालबारे भने उनले अहिलेसम्म चासो दिन भ्याएका रहेनछन्, मन हुँदाहुँदै पनि। इमेल संवादमा उनले भने, 'त्यही भएर पनि म आउन लागेको हुँ।'
जात्राका अन्य विदेशी सहभागी हुनेछन् भारतीय पत्रकार जग सुरैया, धेरै भाषामा अनुवाद भइसकेको हिन्दी उपन्यास 'काली-कथा'की स्रष्टा अल्का सरावगी, पाँच उपन्यास लेखिसकेकी भारतीय प्रकाशक तथा जयपुर महोत्सवकी निर्देशक नमिता गोखले र पाकिस्तानी लेखक तथा पत्रकार मोहम्मद हनिफ। नयनजत लाहिरी, पारो आनन्द, साजिया ओमारजस्ता सशक्त दक्षिण एसियाली महिला लेखकसमेत जात्राका आकर्षण हुनेछन्।
लेखक, पत्रकार, विद्यार्थी नेता, समाजशास्त्री र प्रकाशक गरी नेपालका ५६ सहभागीले विभिन्न सत्रमा पाठकहरूसँग अन्तर्क्रिया गर्नेछन्।
*******************************
प्रकाशनगृह फाइन प्रिन्टले केही साताअघि एनसेलको प्रायोजनमा झम्सिखेल ज्ञानमन्डलामा गरेको पहिलो अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा उर्लिएको दर्शकको भिडले छलफल, संवाद र साहित्यिक गतिविधिप्रति नेपाली पाठकको भोक कति गहिरो छ भन्ने प्रस्ट पारेको छ।
काठमाडौं लिटरेरी जात्रा अझ परिस्कृत र खँदिलो हुनेछ जहाँ अढाइ दिनमै साहित्यिक, सामाजिक र सांस्कृतिक विषयका २८ सत्र समानान्तर रूपमा चल्नेछन्। विषय, सहभागी र प्रस्तुतिमा विविधताको आकर्षणले अर्को सप्ताहन्त पाटन दरबार स्क्वायर वरिपरि शब्दका तीर्थालुको भिड लाग्नेछ।
पाटनको सांस्कृतिक क्यालेन्डरमा यो वर्ष थपिएको साहित्यिक जात्रा अबदेखि सम्भवतः यही याममा वर्षैपिच्छे आयोजना हुनेछ जहाँ यसपालिझैं यो सहरभन्दा बाहिरका दर्शकले पनि रुचिपूर्वक सहभागिता जनाउनेछन्।
*******************************

'हिमालबारे लेख्दै छु'
२६ वर्षकै उमेरमा ग्रिन पार्टीका तर्फबाट बेलायती संसद सदस्यको निर्वाचनमा उम्मेदवार बनेका प्याटि्रक फ्रेन्च त्यसपछिका दुई दशकमा नामी लेखक भएका छन्, यात्रा र अनुसन्धानमा आधारित पाँच किताबका कारण। उनी अहिले हिमालबारे किताब लेख्दै छन्। इमेलमा गरेको कुराकानी :
राजनीतिबाट कसरी लेखनमा आउनुभयो?
ग्रिन पार्टी त्यति व्यवस्थित थिएन। नेपालको सबैभन्दा खराब पार्टीबारे कल्पना गर्नुभयो भने तपाईंले बुझिहाल्नुहुन्छ। त्यसैले मैले निर्णय गरेँ- राजनीति मेरो करिअर बन्न सक्दैन।
भारत, तिब्बतलगायत यो क्षेत्रबारे लेख्न तपाईंलाई केले आकर्षण गर्‍यो?
म सानैदेखि हिमालहरूमा रुचि राख्थेँ। किशोरवयमै मैले दलाई लामालाई भेटेको थिएँ। यी सबैले मलाई मध्य एसियाका घुमक्कड सैनिक-खोजकर्ता फ्रान्सिस यङहस्ब्यान्डको जीवनी लेख्न प्रेरित गर्‍यो जुन मेरो पहिलो किताब थियो।
१ अर्ब २० करोड भारतीय जनताको बायोग्राफी भनिएको इन्डियाः अ पोट्रेट (२०१०) जस्तो खँदिलो र जटिल किताब लेख्न खुब अनुसन्धान गर्नुपर्‍यो होला!
यो किताब २० वर्षभन्दा बढीको सोच र चासोको परिणाम हो। वास्तविक अनुसन्धान गर्न र किताब लेख्नचाहिँ तीन वर्ष लागेको थियो।
यसअघि नेपाल आउनुभएको थियो?
म २००१ मा आएको थिएँ (दरबार हत्याकान्डका बेला), त्यो दुःख र बाधाको समय थियो। अहिले म हिमालबारे एउटा किताब लेख्दै छु, यस्तो बेला आउन पाउँदा खुसी छु।

*******************************

'४६ सालमा नेपाल आएको थिएँ'
स्कटल्यान्डमा जन्मेका विलियम डालरिम्पल, ४६, भारतमा बस्न थालेको २७ वर्ष भयो। पूर्वीय इतिहास र धर्मबारे उनलाई निकै चासो छ। जयपुर साहित्य महोत्सवका निर्देशकसमेत रहेका इतिहासकार डालरिम्पलसँग इमेलमा गरेको कुराकानी :
भारतमा किन बस्नुभएको?
म सन् १९८४ देखि भारत बस्न थालेको हुँ, हिजोआज कसैले किन भारत बसेको भनेर सोध्नै छाडिसके। अब यही मेरो घर हो।
तपाईंका किताबमा भारतीय इतिहास र सभ्यताको गहिरो चित्रण हुन्छ। भारतीय इतिहासमा केले आकर्षित पार्‍यो?
इतिहास जहिल्यै मेरो रुचिको विषय हो, जहाँ बसे पनि। मेरो दिमागले यसरी नै (इतिहासकै आधारमा) काम गर्छ।
तपाईंको पछिल्लो किताब 'नाइन लाइभ्स : इन सर्च अफ स्याक्रेड इन मोर्डन इन्डिया'को खुब प्रशंसा भइरहेको छ। यस्तो रमाइलो किताब कसरी लेख्नुभयो?
भारतका धर्मले मलाई जहिल्यै रोमाञ्चित गरेका छन् तर विषयमै आफूलाई गहिरोसँग नडुबाई कसरी किताब लेख्ने? जब न्यूयोर्कर (पत्रिका) ले मलाई देवदासीबारे लेख्न पठायो, मैले ती महिलालाई उनको कथा आफैं भन्न लगाएँ। यसरी म यो किताबमा छिरेको हुँ।
नेपालबारे कत्तिको थाहा छ?
मलाई यो सुनाउँदा लाज लागिरा'छ, मलाई नेपालबारे खासै थाहा छैन। मैले यो जात्राको निम्तो स्वीकार गर्नुको एउटा कारण यो पनि हो। ४६ सालको जनआन्दोलनताका युवा पत्रकारका रूपमा यहाँको आन्दोलनबारे रिपोर्टिङ गर्न आएयता नेपाल आएकै छैन। त्यही भएर नेपाल आउन र नेपालबारे जान्न मन छ।
तपाईंले जयपुर साहित्य महोत्सव सफलतापूर्वक चलाइसक्नुभएको छ। यस्ता महोत्सवका फाइदा के हुन्?
पाठकका लागि यस्ता महोत्सव निकै मनोरञ्जनात्मक र शिक्षाप्रद हुन्छन्। लेखकका लागि यो आफ्नो किताबको प्रवर्द्धन गर्ने र पाठकसँग भेट्ने एउटा मौका हो। सबैलाई फाइदैफाइदा छ। धेरैले किताब किन्छन्, पढ्छन्।

 

*******************************

'पत्रकारिता र उपन्यास मेरा दुई पाटा हुन्'
सन् २००६ मा लेखेको पहिलो उपन्यास 'द डिजायर अफ एल्केमी'बाट खुब प्रशंसा कमाएका पत्रकार तरुण तेजपाल यसअघि नै तेहल्का साप्ताहिकका सनसनीखेज खोजी समाचारका कारण चर्चित भइसकेका थिए। 'तेहल्का' सम्पादन/प्रकाशन र उपन्यास लेखनका कारण पछिल्लो एक दशक उनको जीवनकै सन्तुष्टिपूर्ण समय हो। भर्खरै प्रकाशित उनको तेस्रो उपन्यास 'द भ्याली अफ मास्क्स' ले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। उनीसँग फोनमा भएको वार्ता :
तपाईं चर्चित पत्रकार, त्यत्तिकै चर्चित उपन्यासकार पनि बन्नुभएको छ। तथ्य र कथाका दुई बेग्लाबेग्लै विधामा कसरी पोख्त हुनुभयो?
सबै मानिसको जीवनमा थुप्रै पाटा हुन्छन्। पत्रकारिता र उपन्यास लेखन मेरो जीवनका दुई त्यस्तै बेग्लाबेग्लै पाटा हुन्। पत्रकारितामा तथ्य केलाउँदै घटनाको पर्तमा छिर्नुपर्छ भने उपन्यास समाजलाई बुझ्ने र हेर्ने बेग्लै तरिका हो।
पत्रकार-उपन्यासकार संस्कृति विश्वमा नौलो होइन पनि। अर्नेस्ट हेमिङ्वेजस्ता उपन्यासकार पनि पत्रकार नै थिए।
पछिल्लो छ वर्षमा तीनवटा उपन्यास लेख्नुभयो? व्यस्त पत्रकारिताबीच समय कसरी निकाल्नुहुन्छ?
म उपन्यासप्रति आकर्षित हुन थालेको र उपन्यास लेखनबारे सोचेको १९ वर्षकै उमेरदेखि हो। यही छ वर्षमा मात्र लेखेको वा यसबारे काम गरेको होइन। उपन्यास र पत्रकारिता दुवैमा सफल भएका पछिल्ला आठ-नौ वर्ष, भनौं एक दशक मेरो जीवनको सर्वाधिक फलदायी समय भएको छ। यसबीच पत्रकारितामा मैले थुप्रै सार्वजनिक लडाइँ लडेँ भने उपन्यासका प्रतिक्रिया पनि राम्रो आइरहेका छन्।
पछिल्लो उपन्यास 'भ्याली अफ मास्क्स'को प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
'समालोचक प्रतिक्रिया' राम्रो पाइरहेको छु। उपन्यास लेखनको प्रतिक्रिया लामो समयमा पाइने कुरा हो। दुई वर्ष, पाँच वर्ष, दस वर्ष वा बीस वर्षमा कस्तो प्रतिक्रिया पाइयो भन्ने महत्त्वपूर्ण हुन्छ। अहिलेलाई म एकदमै खुसी छु। यही उपन्यासको प्रतिक्रियाकै लागि चाहिँ अझै पाँच वर्ष हेरौं न!
नेपालको समाज र राजनीतिबारे कत्तिको परिचित हुनुहन्छ?
भारतमै यति धेरै घटना र गतिविधि भइरहेका हुन्छन्, नेपाललाई नजिकबाट नियाल्न गाह्रै हुन्छ। महोत्सवका लागि अढाइ दिन बस्दा नेपालका घटनाबारे थुप्रै जानकारी पाउने आशा छ।
महोत्सवमा आउने निर्णय किन गर्नुभयो?
धेरै व्यस्त भइकन पनि नमिता गोखले (जयपुर महोत्सवकी निर्देशक तथा काठमाडौं लिटरेरी जात्राकी सल्लाहकार) को आग्रह अस्वीकार गर्नै सकिनँ। साथीभाइलाई नाइँ भनिहाल्न गाह्रो हुन्छ नि।
यस्तो साहित्यिक महोत्सवका फाइदा के हुन्?
यस्तो महोत्सव हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यस्ता कार्यक्रम आफैंलाई विश्लेषण गर्ने र जाँच्ने मौका हुन्। नेपाल, बंगलादेश, भुटान, श्रीलंकाजस्ता देशमा साहित्य महोत्सव हुनु एकदमै सकारात्मक हो। साहित्य र पत्रकारितासम्बन्धी यस्ता गतिविधिले समाजको प्रवर्द्धन गर्छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार