Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

‘दिमाग होइन, सेन्टिमेन्ट चाहिन्छ'

E-mail Print
युवा पुस्ताका प्रतिभाशाली गायक हुन्, हेमन्त राना। उनका ‘लैजा रे', ‘पाप पुण्य' जस्ता गीत अत्यधिक लोकप्रिय छन्। ‘सिक्स्थ सेन्स' ब्यान्डमा पनि आबद्ध छन् उनी। यस ब्यान्डले रेस्टुरेन्टहरूमा सुफी गीत गाउँछ। हेमन्तको सांगीतिक यात्राको सेरोफेरोमा रहेर सजना बरालले गरेको अन्तरंग कुराकानीः

खै, के विषयमा कुरा गर्ने होला? तपाईं नै भन्नुस् न!

जे विषयमा गरे पनि हुन्छ। तर, मलाई व्यक्तिगतभन्दा व्यावसायिक प्रश्न सोध्नुभयो भने बढी खुशी हुनेछु।

तर, तपाईंका फ्यानहरूलाई तपाईंको व्यक्तिगत जीवनबारे जान्ने मन होला।
व्यक्तिगत भनेपछि लभ अफेयरकै कुरा त आउने होला नि। कति चोटि भन्नु! फ्यानको कानै पाक्ने गरी भनिसकेको छु।

के भन्नुभएको छ?
हरे, घुमिफिरी त्यही कुरा! मेरी प्रेमिका छैनन्। म ‘एक्लो' छु। बिहेको कुरा अहिले मेरो दिमागमै छैन। म काममै दत्तचित्त भएर लागिरहेको छु।

ए हो र?
यस विषयमा अरू कुरा नगरौँ, है?

ट्रयाजिडी परेको छ कि क्या हो?
होइन। यतिबेला मेरो कामको लागि समय अनुकूल भएको छ। मौकाको सदुपयोग नगरे अघि बढ्न सकिन्न। अरू कुरामा समय खर्चिने बेला छैन मेरो।

तपाईं दाङको मान्छे होइन?
दाङमा जन्मेको हुँ। हुर्केको चाहिँ बर्दिया र नेपालगञ्जमा हो।

उसु खेल्न चाहिँ कहाँ सिक्नुभयो?
नेपालगञ्जमा। धर्मराज थापा भन्ने मेरो मामा कराते खेल्नुहुन्थ्यो। उहाँले नै मलाई सिकाउनुभएको हो। पछि करातेबाट उसुमा जम्प गरेको थिएँ। उसु खेलाडीका रूपमा चिनिने ठूलो सपना थियो मेरो। चारपाँचवटा नेसनल गेममा पनि भाग लिएको थिएँ। मेडल पनि जितेको छु।

राम्रो फर्ममा पुग्नुभएको रहेछ। किन खेल्न छोड्नुभयो?
त्यतिबेला द्वन्दकाल थियो। देश अशान्त थियो। खेलकुदका लागि सरकारले बजेट नै छुट्याउँदैन थियो। हामी दिनको सातआठ घण्टा ट्रेनिङ गर्थ्यौं। तर, आफ्नो प्रतिभा देखाउने प्लेटफर्म थिएन। पैसा पनि सुको कमाइन्थेन। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा हामीले भाग लिन पाउँथेनौँ। केका लागि खेल्ने भने जस्तो लाग्यो अनि छोडिदिएँ।

आफ्नो प्रतिभा अथवा सिर्जनालाई प्रष्फुटन गर्न पाइएन भने साह्रै नमज्जा हुन्छ नि?
एकदम। आफूमा भएको सीपलाई देखाउन पाइएन भने उकुसमुकुस हुन्छ किनभने हामी आफ्नो कामको एप्रिसिएसन चाहन्छौँ। मलाई उसु खेलमा लगाव थियो। त्यसैमा करिअर बनाउने रहर थियो। तर, मैले मेरो सीप अरूलाई देखाउने अवसर पाइनँ। त्यसले मलाई निकै फ्रस्ट्रेटेड बनायो।

त्यसपछि संगीततिर लाग्नुभयो। एक्कासि गाउन थाल्नु भा'थ्यो कि पहिले पनि गाउनुहुन्थ्यो?
फाट्टफुट्ट गाउँथेँ। तर, गीतसंगीतमै लागौँला भनेर सोचेको थिइनँ। गायन क्षेत्रमा त म रातारात लागेको हुँ। एक दिन एउटा बारमा गएको थिएँ। त्यहाँ अरूले नै गाउँदै थिए। मेरो साथीले ‘तिमी पनि गाइदेऊ' भन्यो। ट्राई मारौँ न त भनेर गाएको थिएँ। त्यहाँ ‘सम्झना अडियो-भिडियो'का रमन श्रेष्ठ दाइ आउनुभएको रहेछ। उहाँले ‘तिम्रो स्वर राम्रो छ, एल्बम गर' भनेर एल्बमको लागि कन्ट्र्याक्ट दिने कुरा गर्नुभयो। भोलिपल्ट उहाँको अफिस गएँ। कन्ट्र्याक्टको कुरा टाकटुक मिल्यो। ‘पाप पुण्य' बोलको गीत आफैँले लेखेँ। रेकर्ड गराएँ। तर, रेकर्ड गरेको चारपाँच वर्षपछि मात्रै एल्बम रिलिज भयो। मेरो गीत खासै चलेन।

त्यतिबेला तपाईं दोस्रोचोटि फ्रस्ट्रेटेड हुनुभयो होला?
न गेममा राम्रो हुन्छ, न गीत चल्छ। जे गरे पनि नहुने रैछ भनेर फ्रस्ट्रेटेड भएको थिएँ। दिक्क लाग्थ्यो। मेरा सपना टुट्दै थिए। तर, मैले कहिल्यै हार मानिनँ। जे हुन्छ, राम्रैका लागि हुन्छ भनेर मन बुझाउँथे।

काठमाडौँमा एक्लै बस्नुहुन्थ्यो/हुन्छ। तपाईलाई विचलित भएका बेला कसले सहारा दिन्थ्यो?
सेल्फ मोटिभेसन भन्ने चिज एकदमै महŒवपूर्ण हुन्छ। आफ्ना लागि आफूले भन्दा बढी अरू कसैले सहारा दिन सक्दैन। ठक्कर खाएपछि चेत पनि खुल्दै जान्छ। मेरी आमाले जहिले पनि एउटा कुरा भन्ने गर्नुहुन्छ, ‘तिमीले जति क्वान्टिटीमा दुःख गरेका छौ, त्यति नै क्वान्टिटीमा सुख पनि पाउनेछौ।' उहाँको कुराले मलाई सधैं सहारा दिने गरेको छ।

ब्यान्ड पनि छ हैन तपाईंको?
हो। ‘सिक्स्थ सेन्स' भन्ने ब्यान्ड छ। तीनजना छौँ ब्यान्डमा। उपत्यकाका रेस्टुरेन्टमा गाउँछौ/बजाउँझौँ। ब्यान्डसँग चाहिँ म प्रायः सुफी सङ गाउँछु। नेपालमा सुफी भिœयाएको हामीले नै हो सायद।

सुफीलाई किन टार्गेट गर्नुभयो?
सबैले गरिआएको कुराभन्दा अलि फरक गर्ने सोच थियो। नेपालमा सुफी गाउने चलन थिएन। हामी नै सुरु गर्दिऊँ भनेर हो।

के हो सुफी वास्तवमा?
इस्लाम धर्मका अल्लाहप्रति समर्पित र अल्लाहकै लागि गाइएको गीत हो सुफी। संगीतको स्पिरिचुअल र डिभोसनल विधा हो। सुफी गीत पाकिस्तान र भारतमा निकै गाइन्छन्।

‘लैजा रे' लाई पनि सुफी भन्छन् नि त?
सुफी भन्नेबित्तिकै उर्दू आउनुपर्छ। नेपाली शब्द भएपछि सुफी हुँदै हुँदैन। ‘लैजा रे' नेपाली पप-आधुनिक गीत हो। विदेशमा रहेका नेपालीले देश सम्भि्कएर उतै जान खोजेको थिममा गाइएको गीत हो त्यो। मैले सोलो एल्बममा सुफी गाएकै छैन। रेस्टुरेन्टहरूमा ब्यान्डसँग मात्रै गाउँछु। ‘लैजा रे' लाई सुफी भनेर गलत प्रचार गरिएको छ।

अल्लाहको स्तुति गाउनुहुन्छ। भगवान्मा विश्वास छ?
छ।

भगवान् हुन्छन् र?
शिव, पार्वती टाइपका टाउको पछाडि औरा र चार हात भएका भगवान् हुन्छन् भन्ने मलाई लाग्दैन। तर, यो संसारलाई चलाउने, नियमबद्ध र गतिशील बनाउने कुनै न कुनै शक्ति छ जस्तो लाग्छ। नत्र त नङ काटेपछि नबढ्नु पर्ने, बेलुका अस्ताएको सूर्य बिहान फेरि नउदाउनुपर्ने, हावा नबहनुपर्ने!
यहाँ केही मान्छेलाई भगवान् नै मानिएको छ। मान्छे भगवान् हुन सक्छ?
मान्छे भगवान् होइन, महान् हुन सक्छ। दार्शनिक हुन सक्छ। किनभने, भगवान् हुनलाई सुपरन्याचुरल पावर चाहिन्छ। त्यो मान्छेमा हुँदैन।

अरू बेला गाउँदा ब्यान्ड चाहिँदो रहेछ तपाईंलाई। तर, एल्बम निकाल्दा सोलो गर्नुहुन्छ नि?
पहिलो एल्बम(‘पाप पुण्य') निकाल्दा ब्यान्ड बनेकै थिएन। दोस्रो (‘लैजा रे') निकाल्दा भर्खर-भर्खर फर्म भाथ्यो। तेस्रो(‘मेरो आकाश') एक हप्ताभित्रमा रिलिज गर्छु। यो तयार पार्दा चाहिँ केटाहरू आ-आफ्नै प्रोजेक्टमा व्यस्त थिए। तर, हामीले नेपाली फोक बेस्ड गीत समेटेर एल्बम निकाल्ने विचार गरेका छौँ। निकट भविष्यमै हेमन्त रानालाई ब्यान्डसँगै देख्न पाउनुहुनेछ।

खेलकुद र संगीत दुवै क्षेत्रको अनुभव छ तपाईंसँग। यी दुईबीच कुनै सम्बन्ध छ?
दुवै कला हुन्। दुइटै क्षेत्रमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा मुख्य हुन्छ। उसुमा तरबार वा स्टिकको कला देखाउनुपर्छ। यसमा दिमागको आवश्यकता पर्छ। फिजिकल र मेन्टल पावर चाहिन्छ। संगीत चाहिँ आत्मादेखि आउने कुरा हो। यसमा दिमागभन्दा पनि सेन्टिमेन्ट चाहिन्छ । गेम आत्माले खेल्न मिलेन। मैले फरक पनि छुट्याइदिएँ है।

मान्छे आत्माले भनेअनुसार चल्नुपर्छ कि दिमागले?
परिस्थितिअनुसार चल्नुपर्छ। भनेँ नि, खेलकुदमा दिमागको ज्यादा प्रयोग गर्नुपर्छ। संगीत आत्मादेखि गर्ने कुरा हो।
परिवारमा को-को हुनुहुन्छ?
ममी,बुवा, एक जना दिदी र तीन जना दाजुभाइ छौँ। मेरा दिदी, भाइ र दाइहरू सबैजना विदेशमा छन्। ममी-बुवा नेपालगञ्जमा बस्नुहुन्छ।
दाजुदिदीहरू सबै विदेशमा हुनुहुँदो रहेछ। तपाईं पनि पछि उतै सेटल हुने होला नि?
उहाँहरू जहिले पनि पर्टिकुलर देशमा बस्नुहुन्छ। तर, म वर्षको पाँचछवटा देशमा पुग्छु। विदेशमा सेटल हुनुपर्ने आवश्यकतै छैन मलाई।
स्कुलमा छँदा पढाइ कस्तो थियो?
म एभरेज विद्यार्थी थिएँ। पढाइमा इन्टरेस्ट नै थिएन। एसएलसी पनि सेकेन्ड डिभिजनमा पास गरेको हुँ। मेरो जम्माजम्मी पढाइ भनेको बिएड हो। त्यति पनि बल्लतल्ल, झुन्डिँदै पास गरेको थिएँ।
फिल्मका गीत पनि गाउनुहुन्छ। तिनमा फ्रिडम हुँदैन भन्छन् नि गायकहरू।
फिल्मका गीत हामीले आफ्नो लागि होइन, क्यारेक्टरका लागि गाउनुपर्छ। उसको अवस्थाअनुसार गाउनुपर्छ। त्यस हिसाबले फ्रिडम हुँदैन भनेका होलान्। तर, अन्य गीत पनि त थिमअनुसार गाउनुपर्छ। फ्रिडम त्यहाँ पनि हुँदैन।
विदेशमा गाउँदा र यहाँ गाउँदाको अन्तर?
यहाँ गाउँदा मानिसहरू मनोरञ्जनका लागि मेरो कार्यक्रम हेर्न आउँछन्। विदेशका नेपालीहरू देश सम्भि्कएर कार्यक्रममा आउँछन्। उनीहरू लोक शैलीका गीत सुन्न रुचाउँछन्। तर, नेपालमा भने मोडर्न, पप, रक खालका गीत खोज्छन्।
विदेश जाँदा भएको एउटा रमाइलो घटना सम्भि्कनुस् न।
एकचोटि गायिका सिन्धु मल्ल र म अस्ट्रेलिया गएका थियौँ। एयरपोर्टमा हामीलाई रिसिभ गर्न आएको मान्छेले सिन्धुलाई त चिन्यो, मेरो चाहिँ नाममात्रै सुनेको रहेछ उसले। अनुहार चिनेको रहेनछ। सिन्धुलाई नमस्कार गरेपछि मनजिकै आएर ‘हेमन्त खोइ त?' भनेर कराउन थाल्यो। मलाई पनि ‘हेमन्त कता गयो?' भनेर सोध्यो। म वाल्ल परेँ।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार