Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 03rd

अन्नपूर्णमा 'वैकल्पिक' फेरो

E-mail Print
सन्तोष पोखरेल, पोखरा, वैशाख १० - मोटरबाटो पुगेसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोमा वैकल्पिक पदमार्ग बनाइने भएको छ। मोटरबाटोले त्यस क्षेत्रमा 'ट्रेकिङ' जाने विदेशी पर्यटकलाई असर पारेको भन्दै वैकल्पिक पदमार्ग बनाउन लागिएको हो।
मोटरबाटोले विश्वमै प्रख्यात मानिएको अन्नपूर्ण फेरोको पदयात्रा अवधि छोटिँदै गएको र पदयात्रामा गएका पर्यटकले प्रदूषण र धुवाँधुलोको समस्या खेप्नुपरेकाले वैकल्पिक पदमार्ग बनाउने तयारी गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख पारसविक्रम सिंहले जानकारी दिए।
उनले भने, 'मोटरबाटोको वारिपारि हुनेगरी वैकल्पिक पदमार्ग विस्तार गर्न लागिएको छ।' हाल प्रयोगमा रहेका पर्यटकीय पूर्वाधारलाई नै उपयोग गर्नेगरी वैकल्पिक मार्ग बनाउने तयारी भएको उनले बताए।
पदयात्रामा आउन चाहने पर्यटकको आगमनलाई बढाउन पनि वैकल्पिक मार्ग आवश्यक परेको उनले बताए।
सिंहका अनुसार २८ दिन अवधिको अन्नपूर्ण सर्किट मोटरबाटोका कारण छोटिँदै गएर अहिले पाँच दिनमा सीमित भएको छ। मनाङ सदरमुकाम चामेदेखि टंकी मनाङसम्म मोटरबाटो बनिरहेकाले अर्काे वर्ष यो पदयात्रा अवधि अझै घटेर तीन दिनमा सीमित हुनेछ। 'अबको एक वर्षपछि टंकी मनाङदेखि मुस्ताङको मुक्तिनाथसम्म तीनदिने पैदलयात्रामा अन्नपूर्ण सर्किट सीमित रहनेछ,' उनले भने, 'मोटर चढेर जाने हो भने अहिले पनि पाँचदिनको पदयात्रापछि विश्वकै चर्चित गल्छी थोराङला पास पार गर्न सकिन्छ।'
सिंहका अनुसार मोटरबाटोको नजिक पर्नेगरी नयाँ पदमार्ग विस्तार गरिनेछ। 'जुन ठाउँमा मोटरबाटो पर्छ त्यसको 'अपोजिट' पर्नेगरी अर्काे पदमार्ग विस्तार हुन्छ,' सिंहले नागरिकसँग भने, 'यसले पदयात्रामा गएका पर्यटकलाई खानपिन र बसोबासको पनि समस्या हुँदैन, वैकल्पिक पदमार्गबाट हिँड्न पाउने भएकाले धुवाँधुलोको समस्या खेप्नुपर्दैन।'
लमजुङको च्याम्चेबाट सुरु हुने वैकल्पिक पदमार्ग ताल, सिरानताल, धारापानी, थोचे, एक्लेभट्टी, दानाक्यु, कोतो हँुदै मनाङ सदरमुकाम चामे पुग्नेछ। त्यस्तै चामेबाट सुरु भएको वैकल्पिक मार्ग ढिकुरपोखरी, अपरपिसाङ, घ्यारु, भ्राका हुँदै मनाङ गाउँसम्म पुग्नेगरी सर्वेक्षण गरिसकिएको सिंहले जानकारी दिए। हालैमात्र 'सर्भे' गरिएको नयाँ पदमार्ग ६३ किलोमिटर लामो हुने उनले जानकारी दिए। च्याम्चेदेखि मनाङसम्मको पुरानो पदमार्ग पनि करिब ६२ किलोमिटर लामो छ।
वैकल्पिक पदमार्ग बनाउन करिब ४ करोड रुपैयाँ खर्च लाग्ने एक्याप प्रमुख सिंहले बताए। वैकल्पिक पदमार्गमा पर्ने विभिन्न ठाउँमा पुल बनाउनुपर्ने र सडक खन्नुपर्ने उनले जानकारी दिए। नयाँ बन्ने वैकल्पिक मार्ग हुँदै पदयात्रामा जाने पर्यटकले बढीमा पाँच किलोमिटर दूरीमात्र मोटरबाटो हिँड्नुपर्ने उनले बताए। तीन फिट चौडाइ हुने वैकल्पिक पदमार्ग बनाउन करिब दुई वर्ष लाग्ने उनको भनाइ छ।
'बजेट छिटो आए पदमार्ग पनि छिट्टै बन्छ, अहिले तत्कालका लागि एक्यापको बजेटबाट काम सुरु हुँदैछ,' सिंहले भने, 'थप बजेटका लागि मनाङ जिविस, टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायत निकायसँग माग गरिएको छ।' मोटरबाटोकै कारण विस्थापितको अवस्थामा रहेको अन्नपूर्ण पदमार्गलाई पुनर्स्थापित गर्नका लागि पनि वैकल्पिक मार्ग आवश्यक परेको उनले बताए। मोटरबाटो विस्तारसँगै लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामेसम्म अहिले नियमित रुपमा सवारी चलिरहेका छन्।
मनाङका पर्यटन व्यवसायी पनि मोटरबाटोका कारण पदयात्रामा आएका पर्यटकलाई समस्या परेकाले वैकल्पिक मार्ग आवश्यक रहेको बताउँछन्। 'वैकल्पिक पदमार्ग नभए यो क्षेत्रको पर्यटन व्यवसाय नै जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ,' पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले भने।
मोटरबाटोलाई विकल्प नदिए अन्नपूर्ण सर्किटको टे्रकिङमा आउने विदेशी पर्यटकको संख्या अबका दिनमा स्वात्तै घट्दै जाने उनले बताए। 'मोटरबाटोले मनाङ आउने आन्तरिक पर्यटकलाई बढाए पनि विदेशीलाई निकै अप्ठेरोमा पारेको छ,' उनले भने, 'विदेशी पर्यटक बढाउनका लागि वैकल्पिक पदमार्ग नभई हुँदैन।' वर्षमा करिब २२ हजार विदेशी पर्यटकले अन्नपूर्ण फेरोको पदयात्रा गर्छन्।
टे्रकिङ व्यवसायी पनि अन्नपूर्ण फेरोको पदयात्राका लागि वैकल्पिक मार्ग आवश्यक रहेको बताउँछन्। 'पर्यटक अहिले धुले बाटोमा नाकमुख छोपेर हिँड्न बाध्य छन्, जतिसक्दो छिटो पदमार्ग बनाएर विकल्प दिनुपर्छ,' टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष नारायण सापकोटाले भने।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता