Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Nov 14th

कर्पोरेट बिनाको रेड कार्पेट

E-mail Print
सन्तोष रिमाल, काठमाडौँ, वैशाख ४ - '२०३९ सालमा रिलिज भएको फिल्म बासुदेवलाई समीक्षकहरूले खुबै मन पराए। आज पनि यसलाई यथार्थपूर्ण र कलात्मक नेपाली सिनेमाका रूपमा लिइन्छ। तर, व्यावसायिक रूपमा फिल्म त्यति सफल हुन सकेन। आर्थिक लाभ केही नपाएको बासुदेवबाट मैले अन्तर्राष्ट्रिय फिल्म जगतको एक्सपोजर भने पाएँ। २०४० सालको मस्को फिल्म महोत्सवमा 'विदेशी भाषाको कलात्मक सिनेमा' अन्तर्गत बासुदेव छानियो। म र नीर शाह भाग लिन गयौं। रेड कार्पेटमा हिँड्दा कति शान हुन्छ भन्ने मैले पहिलोचोटि त्यहीँ चाल पाएँ। रेड कार्पेटमा टेक्दै महोत्सवस्थल नछिर्दासम्म क्यामराका फ्ल्यास चम्किरहे।'

विश्वका अर्बपतिको सूचीमा परेका विनोद चौधरी ३१ वर्षअघि नै नेपाली फिल्म क्षेत्रसँग आवद्ध थिए। त्यतिबेलै प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रेड कार्पेटमा हिँडेको अनुभूतिलाई उनले आफ्नो आत्मकथामा गौरवसाथ उल्लेख गरेका छन्। पहिलो फिल्मबाटै त्यति ठूलो 'एक्सपोजर' पाउँदा पनि उनी फिल्म निर्माणमा दोहोरिएनन्। उनले यसको पनि कारण खुलाएका छन्, 'गीत संगीतमा जस्तै फिल्म निर्माणमा पनि समय दिन भ्याइनँ। मेरा रुचि, आवश्यकता र व्यापारका प्राथमिकता फरक परे।'
'बासुदेव' बनाएको ३० वर्षपछि उनका भाइ वसन्त चौधरीले 'भिसा गर्ल'मा आंशिक लगानी गरे। ठूलो घरानाको पुनरागमनले आशा जगायो। सिजी इन्टरटेनमेन्टले बनाएको यो फिल्मले न पैसा कमायो, न अन्तर्राष्ट्रिय 'एक्सपोजर' पायो। त्योभन्दा गम्भीर पक्ष के भने आधा शताब्दीको यात्रामा न नेपाली फिल्म क्षेत्रले कर्पोरेट उचाइ बढाउन सक्यो, न त ठूला व्यावसायिक घरानाको सहभागिता पायो। चौधरीले 'बासुदेव' बनाउँदा जे बुझे अहिले पनि ठूला घराना फिल्म क्षेत्रलाई त्यही ठान्छन्।

कुनै समय यस्तो थियो, सरकारले नै फिल्ममा लगानी गर्थ्यो। तत्कालीन शाही नेपाल चलचित्र संस्थानले जस्ता फिल्म उत्पादन गरिहेको थियो त्यसमै आबद्ध भएर पनि अभिनेता नीर शाह सन्तुष्ट थिएनन्। उनी राज्यले बनाउने फिल्म मौलिक र यथार्थपरक होस् भन्ने चाहन्थे। तर, संस्थानले त्यो सुनेन बरु उनलाई सूचना विभाग सरुवा गरियो।
घण्टाघरमा रहेको विभागको कार्यालयमा उनले कुनै काम देखेनन्। टेबलमा होल्डर कलम, एक ताउ कागज, टावेल झुन्ड्याइएको मेच र चिसो कोठामा उनी धेरै दिन निरास भएर बसेनन्। अफिस छिरेको चौथो दिन राजीनामा लेख्न बस्दा उनको मुड फेरियो। र, धु्रवचन्द्र गौतमको कृति 'कट्टेल सरको चोटपटक'लाई फिल्मको स्त्रि्कप्टमा ढालेर 'बासुदेव'को तयारी गरे।
३२ वर्षअघिको प्रसंग सुनाउँदैछन् शाह। जतिबेला निजी लगानीमा फिल्म बनाउनु भनेको ठूलो मूर्ख सावित हुनु थियो। भारतमा समेत 'फिल्म कर्पोरेटाइजेसन' नभइसकेको अवस्थामा उनले यो फिल्मका लागि कर्पोरेट साझेदारको खोजी गरे। 'म र प्रेम उपाध्यायले सात लाख जुटायौं, विनोद चौधरी आधा लगानी गर्न तयार भए,' एउटा व्यापारिक घरानालाई फिल्ममा ल्याएको जस लिन उनी हिचकिचाउँदैनन्।
बासुदेवले शाहलाई मौलिक फिल्म बनाएको प्रशंसा दिलायो। यही प्रशंसाले उनलाई फिल्ममा अड्याइरह्यो। चौधरीले आर्थिक लाभ पाएनन्, एउटै फिल्मले भड्किए। खुद्रा लगानीले फिल्म क्षेत्रलाई 'उद्योग' बनाउन सक्दैन भन्ने बुझेरै ठूलो घरानासँग साझेदारी गरेको बताउँछन् शाह। आफ्नै चाँजोपाँजोमा त्यो काम भएको भनेर खुसी हुने कि त्यो क्रमले निरन्तरता नपाएकोमा दुःखी हुने उनी 'कन्फ्युज' छन्।
न नेपाली फिल्म क्षेत्रले 'कर्पोरेट हाइट' बनायो न फिल्म व्यापार कर्पोरेट जगतको प्राथमितामा पर्योे। नीर शाह यो अवस्था देखेर दुःखी छन्, 'यहाँ व्यापारीको भीड लाग्यो, बुझेका व्यवसायी आएनन्।'
होटल याक एन्ड यतीका सञ्चालक राधेश्याम सर्राफ, गोल्छा अर्गनाइजेसन, मोहन गोपाल खेतान र चौधरी ग्रुपले फिल्म निर्माणमा राम्रै 'वर्क आउट' गरेको नीरलाई थाहा छ। 'उनीहरू अलि बेटर होला र हात बढाउँला भन्दै गए, फिल्ममा विजनेस कल्चरको विकास नै हुन सकेन,' उनी भन्छन्। 'बासुदेव' सँगै चौधरी ग्रुपले फिल्म निर्माणलाई कम्पनीको सांगठनिक संरचनामा उल्लेख गरेर पनि निरन्तरता नदिनुमा शाहले बुझेको कारण हो, प्रशासनिक ज्ञान, उद्योग चलाउने शैली र विजनेस कल्चर फिल्म उद्यमीले देखाउन नसक्नु।
उनी फिल्म क्षेत्र व्यावसायिक बन्ने सम्भावना शून्य भइसकेको जिकिर गर्दैनन्। तर, फिल्मकर्मीमा 'कर्पोरेट कल्चर' नदेख्दा रातारात केही भइहाल्ने आस पनि छैन। 'फाइनान्स, प्रोडक्सन म्यानेजमेन्ट र रिटेलिङमा फिल्मले ध्यान पुर्यााउन जरुरी छ। नेपाली फिल्मको गणित ठीक छैन। गणित ठीक नभई उद्योग ठीक हुँदैन,' नीरको निष्कर्ष छ।
छिमेकी देश भारतमा अर्थतन्त्रको गतिलो हिस्सा बनेको छ फिल्म उद्योग। 'बक्स अफिस'मा हलिउडलाई टक्कर दिने फिल्म बलिउडमा बढ्दैछन्। भारतका ठूला व्यापारिक घरानाले फिल्ममा हात बढाएका छन्। उनीहरूलाई बलिउडले मात्र पुगेको छैन। हलिउडका फिल्ममा साझेदारी गर्नसमेत अग्रसर देखिएका छन्। गएको अस्कर अवार्डमा दाबेदार मानिएको फिल्म 'लिंकन' मा भारतीय व्यवसायी अनील अम्बानीले लगानी गरेका थिए। एक महिनाअघि फिल्मका निर्देशक स्टिभन स्पिलबर्गलाई मुम्बई बोलाएर उनले आफ्ना देशका सेलिब्रिटीसँग अन्तर्क्रियासमेत गराए। सोही समारोहमा स्पिलबर्गले अम्बानीको रिलायन्स इन्टरटेनमेन्टकै सहकार्यमा अर्को फिल्म बनाउन लागेको योजना सुनाए। भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरको वस्तुस्थितिमाथि फिल्म बनाउने उनले खुलाएका थिए।
भारतीय कलाकारका लागि हलिउडको ढोका खुल्दै गएको छ। व्यापारिक साझेदार फैलँदै छन्। नेपाली फिल्मले भने देशकै व्यवसायीलाई पनि आकर्षित गर्न सकेको छैन। व्यवसायी दीपक मलहोत्राको विचारमा नेपाली फिल्मको दायरा धेरै फैलिने सम्भावना छैन। त्यसैले यो धेरैको प्राथमिकतामा परेन।
सामसुङ मोबाइलको आधिकारिक बिक्रेता मलहोत्रासँग सफल व्यापारीको परिचय छ, साथै असफल फिल्म निर्माताको अनुभव। उनले 'चाहना', 'सौता', 'महादेवी', 'सान्नानी' र 'रगत' फिल्ममा लगानी गरे। र, पाँचै वटामा घाटा खाएको हिसाबसहित उनले फिल्म क्षेत्रलाई बाइबाई गरे।
'अन्य व्यापारका सफल खेलाडीलाई फिल्ममा के ले डुबायो?'
'मैले समय दिन सकिन, अरूको भरमा फिल्म बनाउने हो भने कामै छैन। अरू व्यापार छोडर फिल्ममा मात्र लाग्न उचित ठानिनँ।'
एउटा फिल्म चलेपछि त्यस्तै फिल्मको पछि लाग्ने निर्माताले उद्योग नै असफल बनाएको उनको बुझाइ छ। च्याउसरीका फिल्म उनको विचारमा व्यावसायिक ज्ञानको कमीले बनेका हुन्। 'बजार सानो छ, फिल्म धान्नै नसक्ने गरी बनेका छन्। विदेशमा देखाउन गुणस्तर पुग्दैन, आन्तरिक बजारको अध्ययन नगरी लागेकाले धेरै डुबेका हुन्,' अघिल्लो वर्षका दुई हिट फिल्म 'लुट' र 'चपली हाइट'को पछि लाग्दा धेरै डुबेको उनले बुझेका छन्। एउटाले कमाएपछि विनाअध्ययन त्यसैको नक्कल गर्ने परिपाटीले फिल्म क्षेत्र पनि ग्रसित रहेको उनी बताउँछन्।
फिल्म बनाउन प्राविधिक ज्ञान हुनुपर्छ, साह्रै खट्नुपर्छ र लगानी फिर्ता आएको पनि सुनिँदैन। यिनै कारणले व्यावसायिक घराना फिल्ममा लगानी गर्दैनन् भन्छन्, मलहोत्रा। व्यापारको सामान्य सिद्धान्तसमेत नबुझेका र बजारको पटक्कै जानकारी नभएकाले फिल्म बनाउँदा नराम्रो नतिजा मिलेको उनी औंल्याउँछन्। तल्लो स्तरका, अश्लील र सुन्नै नसकिने संवादले भरिएका फिल्मलाई दर्शकले बहिस्कार गरेको रिपोर्ट उनले पाएका छन्। 'तैपनि यस्तै फिल्म बनाउन कोही अग्रसर हुन्छन् भने डुब्छन्,' यो वर्ष धेरै डुबेकाले अर्को वर्ष कम र राम्रो फिल्म बन्ने अपेक्षा उनले प्रकट गरे।
व्यापारीले लगानीको प्रतिफल खोज्छ नगदमा। नेपालको फिल्म बजार भारतको जस्तो ठूलो र संसारले हेर्नेखालको नहुँदा ठूला व्यापारीको प्राथमिकतामा नपरेको उनी औंल्याउँछन्। 'राम्रो फिल्म र नाफाको ग्यारेन्टी यहाँ छैन। त्यसैले ठूला व्यापारीले हात नबढाएका हुन्,' उनी आफैं पनि फिल्म बनाउने मनस्थितिमा छैनन्।
ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनको एउटा कम्पनी 'हिम इलेक्ट्रोनिक्स'को लगाम शेखर गोल्छाको हातमा छ। हिमस्टार र सामसुङका टेलिभिजन सेट उपभोक्ताको घरघरमा पुर्या'उन रातदिन खट्ने गोल्छा 'टेलिभिजन कन्टेन्ट' उत्पादनमा भने लागेका छैनन्। र, त्यो उनको योजनामा पनि छैन।
फिल्मका पारखी गोल्छालाई नेपाली फिल्ममा भित्रिएको प्रविधिको राम्रो हेक्का छ। 'फिल्म क्षेत्रको लागि यो नोक्सानको वर्ष भयो होला। तर, प्राविधिक रूपमा निकै विकास हुँदै गएको छ,' उनले विज्ञता दर्शाए, 'तर, प्रविधिमा जति विकास गरे पनि नपुग्ने चुनौती (बलिउड फिल्म) हाम्रोसामु छ। नेपालका उच्चवर्गलाई हिन्दी फिल्मले आफ्नो बनाइसकेको छ।'
'नेपाली फिल्म कसरी टिक्ला?'
उनले 'थाहा छैन' भनेनन्।
'हिन्दी फिल्मको जस्तो क्वालिटी दिने बजेट लगाउन सकिन्न, त्यसैले बलिउडको पछाडि नलागौं। मिक्स मार्केटको सम्भावना छ। हामीले सिर्जनामा प्रतिस्पर्धा गर्ने हो। पहिला पनि आर्ट फिल्म चलेका थिए, सम्भावना त्यसैको छ।'
बौद्धिकता र मनोरञ्जन दुवै दिने फिल्ममा गोल्छाको रुचि छ। तर, यसमा लगानी गर्ने चाहना भने छैन। फिल्ममा ठूला समूहले लगानी गरेको उनले देखे। तर, प्रतिफल नदेखेपछि त्यता लाग्ने कोसिस गरेनन्। 'नेपालको फिल्म बजार नराम्रो भएकैले लगानीकर्तालाई उत्साहित गराएको छैन। पहिला धेरै नक्कल हुन्थ्यो, अहिले अश्लीलता बेच्नेको होडबाजी छ। हलिउड र बलिउडले समेत त्याग्दै गएको बाटो समाते झन् दुर्भाग्य निम्त्याउँछ। यसले विजनेस कल्चर बिगार्छ,' उनी विश्लेषण गर्छन्। फिल्मकर्मीले सिर्जनात्मक पाटोलाई सबल बनाए लगानीकर्ता आउने सम्भावना देख्छन् गोल्छा।

अशोक शर्मा नेपाल उद्योग वाणिज्य महासंघमा फिल्मकर्मीको प्रतिनिधित्व गर्छन्। फिल्म क्षेत्रले शर्माको दुई वटा दायित्व तोकेको छ। गतिला व्यवसायीलाई फिल्ममा ल्याउने र फिल्मलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने। करिब पाँच वर्ष देशका अग्रणी उद्योगी व्यवसायीसँग उठबस गर्दा पनि शर्माले नेपाली फिल्मको व्यावसायिक उचाइ बढाउन गरेको पहल सार्थक देखिँदैन।
'हामी भ्यागुतोजस्तो कुवामा रमाएका छौं, जे गरिरहेका छौं त्यही नै ठूलो ठान्नाले प्रगति भएको छैन,' उनी आफ्नै सहकर्मीसँग रुष्ट छन्। शर्माका अनुसार फिल्ममा कर्पोरेट हाउसको सहभागिता बढ्ने क्रममा छ। 'सिजी इन्टरटेन्मेन्ट, क्युएफएक्स र डिसिएनले केही आशा देखाएका छन्,' उनी ठूला लगानीकर्तालाई निरुत्साहित गर्ने कारण औंल्याउँछन्, 'हामीले जहिले पनि रुवाबासी गर्यौं , यति डुब्यो भनिरह्यौं, कमाउनेले पनि त्यही भने, नराम्रो कुरा मात्र गरेपछि अरू त्यसै डराए। मैले यही उद्योगबाट कमाएको हुँ। धेरैले त्यसो नभन्दा फिल्म क्षेत्रको आकर्षण देखिएन।'
उनलाई अब पुराना फिल्मकर्मीप्रति त्यति भरोसा छैन। पढेलेखेका नयाँ पुस्ताको आगमनलाई 'कालो बादलमा चाँदीको घेरा' ठान्छन् शर्मा।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता