सरकारी उच्च स्रोतका अनुसार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले उपाध्यक्ष क्षेत्रीलाई कुनै पनि अधिकार प्रत्यायोजन नगरेका कारण उनले राजीनामा दिएका हुन्। योजना आयोगको अध्यक्ष प्रधानमन्त्री हुने भएकाले उसले उपाध्यक्षलाई अधिकार दिनुपर्ने कानुनी व्यवस्था छ। प्रधानमन्त्रीले नचाहे आयोगको उपाध्यक्षले केही गर्न सक्दैन। सरकार सम्हालेको डेढ महिना हुँदा पनि प्रधानमन्त्रीले उपाध्यक्षलाई अधिकार दिएका थिएनन्।
निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो। उनी माओवादी समर्थनमा यसअघि राष्ट्र बैंकको गभर्नर पनि भइसकेका थिए। नयाँ सरकारलाई सजिलो बनाइदिन पुरानो सरकारले राजनीतिक नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिने चलन भए पनि क्षेत्रीले दिएका थिएनन्। महान्यायाधिवक्ता मुक्ति प्रधान भने सरकार परिवर्तनसँगै हटेका थिए।
स्रोतका अनुसार सरकार परिवर्तनपछि पनि क्षेत्री बस्न चाहेका थिए। यो गैरराजनीतिक सरकार भएकाले राजीनामा दिन नपर्ने भनाइ क्षेत्रीको थियो। उनले आयोगका अन्य पदाधिकारीसमक्ष पनि यस्तै भनाइ राख्दै आएका थिए। 'तर, सरकारले उनलाई राख्न नचाहेकाले केही अधिकार नदिएको हो,' प्रधानमन्त्रीले उपाध्यक्षमा नयाँ व्यक्ति राख्न चाहेको स्रोतले बतायो।
आयोगको उपाध्यक्ष प्रधानमन्त्रीको विकासको सहयोगी पद हो। प्रधानमन्त्रीले लिने नीति तथा कार्यक्रमलाई उपाध्यक्षले कार्यान्वयनमा लैजानुपर्छ। यसैले प्रधानमन्त्री र उपाध्यक्षबीच राम्रो सम्बन्ध र सहकार्य हुनुपर्छ। अहिले रेग्मी र उपाध्यक्ष क्षेत्रीबीच उच्च स्तरमा त्यस्तो राम्रो सम्बन्ध कायम हुन सकेको थिएन।
स्रोतका अनुसार अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने चालु आर्थिक वर्षको बजेट बनाउँदा सुरुमा उनको सहयोग लिएका थिए। दुवैजना बसेर बजेटबारे छलफल पनि भएको थियो, तर यसैबीच प्रधानमन्त्रीसँगको दुरी बढेपछि बजेट सार्वजनिक गर्ने बेलातिर क्षेत्रीको असन्तुष्टि रह्यो। सरकारले लिने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उपाध्यक्षले अर्थमन्त्रीको सहयोग लिनुपर्छ। वार्षिक बजेट बनाउँदा उपाध्यक्ष र अर्थमन्त्रीसँगै बसेर निर्णय गर्ने व्यवस्था छ। तर, बजेटको अन्तिम समयमा उपाध्यक्षलाई बेवास्ता गरिएकाले पनि उनी राजीनामा दिन पुगेका हुन्।
चालु त्रिवर्षीय योजना यही वर्ष सकिँदैछ। नयाँ त्रिवर्षीय योजनालाई अन्तिम रुप दिनुपर्ने बेलामा उपाध्यक्षको राजीनामाले असर पुर्या उन सक्ने आयोगका अधिकारीहरु बताउँछन्।
प्रतिक्रियाहरू (0)

प्रतिक्रिया लेख्नुस्