इतिहास दोहोरिन्छ

E-mail Print
(0 votes, average 0 out of 5)
राजेन्द्र ज्ञवाली, असोज १- दस वटा खेलमध्ये ८ वटामा पराजय! विश्वकप जितेपछिको यो हारसँगै भारतीय क्रिकेट टोलीका लागि इतिहास पुनः दोहोरिएको छ। अप्रिलमा विश्वकप उपाधि उचालेको भारतीय टोलीको काँधले इङ्ल्यान्डविरुद्धको चार टेस्ट, एक ट्वान्टी-२० र पाँच एकदिने अन्तर्राष्ट्रिय खेलको शृंखला थाम्न सकेन र लज्जाजनक पराजय भोगेर स्वदेश फर्कंदै छ।
 

इङ्ल्यान्डमा भएको भारतको यो फितलो प्रदर्शनले सन् १९८३ को विश्वकप जितेलगत्तै कपिल देवको युवा भारतीय टोलीले आफ्नै भूमिमा वेस्ट इन्डिजविरुद्ध घँुडा टेकेको घटनालाई सम्झाएको छ। हो, यसपटक इतिहासका पात्र केही फरक छन्। स्थिति लगभग उस्तै छ। विश्व विजेताको त्यो उपलब्धि आफैमा संयोग त थिएन भन्ने आशंका क्रिकेट संसारमा यतिबेला पनि उत्पन्न भएको छ।

सन् १९७५ बाट सुरु विश्वकप क्रिकेट प्रतियोगिताको लगातार दुई संस्करण जितेर ह्याट्रिक बनाउने धुनमा रहेको क्लाइव लायडको सशक्त टोलीलाई एकदिने क्रिकेटका लागि योग्यसमेत नमानिएको भारतीय टोलीले सन् १९८३ को तेस्रो विश्वकप फाइनलमा अप्रत्यासित रूपमा हराउँदै क्रिकेट विश्वलाई चकित पारेको थियो। विश्वकपलगत्तै भएको भारत भ्रमणमा क्लाइव लायडका सेनाले कपिल देवको युवा टोलीले हात पारेको जित वास्तवमा क्रिकेट इतिहासकै ठूलो संयोग भएको साबित गरेका थिए।

त्यतिबेला वेस्ट इन्डिजले विश्व विजेतालाई उनीहरूकै धर्तीमा ६ टेस्टको शृंखलामा ३-० र पाँच एकदिने अन्तर्राष्ट्रिय खेलको शृंखलामा ५-० ले पराजित गर्दै भारतले प्राप्त गरेको विश्वकप उपाधि वास्तवमा क्रिकेटमा निहीत अनिश्चितता र संयोगमात्र भएको प्रमाणित गरेको थियो।

यसपटक परिस्थिति उस्तै भए पनि प्रतिद्वन्द्वी भने फरक थियो। विश्वविजेता भारतलाई इङ्ल्यान्डले ४ टेस्टको शृंखलामा 'ह्वाइटवास' मात्र गरेन एकमात्र ट्वान्टी-२० जित्नुका साथै पाँच एकदिने खेलको शृंखलालाई ३-० ले आफ्नो पक्षमा राखेको थियो।
सन् १९८३ मा जस्तै यसपटक पनि भारत आफ्नो प्रतिद्वन्द्वी टोलीविरुद्ध कुनै कोणमा पनि सफल देखिएन। क्रिकेटको हरेक कोणमा विश्वविजेता भलाद्मीको खेलको जन्मभूमिमा निरीह देखिएको थियो।
महेन्द्रसिंह धोनीको टोलीले इङ्ल्यान्डमा पाएको असफलता बिर्सन विश्वकप उपाधि जितेको घटना सम्झन सक्ने स्थिति पनि रहेन, किनभने भारतले विश्वविजेताका रूपमा प्राप्त उपलब्धिलाई ८ वटा पराजय पत्रले ढाकिसकेको छ।

अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले ४, वेस्ट इन्डिज र भारतले २-२ तथा पाकिस्तान र श्रीलंकाले एकपटक उचालिसकेका छन्। यसमा एउटा अनौठो कुरा के छ भने भारत र पाकिस्तानजस्ता मुलुकले विश्वविजेता बनेपछि आफ्नो स्तरलाई त्यस रूपमा कायम राख्न सकेका छैनन्। यस मामिलामा श्रीलंकालाई अपवाद मान्न सकिन्छ। सन् १९९६ मा विश्वकप उचालेको केही समयसम्म पनि अर्जुन रणतुंगाको टोली लगभग अजेय मानिएको थियो।

त्यस्तै स्थिति अस्ट्रेलियाले विशेष गरी सन् १९९९ को विश्वकप उपाधि जितेपछि पाएको थियो। सन् १९९९ र २००७ मा भएका विश्वकप उपाधि लगातार जित्ने क्रममा अस्ट्रेलियाको टोली अजेय मानिएको थियो। त्यस्तै विश्वकपको पहिलो र दोस्रो संस्करण जितेको वेस्ट इन्डिज त सन् १९७० देखि १९८०को दसकको मध्यसम्म विश्वक्रिकेटमा श्रीपेचबिनाको सम्राटजस्तै हुन पुगेको थियो।

सन् १९८३ को अप्रत्यासित पराजयपछि पनि क्लाइव लायडले आफ्नो उत्कृष्टतालाई साबित गर्न सफल भएको थियो। तर भारत तथा पाकिस्तानजस्ता टोलीले विश्वकपमा देखाएको स्तर कायम राख्न सफल भएका छैनन्। यस मामिलामा भारत दुवैपटक (१९८३ र अहिले) पूर्ण असफल भएको छ। जसका कारण आलोचकहरू भारतीय टोलीले विश्वकपमा प्राप्त गरेको सफलतालाई संयोग मान्न बाध्य भएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय