Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

अपचलन आरोप लागेका पाँच बैंकको कारबाही फुकुवा

E-mail Print
सुदर्शन सापकोटा, काठमाडौं, चैत १५- नक्कली प्रज्ञापनपत्र बनाई भारतीय मुद्रा अपचलन गरेको आरोपमा कारबाहीमा परेका नौमध्ये पाँच बैंकको कारबाही फुकुवा भएको छ। राजस्व अनुसन्धान विभागको सिफारिसमा नेपाल राष्ट्र बैंकले तीन महिनाअघि नौ बैंकलाई कारबाही गरेको थियो। राष्ट्र बैंकले बुधबार एभरेस्ट, सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको कारबाही फुकुवा गरेको हो।

अपचलनमा संलग्न लक्ष्मी, नेपाल एसबिआई, नेपाल बैंक र एनआइसी बैंकको कारबाही फुकुवा भएको छैन। यी बैंकको अपचलनसम्बन्धी आवश्यक अनुसन्धान सकिएपछि कारबाही फुकुवा गर्ने/नगर्नेबारे निर्णय लिइने राष्ट्र बैंक स्रोतले जानकारी दियो।
राष्ट्र बैंकले भारु अपचलनमा मुछिएका ९ वाणिज्य बैंकका १५ शाखा प्रमुखलाई विभागीय कारबाही गर्न निर्देशन दिँदै वीरगन्जमा रहेका शाखाबाट भारतीय मुद्राको कारोबार गर्न रोक लगाएको थियो। यी बैंकहरुबाट १ अर्ब २४ करोड रुपैयाँ अपचलन भएको पाइएको थियो।
अपचलनका आरोपी १२ भारतीय नागरिकविरुद्ध विभागले अदालतमा मुद्दा दायर गरिसकेको छ। नक्कली कम्पनी स्थापना गरी २ अर्ब ८९ लाख भारत लगेर सामान नल्याउने १२ भारतीयविरुद्ध मुद्दा दायर भएको हो।
'१० करोड रुपैयाँभन्दा कम अपचलन गरेका बैंकहरुको कारबाही फुकुवा गरिएको हो,' राष्ट्र बैंक स्रोतले भन्यो। राष्ट्र बैंकको निर्देशनअनुसार नौवटै बैंकले अनियमिततामा संलग्न आफ्ना कर्मचारीहरुलाई कारबाही गरिसकेका छन्। विभागले गरेको अनुसन्धानमा बैंकहरुले अनियमितता गरेको पाइएको थियो।
नेपालमा औपचारिक माध्यममार्फत करिब ६ अर्ब रुपैयाँ बराबरको भारु नोट सटही हुन्छ। बैंकहरुले १ सय रुपैयाँ भारु साट्दा १५ पैसा लिन्छन्।
'हामीले राष्ट्र बैंकबाट कारबाही फुकुवा भएको पत्र पाएका छौं,' सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नागरिकसँग भने, 'अब भारुको कारोबार गर्न पाउने भएका छौं।'
विभागले अनियमिततामा संलग्न कर्मचारीहरुलाई जेल हाल्नेसम्मको कारबाही गर्न दबाब दिएको थियो। राष्ट्र बैंकले मध्यस्तकर्ताको भूमिका खेल्दै ठूलो कारबाही हुनबाट जोगाएको थियो।
विभागको अनुसन्धानमा सबैभन्दा बढी एनआइसी बैंक भारु अपचलन भएको पाइएको थियो। एनआइसीबाट ६२ करोड ५० लाख भारु अर्थात करिब १ अर्ब नेपाली रुपैया" अपचलन भएको थियो। अपचलनमा बैंकका चार शाखा प्रयोग भएका थिए।
एनआइसीको वीरगन्ज शाखामार्फत ६१ करोड ३८ लाख, हरिवन शाखामार्फत ४ लाख, भक्तपुर शाखामार्फत १० लाख र पेप्सीकोला शाखामार्फत ९७ लाख ९५ हजार भारतीय रुपैयाँ अपचलन भएको विभागको अनुसन्धानमा पाइएको थियो। नेपाल एसबिआई बैंकमार्फत नक्कली प्रज्ञापनपत्रमार्फत ३१ करोड ९५ लाख भारु अर्थात ५१ करोड १२ लाख नेपाली रुपैयाँ अपचलन भएको थियो।
एसबिआईको वीरगन्ज शाखाबाट १२ करोड ९० लाख र रामपुर शाखाबाट १९ करोड ५ लाख भारु अपचलन भएको थियो। एभरेस्ट बैंकबाट ३ करोड ७ लाख भारु (४ करोड ९२ लाख नेपाली रुपैयाँ) पलायन भएको थियो। एभरेस्टको वीरगन्ज शाखाबाट २ करोड ९९ लाख र आइसिडीबाट ७ लाख ६८ करोड भारु अपचलन भएको विभागको अनुसन्धानले देखाएको थियो।
लक्ष्मी बैंकको वीरगन्ज शाखामार्फत ११ करोड १३ लाख भारु अपचलन भएको थियो। नेपाल बंगलादेश बैंक वीरगन्ज शाखामार्फत ४७ लाख ५७ हजार र सिटिजन्स बैंकको वीरगन्ज शाखामार्फत १५ लाख २५ हजार भारतीय रुपैयाँ अपचलन भएको थियो।
नेपाल इन्भेस्टमेन्ट बैंकको वीरगन्ज शाखामार्फत १ करोड तीन लाख, सिद्धार्थ बैंकको वीरगन्ज शाखामार्फत ७ करोड ५२ लाख र नेपाल बैंक वीरगन्जमार्फत ८ लाख ९० हजार भारतीय रुपैयाँ अपचलन भएको पाइएको थियो।
बैंकहरुले कारबाहीबाट जोगिन भारतीय मुद्राको कारोबार नगर्ने चेतावनीसमेत दिएका थिए। विभागले नक्कली प्रज्ञापनपत्र प्रकरणमा बैंकका कर्मचारीलाई जबर्जस्ती कारबाही गर्न खोजेको भन्दै बैंकहरुले भारतीय मुद्रामा हुने कारोबार (ड्राफ्ट) बन्द गर्ने चेतावनी दिएका थिए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता