एघार वर्षदेखि अनसनमा

E-mail Print
(0 votes, average 0 out of 5)

इन्टरनेसनल हेराल्ड टि्रब्युन, इम्फाल (भारत)- उनलाई एम्बुलेन्समा ल्याइयो। दुब्लाएर सिन्का भएकी। पूरै पहेँलिएको अनुहार। नाकमा तान्द्राङतुन्द्रङ पाइपहरू झुन्डिएका। उनी प्रहरी घेरामा न्यायाधीशको कोठाभित्र छिरिन्। प्रत्येक १५ दिनमा यसैगरी न्यायाधीशलाई भेट्छिन्। यो क्रम सयौंचोटि दोहोरिसक्यो।
'के तपाईं अनसन तोड्न तयार हुनुहुन्छ?'

'छैन।'
छोटो जवाफपछि उनलाई फेरि एम्बुलेन्समा अस्पताल फर्काइयो।
११ वर्षदेखि उनको जीवन यसैगरी बितिरहेको छ।
जवाहरलाल नेहरू अस्पतालको शैया नै उनको घर हो। अस्पताल कोठा उनको संसार। उनी खान खान इन्कार गर्छिन्। प्रहरीहरू नाकमा झुन्डिएका पाइपबाट जबर्जस्ती झोलिलो आहारा छिराइदिन्छन्।
११ वर्षदेखि उनी यसैगरी जीवित छिन्।
यिनी हुन् इरम छानु शर्मिला। वर्ष ३९। कवयित्री। सामाजिक कार्यकर्ता।'


सामाजिक कार्यकर्ता अन्ना हजारेको १२ दिने अनसनले भारतको राजनीतिक प्रणालीलाई हल्लाइदियो। चौबिस घन्टे टेलिभिजन च्यानलहरू रातदिन उनका वरिपरि झुम्मिए। देशभरिका हज्जारौं मध्यमवर्गीय जमात 'मैं अन्ना हुँ' भन्दै भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिए।
अनसनलाई विरोध प्रदर्शनको सशक्त माध्यम मानिने यही भारतमा शर्मिलाको ११ वर्ष लामो अनसनले भने विरलै कसैको ध्यान तानेको छ।
भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी क्षेत्रमा सुरक्षाकर्मीहरूको ज्यादतीविरुद्ध उनले यो अभियान थालेकी हुन्। ती क्षेत्रमा द्वन्द्व नियन्त्रणका नाममा सुरक्षाकर्मीलाई असीमित अधिकार दिइएको छ। उनीहरू कुनै पनि बेला कसैलाई पनि नियन्त्रणमा लिन सक्छन्। केरकार गर्न सक्छन्। ज्यानै लिए पनि सवालजवाफ हुँदैन।
र, यी सब कानुनी रूपमै भइरहेका छन्।
यसैविरुद्ध अनसन बसेकी शर्मिलालाई संसारकै ठूलो लोकतान्त्रिक देश भारतले झन्डैझन्डै नजरबन्दको अवस्थामा राखेको छ। उनी कसैलाई भेट्न पाउँदिनन्। सम्पर्क गर्न पाउँदिनन्। उनी आफ्नो परिवारबाट टाढा छिन्। समर्थकहरूबाट टाढा छिन्। चौबिस घन्टे टेलिभिजन च्यानलहरूको चासोबाट टाढा छिन्।
तर, उनको दृढता डेग हल्लिएको छैन।
'म गल्नेवाला छैन,' न्यायाधीशको कोठामा संक्षिप्त अन्तर्वार्ता दिँदै उनले भनिन्, 'म भगवानले दिने न्यायको प्रतीक्षामा छु।'
कमजोरीले ज्यान सुके पनि बलियो आँतले उनका आँखा बिजुलीझैं चम्किरहेका थिए।'

मणिपुर भारतका सात उत्तरपूर्वी राज्यमध्ये एक हो। बंगलादेश, चीन, भुटान र म्यानमारसँग जोडिएका छन् यी सात राज्य। यहाँको भेषभूषा र संस्कृति राजधानी नयाँदिल्लीभन्दा भिन्न छ। बरु धेरै हदसम्म पूर्वी एसियासँग मेल खान्छ।
यी राज्यमा स्वतन्त्रता र स्वायत्तताका लागि अनेकौं द्वन्द्व भएका छन्। सरकारले त्यसको जवाफमा कडा सैनिक कारबाहीको नीति लिँदै आएको छ।
सशस्त्र बल विशेषाधिकार ऐन १९५८ ले भारतको उत्तरपूर्वी राज्यका सुरक्षाकर्मीलाई अरू ठाउँभन्दा बढी नै स्वतन्त्रता दिएको छ। यो ऐनअन्तर्गत सेनालाई पक्राउपुर्जीबिनै मान्छे समात्ने अधिकार छ। शंकाको भरमा जोसुकैमाथि गोली हान्ने छुट छ। पाँच वा त्योभन्दा बढी व्यक्ति भेला भएको देखे तितरबितर पार्न जस्तोसुकै कडा कारबाही गर्नसक्छ। र, कुनै पनि सैनिकमाथि ज्यादती वा अन्य अभियोग लगाउनुपरे केन्द्रीय सरकारको अनुमति नभई हुँदैन। यस्तो अनुमति विरलै दिने गरिएको छ।
सेनाले यो हदसम्मको स्वतन्त्रता पाएपछि मानवअधिकार उल्लंघनका घटना हुनु स्वाभाविकै हो। मणिपुर लगायत उत्तरपूर्वी राज्यमा पनि द्वन्द्वका नाममा हजारौं मारिएका छन्, अंगभंग भएका छन्, पक्राउ परेका छन् र अमानवीय व्यवहारको शिकार भएका छन्।
मानवअधिकार उल्लंघनका असंख्य घटनामध्ये एकले शर्मिलालाई अनिश्चितकालीन अनसनमा बस्न प्रेरित गर्‍यो।
यो घटना इम्फालको मालोम गाउँमा सन् २००० नोभेम्बर २ मा भएको थियो।
त्यस दिन मध्याह्न गाउँ जाने मूल सडकमा बम विष्फोटन भयो। विष्फोटनलगत्तै आसाम राइफल्सका सैनिकहरू हुर्हुर्ती गाउँ छिरे। सैनिक कारबाहीमा १० स्थानीयको ज्यान गयो। धेरैजना गाउँका तन्नेरी केटा परे। एक ६२ वर्षीया हजुरआमाको पनि गोली लागेर मृत्यु भयो। यो कारबाही कतिसम्म निर्मम र गैरजिम्मेवारपूर्ण थियो भने, बस स्टपमा लाम लागिरहेका सातजनालाई एकैचोटि एकदमै नजिकबाट गोली हानिएको थियो। अन्य तीनलाई पनि गाउँका विभिन्न भागमा गोली लाग्यो।
सैनिकहरूले आफूमाथि हमला भएकाले 'जवाफमा फायरिङ' गरेको दाबी गरे। तर, घटनाबारे न्यायिक छानबिन हुँदा दाबी पुष्टि भएन।
घटनाको एक दशकपछि गएको वर्ष सकिएको छानबिन प्रतिवेदनमा भनिएको छ, 'आसाम राइफल्सको फायरिङबाट १० जना निर्दोष व्यक्तिको ज्यान गयो।'
मारिनेमा १७ वर्षे चन्द्रमणि सिंह पनि थिए, जसले बहादुरीका लागि राष्ट्रिय अवार्ड पाएका थिए। ४ वर्ष उमेरमै आफ्नो भाइलाई माछापोखरीमा डुब्नबाट बचाएका सिंहले नयाँ दिल्लीमा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हातबाट बहादुरी मेडल लिएका हुन्।
इम्फाल घटनामा उनका दाजु रोबिनको पनि हत्या भएको थियो।
'हाम्रो परिवारै छरपस्ट भयो,' चन्द्रमणिले माछापोखरीबाट बचाएर ल्याएका भाइ मणिचन्द्र सिंहले भने, 'हामी तीनैजना दाजुभाइ सँगै बस्थ्यौं, सेनाले मेरा दुवै दाइको निर्मम हत्या गर्‍यो।
२५ वर्षे मणिचन्द्र अहिले डाक्टर छन्।
मारिएका अर्का एक युवककी आमा थोइबी देवी आज पनि त्यो घटना सम्झँदा तर्सन्छिन्। रुँदै भन्छिन्, 'दिउँसो ३ बजेको थियो। उसको बुवा भर्खरै कामबाट फर्कनुभएको थियो। छोराले उहाँसँग दस रुपैयाँ बस भाडा माग्यो। उसलाई साइन्सको ट्युसन जानु थियो। १५ मिनेटपछि नै हामीले थाहा पायौं, ऊ त सधैंको निम्ति हामीलाई छोडेर गएछ।'
घटनाको दुई दिनपछि शर्मिला मूल सडकछेउ भुइँमा बोरा ओछ्याएर बसिन्। यहीँबाट उनको अनसन सुरु भयो।
त्यतिखेर उनी २८ वर्षकी थिइन्।
उनको एउटै माग थियो, सरकारले सशस्त्र बल विशेषाधिकार ऐन खारेज गरोस्, ताकि घटनामा संलग्न सैनिक अधिकारीहरूविरुद्ध अभियोग लगाउन सकियोस्।
'हामीले यो अनसन केही सातामात्र चल्छ भन्ने सोचेका थियौं,' मानवअधिकारकर्मी तथा शर्मिलाका सल्लाहकार बब्लु लोइटङघमले भने, 'बढीमा एक महिना।'
तर, यसको कुनै अन्त्य भएन।
अनसन सुरु भएको केही बेरमै शर्मिलालाई 'इन्डियन पेनल कोड' अन्तर्गत पक्राउ गरियो। इन्डियन पेनल कोडले आत्महत्याको प्रयासलाई अपराधकै श्रेणीमा राखेको छ।
पक्राउपछि पनि शर्मिलाले अनसन त्यागिनन्। उनलाई अस्पताल भर्ना गरियो र सुरक्षाकर्मीको निगरानीमा जबर्जस्ती खुवाउन थालियो। वर्ल्ड मेडिकल एसोसिएसनले यस्तो रवैयालाई 'अमानवीय र तल्लो स्तरको व्यवहार' भनेको छ।
उनलाई ११ वर्षदेखि प्रत्येक १५ दिनमा अस्पतालबाट अदालत लगिन्छ। न्यायाधीशको कोठामा उभ्याइन्छ र सोधिन्छ, 'के तपाईं अनसन तोड्न तयार हुनुहुन्छ?'
उनी 'छैन' भन्छिन्। अनि प्रहरीले फेरि अस्पतालको उही कोठामा फिर्ता लग्छ।
वर्षको एकचोटि उनी अदालतबाट मुक्त हुन्छिन्। अदालतले यस्तो अभियोगमा एक वर्षभन्दा बढी सजायँ दिन सक्दैन। तर, मुक्त भएको भोलिपल्टै उनलाई फेरि समातिन्छ।
सन् २००६ मा अदालतले मुक्त गरेपछि उनलाई समर्थकहरूले रातारात नयाँदिल्ली भगाए। त्यहाँ पनि जन्तरमन्तरमा उनी छोटो समयका लागि अनसन बसिन्। जन्तरमन्तर भनेको भारतीय राजधानीमा विरोध प्रदर्शनको निम्ति चर्चित ठाउँ हो। उनलाई त्यहीँबाट पक्राउ गरियो, अस्पताल भर्ना गरियो र केही दिनमै जबर्जस्ती मणिपुर फर्काइयो।
त्यसयता उनले एकचोटि पनि मणिपुर छाडेकी छैनन्।'

शर्मिलाको पूरै दिन एक्लै बित्छ।
अरू अपराधमा सजायँ भोगिरहेकालाई साताको दुईचोटि आफन्तसँग भेट्ने छुट छ। उनलाई भने अस्पतालको सानो कोठामा एक्लै राखिएको छ।
उनी दिनको चार घन्टा योग गर्छिन्। प्रशस्त किताब पढ्छिन्। कोठामा नेल्सन मन्डेला, मार्टिन लुथर किङ जुनियर, गान्धी लगायत उनीजस्तै अहिंसावादी नायकहरूको बायोग्राफीको खात छ।
उनलाई हल्काफुल्का विषयका किताब पनि मन पर्छ। पछिल्लोचोटि के पढ्नुभो भन्ने प्रश्नमा उनले आँखा ठूला पारिन्।
'स्टिग लार्सन!' खितखित हाँस्दै भनिन्, 'एकदमै राम्रो लाग्यो।'
गीता र बाइबल उनका मनपर्ने किताब हुन्। अहिले उनी विनायक सेनद्वारा लिखित 'मिन्नी वेद' पढिरहेकी छन्। लेखकले आफैं आएर उनलाई यो किताब उपहार दिएकी थिइन्। 'उहाँ मेरो बारेमा पनि लेख्न चाहनुहुन्छ,' उनले भनिन्, 'टुंगो भइसकेको छैन।'
उनलाई दिनको तीनचोटि विभिन्न पौष्टिक पदार्थ र भिटामिन मिसिएको झोलिलो पदार्थ खुवाइन्छ। यही झोलले उनको सास अडाएको छ।
पाइपबाट खुवाइने झोलमा बाँच्दा नियमित खानाको सम्झना हुने उनी स्वीकार गर्छिन्। 'त्यसैले म खानेकुराबारे सोच्दै सोच्दिनँ,' उनले भनिन्, 'मलाई मह र नरिवल पानी मन पर्छ। गुलियो पनि मन पर्छ। अनसन सुरु गर्नु एक दिनअघि मैले प्रशस्त पेस्ट्री खाएकी थिएँ। अहिले त मैले दाँतै माझेकी छैन, त्यसैले मुखबाट केही निल्न सक्दिनँ।'
'जब सरकारले मेरो माग पूरा गर्छु, म सामान्य जीवनमा फर्कन्छु र खुब खान्छु।'
'

'आइरन लेडी' नाम पाएकी शर्मिला केहीअघि ४८ वर्षे बेलायती लेखक देसमोन्द चौटिन्होसँगको सम्बन्धका कारण चर्चामा आएकी थिइन्।
झन्डै एक वर्ष उनीहरू सम्पर्कमा रहे। पछिल्लो मार्चमा पनि उनीहरूको भेट भएको थियो। 'हो, म कसैलाई प्रेम गर्छु। मलाई आइरन लेडी भनिन्छ, तर म पनि मान्छे नै हुँ। मेरो पनि सामान्य केटीजस्तै जिन्दगी बिताउने इच्छा हुन्छ। बिहे गर्ने इच्छा हुन्छ,' उनले भनिन्।
'म आफ्नो माग पूरा भएपछि यी सबै इच्छा पूरा गर्छु।'
समर्थक र सहयोगीहरू भने शर्मिला र देसमोन्दको सम्बन्धविरुद्ध छन्। उनका दाजु सिंघजितले भने, 'देसमोन्द सरकारी एजेन्ट हो। ऊ शर्मिलालाई कमजोर पार्न खोज्दैछ। उसको एउटै उद्देश्य शर्मिलालाई बिहे गरेर यो संघर्षबाट अलग गराउने हो। उनी एक दशकदेखि संघर्ष गरिरहेकी छन्। एकजनाको प्रेममा परेर कसरी बीचमै छाड्न सक्छिन्?'
शर्मिलाले पनि आफ्ना सबै समर्थक र सहयोगीलाई विश्वस्त पारेकी छन्।
'म यो संघर्षलाई धोका दिन्न,' उनले भनिन्, 'अनसन सुरु गर्दा यति लामो होला भन्ने सोचेकी थिइनँ। म अहिले पल-पल बाँचिरहेकी छु। अब यसबारे नसोच्ने प्रयास गर्दैछु। म भगवान्लाई सम्भि्कन्छु र सबै उनकै जिम्मा छोड्छु। कोही पनि मजस्तो अस्पतालको कोठाभित्र नाकमा ट्युब झुन्ड्याएर बाँच्न चाहन्छ भन्ने मलाई लाग्दैन।'
'

'अन्ना हजारेको बारेमा सुन्नुभएको छ?'
'छ,' उनले जवाफ दिइन्, 'उहाँको साहसको कुरा सुन्दा मलाई एकदमै खुसी लाग्यो।'
केही साताअघि नयाँदिल्लीको रामलीला मैदानमा भ्रष्टाचारविरुद्ध अनसन बसेका हजारेका सहयोगीहरूले शर्मिलालाई चिठी लेखेर आफ्नो अभियानमा सरिक हुन डाकेका रहेछन्।
'तर, मलाई एक लोकतान्त्रिक देशको स्वतन्त्र नागरिकका रूपमा न्यायका लागि अहिंसात्मक विरोध गर्ने छुट पनि छैन,' उनले जवाफमा लेखिन्, 'भ्रष्टाचारविरुद्ध तपाईंहरूको अभियानमा भाग लिन सबभन्दा पहिला मलाई स्वतन्त्र हुन दिनुस्।'
'वा, तपाईंहरू मणिपुर आउन पनि सक्नुहुन्छ, जुन संसारमै सबभन्दा बढी भ्रष्टाचारप्रभावित क्षेत्र हो।'
'भ्रष्टाचार नै सबै समस्याको जड हो,' उनले भनिन्, 'म अन्ना हजारेको इज्जत गर्छु। उहाँहरूले मलाई डाक्नुभयो, तर म जान सकिनँ। म बन्दी छु। उहाँ स्वतन्त्र हुनुहुन्छ। यही फरक छ उहाँ र ममा। उहाँ जहाँ मन लाग्यो त्यहाँ जान पाउनुहुन्छ। म पाउँदिनँ। त्यसैले, बरु तपाईं नै मणिपुर आउनुस् भनेर भनेँ।'
'उहाँ र उहाँका समर्थकहरूलाई मणिपुरमा स्वागत छ। भारतका सबै जनता हाम्रो समर्थनमा एकजुट भए सशस्त्र बल विशेषाधिकार ऐन खारेज गर्ने मेरो माग पूरा हुनेछ।'
शर्मिलाजस्ता सामाजिक कार्यकर्ताहरू वर्षौंदेखि सैनिक ज्यादतीलाई बढावा दिने उक्त ऐनविरुद्ध संघर्षरत् छन्। तर, परिणाम केही आएको छैन। मानवअधिकार उल्लंघनका यस्ता घटनाबारे नयाँदिल्लीमा भन्दा संयुक्त राष्ट्र संघ, युरोपेली संसदजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बढी चर्चा हुन्छ।
अन्ना हजारेको अनसनले शर्मिलाको संघर्षमा एउटा फाइदा भने गर्‍यो, अहिले भारतीय समाचार च्यानलहरूबाट लोइटङघमलाई तारन्तार फोन आउन थालेको छ। वरिष्ठ मन्त्री सल्मान खुर्सिदले शर्मिलाको अनसन कसरी अन्त्य हुनसक्छ भनी सोधखोज गरे। हजारेले पनि उनको समर्थनमा मणिपुर आउने इच्छा व्यक्त गरेका छन्।
शर्मिलाको भने माग पूरा नभएसम्म अनसन तोड्ने कुनै मनसाय छैन।
'जबसम्म मेरो माग पूरा हुँदैन, म यसैगरी जीवन बिताउनेछु,' उनले भनिन्, 'अर्को बाटै छैन।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शनिबार