पेट्रोल ठगी गर्ने कनक पेट्रोल पम्प बन्द

E-mail Print

काठमाडौं, वैशाख १० - उपभोक्तालाई कम तेल बेचेर ठगी गरेको भेटिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले टेकुमा रहेको पेट्रोल पम्प कनक ट्रेड सेन्टर सिल गरिदिएको छ। विभागले सिल गरेपछि आयल निगमले तेल दिन बन्द गरेको छ।  'हामीलाई विभागको पत्र आएको छैन। पत्र आएपछि बिक्रेता नियमावलीअनुसार कारबाही के गर्ने भन्ने निर्णय हुनेछ,' निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले सोमबार नागरिकसँग भने, 'कारबाही यही हुन्छ भन्न सकिँदैन।' निगमले तेल दिन औपचारिक रुपमा रोक्कासमेत गरेको छैन।

पम्पमा बदमासी भेटिनेबित्तिकै तेल रोक्काको निर्णय हुनुपर्छ। गुणस्तर, वाणिज्य विभाग र उपभोक्ता सम्मिलित टोलीले पम्पमा गरेको आकस्मिक अनुगमनबाट कम तेल बिक्री गरेको फेला परेपछि पम्प सिल गरेको थियो। अनुगमनको क्रममा पेट्रोल र डिजेल भर्ने पाँचवटै नोजलबाट कम तेल आएको थियो। अनुगमनको क्रममा एक लिटरमा ५० देखि १ सय २० मिलिलिटरसम्म तेल कम देखिएको थियो। स्रोतका अनुसार पाँचवटै नोजलमा कम देखिनु भनेको ठग्ने नियत नै हो। प्राविधिक गल्ती हुँदा एउटा मात्रै नोजलमा कम तेल आउने एक प्राविधिकले बताए।

यो पम्पका सञ्चालक नेपाल एलपी ग्यास संघका अध्यक्ष शिवप्रसाद घिमिरे हुन्। निगमका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा गम्भीर गल्ती हुँदा पनि उनले उन्मुक्ति पाउँदै आएका छन्। अहिलेको व्यवस्थापनले पनि घिमिरेलाई कुनै कारबाही नगरी उन्मुक्ति दिने तयारी गरिरहेको स्रोतले बतायो। 'हामीलाई अहिलेसम्म गुणस्तरको पत्र आएको छैन। पत्र आएपछि बिक्रेता नियमावलीअनुसार कारबाही हुनेछ,' पुडासैनीले भने। आफूले नियुक्त गरेको बिक्रेताले कम तेल दिएर ठगी गरेको आरोप लाग्दा पनि निगम भने पत्र कुरेर बस्नु लज्जास्पद भएको निगमकै एक कर्मचारी टिप्पणी गर्छन्।

'सरकारी निकायले अनुगमन गर्दा कम तेल बिक्री गरेको प्रमाण भेटिइसकेको छ। निगमले सोमबारै पम्पका सञ्चालकलाई कारबाही गर्नुपर्थ्यो,' ती कर्मचारीले भने, 'पत्र आएको छैन भनेर टिप्पणी गर्नुले सञ्चालकलाई उन्मुक्ति दिने नियत लुकेको छ।' सञ्चालक घिमिरेले निगमका कर्मचारीलाई रिझाएका छन्। रिझाएका कारण उनले गम्भीर गल्ती गर्दा पनि कारबाही गर्न निगम अघि सर्दैन।

'निगममा उनको कुनै फाइल पुग्नेबित्तिकै सदर गर्न तलदेखिका माथिसम्मका कर्मचारी तम्सिन्छन्। फाइल पुग्दा सदर गर्न ताँती लाग्ने निगमका कर्मचारीले कम तेल बिक्री गर्दा कारबाही गर्छ भन्ने पत्याउन सकिँदैन,' ती कर्मचारी भन्छन्, ...निगमले दिएको उन्मुक्तिले उपभोक्तालाई खुलेयाम ठगिरहेका छन्।' यसअघि सुगम ग्यासको फुटरिङ र नेकरिङ गरेको भेटिँदासमेत निगमले नै कारबाही गर्न हिचकिचाएको थियो। सरकारी अध्ययन टोलीले दोषी ठहर गर्दा गर्दै निगमले सुगम ग्यास बन्द हुँदा उपभोक्तामा अभाव हुने भन्दै एभरेस्ट ग्यासमा भर्न दिने निर्णय गरेको थियो। जुन निर्णयपछि फिर्ता भएको थियो।

निगमको उन्मुक्तिका कारण उनले पेट्रोलियम कारोबारमार्फत उपभोक्तालाई ठग्दै आएका छन्। यसअघि पनि पटक/पटक पेट्रोलियम कारोबारमा गैरकानुनी काम गर्दै आएका घिमिरेले उन्मुक्ति पाउँदै आएका छन्। 'उनले पेट्रोलियम कारोबारमा गम्भीरखालका गल्ती गरिरहेका छन्। त्यो गल्ती क्षम्य थिएनन्,' ती कर्मचारी भन्छन्, 'कारबाही बलियो नबनाउने हो भने यस्तो अपराध गरिरहन्छन्।'

दुई वर्षअघि उनी सञ्चालक रहेको सुगम ग्यास फुटरिङ र नेकरिङ गरिरहेको अवस्थामा फेला परेको थियो। सरकारी टोलीले फुटरिङ र नेकरिङ गरेर उपभोक्ताको ज्यानमाथि खेलवाड गरेको भन्दै ६ महिना सुगम ग्यास बन्द गरेको थियो। तत्कालीन सार्वजनिक लेखासमितिअन्तर्गतको उपसमितिले सुगम सधैका लागि बन्द गर्न दिएको निर्देशनको उल्घंघन गर्दै ६ महिना बन्द गर्ने निर्णय भएको थियो।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता