Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

जहाज किन्न निगमलाई १३ अर्ब ऋण दिन सञ्चय कोष सहमत

E-mail Print
सुशील भट्टराई, काठमाडौं, वैशाख ९ - कर्मचारी सञ्चय कोषले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।

सञ्चय कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले निगमलाई उक्त परिमाणबराबरको ऋण दिन सहमति जनाएको हो। निगमले दुई सातादेखि ऋण लिन कोषसँग वार्ता गरिरहेको थियो।

'निगमलाई जहाज किन्नका लागि ऋण लगानी गर्ने आशयपत्र सञ्चय कोषबाट आएको छ,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले आइतबार नागरिकसँग भने, 'बल्ल जहाज आउने निश्चित भयो। कोषको आशयपत्र प्राप्त भएपछि अब युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई प्रतिबद्धता रकम पठाउने बाटो पनि खुलेको छ।'

निगमले आफ्नो तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई रकमका लागि सम्बद्ध निकायमा आग्रह गरिदिन पठाएको पत्र अर्थ मन्त्रालय पुगेको थियो। निगमलाई आवश्यक ऋण दिन अर्थले सञ्चय कोषलाई निर्देशन दिएपछि कोष सञ्चालक समितिले यसमा सहमति जनाएको हो।

निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र अर्थले यसअघि नै निगम व्यवस्थापनलाई पठाइसकेको छ। त्यसपछि निगम र कोषबीच सुरु भएको वार्तामा कोषका अधिकारीहरूले अर्थ मन्त्रालयको निर्देशन आए ऋण दिन थप सहज हुने बताएका थिए।

निगमसँग सञ्चय कोषबाहेक नेपाली सेना, नेपाल प्रहरी, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) लगायत विकल्प पनि थिए। तर, निगमले भने सञ्चय कोषलाई पहिलो प्राथमिकता राखेको थियो।

साढे तीन वर्षअघि पनि एयरबससँग दुई जहाज किन्न आवश्यक १० अर्ब रुपैयाँका लागि निगम र कोषबीच ऋण आदान-प्रदानको सैद्धान्तिक सहमति भएको थियो। तर, कोषले भने सरकार जमानी बसेमात्र ऋण उपलब्ध गराउने सर्त राखेको थियो।

सम्बद्ध एक अधिकारीका अनुसार सञ्चय कोषले पठाएको आशयपत्रमा आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। कोषले आशयपत्रमा कति ऋण दिने भन्ने केही नखुलाए पनि निगमलाई चाहिने रकम दिन सहमति जनाएको छ।

'आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारेमा छलफल गरी आउने ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ,' ती अधिकारीले भने, 'त्यसका लागि हामी अहिलेदेखि नै काममा लागिसकेका छौं।'

निगमले एयरबससँग एकैपटक दुईवटा जहाज किन्न गत चैत २३ गते समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। त्यसपछि निगम व्यवस्थापनले ऋणका लागि कोषसँग वार्ता सुरु गरेको थियो। वार्ता सुरु भएपछि चाँडै नै सकारात्मक नतिजा आउनेमा निगम अधिकारीहरू ढुक्क थिए।

निगम र एयरबसले २०६६ कात्तिक १९ मा भएको खरिदसम्बन्धी समझदारीपत्र पुनरावलोकन गरी हस्ताक्षर गरेका थिए। सम्झौता पुनरावलोकन गर्न दुवै कम्पनीका उच्च अधिकारीहरूबीच ६ महिनायता दर्जन पटकभन्दा बढी वार्ता भएको थियो।

दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने-दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए३२०-२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुन्छ। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ समझदारीपछि अन्तर्राष्ट्रिय उडान गर्न आगामी २२ महिनाभित्र एयरबसले दुई नयाँ जहाज दिने प्रतिबद्धता जनाएको छ। एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिने प्रतिबद्धता जनाएको छ।

खरिद-बिक्री समझदारी भए पनि दुवै कम्पनीले जहाजको कूल मूल्य भने सार्वजनिक गरेका छैनन्। सम्बद्ध एक अधिकारीका अनुसार फ्रान्सस्थित एयरबस कम्पनीबाट निगमका लागि जहाज उडेपछिमात्र वास्तविक भाउ थाहा हुनेछ।

उड्डयन विज्ञहरूका अनुसार ए३२०-२०० सिरिज जहाजको हालको आधार मूल्य (क्याटलग प्राइस) एउटाको ७ करोड ९० लाख अमेरिकी डलर (६ अर्ब ८७ करोड ३० लाख रुपैयाँ) छ। निगमले यो मूल्यमा घटाएर ४ करोड ९० लाख डलर (४ अर्ब २६ करोड ३० लाख रुपैयाँ) सम्ममा जहाज पाउन सक्छ।

एयरबसलाई सोमबार बैना

यसैबीच निगम व्यवस्थापनले सोमबार युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई ५ लाख डलर (४ करोड ३५ लाख रुपैयाँ) बैना पठाउने भएको छ।

जहाज खरिद-बिक्री समझदारीको पाँच दिनभित्र प्रतिबद्धता रकम (बैना) पठाउने निगमको तयारी भए पनि करिब दुई साता लम्बिएको हो। खरिद समझदारीलाई अझ मूर्तरूप दिन निगमले एयरबसलाई प्रतिबद्धता रकम पठाउन लागेको हो।

निगमले आफ्नै स्रोतबाट यस्तो रकम पठाउने तयरी गरेको छ। निगम सञ्चालक समितिबाट अनुमति लिएर बैना पठाइने एक अधिकारीले जानकारी दिए। न्यारो बडी जहाज भएकाले एउटालाई साढे २ लाख डलरका दरले बैना पठाउन लागिएको हो।

'बैना पठाएको एक महिनाभित्र दुवै कम्पनीबीच जहाज खरिद समझदारी हुन्छ,' ती अधिकारीले भने, 'त्यसपछि एयरबसले जहाजको मूल्य चुक्ता कुन प्रक्रिया र कसरी गर्ने हो, त्यसबारे सर्त राख्ने छ।'

ग्राउन्डेड जहाज बल्ल उड्यो
तीन सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' निगमको बोइङ ७५७ ९एन एसिए जहाज आइतबार रातिबाट सञ्चालनमा आएको निगमले जनाएको छ। यो जहाजको इन्जिन बदल्न शनिबार हङकङ लगिएको थियो।

'एसिए जहाजको इन्जिन बदलेर र राति हङकङबाट यात्रुसहित काठमाडौं आउने तालिका छ,' निगमका प्रवक्ता गणेशबहादुर चन्दले आइतबार साँझ भने, 'आएपछि मलेसियाको क्वालालम्पुर वा कतारको दोहा जानेछ।'

जगेडा इन्जिन मर्मत गरी स्पेनबाट हङकङ ल्याएर एसिएमा शनिबारै जडान गरिएको थियो। त्यसको परीक्षण सफल भएपछि जहाज फर्कने तालिका बनेको हो । चलिरहेको इन्जिनको उडान अवधि पुग्न लागेपछि उक्त जहाज चैत १८ देखि ग्राउन्डेड थियो।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता