शान्ति प्रक्रिया नभाँड्ने 'बधशाला'

Tuesday, 23 April 2013 13:30 नागरिक
Print
सेना पक्षले प्रतिबन्धै लगाउन खोजेको फिल्म 'बधशाला' रिलिज हुनु अभिव्यक्ति स्वतन्त्रताको जित हो। एउटा फिल्मकर्मीलाई जुनसुकै विचारधाराबाट प्रेरित भई फिल्म बनाउने छुट हुँदाहुँदै धेरैले शंका गरे, फिल्म कतै माओवादीको पक्षमा त छैन। जबकि, कुनै पनि विषयमा बनेको अतिरञ्जित फिल्मलाई कसरी सामना गर्नुपर्छ भन्ने विवेक नेपाली दर्शकमा छ। सेना पक्षले यही विवेकशीलताको अवमूल्यन गर्न खोज्यो।

सहरका भित्ताहरुमा परेड खेलिरहेको बर्दीधारी पोस्टर हेर्दा 'बधशाला'ले सेनाको गौरवगाथा गाउँछ कि भन्ने लाग्छ। फिल्मले चाहिँ कसैको गुणगान गाउँदैन। अँध्यारो खोरमा थुनिएका बन्दी र तिनलाई केरकार गर्ने सैनिकबीचको मानसिक टकरावमा उभिएर फिल्मले द्वन्द्वकालको एक झल्को दिन्छ। बन्दी र सैनिक दुवैलाई आफ्ना आदर्श वाक्यहरु फालाक्न लगाइएको छ। तर यो 'वक्तृृत्वकला'मा कसैले कसैलाई पराजित गर्दैन।
विषयवस्तु र शीर्षकअनुसार 'बधशाला'मा हिंसा छ। तर हिंसा देखाइए पनि यो हिंसाविरोधी फिल्म हो। सेनाले आरोप लगाएजस्तो शान्ति प्रक्रिया भाँड्ने खालका दृश्यहरु यसमा छैनन्। प्रचण्डको 'टेप प्रकरण'ले नभाँडिएको शान्ति प्रक्रिया एउटा फिल्मले कहाँ भाँडिन्छ र?
माओवादी र सेना दुवै पक्षका लडाकुहरुको बौद्धिकता र हार्दिकताको गुणस्तरलाई फिल्मले कोट्याएको छ। एक उच्च सैनिक अधिकृतको हत्यारा पत्ता लगाउने सेनाको उद्देश्यवरिपरि फिल्म घुम्छ, जसले गर्दा सैनिक र बन्दीबीचको द्वन्द्वलाई राजनीतिक होइन कानुनी तहमै सीमित पार्न निर्देशकलाई सजिलो भएको छ।
फिल्ममा लगभग सबै कलाकार रंगमञ्च पृष्ठभूमिका छन्। उनीहरुको स्वाभाविक अभिनयले फिल्मको स्तर बढाएको छ। आफूले निर्वाह गरेका पात्रलाई जीवन्त बनाउन उनीहरु चुकेका छैनन्। एउटा द्विविधाग्रस्त र विचलित सैनिक जवानको भूमिकाप्रति दयाहाङ राईले न्याय दिएका छन्। शिक्षक बन्दी बनेका खगेन्द्र लामिछानेलाई एक आशालाग्दो कलाकारका रुपमा लिन सकिन्छ। मेजरको भूमिकामा अनुप बरालको व्यक्तित्व सुहाएको छ।
फिल्मको संवाद तारिफयोग्य छ। धेरैजसो संवाद पात्रहरुले आत्माबाट सम्प्रेषण गरेझैं लाग्छ। पात्रका स्तरअनुसार संवाद र संवादको स्तरअनुसार मुड सिर्जना गरिएको छ। 'टेन्सन' पैदा गरी फिल्मलाई गतिशील बनाउन सफल छ संवाद।
बन्दी र सैनिकबीचको मानवीय सम्बन्ध दयाहाङ र खगेन्द्र तथा अनुप र सौगातबीचको दृश्यमा मर्मस्पर्शी ढंगमा उजागर भएको छ। सधैं आँखामा पट्टी बाँधिए पनि बन्दी खगेन्द्रले सैनिक जवान दयाहाङलाई आफू नजिक आउँदा चिनिहाल्छ। दयाहाङलाई खुल्दुली लाग्छ, 'कसरी चिन्यौ?' खगेन्द्रले नडराई जवाफ दिन्छ, 'तपाईं आउँदा सूर्तिको बास्ना हरर्र फैलिन्छ।' त्यसरी सुरु हुने दयाहाङ र खगेन्द्रको सूर्ति-साइनो मार्मिक त छ नै, यही नै कथाको निर्णायक 'इलेमेन्ट' बनिदिन्छ।
मेजर अनुपले माओवादी छापामार सौगातसँग आफ्नो कक्षमा गरेको चिया-वार्ताले फिल्म इज्जतिलो बनेको छ। यो दृश्यलाई 'लङ टेक'मा प्रस्तुत गरेर निर्देशकले दुई पात्रको संवेदना र स्वाभिमानलाई स्वतन्त्र पोखिन दिएका छन्। चलनचल्तीको भन्दा धेरै लामो यो 'सट' कलात्मकताको सराहनीय नमुना हो। फिल्मले फेरेको यो 'लामो सास'ले धेरै मानसिक थकान दूर गर्छ।
फिल्मका पात्रहरुलाई सकेसम्म रोचक बनाउन खोजिएको छ। सेना पक्षका अनुप, दयाहाङ, अर्पण, पुष्कर र आशान्तका संवेदनाको ग्राफ फरकफरक छ। आशान्तका हरकतले ह्युमर उत्पन्न गराउँछ तर उनको उपस्थितिलाई कथामा गाँठो पार्न सकिएको छैन।
फिल्मको पूर्वार्द्धमा दृश्यहरु दिशाहीन जेलिएको छ। यातना दिएका एउटै खाले दृश्य दोहोरिन्छ। फिल्ममा कथा र मुख्य पात्र अलि छिट्टै स्थापित गर्दा राम्रो हुन्थ्यो। तैपनि लगातारको 'रिपिटेसन'ले दर्शकमा एकप्रकारको उकुसमुकुस पैदा गरिदिन्छ। कैदीको भोगाइलाई दर्शकले आत्मसात गर्ने अवसर यसले दिन्छ।
अँध्यारो महसुस गराउन उज्यालो पनि देखाउनुपर्छ। 'बधशाला'मा फिल्मभित्रका पात्र र दर्शक दुवैले अभाव महसुस गर्ने भनेको बाहिरी खुला हावा नै हो। फिल्म विधामा 'ओभरएक्सपोजिसन' नराम्रो हो। तर 'बधशाला'मा त विषयवस्तुको 'ग्य्राभिटी'अनुसार 'एक्सपोजिसन' नै पुगेको छैन।
ह्युमरको भरपूर खुराकले यो फिल्म न्यास्रो हुनबाट जोगिएको छ। पात्रहरुलाई पिडा हुँदा पनि दर्शकलाई हाँसो लाग्नसक्छ। हाँसो र पिडा मिसिएको डार्क कमेडीको हल्का अभ्यास हो यो।
नेपाली फिल्ममा हुने 'लाइट पोलुसन'बाट 'बधशाला' मुक्त छ। आवश्यक नहुँदा पनि उज्यालो खेर फाल्नु 'लाइट पोलुसन' हो। तर, यसमा 'लाइटिङ'को डिजाइन कलात्मक छ। मुडअनुसार अँध्यारो, मधुरो र पारिलो प्रकाश छ्यापिएको छ। फिल्मको छायांकन पनि विषयको संवेदनशीलतासँग एकाकार छ।
अन्तिम दृश्यको 'कन्स्ट्रक्सन' तुलनात्मक रुपले फितलो देखिन्छ। यस दृश्यमा पात्रहरुको संवाद र क्रिया अपरिपक्व लाग्छ। जबकि यो महŒवपूर्ण दृश्य अरुभन्दा सुगठित हुनुपर्थ्यो।
विषय सुन्नेबित्तिकै खर्चिलो हुन्छ भनेर पन्छिने फिल्मकर्मीलाई 'बधशाला'ले बाटो देखाएको छ। फिल्म बन्न भौतिक पूर्वाधारभन्दा रचनात्मक कथा, मानवीय संवेदना र स्वाभाविक अभिनय चाहिन्छ भन्ने पुष्टि यसले गरेको छ।
द्वन्द्वकालको कथा भए पनि भीषण गोलाबारुद यसमा छैन। सामान्य गनफाइट पनि छैन। इतिहासको कालखण्डबाट साधारण कथानक कसरी उठान गर्न सकिन्छ? 'बधशाला' एउटा उदाहरण बनेको छ।

समिक्षकः दीपेन्द्र लामा
फिल्मः बधशाला
रेटिङः पाँचमा तीन तारा
निर्देशक/लेखकः मनोज पण्डित
निर्माताः मोहन डोटेल
कलाकारः सौगात मल्ल, अनुप बराल, दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, पुष्कर गुरुङ, आशान्त शर्मा, सरिता गिरी, समुना केसी आदि।