Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोको पहिलो दिन नेपाललाई दुई स्वर्ण

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन बिहीबार नेपालले २ स्वर्ण र २ रजत पदक जितेको छ।

 यानकुमारी चौलागाईं र मनिता शाहीले स्वर्ण जित्दा दीपेन्द्र थापा र रोहित तामाङले रजत पदकमा चित्त बुझाए। महिला ४६ केजी तौलको फाइनलमा यानकुमारीले भारतीय सबिना सुन्दासलाई ६-१ अंकले निरास पार्दै नेपाललाई पहिलो स्वर्ण दिलाइन्। उनलाई पछ्याउने क्रममा ६२ केजीमुनिकी मनिताले मलेसियाली माज्नाह बिनित सामदलाई हराएर स्वर्ण जितिन्। सागकी स्वर्णधारी तथा एसियाडकी कांस्य पदकधारी मनिताको आक्रामक खेल विपक्षीलाई निकै भारी पर्दा १९-५ अंकको सहज जित सम्भव भयो।

सेमिफाइनलमा बंगलादेशकी शहनाज खातुनलाई हराउँदा खासै प्रभाव जमाउन नसकेकी मनिताले फाइनलमा उत्कृष्ट प्रदर्शन गरिन्। पहिलो राउन्डमा ३-१ ले अगाडि उनका लागि दोस्रो राउन्ड सबैभन्दा सफल रह्यो। दोस्रो राउन्डमा १८-३ को अग्रता बनाइन्। पूरा खेलदौरान उनले १५ अंक फेसकिकमार्फत लिइन्। 'मनिताले सेमिफाइनलको कमजोरी फाइनलमा सुधारिन्। बंगाली खेलाडीसँग उनले खेल्न सकेकी थिइनन्, फाइनलमा पूरा आक्रामक खेलेर उनले सबैको मन जितिन्,' नेपाली टोलीका प्रशिक्षक मीन थापाले नागरिकसँग भने। स्वयम् मनिता पनि निकै खुसी थिइन्। आफूले जितेको पदक मुख्य प्रशिक्षक दीपराज गुरुङ, प्रशिक्षक थापा, संघकी सदस्य परिलता थापालगायतलाई लगाएर खुसी मनाउन मस्त मनिताको छोटो प्रतिक्रिया थियो, 'मेहनतको फल पाइयो। आज फाइनलमा साँच्चै राम्रो खेलेँ, एकदम खुसी छु।'

सेमिफाइनलमा मलेसियाकी नुरुल आस्फालिना मोहम्मद जोहारीलाई हराएर फाइनल पुगेकी यानकुमारीको उपाधि भिडन्त पनि सहज रह्यो। पहिलो राउन्डमा २-० को अग्रता लिएकी उनले दोस्रो राउन्डमा पनि त्यसैलाई निरन्तरता दिइन्। तेस्रो राउन्डमा भने आफूले दुई अंक लिँदा विपक्षीलाई एक अंक दिएर उनले समग्रमा ६-१को जित दर्ता गराइन्।
यानकुमारी जितलगत्तै नेपालको झन्डा बोकेर एरिना घुमेकी थिइन्। 'देशका लागि पहिलो स्वर्ण जितें। मलाई अत्यन्तै खुसी लागेको छ,' उनको भनाइ थियो।

पुरुषतर्फ ८० केजीमुनि फाइनलमा दीपेन्द्रले घाइते भएर खेल त्याग गर्दा रजतमा चित्त बुझाए। पहिलो खेलमा भारतका मनप्रित सिंहलाई १५-० ले निरीह पारेपछि सेमिफाइनलमा दीपेन्द्रले पाकिस्तानका मोहम्मद जार खानबाट वाकओभर पाए। फाइनलमा अमेरिकी फिलिप युनसँग २-२ को बराबरी खेलिरहँदा पहिलो राउन्डमै घाइते भएर उनले एरिना छोडेका थिए। कोरियाली मूलका अमेरिकी राष्ट्रिय च्याम्पियन युनको घुँडाले गालामा लाग्दा दीपेन्द्र घाइते भएका थिए। 'राम्रो खेलिरहेको थियो, अगाडि बढ्नुपर्ने आवश्यकता थिएन। अनावश्यक अगाडि बढेर खेल्दा लाग्यो र घाइते भए,' प्रशिक्षक थापाले भने।

५८ केजीमुनि रोहित मलेरियाका रायन चोङ वी चुनसँग ४-० ले पराजित भए। उनले सेमिफाइनलमा अमेरिकाका डेर्मिङग्नी क्रिस्टोफरलाई ११-६ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए।

प्रशिक्षक थापा चार खेलाडीबाट पदक जित्नुलाई उत्साहजनक नतिजा मान्छन्। 'चार तौल समूहको फाइनल हुँदा हामीले २ स्वर्ण र २ रजत जितेका छौं। यो उत्कृष्ट नतिजा हो। यसले बाँकी दुई दिन अन्य खेलाडीलाई हौसला मिल्नेछ।'

शुक्रबार ५ तौलसमूहको प्रतिस्पर्धा हुनेछ। नेपालबाट पुरुषतर्फ ८७ केजीमाथि राम गिरी, ५४ केजीमा ताराकुमार रायमाझी, ६८ केजीमुनिमा आशिष महर्जनले प्रतिस्पर्धा गर्ने छन् भने महिला ५३ केजीमुनि आयशा शाक्य र ६७ केजीमुनि प्रतिज्ञा भण्डारीले खेल्ने छन्। राम गिरीबाहेक सबै खेलाडीले सोझै सेमिफाइनल खेल्ने छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय