फिल्मकर्मीलाई चुनावी गर्मी

E-mail Print
स्मृति ढुंगाना, काठमाडौं, चैत ३० - संविधान सभाको चुनाव कहिले हुने टुंगो छैन। तर, फिल्मकर्मीहरु भने चुनावको माहोलमा डुबिसकेका छन्। निर्माता र निर्देशकहरुलाई आ-आफ्ना संस्थाका निर्वाचनले छोएको हो।
 
चलचित्र निर्देशक समाजको चुनावमा अध्यक्ष पदका लागि नरेश पौड्याल र दिनेश डिसीले दाबेदारी दिएका छन्। यता चलचित्र निर्माता संघमा राजकुमार राई, उदय सुब्बा, केशव भट्टराई, अशोक शर्मा, उज्ज्वल घिमिरे, नवल खड्का लगायतको नाम अगाडि आइरहेको छ।
निर्माता संघको चुनाव वैशाख २१ मा ठमेलको वैशाली होटलमा हुँदैछ। झन्डै सात सय निर्माता सदस्य रहेको संस्थामा तीन सय निर्माताले भोट हाल्न पाउनेछन्। १६ सदस्यीय कार्यसमितिका लागि निर्माताहरु चुनावमा होमिँदैछन्।
'हामी व्यवसाय गर्न आएका हौं। तर संघमा काट्छु र मार्छु भन्ने मानिसहरु हावी भएका छन्। फिल्म उद्योग रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले मैले उम्मेद्वारीबाट हात झिकेको छैन। मभन्दा अग्रज व्यक्तिहरु आएमा चाहिँ छोड्न सक्छु,' निर्माता केशव भट्टराईले भने। उनले यादव खरेल, युवराज लामा र उद्धव पौडेल जस्ता व्यक्ति आउनुपर्नेमा जोड दिएका छन्। चलचित्र विकास बोर्डमा आगामी वैशाख ३ मा हुने भेलापछि आफ्नो निर्णय सार्वजनिक गर्ने उनको योजना छ।
निर्माता तथा निर्देशक उज्ज्वल घिमिरेलाई साथीभाइले निर्माता संघको चुनावमा उठ्न घचेटिरहेका छन्। 'चुनावमा जानु थियो भने पहिल्यै अध्यक्ष भइसक्थेँ। मलाई यसको खासै मोह छैन,' उनी प्रष्ट छन्।
भूतपूर्व अध्यक्ष अशोक शर्माको पनि चुनावमा उठ्ने सम्भावना कम रहेको छ। 'नयाँ र पुराना पुस्तालाई मिलाएर लानसके उद्योग रहन्थ्यो भन्ने मान्यता हो। यसका लागि पुराना पुस्ता आउनुपर्छ भन्नेमा मैले जोड दिएको छु,' शर्माले भने। नीर शाह, शम्भु प्रधान र तुलसी घिमिरे लगायतका पुराना व्यक्तिहरु आए सबैले स्वीकार्ने उनले बताए।
निर्माता संघको चुनावमा महासचिव पदका लागि रोज राणा, छविराज ओझा र सुरेशदर्पण पोखरेलले अघोषित उम्मेद्वारी घोषणा गरेका छन्।
अध्यक्ष विमल पौडेलले राजीनामा दिएपछि वैशाख ७ मा निर्देशक समाजको विशेष साधारण सभा बोलाइएको छ। 'विशेष साधारण सभाले अध्यक्षको मात्र छनोट गर्नसक्ने विधान छ। विधान संशोधन गरेपछि कार्यसमिति हेरफेर हुन्छ,' समाजका अग्रज केसीले भने। ८० जना मतदाता रहेको निर्देशक समाजको कार्यसमितिमा १५ जना रहनेछन्।
महासचिवमा अग्रज केसी र ऋषि लामिछानेले उम्मेद्वारी दिइसकेका छन्। 'सबैलाई समेट्न सक्नुपर्छ भन्ने मान्यतालाई हामीले जोड दिएका छौं। राजनीतिभन्दा काम गर्नेको आवश्यकता छ,' निर्देशक ऋषि लामिछानेले भने।
'फिल्म निर्माण गर्ने काम चुनावसम्म सार्वजनिक नगर्ने सोच गरेको छु। हाल घोषित गरिएको 'हिरोइन' फिल्मको कामभन्दा चुनावको महोलमा लागि परेको छु,' निर्माता रोज राणाले भने। दुवै संस्थाले साधारण सभाका लागि सदस्यहरुलाई खबर गरिसकेको छ।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता