Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

'एउटैले लाभांश र बोनस खाने प्रवृत्ति हटाउनुपर्छ'

E-mail Print
काठमाडौं, वैशाख ६ (नागरिक) - नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिले लाभांश र बोनस खाने प्रवृत्ति हटाउनुपर्ने बताएका छन्। एउटै व्यक्तिले दुवैतर्फको सुविधा उपभोग गर्दा स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्टे्रस्ट हुने) भन्दै उनले यो प्रवृत्ति हटाउनुपर्ने बताएका हुन्।
'आजको भोलि नै यो छुट्याउन नसकिएला तर कुल स्तरसम्म हटाउने हो यसको थालनी गरिहल्नुपर्छ,' नेसनल बैंकिङ टे्रनिङ इन्स्टिच्युसन (एनबिटिआई) ले बिहीबार आयोजना गरेको सञ्चालक सम्मेलनमा गभर्नरले भने। एनबिटिआईले नेपालमै पहिलोपटक सञ्चालक सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका करिब सयभन्दा बढी सञ्चालक सहभागी थिए।
गभर्नर खतिवडाले पुँजी हालेकै भरमा सञ्चालक समितिमा बस्ने प्रवृत्ति ठिक नभएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए। 'पैसा त जसरी पनि कमाउन सकिन्छ तर पैसाको भरमा बैंकर नबन्न सकिन्छ,' उनले भने, 'त्यही भएर पुँजीपतिले व्यावसायिक व्यक्तित्वलाई सञ्चालकमा ल्याउनुपर्छ।' उनले व्यावसायिक व्यक्तिलाई बैंक चलाउन दिए पुँजीपतिले नियमित लाभांश पाइरहने वातावरण बन्ने बताए। 'सञ्चालक समितिमा पुँजी भएको बस्ने कि क्षमता भएको? भन्नेबारे गहिरो छलफल हुन आवश्यक छ,' गभर्नरले भने।
गभर्नरले बैंक व्यवस्थापनमा सञ्चालक समितिले दखल दिन नहुने बताए। 'मैले पैसा हालेको प्रमुख कार्यकारीले मोज गर्योा भन्ने भ्रम पाल्नु हुँदैन,' उनले भने, 'व्यवस्थापनले बैंकलाई व्यावसायिक हिसाबले चलाउन पारिश्रमिक लिने भएकाले यसलाई मोजका रुपमा बुझ्न हुँदैन।
उनले पुँजी हालेपछि मालिक भइन्छ भन्ने भ्रममा अधिकांश सञ्चालक रहेको भन्दै पैसा हाल्दैमा बैंकिङ क्षेत्रको कोही पनि मालिक नहुने बताए। 'निजी कम्पनीमा मात्र पैसा हाल्दैमा मालिक भइन्छ,' उनले भने, 'बैंकमा निक्षेपकर्ता, ऋणी र समाजको स्वामित्व हुन्छ।'
उनले अधिकांश सञ्चालकमा पुँजी लगानी गरेपछि त्यहाँको पैसा आफंैले चलाउन पाउनुपर्छ भन्ने प्रवृत्ति हटाउनुपर्ने बताए। नेपालको ऐनले पुँजी हालेको बैंकबाट ऋण लिने सुविधा नदिएको भन्दै गभर्नरले यस्तो गरिए बैंकको भविष्य लामो नहुने बताए।
गभर्नरले धेरैवटा व्यवसायमा हात हालेकाहरुले बैंकलाई पनि त्यस्तै नसोच्न आग्रह गरे। उनले कतिपय व्यवसायीमा एउटा बैंकमात्र नभएर तीन चारवटा ओगट्ने प्रवृत्ति रहेको भन्दै यसलाई हटाउनुपर्ने बताए।
'कहिलेकाहीं तपाईंहरुको पुँजी जोगाउन हामीले राष्ट्र बैंकमा तलब खाइरहेको जस्तो लाग्छ,' उनले भने, 'हामीले तपाईंहरुको पुँजी संरक्षण गर्न नै नीति निर्देशन बनाएका हुन्छौं। यसलाई निर्देशित गर्न खोज्यो भन्ने हिसाबले बुझ्न हुँदैन।'
गभर्नरले निर्देशनलाई अक्षरशः पालना गर्दा बैंक तथा वित्तीय संस्थाको भविष्य राम्रो हुने बताए। 'निर्देशिका जारी गर्दा बढी नै निर्देशनमुखी भयो भन्ने अर्थ लाग्छ भनेर अहिले हामीले मार्गदर्शन पनि जारिगरिरहेका हुन्छौं,' उनले भने, 'निर्देशनजस्तो होइन मार्गदर्शन भनेर नबुझ्नु होला। यो बिहानको धार्मिक कार्यक्रमजस्तो होइन। यसलाई गम्भीर रुपमा हेर्दिनु होला।'
गभर्नरले सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकले नामअनुसारको दायित्व निर्बाह गर्नुपर्ने बताए। उनले स्वतन्त्र सञ्चालकले दायित्वअनुसार काम गर्न नसकेको भन्दै उनीहरुको सुविधाका लागि केही नीतिगत व्यवस्था आवश्यक भएको बताए। 'स्वतन्त्र सञ्चालकले बोनस र लाभांश पाउँदैन। बैठक भत्तामात्र हो। त्यही भएर पनि उसले दायित्व निर्बाह गर्न नसकेको हुन्छ,' उनले भने, 'स्वतन्त्र सञ्चालकलाई कसरी आकर्षित गर्न सकिन्छ यसबारे छलफल आवश्यक छ।'
गभर्नरले बैंकहरुमा पछिल्लो समय आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएको भन्दै यसलाई सञ्चालक समितिले पनि गम्भीर रुपमा हेर्नुपर्ने बताए। उनले यस्तो जोखिम हुन नदिने प्रमुख दायित्व व्यवस्थापनको भए पनि त्योभन्दा ठूलो दायित्व सञ्चालकको भएको बताए। उनले सञ्चालक समितिले सही बाटो देखाउन सके बैंकले सही दिशा लिने बताए।
कार्यक्रममा एनबिटिआईका अध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले जोखिमको व्यवस्थापन समयमा गर्न नसके यसले भविष्यमा ठूलो समस्यामा पार्ने बताए। उनले कम्पनी कता लैजाने भन्ने दायित्व सञ्चालकको भएकाले उनीहरु सचेत हुनुपर्ने बताए।
कार्यक्रममा बिमा समितिका अध्यक्ष फत्तबहादुर श्रेष्ठले बिमा कम्नीहरुमा पनि संस्थागत सुशासन निर्देशिका कार्यान्वयनमा आएको जानकारी दिए। सम्मेलनमा राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, अन्तर्राष्ट्रिय वित्त निगमका जुआन कार्लो फेर्नान्डेज जारा, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी जोसेफ सिल्भानुस, नबिल बैंकका अध्यक्ष कृष्णबहादुर मानन्धर, हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ, बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्याल र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक रमेश भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता