Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

माउन्ट एभरेस्ट तेक्वान्दोलाई नेपाल तयार

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ४ (नागरिक)- अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पछिल्लो समय सबैभन्दा खुसी दिएको तेक्वान्दोको बिहीबारदेखि घरमै परीक्षा हुने भएको छ।
अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघ (इन्टा) ले नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा बिहीबारदेखि तीन दिनसम्म दशरथ रंगशालाको कभर्डहलमा पहिलो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्दैछ।
प्रतियोगितामा १२ देशका ३१ महिलासहित ८४ खेलाडीले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जितेर कीर्तिमान बनाएका प्रतियोगिता आयोजक कमिटीका महासचिव दीपक विष्टले १३औं राष्ट्रका रूपमा काजकिस्तानले पनि सहभागिता जनाउने सम्भावना रहेको बताए। '१२ देशको सहभागिता पक्का भइसकेको छ। काजकस्तानले पनि भोलिसम्म नाम दर्ता गराउने भनेर सम्पर्क गरिरहेको छ,' विष्टले भने, 'सबै देशबाट खेलाडी आउने क्रम सुरु भइसकेको छ। भिआइपीहरू पनि आउन थालिसकेका छन्।'
विष्टका अनुसार प्रतियोगितामा नेपालसहित दक्षिण एसियाबाट भारत, भुटान, पाकिस्तान र बंगलादेशका खेलाडीले सहभागिता जनाउने पक्का भइसकेको छ। अस्ट्रेलिया, क्यानाडा, हङकङ, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाका खेलाडी नेपाल आउने छन्। यसबाहेक तेक्वान्दो प्रदर्शनीका लागि दक्षिण कोरियाबाट कोरिया राष्ट्रिय खेलकुद विश्वविद्यालयका डिन बोङ आन क्वोनको नेतृत्वमा १८ सदस्यीय प्रदर्शनी टोली काठमाडांै आइसकेको छ।
विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र एसियाली तेक्वान्दो युनियन (एटियु) को आधिकारिक मान्यता भइनसके पनि प्रतियोगिताको सुपरिवेक्षण गर्न एटियुका प्रतिनिधि नेपाल आएको बिष्टले जानकारी गराए। उनका अनुसार एटियुका उपाध्यक्ष तथा प्राविधिक निर्देशक क्यु सिक ली, एटियुका रेफ्री प्रमुख जे बोङ ली, रेफ्री डोङ चेन हाम र जोङ इक सोङ नेपाल आएका छन्। प्रतियोगिता हेरेपछि एटियुले मान्यता दिने विषयमा सोच्ने आश्वासन दिएको बिष्टले बताए।
प्रतियोगितामा मलेसिया, बंगलादेश, भारत, भुटानलगायतका देशबाट राष्ट्रिय टोली आउने भएकाले नेपाली खेलाडीले राम्रो अनुभव पाउने उनको विश्वास छ। 'हाम्रा खेलाडीका लागि ओलम्पिक छनोट, सागलगायतका प्रतियोगिताका लागि यो प्रतियोगिताको अनुभव महत्त्वपूर्ण हुनेछ,' उनले भने। नेपालले महिलाका ६ तथा पुरुषका ८ गरी सबै १४ स्पर्धामा सहभागिता जनाएको छ। एक महिनाअघि नै छनोट चरणपश्चात् नेपाली टोली विशेष प्रशिक्षण सिविरमा छ। टोली प्रशिक्षक संगीना वैद्यले तयारी राम्रो भएको र खेलाडी फर्ममा हुनाले सबैबाट पदक आशा गरिएको बताइन्।
यसैगरी प्रतियोगिताकै लागि नेपाल आएका इन्टाका अध्यक्ष एवम् १९८६ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलबाट ऐतिहासिक कांस्य पदक जितेका विधान लामाले प्रतियोगिताका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकारेकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिए। अमेरिकामा बसोबास गर्दै आएका तेक्वान्दोका पूर्वखेलाडीहरूको संगठन इन्टाका महासचिव नारायण गुरुङले विदेशमा रहेर पनि नेपाल र आफूले खेलेको खेल बिर्सन नसकेका कारण प्रतियोगिता गर्न पहल गरेको बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगितामार्फत नेपाली खेलाडीले उच्चस्तरीय अनुभव र राष्ट्रले गौरवको अवसर पाउने आशा व्यक्त गरे।
त्यस्तै नेपाल पर्यटन वर्षका संयोजक योगेन्द्र शाक्यले माउन्ट एभरेस्ट तेक्वान्दोमार्फत खेलकुद र पर्यटनको मिलन भएको बताए भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले प्रतियोगिता नेपाललाई चिनाउने राम्रो अवसर भएकाले सफल पार्नुपर्ने विचार राखे। चर्चित कलाकार हरिवंश आचार्यले खेलकुद एउटा त्यस्तो भाषा हो, जसलाई विश्वले बुझ्न सक्छ भन्दै यस प्रतियोगितालाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा तथा प्रतियोगिताका संयोजक सञ्जिव रेग्मीले सबै तयारी पूरा भएको जानकारी गराए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय