'भूकम्प क्षति विवरण मन्त्रालयले पत्याएन'

E-mail Print
(0 votes, average 0 out of 5)
रोशन साँवा, इलाम, असोज ६- पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीहरुले भूकम्पबाट क्षति भएको घरको संख्या सुनाउँदा गृहमन्त्रालयले नपत्याएको गुनासो गरेका छन्। क्षतिको विवरणमा विश्वास नगरेकै कारण मन्त्रालयले राहतको व्यवस्था गर्न तदारुकता नदेखाएको उनीहरुको भनाइ छ।
 

मन्त्रालयले भौतिक क्षतिलाई कम आँकलन गरेको प्रजिअहरुले जनाएका छन्। 'इलाममा करिव एक हजार घर बस्न नहुने गरी भत्किएको सुनाउँदै राहत माग्दा मन्त्रालयले विश्वास गरेन,' इलामका प्रजिअ जनकराज रेग्मीले भने, 'राहत नआए जागिर नै छाड्नुपर्ने अवस्था छ भनेपछि बल्ल १० लाख छुट्याइदिएका छन्।'

प्रजिअहरुले अहिले विभिन्न शीर्षकबाट सापट लिएर र दैवी प्रकोप उद्धार समितिको कोषबाट विस्थापितका लागि राहत बाँडिरहेको जनाए। 'गैरसरकारी संस्थाहरुसँग पनि समन्वय गरिरहेका छौं,' पाँचथरका निमित्त प्रजिअ लक्ष्मीप्रसाद खरेलले भने। ताप्लेजुङमा समितिले विस्थापितका तत्कालका लागि प्रतिपरिवार पाँच हजार रुपैयाँ बाँड्ने निर्णय गरेको भएपनि संख्या बढेपछि तीन हजार रुपैयाँ दिन थालेको छ।

जिल्ला प्रशासन कार्यालयको बिहीबारसम्मको तथ्यांकअनुसार इलामका एक हजार दुई सयको घर बस्न नमिल्ने गरी भत्किएको छ। 'सुरुमा दुई-तीन सय अड्कलेका थियौं। अलि दिनमा पाँच सय पुग्ला कि जस्तो भयो। सचिवहरु गाउँ-गाउँ जान थालेपछि हजार नाघ्यो। विवरण अझै आउँदैछ,' प्रजिअ रेग्मीले भने, 'सबभन्दा बढी भौतिक क्षति भएको जिल्ला इलाम नै हुनसक्छ।' अद्यावधिक जारी राखेको नेपाल रेडक्रस सोसाइटीको
अभिलेखमा विहीवारसम्ममा इलाममा नौ सय १४ घर विस्थापित छन्।

ताप्लेजुङ र पाँचथरमा पनि सचिव, प्रहरी र दलीय संयन्त्रको सहयोगमा तथ्यांक लिने क्रम जारी छ। ताप्लेजुङमा धेरै टाढा, विकट भएकोले र भुकम्पले बाटोसमेत बिग्रेकोले यकिन तथ्यांक आउन अझै केही दिन लाग्ने दैवी प्रकोप उद्धार समितिले जनाएको छ। यस जिल्लामा सचिवहरु तथ्यांक लिन बिहीबारमात्र गाउँ छिरेका छन्।

तीनवटै जिल्लामा सम्वन्धित क्षेत्रमा राहत तथा उद्धारका सामग्री पुर्‍याउन कठिनाई भएको वितरण टोलीहरुले जनाएका छन्। विस्थापितले पाउने राहत रकममा पनि एकरुपता हुन सकेको छैन। ताप्लेजुङमा उद्धार समितिबाट तीन हजार र जिविसबाट दुई हजार गरी पाँच हजार रुपैयाँ विस्थापित परिवारले पाउँछन् भने पाँचथरमा समितिबाट पाँच हजार रुपैयाँ पाउँछन्।

इलाममा नगरपालिका बाहिरका बासिन्दाले दुई हजार रुपैयाँ पाउँछन्। नगरपालिकाबासीले भने समितिबाट दुई हजार र नगरपालिकाको कार्यालयबाट पाँच हजार गरेर सात हजार रुपैयाँ पाउँछन्। 'यता राहत थोरै भयो भनेर गुनासो आइरहेको छ उता मन्त्रालयले राहत धेरैलाई बाँडिस् भनेर गुनासो गर्छ। अप्ठेरोमा परियो,' प्रजिअ रेग्मीले भने।

सिकर्मीलाई तालिम
इलाम नगरपालिकाको कार्यालयले नयाँ घर बनाउन दक्ष जनशक्ति उत्पादन गर्न सिकर्मी तालिम सञ्चालन गर्ने निर्णय गरेको छ। 'नगरपालिकामा मात्र ५४ घर नयाँ बनाउनुपर्ने अवस्थामा छ। नयाँ घर एकैपटक बनाउँदा धेरै सिकर्मीको जरुरी हुने भएकाले यस्तो निर्णय गरेका हौं,' कार्यकारी अधिकृत युवराज दाहालले भने। उनले मापदण्डअनुसारको मात्र घर बनाउनका लागि पनि तालिम सञ्चालन गर्नुपर्ने भएको जनाए।

पर्यटकलाई नआउन आग्रह
ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र परिषदले पर्यटकहरुलाई केही दिन नआउन आग्रह गरेको छ। भुकम्पले पर्यटकीय मार्गमा पर्ने बाटो बिग्रिएको र होटलहरु पनि भत्किएको जनाउँदै यस्तो आग्रह गरेको हो। 'कञ्चनजंघा आधार शिविरमा जाने बाटोमा पर्ने खम्बाचेन, लोनार्क, पाङतेमामा सबै होटल, घर र गोठहरु भत्किएका छन्,' परिषदका अध्यक्ष खगेन्द्र लिम्बूले भने, 'कोही त जबर्जस्ती पनि आउन खोजिरहेका छन्।'

लिम्बूका अनुसार ओलाङचुङगोला र घुन्सामा पुलहरु भत्किएर आउजाउमा समस्या भएको छ। 'घुन्सामा सञ्चालित ४५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुगेपछि विद्युत सुविधाबाट गाउँ बञ्चित छ,' उनले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय