बैंकिङ क्षेत्रको लगानी १०८ अर्बले बढ्यो

E-mail Print
काठमाडौं, फागुन २९ (नागरिक) - बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ११.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ६.५ प्रतिशत अर्थात ५५ अर्ब २५ करोड रुपैयाँले बढेको ऋण लगानी यसपालि १०८ अर्ब १७ करोड रुपैयाँले बढेको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको १०.७, विकास बैंकको ७.२ र फाइनान्स कम्पनीहरुको ५.८ प्रतिशतले कर्जा लगानी बढेको छ। गत वर्ष वाणिज्य र विकास बैंकको लगानीमा वृद्धि भए पनि फाइनान्स कम्पनीको ०.४ प्रतिशतले घटेको थियो।
अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ६७ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। पछिल्लो समय मर्जरतिर वित्तीय संस्थाहरु आकर्षित भएका कारण फाइनान्स कम्पनीको संख्या घटेर विकास बैंकको संख्या बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुले पुससम्म निजी क्षेत्रमा १२.३ प्रतिशत बढीले कर्जा लगानी गरेका छन्। एक वर्षमा यो क्षेत्रमा ९५ अर्ब ७८ करोडले लगानी बढेको छ। अघिल्लो वर्ष जम्मा ३१ अर्ब ९४ करोड रुपैयाँमात्र लगानी वृद्धि भएको थियो। तरलता अभावका कारण बैंकहरुले लगानी गर्न सकेका थिएनन्। तरलता सहज भएर ब्याजदर घट्न थालेपछि यसपालि निजी क्षेत्रमा बैंक लगानी वृद्धि भएको हो।
निजी क्षेत्रमा वाणिज्य बैंकहरुको लगानी १२.१ प्रतिशतले वृद्धि भएको छ। विकास बैंकहरुको १२.४ र वित्त कम्पनीहरुको १३.८ प्रतिशतले बढेको छ। गत वर्षको पुससम्म वाणिज्य बैंकहरुको कर्जा ६.५ प्रतिशत र विकास बैंकहरुको १.७ प्रतिशतले बढेको थियो। तर, फाइनान्स कम्पनीहरुको भने ४.२ प्रतिशतले घटेको थियो।
बैंक तथा वित्तीय संस्थाले यसपालि कृषि, ऊर्जा लगायत उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेका छन्। राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासका लागि उत्पादन, रोजगारी र आय आर्जन अभिवृद्धि गर्ने भन्दै कृषि, ऊर्जा र उत्पादनशील क्षेत्रमा लगानी बढाउन नीतिगत व्यवस्थाहरु गरेकाले पनि यस क्षेत्रमा कर्जा विस्तार भएको हो।
कृषि क्षेत्रमा गत वर्षको पुसमा २१ प्रतिशतले ऋण लगानी बढेकोमा यसपाली २८.८ प्रतिशत पुगेको छ। यो ८ अर्ब २९ करोडको वृद्धि हो। १२ प्रतिशतले बढेको उत्पादन क्षेत्रतर्फको कर्जा यसपालि १३.९ प्रतिशत अर्थात २१ अर्ब ७८ करोडले वृद्धि भएको छ। निर्माणतर्फ ६.४ प्रतिशतले कर्जा विस्तार भएको छ। एक वर्षमा निर्माण कर्जा ५ अर्ब २९ करोडले थपिएको हो।
बैंक तथा वित्तीय सस्थाहरुले कुल लगानीको ४.२ प्रतिशत कृषिमा ऋण दिएका छन्। २०.१ प्रतिशत उत्पादन क्षेत्र र ९.९ प्रतिशत निर्माण क्षेत्रमा लगानी बढाएका हुन्। २०.७ प्रतिशत थोक तथा खुद्रा व्यापारतर्फ, ९.४ प्रतिशत वित्त, बिमा तथा स्थिर सम्पत्तितर्फ र ७.६ प्रतिशत सेवा क्षेत्रतर्फ कर्जा वृद्धि भएको छ।
पछिल्लो समय निक्षेप वृद्धिको तुलनामा कर्जा व्यापक वृद्धि भएकाले कर्जा-निक्षेप अनुपातसमेत वढेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात ७४.९ प्रतिशत पुगेको छ। अघिल्लो पुससम्म यस्तो अनुपात जम्मा ६८.५ प्रतिशत थियो। राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ।
पुससम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ अर्ब १२ करोडले वढेको छ। यो ५.३ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष भने १०.४ प्रतिशत अर्थात ८५ अर्ब ६८ करोडले निक्षेप बढेको थियो। विदेशमा काम गर्ने नेपालीले पठाएको पैसा रेमिटेन्स वृद्धिदरमा कमी आउनुको साथै सरकारी खर्चमा ह्रास अएर निक्षेप वृद्धिदर घटेको हो। वाणिज्य बैंकहरुको निक्षेप वृद्धिदर ४.६ प्रतिशतले बढेको छ। विकास बैंकहरुको ७.४ प्रतिशत र वित्त कम्पनीहरुको ५.८ प्रतिशतले निक्षेप बढेको छ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता