सिँधुलीगडी : फिरंगी हटाई लुटिपीटि चाँडो

E-mail Print
(0 votes, average 0 out of 5)
जगदीश घिमिरे- सिँधुलीमा फिरंगी आइलाग्दा असोज १५ नेपाली इतिहासको एक गौरवमय दिन हो। संवत् १८२४ साल असोज १५ गतेको दिन सिँधुलीमा फिरंगी आइलागे र तिन्लाई गोर्खाली सेनाले हराएर भगाए। फिरंगीलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई हराउन हारगुहार गरेर बोलाएका थिए।
 
गोर्खाली सेनाले फिरंगी सेनालाई सिँधुलीगडीको दक्खिन मुहुडाको ठाडो उकालाका अक्करहरूमा भएको युद्धमा हराएर भगाए। त्यसको ४७ वर्षसम्म फिरंगीले मुन्टो उठाएर नेपालतिर हेर्ने आँट गरेन।

पटनाबाट केही फिरंगी र तिनका भारतीय रैतीसमेत आधुनिक हतियारले सज्जित चौबिस सय सिपाही आए। खुँडा, खुकुरी, धनुबाण, घुँएत्रो र केही पत्थरकला (भरुवा बन्दुक) पनि बोकेका बाह्रसय गोर्खाली सेना थिए। गोर्खालीले त्यस दिन सोह्रसत्र सय फिरंगी सेनालाई सोतर बनाए। मर्ने मरे, बाँचेका हतियार फालेर धोती न टोपी हुँदै भागे। छ सय गोर्खाली सेना सहिद भए।
त्यसको तीन सय त्रिसट्ठी दिनपछि संवत् १८२५ असोज १३ गते पृथ्वीनारायणले कान्तिपुर जिते।
त्यसको नौ महिनापछि संवत् १८२६ साल असारमा पृथ्वीनारायणले लालमोहोर गरे-
आगे' उदयनारायण उपाध्ययले सिक्का १२० अक्षरेपी एक सय बीस बलभद्र उपाध्याय षजांची हस्ते सिँधुलीमा फिरंगी आइलाग्दा षर्चनिमित्त सर्कार लाग्या'
त्यो रकम सापटी लिएबापत उदयनारायणले तीनसय 'महेन्द्रमलि' (महेन्द्र मल्लको सिक्का) मा किनेको रैकर जग्गा पृथ्वीले बिर्ता गरिदिए। त्यसरी उनले सिँधुलीमा फिरंगी आइलाग्दा रिन सापट दिएर र युद्धका लागि आवश्यक सबै किसिमका सहयोग गरेर सघाउने एक बाहुनचरिको गुन तिरेका थिए।
पृथ्वीका पनाति गीर्वाणले बाजेले गरेको लालमोहरको सन्दर्भ र जग्गाको साँध सिमानासमेत खुलाएर १८५८ मा 'तावापत्र' गरेर ती बाहुनलाई 'वृत्ता' (बिर्ता) दिए। आजसम्म पनि रामेछापको मन्थलीमा तिनका वंशज म र मेरा धेरै वन्धुवान्धवको बसोबास र खेती त्यै जग्गामा छ।
सो तामापत्रको प्रतिलिपि दिनेशराज पन्तले 'पूर्णिमा' को पूर्णांक १९ पुस २०२५ सालमा छापेका छन्।
फिरंगी र भिरंगी
मैले मेरो संस्मरण ग्रन्थ 'अन्तर्मनको यात्रा' मा सिँधुलीमा फिरंगी आइलाग्दाको प्रसंग लेखेको छु। मलाई कति पाठकले 'फिरंगी' भनेको के हो भनेर सोधे। 'फिरंगी' अर्थ बुझेको छु भन्ने कतिले 'फिरंगी' जस्तो अनादरसूचक शब्द किन प्रयोग गरेको पनि भने।
किनभने, तामापत्रको 'सिँधुलीमा फिरंगी आइलाग्दा' भन्ने वाक्यांशको विशिष्ट ध्वनि र निहितार्थ मलाई मनपर्‍यो। अर्को कुरा 'फिरंगी' उहिलेदेखि नै नेपालीमा चलेको शब्द हो। पुराना कवि यदुनाथ पोखर्‍यालले लेखेका छन्-
फिरंगी हटाई लुटिपीटि चाँडो।
पुगी आज गंगा पखाल्नु छ खाँडो।।

पश्चिमी देशका मान्छेलाई कुइरे, खैरे, गोरे भन्छन्। ती शब्दमा म 'फिरंगी' को भाव पाउन्न।
फारसीमा युरोप महादेशलाई फिरंक भन्छन्। फारसीको फिरंक शब्द हिन्दी र नेपालीमा फिरंग भयो र त्यहाँका निवासी फिरंगी भए। फिरंगीले एसियालाई भिरंगी (सिफिलिस) को उपहार दिएको हुनाले त्यसै शब्दबाट त्यस यौनरोगको नाम हिन्दीमा फिरंग भयो र नेपालीमा भिरंगी वा भिरुंगी।
कोलम्बसपछिका पश्चिमी नाविक र सैनिकले पूर्वमा फैलाएको यौनरोग सिफिलिस पुनर्जागरणकालीन युरोपमा एक प्रमुख प्राणघातक थियो।
सिफिलिसले ज्यानै लिएका विश्व सेलेब्रेटी साहित्यकार हुन्- चार्ल्स बलदेयर, हेनरिख हाइन, गाइ डि मोपासाँ र पेन्टर पौल गोगाँ तथा एडुआर्ड म्याने। 'युरोपियन जर्नल अफ न्युरोलोजी', जुन २००४ का अनुसार रूसका ब्लादिमिर इलिच लेनिन पनि न्युरोसिफिलिसका कारण मरेका हुन्। हाम्रा महान विभूति मोतीराम भट्टको असामयिक मृत्युको कारण सिफिलिस नै थियो पनि भन्छन्।
पछिल्लो चरणमा सिफिलिसले बौलाहा तुल्याउँछ। दार्शनिक फ्रेड्रिक नित्से यै रोगले बौलाए। साहित्यकारहरू लियो टल्सटाय, अस्कर वाइल्ड, जोन किट्स, पेन्टर भिन्सेन्ट भ्यानगग र कम्पोजर फ्रान्ज सुबर्ट यस रोगबाट पीडित थिए। यो रोग लागेका राजाहरू वा सोसरहका व्यक्तिहरू हुन्- बेलायतका राजाहरू एडवर्ड ६ र हेनरी ८, रूसको जार इवान दि टेरेबल र फ्रान्सको सम्राट नेपोलियन बोनापार्ट, जर्मनीको चान्सलार एडोल्फ हिटलर, इटलीको सरकार प्रमुख बेनिटो मुलसोलिनी। सिफिलिस लागेका विश्व सेलेब्रेटीहरूको सूची धेरै लामो छ।
यौनका कुरामा सानाठूला उस्तै हुन्। यौनाचारबाट सल्किने यो रोग पनि दैवजस्तै समदर्शी छ। यसले सानाठूलामा वैषम्य गर्दैन। सिफिलिस दोस्रो विश्वयुद्धपछि भएको पेनिसिलिनको आविष्कारले मत्थर भयो। निको हुन लाग्यो। त्यसपछि मान्छेलाई सिफिलस लागेको थाहै नभै निको हुन्छ।
अचेल पश्चिमको अर्को उपहार एड्सको मात्र बोलवाला छ। रोग पनि उतैबाट आउँछ, उपचार खर्च पनि उतैबाट! यो हतियारजस्तै हो। हतियार पनि उतैबाट आउँछ, हतियारविरुद्ध प्रचार र मानव अधिकारका नारा पनि उतैबाट आउँछन्।
भोल्टेयरले भनेका छन्- वेद पूर्वको पश्चिमलाई अतुलनीय उपहार हो।
म भन्छु- भिरंगी र एड्सजस्ता यौनरोग जगतलाई पश्चिमको अविष्मरणीय देन हो।
फिरंगी शब्दको निहितार्थ माथिका अरू समानार्थी शब्दमा पाइँदैन। त्यसैले पनि होला एक सय वर्ष पुग्न लाग्दा पनि लेखनमा सदावहार र सक्रिय, पाठकलाई सदैव चुम्बकझैं तान्नसक्ने 'फोहोरी बूढो' नामले ख्यातिप्राप्त तथा सुप्रसिद्ध भारतीय लेखक खुशवन्त सिंह पनि फिरंगी शब्द प्रयोग गर्छन्।
गोर्खालीको जित
अन्ततः सिँधुलीमा फिरंगी आइलागे।
काठमान्डु उपत्यकालाई यसका तीन प्रमुख सहर कान्तिपुर, ललितपुर र भक्तपुरको नामबाट 'तीन सहर नेपाल' भनेर चिनिन्थ्यो। मल्लहरू राजा थिए र राजधर्मको सामान्य आचरण अनुरूप छिमेकी राज्यहरूसँग कलह, झैंझगडा भैरहन्थ्यो।
पृथ्वीनारायणले कान्तिपुर राज्यलाई चारैतिरबाट घेरा हालेका थिए। जयप्रकाशले भएको गोर्खालीहरूको चौतर्फी नाकाबन्दी र आक्रमणलाई रोक्ने कुनै उपाय देखेनन्। अनि भक्तपुरका राजा रणजित मल्ललाई बोलाएर गुह्येश्वरी मन्दिरमा देवी साक्षी राखेर अघि जेजस्तो भएपनि अबउप्रान्त आपसी कलह नगर्ने र मिलेर गोर्खालीको प्रतिकार गर्ने धर्म भाके। तर गोर्खालीको आक्रामकताका अगाडि केही सीप नलागेपछि उनीहरूले जुनसुकै सर्तमा भएपनि फिरंगीसँग गुहार माग्ने निधो गरे।
जयप्रकाशले रसदपानीको बन्दोवस्त गर्ने र युद्धको सारा खर्च बेहोर्ने कबोल गरेर फिरंगीलाई गुहारेका थिए। फिरंगीले गोर्खालीलाई हराउन सके मेची-महाकाली प्रदेशका सारा राज्यमा मात्रै होइन, तिब्बतसम्म उपनिवेश फैलाउन पाउने सुवर्ण अवसर देख्यो। त्यस मौकाको सदुपयोग गरेर नेपाल खाल्डोका राजाहरूको पक्षमा धुर्रा उठ्न लागि कम्मर कस्यो। फिरंगीको विजय अवश्यम्भावी छ भन्ने कुरामा मल्लराजाहरू झन् विश्वस्त थिए। नत्र उनीहरूले आत्मसमर्पण गरेर गुहार माग्ने थिएनन्। महाबली 'समुद्री बादशाह' फिरंगीसँग भारतका राजा र नवाफहरू एकएक गरेर हार्दै थिए।
फिरंगीले काठमान्डुको बाटो ततायो। बीचमा थियो सिँधुलीगडी, जुन पहिले मकवानपुरको इलाकामा पर्थ्यो र पृथ्वीनारायणले अधिनस्थ गरेको पाँच वर्ष मात्र भएको थियो।
अनि सिँधुलीमा आइलागेका फिरंगीलाई गोर्खालीले हराएर भगाएका थिए।
मिति
इतिहास शिरोमणि बाबुराम आचार्यले त्यसबेला उपलब्ध अभिलेख केलाएर 'पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' (२०६१) र 'नेपालको संक्षिप्त वृत्तान्त' (२०६३) नामक ग्रन्थमा त्यस लडाइँबारे लेखेका छन्। पछिका लेखकहरूले उनकै ग्रन्थका आधारमा लेखेका हुनाले उनै कुरा पाइन्छन्। तर आचार्यले नै ती दुई ग्रन्थमा दिएका लडाइँको मिति पछि उपलब्ध सामग्रीका आधारमा पुनः विचार गर्नु आवश्यक छ।
'जीवनी' को पृष्ठ ३४० मा उनी लेख्छन्- सिँधुलीगडीमा अंग्रेजको आक्रमणको तिथिमिति केही भेटिएको छैन।
अनि विभिन्न अभिलेखका आधारमा उही ग्रन्थको पृष्ठ ३४२ मा निर्क्योल गर्छन्- सिँधुलीगडीको लडाइँ १० देखि १२ सेप्टेम्बर (१७६७) सम्मका तीन दिनका बीच एक दिन भएको देखिन्छ।
'वृत्तान्त' को पृष्ठ १५६ मा लेख्छन्- कप्तान किनलकले आफ्ना लडाका सैनिकलाई उकालो लाग्न आदेश दिएका थिए (विसं १८२४ साल आश्विन २४ गते तदनुसार ६ अक्टोबर इसं १७६७)।
हालै इतिहासविद दिनेशराज पन्तले प्रकाशमा ल्याएको 'महामण्डलदेखि काँगडासम्म' (विसं १८०१ देखि १८६६ सम्मको तिथ्यावली, २०६७) अनुसार-
संवत् १८२४ मासे ६ दिनगता ९ सोमबार फिरंगी हाडिसाहेबले सिंधुली मार्‍याको दिन हो. हाम्रा पाल्मी भाग्या।
पुनः आस्विणमासे दिनगता १५ रविवासरे दिन चतुर्थ प्रहर पौवामा फिरंगी हाडिसाहेबसमेत २ पल्टन हटायाको दिन. सेनापति काजी श्रीहर्ष पंथ, बंसराज पाँडे सय चार पाच ४।५ फिरंगी बन्दुक ल्यायाको दिन हो। (पृष्ठ ३४)
स्थान
त्यस युद्धको सन्दर्भमा आएका स्थानहरूका नाममा पनि पछिल्ला सामग्री र स्थलगत यथार्थका आधार पुनःविचार गर्नु आवश्यक छ। अहिले तीमध्ये धेरै स्थानमा टेकेर वा छोएर मोटर कुद्छ। मोटरबाटो खुल्नुअघि मैले ती स्थानमा बास बस्तै, तिनका छेउछाउ हुँदै र तिन्लाई छुँदै, तिनका चौतारीमा थरक मार्दै, पसिना ओभाउँदै त्यस युद्धबारे अनेक कल्पना गर्दै अनेक पटक पदयात्रा गरेको छु। त्यस लडाइँका वर्णनहरूको चाख लिएर पढ्ने कोसिस पनि गरेको छु। जसका आधारमा यस लेखमा आफ्नो सामान्य ज्ञानले देखेका कुरा प्रकाशमा ल्याउने चेष्टा गरेको छु।
सिँधुलीमाडी र सिँधुलीगडी
पन्तको तिथ्यावली अनुसार फिरंगीले असोज ९ गते सिँधुली कब्जा गरेका थिए। तर कुन सिँधुली? त्यहाँ दुइटा सिँधुली छन्- सिँधुलीमाडी र सिँधुलीगडी। स्थानीयहरू सिँधुलीमाडीलाई माडी र सिँधुलीगडीलाई गडी मात्रै भन्छन्। गडीमा पनि तिनटा गडी छन्- ठूलोगडी, सानोगडी र पौवागडी। सानोगडी नै पौवागडी हो भन्ने पनि छन् र पछि बनेको आड नामक किल्ला नै पौवागडी हो भन्ने पनि छन्।
इतिहासका अभिलेखमा सिँधुली मात्रै लेखेकोलाई सिँधुलीगडी बुझिएको छ। आचार्यले 'वृत्तान्त' को पृष्ठ १५६ मा लेखेका छन्- 'रसद-पानीको नितान्त कमी भए पनि कप्तान किनलकले आफ्ना अंग्रेजी सैनिकलाई सिन्धुली-गडीबाट त्यत्तिकै फर्काएर स्वदेशतर्फ लैजान उचित सम्झेनन्। 'आफ्ना सैनिकलाई पौवागडीतर्फ नै उकालो लाग्न आदेश दिए'।'
यस विवरण अनुसार किलनक डाँडाको टाकुरामा रहेको सिँधुलीगडीसम्म पुगेका थिए। तथ्य के भने, सानोगडी वा पौवागडी सिँधुलीगडीभन्दा तल पर्छ र दक्खिनबाट उक्लँदा पहिले आउँछ। सिँधुलीगडी पुगिसकेपछि बाटो उकालो होइन ओरालो लाग्छ। सिँधुलीमाडीबाट मात्र बाटो उकालो लाग्छ।
आचार्यकै ती दुई ग्रन्थ अध्ययन गर्दा के बुझिन्छ भने फिरंगी सेना ठूलोगडी पुग्न पाएनन्। बाटैमा छिमलिए। हारे। किनभने दक्खिन मोहोडाबाट आएको फिरंगी फौजलाई त्यहाँ पुग्न लडाइँ भए भनेका स्थानमा आचार्यले 'वृत्तान्त' पृष्ठ १५६ मा 'उकालोको लगभग मध्यभागमा रहेको ढुंग्रे-बास' भनेको ढुंग्रेबास नभएर ढुंग्रेभन्ज्याङ हो। त्यो भन्ज्याङ, आड र सानोगडी वा पौवागडी नाघेपछि मात्र सिँधुलीगडी पुगिन्छ जहाँ फिरंगी फौज पुग्न सकेन। ढुंग्रेभन्ज्याङ र पौवागडीका किल्लाबन्दीमा भएका लडाइँमा नै हारेर भागे।
फिरंगीहरू जनकपुरबाट रातुखोला, कमलाखोला र ग्वाङखोलाको बगरैबगर हिँडेर असोज ९ गते सिँधुलीमाडी पुगेर त्यो स्थान कब्जा गरेका थिए। त्यहाँसम्म चुरे पहाडका ससाना उकालाबाहेक मैदानजस्तै हुनाले फिरंगीले ल्याएका दुइटा तोप ढुवानी गर्न पनि गाहारो भएन। फिरंगीको तोप र आधुनिक बन्दुकले सजिएको विशाल सेनाको सामना नगरेर 'हाम्रा पाल्मी' भागेर ढुंग्रेभन्ज्याङ, पौवा र आडका अक्कर र सिँधुलीगडीमा किल्ला जमाएर बसेको हुनुपर्छ।
ढुंग्रेबास र ढुंग्रेभन्ज्याङ
सिँधुलीमाडीको सिरानमा रहेको ढुंग्रेबासबाट एक कोस तर्पे उकालोपछि गडीडाँडाको फेदी पुगिन्छ। त्यहाँबाट एक कोस ठाडो उकालोपछि अक्करमा ढुंग्रेभन्ज्याङ छ। त्यसको केही माथि रणबहादुरका राज्यकालमा (सम्भवतः बहादुर शाह नायब वा राजप्रतिनिधि भएका बेला) बनेको आड नामक किल्ला छ। त्यसभन्दा माथि सानुगडी वा पौवागडी छ र त्यसभन्दा पनि माथि ठूलोगडी छ। तिनको भग्नावशेषले भन्छ ती पछिका बनावट हुन्। सबभन्दा पहिले मकवानपुरे राजा माणिक्य सेनले सिँधुलगडीको निर्माण गरे भनिन्छ।
तर इतिहासका ग्रन्थमा ढुंग्रेबास (कतैकतै ढुंग्रेबाँस) र पौवागडीमा लडाइँ भएको वर्णन पाइन्छ। ती अभिलेखले ढुंग्रेबास भनेको ढुंग्रेभन्ज्याङ हो। किनभने ढुंग्रेबास सिँधुलीमाडीमा नै छ। त्यहाँसम्म त फिरंगीले तोप नै ल्याएका थिए। फिरंगीले असोज ९ गते सिँधुलीमाडी कब्जा गर्दा माडीकै एक छेउको ढुंग्रेबास कब्जा नहुने कुरा हुँदैन। गोर्खालीहरू त्यहाँबाट हटेर गडीडाँडाको पाखाका अक्करहरू-ढुंग्रेभन्ज्याङ, आड, सोलाभन्ज्याङ, पौवागडी वा सानोगडी र ठूलोगडीमा किल्ला बाँधेर बसेको हुनुपर्छ। अभिलेखले ढुंग्रेबास र ढुंग्रेभन्ज्याङमा अलमलिनुबाहेक यी स्थान निर्णायक युद्ध भएको पुष्टि गरेका छन् जहाँ असोज १५ गते भएको एकदिने निर्णायक लडाइँमा गोर्खालीको विजय भयो।
नयाँ नेपालको शासन-शोषन
पृथ्वीनारायण शाहले सिँधुलीमा फिरंगीलाई हराएको प्रसंगबाट थालिएको यस लेखको मान्यता के भने त्यो युद्ध जितेकोले नै उनले नेपालमा ५२ भन्दा बढी राज्य भएको बेला 'नयाँ नेपाल' को जग हालेका हुन् तथा सिँधुलीगडीको युद्धमा गोर्खालीलाई हराएको भए विजयी फिरंगी सेनालाई मल्ल राजाहरूले रातो गलैंचा ओछ्याएर तीन सहर नेपालमा स्वागत गर्ने निश्चित थियो। अनि मल्ल राजाहरूले नेपाल राज्यलाई सुनको किस्तीमा हालेर फिरंगीका पाउमा चढाउन बाध्य हुन्थे वा हुन्थेनन् वा मल्ल राजाहरू र फिरंगीबीच यस राज्यको भविष्यबारे के सौदाबाजी हुन्थ्यो र त्यसपछिको नेपालको भूगोल र इतिहास के-कस्तो हुन्थ्यो, त्यो परिकल्पनाको विषय हो।
अतः नेपालको इतिहासका यी दुई तथ्य मल्लहरूले फिरंगीलाई नेपाल राज्यको मूल्यमा निम्त्याएको र पृथ्वीनारायण शाहले सिँधुलीगडीमा तिनलाई हराएको अत्यन्त महŒवपूर्ण छन्।
अहिले जातीयताको कुरा यति चर्केको कि अब नेपाली भूगोलको सीमारेखाभित्र केवल जातजाति छन् नेपाली छैनन्। सीमाबाहिर जातजाति छैनन् केवल नेपाली छन्- खासगरी पूर्वीसीमा पारिका प्रदेशलाई प्राप्त त्यो सौभाग्य हाम्रा लागि इर्ष्यालाग्दो छ। यताका उता जाँदा जात बिर्साएर नेपाली भनेर चिनाइन्छन्। तर विडम्बना, उताका यता आउँदा नेपाली बिर्साएर जातले चिनाइन्छन्।
नेपाललाई जातीयताको आधारमा विभिन्न प्रदेशमा बाँडफाँड गर्ने प्रयत्न छ। जातीय मात्र होइन, 'राज्यको पुनःसंरचना र राज्यशक्तिको प्रतिवेदन २०६६' मा एनेकपा माओवादीले जातविशेषको मात्र होइन, पुरेतविशेषको नाममा 'लामा/भोटिया' प्रदेश बनाउने अग्रगामी छलाङको अद्वितीय नमुना प्रस्तावसमेत पेस गरेका हुन्।
भनिन्छ, जातीय विभेद र शोषणको जरो पृथ्वीनारायणले हालेको नयाँ नेपालको जग र त्यसपछिको नेपालका शासकले लिएको नीतिसँगै रोपियो। उनीहरू पहाडे खस थिए त्यसैले उनीहरूले अरू सबैका विरुद्ध त्यसो गरेका हुन्। त्यो नेपालका पहाडे खस छेत्रीको सामन्तशाही शासन-शोषनको जग थियो जुन अझै झाँगिदैछ। ठिकै हो, त्यसबेला संसारमा कहीँ पनि प्रजातन्त्र थिएन। कहीँ नभएको जात्रा नेपाल नामक हाँडीगाउँमा मात्रै हुने कुरा भएन।
हेरौं त्यसो गर्ने उनीहरू को थिए?
डोरबहादुर बिष्टदेखि प्रदीप थापा मगरसम्मका धेरै प्रकाण्ड विद्वानले अनेक अनुसन्धानका आधारमा नेपालका खसहरू मगरवंशज नै हुन् भन्ने किटान गरेका छन्। 'जनै महिमा को हुन् जात फेर्नेहरू' (२०५५) पुस्तकमा लेखक प्रदीप थापा मगरले अनेक प्रमाणका आधारमा नेपालका पुराना र नयाँ शासकहरू- शाह, राणा, सेनलगायत पहाडका सबै खस छेत्री ठकुरीहरू मगर थिए भन्ने सिद्ध गरेका छन्।
त्यसो हो भने यस पहाडी प्रदेशमा अघिदेखि नै र खासगरी अढाई शतकदेखि नेपालमा मगरवंसजहरूको नै हालीमुहाली रह्यो, अरूको होइन।
त्यसमाथि शाहवंशमा भारतीय राजपुत नारीको आलो रगत पनि निकै प्रवाहित भएको छ। नेपालका राजाहरू प्रताप सिंह, सुरेन्द्र विक्रम, त्रिभुवन र महेन्द्रका मावली भारतीय राजपुत हुन् भने राजा गिर्वाणको मावली नेपाली मैथिल बाहुन हुन्। जंगबहादुरपछि शाहहरूको रगतमा राणाहरूको रगत प्रसस्तै मिसिएको छ। 'श्री ३ हरूको तथ्य वृत्तान्त' पृष्ठ ११७ मा पुरुषोत्तम शमशेर जबरा भन्छन्- जुद्ध शमशेरकी आमा जौहरकुमारी वा जुहारकुमारी भारतीय मुसलमान कन्या 'जौहर ज्यान' वा 'जौहर जान' हुन्। जुद्ध शमसेर र अरू राणाका सन्तान पनि नेपालका राजा पनि रानी पनि भएका हुन्।
जसलाई र जसका कृत्यलाई आज खस र खसतन्त्र भनेर निन्दा गरिन्छ। वास्तवमा ती मूलतः जनजातिका वंशज रहेछन्। आज जसलाई खस भनिन्छ तिनका पूर्वज जनजाति रहेछन्। यो दावा माथि भनिएका विद्वानहरूको हो।
नेपालका शासकहरू मगरकै वंशज हुन् भने पनि पृथ्वीनायण शाहको नयाँ नेपालदेखि गणतन्त्रको नयाँ नेपालसम्म मगर जनजातिको मात्रै होइन, भारतीय राजपुत र भारतीय मुसलमान तथा नेपाली मधेसीका मिश्रण वंशजहरूले नै यो देशमा अन्याय र शासन-शोषन गरेका हुन्। अरूले होइन। चेतना भया।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार