Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

'विपत्तिमाथि विपत्ति थपियो'

E-mail Print
(0 votes, average 0 out of 5)
रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।

राम्ररी बिसेक नहुँदै खुशमान श्रीमतीसहित गाउँ फर्किएर यतिबेला ओत लाग्ने अस्थायी टहरा बनाउन जुटेका छन्। 'दुई–चार दिनका लागि आफन्तको घरमा आश्रय लिएको छु। लामो समय आफन्तको घरमा बस्न पनि मिलेन,' उनले भने, 'उपचारमा लागेको ऋण तिर्नुछ, यहीबेला स्थायी घर बनाउनुपर्ने भयो। परिवार पनि पाल्नुछ।' खुशमानको १० जनाको परिवार छ।
त्यही वडाका उमेश गुरुङले उस्तैगरी चोटमाथि चोट खप्नुपरेको छ। उमेशकी श्रीमती मीनाले गएको चैतमा आँखा चिम्लिइन्। श्रीमतीको काजकिरिया गरेकै भोलिपल्ट आमाले धर्ती छाडे। छ महिना नबित्दै भूकम्पले घर भत्काइदिएको छ। बाबु–आमाको एक्लो छोरा उमेशको साथमा एक्ली छोरी पूजा छिन्। नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्षसमेत रहेका उमेश भन्छन्, 'भत्किएको घर हेर्ने आँटै आएन। वारी गाउँसम्म पुगेर सदरमुकाम डेरा फर्किएँ।'
जमुना– ४ का शान्तकुमारी थेबेलाई पैसा कमाउन साउदी अरब गएका श्रीमान जयकुमारको गएको चैतमा उतै मृत्यु भएपछि छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता थियो। भूकम्पले घर भत्काइदिएपछि अब कसरी घर बनाउने भन्ने चिन्ता थपिएको छ।
उता बरबोटे– ३ का मानबहादुर विश्वकर्माले विदेशमा पसिना बगाएर कमाएको पैसाले चारआना घडेरी जोडेका थिए। त्यही घडेरीमा ऋणको भरमा बनिसक्न लागेको घर भूकम्पले भत्काइदिएको छ। 'घर बनाउँदा अढाई लाख रुपैयाँ ऋण लागेको छ। अब ऋण कसरी तिर्नु, घर के गरेर बनाउनु?' अस्थायी छाप्रोमा बसेका मानबहादुरले बताए।
आइतबार साँझ आएको भूकम्पले धेरै परिवारलाई बिचल्ली बनाएको छ, होशहवास उडेको छ। २०४५ मा भत्किएर नयाँ बनाएका थुप्रै घर अहिलेको भूकम्पपछि बस्न नसक्ने अवस्थामा छन्। भूकम्पपीडितहरूलाई ओत लाग्ने ठाउँको चिन्ता छ। यसैगरी पाक्न लागेको मकै भित्त्याउने ठाउँको पनि चिन्ता छ। आउन लागेको दसैं कसरी टार्ने भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ।

'राहत थोरै भयो'
जिल्ला दैवी प्रकोप उद्धार समितिले तत्कालका लागि इलाममा विस्थापितलाई प्रतिपरिवार दुई हजार रुपैयाँ र नेपाल रेडक्रस सोसाइटीले त्रिपाल र भाँडाबर्तन बाँडिरहेको छ। तर, पीडितहरू राहत सामग्री थोरै भयो भनेर गुनासो गरिरहेका छन्।
वितरण टोलीलाई राहत रकम पीडितको हातमा थमाउन मुश्किल पर्न थालेको छ। 'दुई हजार रुपैयाँ दिँदा उल्टै थपेर दिन्छौं भन्ने जवाफ दिन्छन्,' माइमझुवा गाविसमा राहत बाँड्ने टोलीका सदस्य उदय गुरुङले भने।
राहत रकम लिन धेरैले आनाकानी गरेको वितरण टोलीहरूले जनाएका छन्। 'अरू चरणमा फेरि राहत आउँछ भनेर मनाउन कोशिस गरिरहेका छौं,' टोलीका सस्दय केबी थेबेले भने, 'ढिलो आएको र थोरै रकम दिएको गुनासो चौतर्फी छ।'
समिति र रेडक्रसले विस्थापितलाई बस्ने चाँजोपाँजो मिलाउन भनेर दुई हजार रुपैयाँ र त्रिपाल बाँड्न थालेको थियो। तर, भूकम्पबाट बढी क्षति भएको जिल्लाको उत्तरपूर्वी क्षेत्रतिर भर्खरमात्र राहत वितरण सुरु भएको छ। धेरै ठाउँमा रेडक्रसको त्रिपाल आइपुग्नुअघि नै स्थानीय मिलेर पीडितहरूका लागि टहराहरू बनाइदिएका थिए।
एक साता हुन लाग्दा पनि विस्थापितका लागि मन्त्रिपरिषद्ले कुनै निर्णय सम्बोधन नगरेको पीडितहरूको गुनासो छ।
प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले क्षतिको विवरण संकलन भइसकेपछि गृह मन्त्रालयको परामर्शमा थप राहत रकम निर्धारण गरी वितरण गर्ने जानकारी दिएका छन्।

राज्यको तदारुकता देखिएन
भूकम्प गएपछि सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा दैवी प्रकोप उद्धार समितिको विस्तारित बैठकमा केही सहभागीले पाँच सयभन्दा बढी घर भत्किएको अनुमान सुनाउँदा प्रमुख जिल्ला अधिकारी र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापतिले विश्वास गरेनन्। 'विस्थापित नै हुने त बढी भए दुई–तीन सय होलान्। हामीसँग ७० वटा त्रिपाल छ, अरू केही मगाएपछि पुग्छ,' रेडक्रसका सभापति इन्द्र फुएलले त्यतिबेला भनेका थिए।
निवेदन दिनेको भीड बढ्दा कतिपयले राहतको लोभ गरेको ठानेका थिए। राहत तथा उद्धार सामग्री जतिसक्दो चाँडै गाउँमा पुर्‍याउनुपर्ने आवाज उठिरहे पनि बैठक टुंगिदा अपराह्न चार बजेको थियो। त्यसदिन समितिले सदरमुकामदेखि पाँच किलोमिटर टाढा बरबोटेमा चारवटा त्रिपालमात्रै बाँड्न भ्यायो। अर्कोदिन सडकबाट सहजै पुग्न सकिने ठाउँमा मात्र त्रिपाल र राहत सामग्री बाँडियो। भूकम्पबाट सबभन्दा बढी पीडित भएको ठाउँ गाडी चढेर सजिलै पुग्न नसकिने भारतीय सीमावर्ती उत्तरी गाउँहरू थिए।
गाविस सचिवहरू मंगलबारदेखि तथ्यांक संकलन गर्न गाउँ हिँडेपछि क्षतिको विवरण अकल्पनीय रूपमा बढी आउन थाल्यो। 'सबभन्दा बढी क्षति त इलाममै भएको होला,' प्रजिअ रेग्मी हिजोआज भन्न थालेका छन्।
इलाममा मानवीय क्षति नभए पनि एक हजारभन्दा बढी घर बस्न नमिल्ने गरी भत्किएका छन्। दैवी प्रकोप उद्धार समिति र रेडक्रसले तीन सय घर क्षति भएको प्रारम्भिक अनुमान गरेको थियो। केही दिनमा अनुमान पाँच सय पुग्यो। अहिले रेडक्रसकै तथ्यांकमा नौ सय नाघिसकेको छ, समितिको तथ्यांकमा एक हजार दुई सय पुगिसकेको छ। विवरण संकलन अझै बाँकी छ।
भूकम्प गएको एक साता हुन लाग्दा पनि ताप्लेजुङ, पाँचथर र इलाममा क्षतिको यकिन तथ्यांक अझै तयार भएको छैन। पछिल्लो अनुमानअनुसार पूर्वी पहाडी जिल्लामा भूकम्पबाट दुई हजारभन्दा बढी घर र तीन सयभन्दा बढी विद्यालय तथा सरकारी कार्यालय भवन भत्किएका छन्। थुप्रै विद्यालयमा पठनपाठन अवरुद्ध छ।
तीनवटै जिल्ला सदरमुकाममा खासै क्षति नपुगेकाले पनि सुरुमा गाउँतिर भएको क्षतिलाई कम आंकलन गरिएको थियो। ताप्लेजुङमा विस्थापितलाई प्रतिपरिवार पाँच हजार दिने निर्णय संख्या बढेकाले परिमार्जन गरेर तीन हजार बनाइएको छ।
ताप्लेजुङमा गाविस सचिवहरू तथ्यांक संकलन गर्न तथा तत्कालका लागि राहत सामग्री बाँड्न बिहीबारमात्र गाउँ लागेका थिए। सदरमुकाममा तालिममा केन्द्रित भएको चौतर्फी गुनासो बढेपछि मात्र उनीहरू गाउँ हिँडेका हुन्। तीनवटै जिल्लामा सचिवलाई प्रहरी, दलीय संयन्त्र र रेडक्रसको सहयोगमा तथ्यांक संकलन गर्ने तथा राहत सामग्री बाँड्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय