अरुणा अध्याय

E-mail Print
(0 votes, average 0 out of 5)
रोशन साँवा- अरुणा लामा दार्जिलिङमा जन्मिन्, हुर्किन्। दार्जिलिङमै बसेर पनि उनी सम्पूर्ण नेपालीमाझ लोकप्रिय गायिका बनिन्। झन्डै चार दशक गुञ्जाइन्। जीवनको उत्तरार्द्धमा त उनले नेपाली महिला गायनमा एकछत्र राज नै गरेकी थिइन्।
स्वरकिन्नरी अरुणा अपवाद हुन्। नेपाली गीतसंगीतको शिखरमा पुग्न दार्जिलिङबाट काठमाडौं नै छिर्नुपर्छ भन्ने मान्यतालाई उनले चिरिन्। अम्बर गुरुङ, गोपाल योञ्जन, उदय-मनिला सोताङहरू काठमाडौं छिरे। काठमाडौं नछिर्ने अरू गीतकार, संगीतकार र गायकका थोरै गीतमात्र चर्चित भए। तर रेकर्डिङ र औपचारिक कार्यक्रमका लागिमात्र नेपाल छिरेर पनि अरुणाले स्वर सजाएर थुप्रै गीत कालजयी बनाइन्। लामो समय नेपाली गायनमा एकछत्र राज गर्ने अरू महिला दार्जिलिङमा निस्केका छैनन्।
आफ्नै काका सिवी लामाको शब्द-संगीत रहेको 'मनमन्दिरमा कृष्ण तिमी आऊ' भजन आठ वर्षको उमेरमा गाएर सुरु उनको औपचारिक गायन यात्रा नेपाली महिला गायनको सुनौलो अध्याय हो। मर्मस्पर्शी गीत गाएर उनी सांगीतिक आकाशमा छाइन् र थुप्रैका लागि प्रेरक पनि बनिन्।
५३ वर्ष उमेरसम्म गाएकी अरुणाका तीन सयभन्दा बढी गीत रेकर्ड भएका छन्। उनको स्वरमा अलग पहिचान छ। स्रोताले रेडियोमा गीत सुनेरै पनि स्वर ठम्याउन सक्छन्।
अरुणा ९ सेप्टेम्बर १९४५ मा दार्जिलिङको घुममा जन्मेकी हुन्। सूर्यबहादुर र सानुमाया लामाका तीनमध्ये उनी कान्छी छोरी हुन्। उनको चिनाको नाम दातेमा तामाङ थियो। अरुणा सानो छँदा हिन्दी, बंगाली भाषाका गीत गुनगुनाउँथिन्। गीतादत्त रायको गीत मन मराउँथिन्। उनले रेडियो सुनेरै थुप्रै गीत कन्ठस्थ पारेकी थिइन्। अहिलेजस्तो त्यतिबेला चाहेको बेला गीत सुन्न सकिँदैनथ्यो। रेडियोमा फेरि कतिबेला गीत बज्ला भनेर कुर्नुपर्थ्यो।
गीतकार, संगीतकार एवं गायक काका सिवी लामाको संगतले उनलाई गायनयात्रा अघि बढाउन सजिलो भयो। बुबाले सैनिक हवल्दारबाट अवकास पाएपछि उनको परिवार मङपुमा काकासँगै बस्न थालेको थियो। काकाकै शब्द-संगीतको 'मनमन्दिरमा कृष्ण तिमी आऊ' भजन मङ्पुस्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा पहिलोपटक उनले गाएकी थिइन्।
अम्बर गुरुङले खोलेको आर्ट एकेडेमीमा उनी जुलाई १९५६ मा आबद्ध भइन् र ११ वर्षको उमेरमा अर्थात् अक्टोबर १९५६ मा गोर्खा दुःख निवारक सम्मेलनले आयोजना गरेको नेपाली संगीत प्रतियोगितामा 'याद अतीतको सम्झी सम्झी' गाएर दोस्रो बनिन्। यो गीतको शब्द र संगीत पूर्णसिंह गुरुङको थियो। त्यही सम्मेलनले १९५७, १९५८, १९५९, १९६० र १९६१ मा आयोजना गरेको प्रतियोगितामा लगातार पहिलो भइन्। अरू प्रतियोगितामा पनि उनले दोस्रो हुनुपरेन।

 

अरुणाको जस्तो मिठो स्वर सुनेको छैन
अरुणासँग चिनजान १९५६ मा भएको हो। आर्ट एकेडेमीमा आबद्ध भएकाले हामीले लामो समय सँगै काम गर्‍यौं। सांगीतिक कार्यक्रम लिएर बस्तीहरूमा जान्थ्यौं। उनी गाउँथिन्। अम्बर गुरुङ, शरण प्रधान, रन्जित गजमेर, गोपाल योञ्जनलगायत हामी बाजा बजाउँथ्यौं। युगल गीतमा उनलाई प्रायः जितेन्द्र बर्देवाले साथ दिन्थे। 
अरुणा गम्भीर स्वभावकी थिइन्। तर समूहभित्र हाँसोठट्टा गर्थिन्, जिस्कन्थिन्। उनीहरू हामीले हँसाउने कुरा सुनाउन लाउँथिन् अनि खुब हाँस्थिन्। आफैं पनि हाँस उठ्ने कुरा सुनाएर रमाइलो गर्थिन्।
उनले विवाहअघि र पछि शरण प्रधानका शब्द/संगीतका धेरै गीत गाइन्। मैले संगीत गरेका 'फूललाई सोधेँ' लगायत गीत गाएकी छन्। श्रीमानको मृत्युपछि उनले विरहका गीत थुप्रै गाइन्। गीतकारले पनि त्यस्तै लेखिदिए। श्रीमानको मृत्युअघि उनका विरह र वेदनाका गीत कम थिए। 
१९७४ मा श्रीमानको मृत्युपछि उनले गाउनै छाडिन्। अरूले जति नै सम्झाउँदा पनि नगाउने अड्डी कसिन्। करिब अढाइ वर्षपछि साथीहरूले 'तपाईंले भन्दा चाहिँ मान्छिन्, एकचोटि भन्दिनुस् न' भनेपछि मैले एकदिन घरमै गएर सम्झाएँ। 'दाजुले भनेपछि गाउँछु' भन्दै उनी तीनधारेमा आयोजित कार्यक्रममा गाउन मन्जुर भइन्। त्यसपछि उनको गायनयात्रा फेरि अघि बढ्यो।
अरुणा लामाको स्वर मिठो थियो। उनको जस्तो मिठो स्वर अहिलेसम्म सुनेकै छैन। उनको स्वरमा अद्वितीय गुण थियो। 
 


अरुणाको स्वरमा पहिलो गीत १९६१ मा कोलकाताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा रेकर्ड भएको हो। त्यतिबेला भूपी शेरचनको शब्दको 'किन यो मन उदास उदास छ मेरो' र पासाङ वाङबलको शब्द 'ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न' रेकर्ड भएको थियो। दुवै गीतका संगीतकार अम्बर गुरुङ हुन्। अरुणाले पाँच दशकअघि गाएका यी गीत नेपाली संगीत पारखीले अहिले पनि उत्तिकै रुचाउँछन्।
अरुणाले आर्ट एकेडेमीको टोलीसँगै दार्जिलिङ गाउँबस्तीमा आयोजना गर्ने कार्यक्रममा गाइन्, चर्चा बटुलिन्। नेपाल र भारतका विभिन्न ठाउँका स्रोतामाझ पुगेर पनि गाइन्। उनको माधुर्य स्वर र गीतका शब्दले स्रोतालाई मन्त्रमुग्ध पार्थ्यो। होहल्ला भइरहेका बेला पनि अरुणाले गाउन थालेपछि माहोल शान्त हुने गरेको सांगीतिक कार्यक्रममा सँगै हिँडेकाहरू बताउँछन्।
अरुणाले अम्बर गुरुङ, नातिकाजी, कर्म योञ्जन, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, मणिकमल क्षेत्री, शान्ति ठटाल, वसन्त क्षेत्री, दिव्य खालिङलगायतले संगीतबद्ध गरेका गीत गाएकी छन्। भूपी शेरचन, विश्ववल्लभ, ईश्वरवल्लभ, भैरव रिमाल, नोरदेन रुम्वा, राजेन्द्र थापा, लक्ष्मीप्रसाद देवकोटा, गोपाल योञ्जन, अम्बर गुरुङ, नरेन्द्रराज प्रसार्इं, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, चेतन कार्कीलगायतले लेखेका गीतमा पनि उनको स्वर सजिएको छ।
उनले शरण प्रधानको शब्द र संगीतका गीत १९६२ देखि गाउन थालेकी हुन्। शरणको पहिलो गीत 'हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो' जितेन्द्र बर्देवासँग गाइन्। ११ जुलाई १९६३ मा शरणसँग प्रणयसुत्रमा बाँधिएपछि उनका थुप्रै गीत रेकर्ड भए।
हृदयाघात भई शरणको १९७४ वैशाखमा मृत्यु भएपछि अरुणाको गायनमा केही समय विश्राम लाग्यो। त्यतिबेला उनले गाउन छाड्ने अठोट लिएकी थिइन्। अढाइ वर्षपछि संगीतकार कर्म योञ्जनले मनाएपछि उनले तीनधारेको मञ्चमा गीत गाइन्। त्यतिबेला शरण प्रधानको शब्द/संगीतको 'मैले जीवनलाई कसरी सजाएँ' गाएकी थिइन्। त्यसपछि अरू संगीतकर्मीको समेत अनुरोधमा उनले गायनलाई निरन्तरता दिइन्।
माइती मानेकी मणिकमल क्षेत्रीलगायतको सहयोगमा छोराछोरीलाई हुर्काउन तथा पढाउन जागिर खाँदै उनले गीत रेकर्ड गर्ने, विभिन्न कार्यक्रममा गाउने क्रमलाई अघि बढाइन्। श्रीमानको मृत्युपछि अरुणाको स्वरमा रेकर्ड भएको गीत :  

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो।

सास फेरेजस्तो लाग्छ तर भन्छन् मरिसके
तेरो भाग्य यति नै हो भोगचलन गरिसके
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन

भाग्य फाटे सिउँथेँ बरु तर मन सिउने केले हो
सुख के हो, दुःख के हो मनले खोज्ने खुसी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्ने मसी के हो भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्ला बरु तर मन जोड्ने केले हो

(शब्द : राजेन्द्र थापा, संगीत : अम्बर गुरुङ)

उनको स्वर सजिएको नेपाली फिल्मका गीत पनि सदाबहार बने। 'काला कुर्तैले' (माइतीघर), 'हिमालसरी म' (कान्छी), 'कलकल छलछल' (कान्छी), 'यी ओठ तिम्रा' (कान्छी), 'उडीजाउँ भने' (परालको आगो) जस्ता गीत हिजोआज पनि उत्तिकै रुचाइन्छन्।
जादुमयी स्वरका कारण हिन्दुस्तान रेकर्डिङ कम्पनीले अरुणालाई १९६४ मा 'पहाडकी नाइटिङ्गेल' उपाधि दिएको थियो। यसैगरी काठमाडौंको सीताराम साहित्यिक प्रतिष्ठानले १९९३ मा 'स्वर किन्नरी'को उपमा दियो र दार्जिलिङबासीले १९९८ देखि उनलाई 'स्वर साम्राज्ञी' भन्न थाले।
उनी नेपालका गोर्खा दक्षिण बाहु चौथो, छिन्नलता, उर्वसीलगायत पुरस्कारबाट पुरस्कृत भइन्। दार्जिलिङका विभिन्न संस्थाले उनलाई प्रतिष्ठित भानु र संगीत पुरस्कार प्रदान गरे। सिक्किम नेपाली साहित्य परिषदबाट उनले मित्रसेन स्मृति पुरस्कार पाइन्, कोलकातामा दिसारी पुरस्कार पाइन्।
कलेजोको रोगले थलिएर ४ फेबु्रअरी १९९८ मा उनको मृत्यु भयो। शरीर अवसान भयो तर उनी नेपाली सांगीतिक आकाशमा चम्किरहेकी छन्। उनी गाउनकै लागि जन्मेकी रहिछन् र गाउँदा गाउँदै अलप भइन्।

गाउँदा गाउँदै म मरेपनि
सायद मेरो गीत देउरालीले गाउनेछ

गीत मेरो व्यथा, सरगम मेरो वरदान
मोती छर्दै डुबे पनि
सायद मेरो गीत छालहरूले गाउनेछ

गीतहरू रोएको होइन यो व्यथा मैले धोएको
हिँड्दाहिँड्दै मरेपनि
सायद मेरो गीत गोरेटोले गाउनेछ

(स्वरः अरुणा लामा, शब्दः पदम विष्ट, संगीतः श्रीप्रसाद रनपहेली)


कारुणिक अरुणा !
अरुणा लामालाई धेरैले करुणा र विरहकी गायिका भनेर चिन्छन्। उनका आधाभन्दा बढी गीतमा करुणा झल्किएका छन्। तर, उनको जीवन सधैं पीडा र व्यथामा मात्र बितेको थिएन। १९७४ मा श्रीमान शरण प्रधानको मृत्युपछि भने उनी विक्षिप्त बनेकी पक्कै हुन्।
१९७२ मा बुबाले ज्यान गुमाए, १९७३ मा आमाले आँखा चिम्लिन् र १९७४ मा जीवनसाथीले धर्ती छाडे। यहीबेला गीतकारले पनि उनैलाई केन्द्रित गरेर गीत लेखिदिए। राजेन्द्र थापाले लेखेको 'पोहोर साल खुसी फाट्दा' नमुना हो। 'उनी गीतकारका लागि पनि पात्र बनिन्,' मणिकमल क्षेत्री भन्छन्।
'पोहोर साल खुसी फाट्दा', 'उदास मेरो जीवनकथा कसैलाई भनिनँ', 'एक्लै बस्दा सधैं मलाई', 'भाग्यले खुसी खोसेर लग्यो', 'हाँसीहाँसी जलिरहेँ' जस्ता गीतकै कारण उनलाई कतिपयले 'ट्राजेडी क्विन' पनि भन्थे। उनी भन्ने गर्थिन्, 'संगीतमा डुबेपछि मेरा दुःख, पीडा र वेदना भुल्छु।' उनले १९७७ मा प्रकाशित 'भानु विचार' विशेषांकमा भनेकी थिइन्, 'गायकी गलामा हुन्छ भन्छन्। मलाई लाग्छ यो मुटुमा सिउरिएको हुन्छ।' त्यसैले उनले शब्दहरूमा डुबेर गीत गाइन् र ती गीतलाई कालजयी बनाइन्।
श्रीमानको मृत्यु हुनुअघि करुणाले रोमान्टिक गीत पनि गाएकी थिइन्। तर धेरैजसो विरहका गीत थिए। पहिलोपटक रेकर्ड भएको 'किन यौवन उदास उदास छ मेरो' गीतमा पनि निराशा पोखिएको थियो। निराशा नपोखिएका 'ए कान्छा', 'हेर न हेर कान्छा', 'नेपाली गौरव गर्छौं' जस्ता गीत पनि चर्चित थिए।
श्रीमानको मृत्युपछि विरह र वेदनाका गीत मात्र आउन थालेपछि उनलाई कारुणिक गायिका भन्न थालियो। यसैबीच हरिभक्त कटुवालले लेखेको 'हाँगा हाँगा वनभरि चैत फुलेछ' बोलको रोमान्टिक गीत मणिकमल क्षेत्रीले संगीत रचना गरेर अरुणालाई दिए। क्षेत्री भन्छन्, 'त्यसपछि मात्र उहाँका लागि रोमान्टिक गीत लेखिन थाले। कान्छी फिल्मका यी ओठ तिम्रा, हिमालसरी जस्ता रोमान्टिक गीत त्यसपछि नै उहाँले गाउनुभएको हो।'
नरेन्द्रराज प्रसार्इंले उनकै जीवन र मृत्युसँग मिल्दोजुल्दो अत्यन्तै मर्मस्पर्शी गीत लेखिदिएका थिए। कुन्दनराज सुब्बाले संगीतबद्ध गरेको यो गीतः
हाँसीहाँसी जलिरहेँ खुसीसँग बलिरहेछु
आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु

तातो सास आफै छामेँ, भुँवरीमा जिउँदै पर्दा
आँखाबाट झरी बर्स्यो खडेरीले ओठ सुक्दा
जलिरहे भुङ्ग्रोसँगै, रुने रोए धुवाँसँगै
बाँचुन्जेल साथ खोज्दा पाइनँ साथ बाँच्नेसँग

लासमाथि गाल टार्न कैयौं आँखा रसाउँछन्
मान्छेहरू अन्तिम घडी सहानुभूति देखाउँछन्
मरिदिँदा मात्रै रोयौ बाँच्दा एक्लै आतिएथेँ
जिउँदो हुँदा रोई-रोई जिन्दगानी चलाएथेँ

 
 अनुकरण गर्न नसकिने स्वर

अरुणा लामा र मैले चेली-माइतीको साइनो बनाएका थियौं। दाजुभाइ नहुनाले उहाँले मलाई माइती मान्नुभएको हो। मैले उहाँको हातबाट ३३ वर्ष भाइटिका लगाएँ। उहाँ मभन्दा तीन वर्ष जेठी हुनुहुन्छ।
१९६५ तिर नौ कक्षा पढ्दै गर्दा साथी र अग्रजले 'तेरो स्वर राम्रो छ, कोसिस गर' भनेर हौस्याएकाले कोलकाताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा गीत रेकर्ड गर्न तम्सिएको थिएँ। त्यो युगल गीत थियो जुन अरुणा दिदीसँग गाउनुपर्ने भयो। त्यहीबेला हाम्रो दोहोरो चिनजान भएको हो। अभ्यासका लागि उहाँकै घर जानुपर्थ्यो। घर जाने क्रम बढेपछि हामी चेली-माइती भएका हौं।
शरण भेनाको मृत्यु भएपछि उहाँको घर हेर्ने जिम्मेवारी ममा आइलाग्यो। व्यावसायिक रूपमा गीत गाउने चलन थिएन। उहाँले केही न केही पेसामा अल्झनैपर्ने अवस्था आयो। उहाँले बिए पास गर्नुभएको थियो। तर भनेजस्तो जागिर भेट्न मुश्किल पर्‍यो। अन्ततः हामीले एउटा प्राइभेट संस्थामा जागिर त मिलाइदियौं तर वर्षदिनमा सञ्चालक नै भागेपछि टुट्यो। १९७६ मा जनजाति कल्याण मन्त्री दार्जिलिङ आएको मौका पारेर कुन्दनराज सुब्बा, मलगायतले अनुरोध गरेर जनजाति कल्याण विभागमा जागिरको प्रबन्ध मिलाइदियौं। उहाँले त्यहाँ निरीक्षक पदमा काम गर्नुभयो।
विभिन्न कार्यक्रममा उहाँले गाउँदा म हार्मोनियम बजाएर साथ दिन्थेँ। कार्यक्रम र रेकर्डिङको सिलसिलामा हामी नेपाल र भारतका थुप्रै ठाउँ घुम्यौं। मैले संगीत दिएका करिब तीन दर्जन गीत उहाँले गाउनुभएको थियो।
अरुणा दिदी करुणा र व्यथा भएका गीतमात्र गाउने गायिका होइनन्। उहाँ 'भर्साटाइल' गायिका हुनुहुन्थ्यो। सबै खालका गीत उत्तिकै मिठासका साथ गाउनुहुन्थ्यो। तर भेनाको मृत्युपछि उहाँलाई नै पात्र बनाएर गीतकारले गीत लेखिदिए। विरहका गीतमात्र गाउन थालेपछि मैले नै पहिलोपटक रोमान्टिक गीत 'हाँगा हाँगा वनभरि चैत फुलेछ' दिदीलाई दिएको थिएँ। हरिभक्त कटुवालले लेखेको यो गीतको संगीतरचना मैले गरेको थिएँ। त्यसपछि गोपाल योञ्जनले कान्छी फिल्मका रोमान्टिक गीत दिदीलाई दिए।
अरुणा दिदीको स्वरमा भएको माधुर्य अरू कसैमा छैन। उनको स्वरलाई जस्ताको तस्तै अरू कसैले अनुकरण गर्न सक्दैन।
दार्जिलिङमा अरुणाको जन्मजयन्ती मनाउँदै आएका थियौं तर म दुई वर्षअघि देखि यता झापाको दमक बस्न थालेपछि उता जन्मजयन्ती मनाउने क्रम बन्द भएको छ। तर यहाँ झापामै भएपनि हामी जन्मजयन्तीमा कार्यक्रम गरेर उहाँलाई सम्झन्छौं। 

 

 
 सम्झना र सपनामा अरुणासितै छु 
स्कुल पढ्ने बेलादेखि नै अरुणा लामाको जादुमयी स्वरलहरीबाट म ज्यादै प्रभावित थिएँ। सायद १९५९-६० तिरको कुरा हो। म सुकियापोखरीको हाइस्कुल पढ्थेँ। त्यसबेला सुकियापोखरीको जनता हलमा मैले पहिलोपल्ट अरुणालाई देखेँ, सुनेँ। अम्बर दाइको सांस्कृतिक टोली थियो। त्यसमा अरुणाले 'यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ' गीत गाएकी थिइन् र शरण प्रधानले मेन्डोलिन, गोपाल योञ्जनले बाँसुरी, कर्म योञ्जन र गणेश शर्माले भ्वाइलिन बजाएका थिए अनि हारमोनियम अम्बर गुरुङले। उहाँहरू सबैलाई प्रथमपल्ट त्यही कार्यक्रममा देखेकी हुँ, तर त्यसबेला मैले भविष्यमा यिनै कलाकारसित मेरो निकट सम्बन्ध रहनेछ भन्ने सोचेकी पनि थिइनँ ।
पछि कलेज गएपछि अरुणासित नजिक हुने मौका पाएँ। उनी मभन्दा एक वर्ष जुनियर थिइन्। म नेपाली संगीत भनेपछि हुरुक्कै हुन्थेँ। त्यसमाथि मेरो अत्यन्त मिल्ने साथी सिक्किमकी देवी राई पनि राम्रो गायिका थिइन् र कलेजमा क्लास नहुँदा टिफिन टाइममा हामी अरुणालाई खोजीखोजी हिँड्थ्यौं र जहाँ भेटे पनि गीत गाउन कर गर्थ्यौं अनि उनले गीत सुनाउँथिन्। १९६४ मा कलेजको पढाइ सिध्याएर म घर फर्कें र पछि सुनेँ- उनले शरण प्रधानसित बिहे गरिन्। त्यसपछि धेरै समय हाम्रो भेट भएन।
१९७० को फागुन महिनामा मेरो बिहेपछि मेरा श्रीमान नारायण गोपालले दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलन हलमा एउटा कार्यक्रम दिनुभयो। हामी त्यसबेला होटल एलिस भिल्लामा बसेका थियौं। कार्यक्रमको भोलिपल्ट शरण प्रधान होटलमा आएर 'ल हाम्रो घर हुँदाहुँदै होटलमा बस्ने? हाम्रो घर जानुपर्छ' भनी कर गरेर घरमा लिएर जानुभयो। त्यसबेला उनीहरूको छोरी सपना स्कुल जान सक्ने भइसकेकी थिई। सुप्रित काखैमा थियो।
अरुणालाई खसीको बोसो तारेर खान एकदमै मनपर्थ्यो। त्यतिबेला उसले हामीलाई पनि खुवाएकी थिइन्। 'के गर्नु दिदी, सबैले मेरो पेट ठूलो छ, बोसो नखानू भन्छ तर मन नै मान्दैन' भन्थिन्। त्यस बेलुकी गीतसंगीतको महफिल जम्यो- नेपाली गायन क्षेत्रका दुई सिद्धहस्त कलाकार र प्रतिभा गीतकार-संगीतकारबीच।
त्यसको चार वर्षपछि हामीले शरण बितेको समाचार सुन्यौं। एउटा ठूलो बज्रपातजस्तो। अरुणालाई सम्झीसम्झी मेरा आँखा रसाइरहे। यो सहनै नसक्ने आघात, कलिला छोराछोरीको दायित्वले अरुणालाई यति मर्माहत पार्‍यो कि उनले गीत गाउनै छाडिन्। आफ्नो जीवनसाथी गुमाउनुको पीडा परेपछि मात्र थाहा हुँदो रहेछ, तर के गर्नु सहनु पर्दोरहेछ।
यही बज्रपात सहेर अरुणाले बाँच्नुपर्‍यो, आफ्ना सन्तानका लागि। समयको अन्तराल, साथीभाइको बारम्बारको अनुरोध, आफूभित्र लुकेको त्यो पीडाको ज्वाला बाहिर निकाल्नु र त्यो दिव्य र अनुपम स्वरलहरी संगीत आकाशमा तरंगित गर्न अरुणालाई करै लाग्यो र उनले बिस्तारै फेरि गाउन लागिन्। त्यसपछि बिस्तारै अरुणा रेकर्डिङ र कार्यक्रमको सिलसिलामा काठमाडौं आउन थालिन्।
१९७७ तिरको कुरा। राष्ट्रिय खेलकुद परिषदको नेपाल ओलम्पिक कमिटीले आर्थिक सहयोग जुटाउन एउटा कार्यक्रम गर्‍यो। कार्यक्रमको नाम राखियो- शितीसुसेली। नेपाल र दार्जिलिङका कलाकार सम्मिलित थिए त्यसमा। दार्जिलिङबाट अरुणा लामा, डेजी बराइली र दावा ग्याल्मो आएक थिए। त्यस समय हामी ठमेलमा बस्थ्यौं र उनीहरू बारम्बार हाम्रोमा आइरहन्थे। कार्यक्रम तीन दिनसम्म भयो र त्यही समय अरुणाले मेरो श्रीमानको संगीतमा रेडियो नेपालमा टेप गरिन्-
उदास मेरो जीवन कथा...
अरुणा उति नै मधुर स्वरका धनी त थिइन् नै तर उनी आफ्नो गायन क्षमता र आफ्नो स्टाटसप्रति पनि ज्यादै सजग। एकपल्ट उनले भनेकी थिइन्, 'दिदी, मान्छेलाई माथि उठ्न, प्रसिद्धि पाउन निकै सजिलो छ तर माथि उक्लेपछि त्यही स्थानमा टिकिरहन एकदमै गाह्रो छ।'
यो कुरो कुन प्रसंगमा भनेकी थिइन् भने, दार्जिलिङमा बनेको फिल्म 'बाँच्न चाहनेहरू' मा जुनियर गायिकालाई सोलो गीत गाउन दिएर उनलाई कोरस गीतको लिड भ्वाइसमात्र गाउन दिइएछ, जुन उनले ठाडै अस्वीकार गरिन्।
अरुणाले नारायण गोपाललाई धेरै माया गर्थिन्, श्रद्धा गर्थिन्। मलाई सधैं भन्थिन्, 'दाजुसित गाउन मलाई एकदमै डर लाग्छ।' मेरो श्रीमान पनि अरुणालाई साह्रै माया गर्नुहुन्थ्यो अनि अरुणाको स्वरको प्रशंसक पनि हुनुहुन्थ्यो। 'तिहारको बेला भेट भयो भने दाजुलाई भाइटिका लगाइदिन्छु,' उनी मलाई बारम्बार भन्थिन्। तर भाइटिका लाउन नपाए पनि उनीहरूको सम्बन्ध दाजुबहिनीझैं रह्यो। अरुणा सानी बहिनीजस्तै आफ्नो दाजुलाई उपहार किनिदिनोस् भन्दै जिद्दी गर्थिन्। एकपल्ट उहाँले अरुणा र शान्ति दिदीको निम्ति ब्याग किन्नुभएको मलाई सम्झना छ।
१९९० को डिसेम्बरमा मेरा श्रीमान सिकिस्त बिरामी हुनुहुन्थ्यो, यो समय अरुणा पनि काठमाडौं आएकी थिइन्, रेकर्डिङ या अरू कुनै कामको निम्ति। वीर अस्पताल आइन्, आफ्नो माया गर्ने दाजुलाई बेडमा अचेत देखिन् अनि कसैसँग नबोलेर रोएर फर्किन्।
१९९२ अगस्टमा म दार्जिलिङ गएकी थिएँ, मेरो एकमात्र दिदी बित्नुभएर। चोकबजारमा जम्काभेट भयो अरुणासित। आफ्नो दुःख र दिदीको बिछोडले आन्दोलित र विह्वल थिएँ म। भेट हुनासाथ हामी दुवै बोल्न सकेनौं, कारण मेरा श्रीमानको अवसानपछि हाम्रो यो पहिलो भेट थियो। उनका आँखाबाट बरर्र आँसु खसे, मेरो भक्कानो फुट्यो। बीच चोकबजारमा हामी एकक्षण रोयौं र केही कुरा गर्न नसकेर छुट्टियौं।
अरुणापछि कान्ति बाल अस्पतालको असहाय नानीहरूको निम्ति आर्थिक सहयोग जुटाउन र काठमाडौंको रंगमञ्चमा प्रथमपटक एकल गायन प्रस्तुत गर्न आएकी थिइन्, जुन कार्यक्रम अति सफल भयो। त्यसबखत केही कोसेलीसहित उनी मलाई भेट्न आइन्- हाम्रो महाराजगन्जको घरमा गायक लाक्पा शेर्पासँग। उनी आएर बैठकमा बस्न पनि मानिनन् किनभने त्यहाँ राखिएका मेरा श्रीमानका ठुल्ठुला तस्बिर, हार्मोनियम, तबलाले सायद आफ्नो दाजुको अनुपस्थितिको तितो आभासले उनलाई अत्यन्तै पोल्यो। भान्छाकोठामा बसेर चिया खाइन् र एकैक्षणमा हिँडिहालिन्।
त्यहीसाल अरुणाको दोस्रो कार्यक्रम प्रस्तुत गर्‍यो, सीताराम प्रसाईं प्रज्ञा प्रतिष्ठानले। नरेन्द्रराज प्रसाईंको सक्रियतामा भव्य कार्यक्रम भयो। प्रज्ञा प्रतिष्ठानको हल खचाखच थियो। काठमाडौंबासीका आँखा टेलिभिजनको पर्दामा टालिएका थिए। कार्यक्रम अति सफल भयो। 'स्वरकिन्नरी' को उपाधिसहित उनलाई सम्मान गरियो। यो क्षण हामी सबै नेपालीको गौरवको क्षण थियो। त्यसको भोलिपल्ट रामशाह पथको लजमा म उनलाई भेट्न गएँ, उनी खुसी देखिन्थिन् र केही आश्वस्त पनि।
अरुणा लामामा 'स्ट्रङ सेन्स अफ ह्युमर' पनि थियो, त्यो उनका सबै साथीहरूलाई थाहा होला। यसपालिको भेटमा उनले मलाई भनिन् कि मेरा श्रीमान बित्नुभएको बेला उनी पनि सिकिस्त बिरामी थिइन्। तीन दिनसम्म प्लान्टर्स हस्पिटलमा बेहोस थिइन्। बेहोसी अवस्थामा उनलाई भाइ मणिकमल क्षेत्रीको रगत दिनुपरेछ। पछि त्यो कुरो थाहा पाएपछि 'म त रेम्बो जस्तो हुन्छु होला भनेर साह्रै डर लाग्यो' भन्दै उनी घरिघरि हाँसिन्। पहिले त मैले बुझ्न सकिनँ। पछि के भनेको भनी सोध्दा भनेकी थिइन्, 'गोर्खाल्यान्ड आन्दोलनको बेला मणिकमल बराबर भूमिगत हुन्थे रे। टाउकोमा हरियो रिबन, लामो केश, काम पनि उस्तै र सबैले उसलाई रेम्बो भन्थे रे।'
'शिती सुसेली' कार्यक्रमको बेला पनि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीको हामीले आफ्नै ढंगले नाम राखेका थियौं र तिनीहरू आए भने त्यही नामले के-के भनेर मरीमरी हाँस्थ्यौं।
१९९७ को मेमा शान्ति ठटाल दिदी रेकर्डिङको लागि काठमाडौं आउनुभएको थियो र म उहाँलाई भेट्न बागबजारको एउटा लजमा गएकी थिएँ। त्यहाँ अरुणासित पनि भेट भयो। उनलाई त्यहाँ देख्दा मेरो मन नै झस्कियो, उनी निक्कै अस्वस्थ थिइन्। के भयो भन्दा 'खै १९ पल्ट जाँचिसक्यो, तर रोग पत्ता लागेको छैन' भनिन्। मैले उनलाई धेरै सम्झाएँ। उनको परिवार, साथीभाइ, प्रशंसक र शुभेच्छुकहरू धेरैेले उनलाई सम्झाए, उनको सहायताका निम्ति भगवानसित प्रार्थना गरेँ। तर लेखेको कुरा नटर्ने रहेछ। पछि उनी सिकिस्त छिन्, काठमाडौंमा छिन् र छोरी सपनासित छिन् भन्ने थाहाँ पाएँ। तर म अरुणालाई त्यस हालतमा हेर्न सक्दिनथेँ।
र, यसरी सुकियापोखरीको जनता हलको रंगमञ्चमा पहिलोचोटि देखेकी अरुणालाई झन्डै ३८ वर्षपछि मैले बिदाइ दिएँ। प्रज्ञा प्रतिष्ठानको प्रांगणको भेट नै हाम्रो अन्तिम भेट भयो।
हो, आजभोलि म अरुणालाई केवल निर्जीव तस्बिरमा देख्छु। उनको आवाज रेडियो, टेलिभिजनबाट सुन्छु। लाग्छ, उनी अझै दार्जिलिङमै छिन्। उनको हाँसो, उनका आँसु उनीसितै छ र अहिले पनि मेरो सम्झनामा, सपनामा अरुणासित भेट भइरहन्छ।
(अरुणा लामा स्मृति ग्रन्थ २००१)

अरुणा लामाको स्वरमा रेकर्ड भएको पहिलो गीत
किन यौवन उदास उदास छ मेरो
किन नयन निराश निराश छ मेरो
किन आउँदैन पतझडको अन्त बसन्त
किन जीवन एकनाश एकनाश छ मेरो

मेरो निद लुटी निद्रा मग्न छ जो
उ बिउँझिने किन आशा छ मेरो
सुस्केराको घेरामा सास फेर्नेलाई
किन मुटुमा धड्कनको बास छ मेरो

छ रातको हातमा मेरो प्रातको आत्मा
किन हरेक क्षण दर्दको बास छ मेरो
न चाँद तारा छ न कतै किनारा छ
किन यात्रा एकलास एकलास छ मेरो

(शब्द : भूपी शेरचन, संगीत : अम्बर गुरुङ)

 



 
 उहाँ 'धन्यवाद आर्टिस्ट'

आमा त्यतिसाह्रो स्ट्रिक्ट त होइन तर अर्गनाइज्ड हुनुहुन्थ्यो। सायद बाउ नभएर पनि होला, उहाँ बाउआमा दुवैको भूमिकामा हुनुहुन्थ्यो हामी छोराछोरीका लागि।

उहाँलाई जे कुरामा पनि निखार चाहिन्थ्यो। जस्तो युनिफर्म पनि पर्फेक्ट हुनुपर्ने। लुगाफाटा सबै म्याचिङ हुनुपर्ने। ह्यानकरचिफ पनि बोक्नैपर्थ्यो हामीले। त्यो पनि स्वेटरको कलरसँग म्याच हुनुपर्ने। रखनधरनमा यति चनाखो हुनुहुन्थ्यो, उहाँले एक ठाउँमा राखेको पेन हामीले चलायौं भने थाहा पाइहाल्नुहुन्थ्यो।
उहाँलाई रोटी पनि पूरै गोलो हुनुपर्ने। अलिअलि चोचेमोचे भए बनाउनेले गाली खानुपर्थ्यो। सलाद, आलु आदिको कटाइ पनि एकनास र मिलेको हुनुपर्ने। त्यस्तै, गीतसंगीत छान्ने मामिलामा पनि उहाँ उस्तै।
पढाइमा खुब ठेल्नुहुन्थ्यो हामीलाई। उहाँबाटै प्रेरित भएर र आफ्नै रुचिले पनि म स्कुलमा वेस्टर्न क्लासिकल पियानोको क्लास लिन्थेँ। म अलि ठूली भएपछि आमाले नै ब्यान्डहरूमा गाउन सिफारिस गरिदिनुहुन्थ्यो। संगीतकार मणिकमल क्षेत्रीले पनि मेरो लागि गीतहरू बनाइदिनुभयो। पपगीतको एल्बम पनि निकालेँ मैले।
आफूलाई मन पर्ने आमाका गीतहरू मैले ल्यापटपमा राखेकी छु। बेलाबेला सुनिरहन्छु। आमा आफैंसँग हुनुहुन्छ जस्तो लाग्छ त्यतिखेर।
उहाँ कसैलाई मन नदुखाउने खालकी हुनुहुन्थ्यो। नाइँ भन्नै नसक्ने। स्टारडम कहिल्यै देखाउनु भएन। पैसाको लोभ पनि गर्नुहुन्थेन। कतिचोटि त थोत्रो जिपमा बसेर कार्यक्रम गर्न गाउँगाउँ हिँडिदिनुहुन्थ्यो। सित्तै गाइदिनुहुन्थ्यो। पैसाको आस गर्नुहुन्थेन। गाइसकेपछि धन्यवाद भनेर हिँड्नुहुन्थ्यो। हामी उहाँलाई जिस्काउँदै 'धन्यवाद आर्टिस्ट' भन्थ्यौं।
आमाले कैयौं गीत गाउनुभयो। त्यतिखेर कपीराइट एक्टको कुरै थिएन। त्यसैले जथाभावी रिमिक्स गरिदिए। त्यसरी कैयौं गीत मिसयुज गरियो।
आमाको रोयल्टीको कुरामा पनि म ठगिएकी छु। एकचोटि म्युजिक नेपाल गएकी थिएँ। 'छोरी मान्छे भएर किन बाठी भाको' भनेर फर्काइयो। आमाको रोयल्टी के-कति हो, ककसले दिनुपर्छ, केही पत्तो छैन हामीलाई। खासमा त्यो पैसा जम्मा गरेर संगीत क्षेत्रकै लागि खर्च गरूँ भन्ने मेरो ध्येय हो। तर रोयल्टी दिनुपर्ने संस्था, निकायले रोयल्टीलाई कलाकारको सम्मान सम्झेनन्, खालि पैसा उठाउन आएको ठाने।
बाबा शरण प्रधानका रचना र आमा अरुणा लामाले गाएका गीतहरू समेटेर एउटा किताब निकाल्ने सोचमा छु। आमाले हिन्दीमा कविता कोरेको पनि थाहा छ मलाई। तर आमा खसेपछि उहाँको डायरी कता हरायो कता! फोटोहरू पनि ककस्ले लगे लगे। सामानहरू मिसप्लेस भए।
उहाँ खस्दाबित्तिकै हामी मिडियाहरूबाट घेरियौं। यस्तो अनुभव कहिल्यै गरेका थिएनौं। सुरुमा त आत्तियौं, पछि सामान्य लाग्दै गयो। राष्ट्रियस्तरकी कलाकारको सन्तानका रूपमा हाम्रो विचार लिन खोजिएको रहेछ।
उहाँ बितेपछि उहाँको शव कहाँ लैजाने भनेर विवाद भयो। नेपालमा राख्ने कि दार्जिलिङ? दार्जिलिङकाले उतै लाने भने। यताकाले 'राष्ट्रिय व्यक्तित्व' बनाउँदै यतै सदगत गर्ने भने। अन्ततः उहाँको शव उतै लगियो। अस्तु भने यता वागमतीमा विसर्जन गर्न ल्याइयो।
१५ वर्षदेखि काठमाडौंमा मदर केयर नामको मन्टेसरी स्कुल चलाएर बसेकी छु। मैले यतै विवाह गरेँ। एक त यो मेरो आफ्नै घर भयो, अर्को कुरा आमाले ख्याति कमाएको र उहाँको अस्तु विसर्जन गरिएको ठाउँमा रहँदा मलाई गौरव र सन्तुष्टि मिल्छ।

(सन्तोष शर्माले गरेको कुराकानीमा आधारित)

 
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार