हिरोइनहरुको नयाँ वर्ष प्लान के छ?

E-mail Print

दिया मास्के, अभिनेत्री- वैशाख १ गते रंगशालामा 'कलिउड/बलिउड मस्ती' कार्यक्रम हुँदैछ। त्यसमा मेरो पनि प्रस्तुति छ। त्यसमै व्यस्त हुन्छु। त्यसपछि आफ्नो परिवारसँग नयाँ वर्ष मनाउने विचार छ। गत वर्ष सुटिङमै व्यस्त भएकाले राम्ररी नयाँ वर्ष मनाउन पाइएन। यसपालि मनाइन्छ। अन्य नयाँ वर्षभन्दा नेपाली नयाँ वर्षलाई भव्य तरिकाले मनाइन्छ। धेरै नयाँ वर्ष मनाउने भनेको धेरै रमाइलो गर्ने हो। आफू त काममै व्यस्त भइन्छ।

अनु शाह, अभिनेत्री
नयाँ वर्षको दिन साथीभाइसँग बाहिर हिँड्नु भन्दा घरपरिवार र आफन्तसँग बिताउन मन पर्छ। त्यस्तै गर्छु पनि। २०६९ सालको नयाँ वर्षका दिन सुटिङका लागि काठमाडौँबाहिर थिएँ। यसपालि घरमै बस्छु र परिवारसँग रमाइलो गर्छु। बितेको वर्षमा कुनै योजना बनाएकी थिइनँ। त्यसैले कुनै काम अधुरा छैनन्। नेपालमा मनाइने सबै नयाँ वर्ष सेलब्रेट गरिन्छ। तर, नेपाली नयाँ वर्षलाई नै प्राथमिकता दिन्छु। बढी मनाइने नयाँ वर्ष वैशाख १ गते हो। अन्य नयाँ वर्षका निम्तो आउँदा त्यहाँ पनि पुगिन्छ।
केकी अधिकारी, अभिनेत्री
यसपालिको नयाँ वर्ष खल्लो भएको छ। मास्टर्स सेकेन्ड सेमेस्टरका परीक्षा परेकाले मनग्गे रमाइलो गर्न पाइएला जस्तो छैन। घरभित्रै सेलब्रेट गर्नुपर्ने भो। गत वर्ष साथीहरूसँग फिल्म टाइटानिक थ्रीडीमा हेर्न गएकी थिएँ। गेट-टुगेदर गरेर साथीभाइले खुब रमाइलो गरेका थियौँ। आउँदो वर्षमा आफूमा भएका कमीकमजोरीमा सुधार गरेर राम्रो मान्छे बन्ने प्रयत्न गर्नेछु। अंग्रेजी नयाँ वर्ष र नेवारी नयाँ वर्ष पनि मनाइन्छ।
नीता ढुंगाना, अभिनेत्री
नयाँ वर्षको अघिल्लो दिन मैले अभिनय गरेको फिल्म 'नोटबुक' रिलिज हुँदैछ। यसलाई मैले करिअरकै टर्निङ प्वाइन्ट ठानेकी छु। त्यसैले यसको प्रमोसनमै धेरै व्यस्त भइन्छ। नयाँ वर्ष पोखरामा मनाइनेछ। २०७० सालमा करिअरमा राम्ररी स्थापित हुन लागिपर्नेछु।

ऋचा शर्मा, अभिनेत्री
यसपालिको नयाँ वर्ष परिवारसँग काठमाडौँमै मनाउनेछु। हामी घुम्न जान्छौँ, लाइभ म्युजिक हेरेर आफूलाई रिफ्रेस बनाउँछौँ। पोहोर नयाँ वर्ष कार्यक्रमको सिलसिलामा कतारमा थिए। २०६९ साल मेरा लागि निकै राम्रो भयो। मैले युरोप घुम्ने सोच बनाएकी थिएँ। त्यो इच्छा पूरा भयो। २०७० सालमा नेपाल घुम्ने योजना छ। धेरै फिल्म र प्रोजेक्ट गर्नेछु। मैले नेपाली र अंग्रेजी नयाँ वर्ष मनाउने गरेकी छु। ल्होसारमा पनि रमाइलो गरिन्छ।
नन्दिता केसी, अभिनेत्री
नयाँ वर्षमा 'कलिउड-बलिउड मस्ती' कार्यक्रम छ। त्यहीँ व्यस्त भइन्छ। त्यसबाहेक घरमै परिवारसँग नयाँ वर्ष मनाइन्छ। परफर्मेन्स नभइदिएको भए काठमाडौँबाहिर घुम्न जाने सोच थियो। कार्यक्रम भयो भने गइँदैन होला। योजना नै बनाएर हिँड्ने बानी मेरो छैन। २०७० सालमा बिजनेस गर्ने धोको पूरा गर्नेछु। नेपाली नयाँ वर्ष बढी महत्वपूर्ण लाग्छ। अंग्रेजी पनि मनाइन्छ। त्यसबाहेक आजभोलि अरू नयाँ वर्ष पनि मनाउन थालेकी छु।
पवित्रा सुब्बा, गायिका
नयाँ वर्षमा आफ्नो घर धरान जानेछु। त्यसदिन परिवारका सबैजना भेला हुने र नयाँ वर्ष साथमा मनाउने योजना छ। सबै जम्मा भई भेडेटार घुम्न जानेछौँ। गेट-टुगेदर गर्नेछौँ। पोहोर यति बेला म ब्रुनाईमा थिएँ। त्यहीँ साथीभाइसँग रमाइलो गरियो। आजभोलि आफू संगीतबाट अलि टाढिएको महसुस गरिरहेकी छु। २०७० सालमा एकदमै धेरै रियाज गर्ने र गीतसंगीतलाई बढीभन्दा बढी समय दिनेछु। एल्बम पनि निकाल्ने योजना छ। लिम्बूहरूको 'यले सम्वत्' पनि आफन्तसँग जमघट गरी मनाउँछु।
राधिका हमाल, गायिका
नयाँ वर्षमा कार्यक्रम गर्दैमा ठिक्क छ। नेपालदेखि विदेशसम्म कार्यक्रम छन्। नयाँ वर्षका दिन कुवेतमा कार्यक्रम छ। त्यहीँ नयाँ वर्ष मनाइन्छ, परफर्मेन्स गर्दै। गत वर्ष पनि कार्यक्रमको सिलसिलामा कोरियामा थिएँ। २०७० सालमा स्रोतामाझ नयाँ गीत ल्याउँछु। गीत रेकर्डिङ गर्नुमा धेरै व्यस्त भइन्छ होला। नेपाली र अंग्रेजीबाहेक अरू नयाँ वर्ष खासै मनाइँदैन।
कमल खत्री, गायक
नयाँ वर्षमा धेरै ठाउँमा मेरा कार्यक्रम छन्। त्यसमै व्यस्त छु। चैत ३१ गते बनेपा, मेलम्ची र काठमाडौँमा प्रोग्राम छ भने वैशाख १ गते काठमाडौँमै दुई ठाउँमा कार्यक्रम छ। दसैँ, तिहार, होली सबै चाडपर्व स्टेजमा गाउँदै मनाइयो। नयाँ वर्ष पनि यसरी नै मनाइने भो। पोहोरको नयाँ वर्षमा त कार्यक्रम सकिएपछि साथीभाइसँग पिकनिक गएको थिएँ। यसपालि त्यो पनि सम्भव नहुने भयो। २०७० सालमा आफ्ना गीत निकाल्नुका साथै अरूको गीतको कम्पोजिङमा पनि त्यति नै ध्यान दिनेछु। गत वर्ष 'आत्मा' एल्बमको ट्र्याजिडी भर्सन निकाल्ने सोच थियो। तर, निकाल्न सकिएन। २०७० सालमा पक्कै निकाल्नेछु।
मिग्मा शेर्पा, गायक
नयाँ वर्षमा पोखरामा हुनेछु। त्यहाँ मेरो कार्यक्रम छ। कार्यक्रमपछि साथीभाइसँग घुमेर, रमाइलो गरेर नयाँ वर्ष मनाइनेछ। पछिल्लो नयाँ वर्षमा पनि कार्यक्रममै व्यस्त थिएँ। त्यतिबेला जापानमा थिएँ। २०६९ सालमा एमआर कम्पनीको स्थापना गरेको छु। २०७० सालमा यस कम्पनीलाई राम्रो बनाउँदै लग्नेछु। यस कम्पनीमार्फत सोसियल च्यारिटी शोहरू गर्नेछु। शोबाट उठेको पैसा अनाथ र अपांग बच्चाहरूको सहयोगका लागि दिनेछु। वर्षमा तीनचारवटा नयाँ वर्ष मनाइन्छन्।
संयम पुरी, अभिनेता
चैत ३१ गते पोखरा जान्छु। वैशाख १ गते त्यहीँ मनाइन्छ। साथीभाइ मिलेर आफ्नै पाराले नयाँ वर्ष मनाइन्छ र रमाइलो गरिन्छ। अरू नयाँ वर्षभन्दा नेपाली नयाँ वर्ष नै मलाई बढी मन पर्छ। अंग्रेजी न्यू इयरमा बढी चहलपहल भएको देख्दा मन खिन्न हुन्छ। ममी नेवार भएकाले मामाघर गएर नेवारी नयाँ वर्ष मनाइन्छ। २०७० सालमा अभिनयलाई अझ सशक्त बनाइनेछु।
प्रस्तुतिः संगीता

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार