Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

कुन भल्गर?

E-mail Print
शब्दकोषहरूमा ‘भल्गर' शब्दको अर्थ दिइएको छ- सम्पत्तिको अनावश्यक प्रदर्शन गर्ने धनी व्यक्ति, पाखे, भैमाले, नराम्रो, बेस्वादको। मानिसको आँखामा नराम्रोसँग बिझ्ने सबै वस्तु र मानिसको मनमा नराम्रोसँग गढ्ने सबै विषय ‘भल्गर'को श्रेणीमा पर्छन्। नेपालको सन्दर्भमा हाम्रो चरम दरिद्रता ‘भल्गर' हो। यसलाई स्वीकार नगर्ने कोही छैन। तर, यथार्थ स्वीकार गर्दागर्दै पनि नेपाली समाजमा आफ्नो दम्भ र पाखण्ड प्रदर्शन गर्नेहरू थुप्रै छन्।

...
समाज र विज्ञान शून्यमा खडा हु"दैन। सभ्यताको निर्माणमा यी दुई प्रमुख तत्वको योगदान महत्वपूर्ण रहन्छ। धन, जनताको मत, सञ्चार माध्यमहरुको चासो र हरेक विषयलाई समाजमा स्थापित गराउन भूमिका खेल्ने मानिसको समूहले यी दुवै तŒवका लागि आधार प्रदान गर्छन्। धर्म, राजनीति र मानिसका जीवनका अन्य जटिलताहरुले सभ्यताको निर्माण गरिरहेका हुन्छन्। संसारका सबै सभ्यताले समयअनुसार सामाजिक जीवनमा आएका नया" चालचलनलाई अपनाउँदै आएका छन्।
के हो अश्लील? अनि के हो श्लील? शताब्दीयौँदेखि मानिस यी दुई शब्दको अर्थ खोजिरहेको छ। नेपाली समाजमा पनि यो विवाद कायम छ। विवाद कहिले चर्किन्छ, कहिले मत्थर हुन्छ। असी प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्ने हाम्रो देशमा सामाजिक नियम, सभ्यता र सदाचारको परिभाषा सधँै शहरले निर्धारण गर्ने गरेको छ। यद्यपि, आधुनिक समाजमा प्रचलित चालचलन, रीतिथिति र बानी-व्यहोरालाई पछ्याउने मामिलामा ग्रामीण समाज नै अगाडि देखिन्छ। अंग्रेजी शब्द ‘भल्गर' को नेपाली अनुवादका रूपमा स्थापित भएको अश्लील शब्दको कुनै सरकारी परिभाषा छैन। परम्परादेखि जेलाई अश्लील भनिँदै आएको छ, त्यसलाई नेपाली समाजले यथावत् स्वीकार गरेको पनि छैन। हिन्दू धर्मका विभिन्न सम्प्रदायका पण्डितहरुले पुराणको अर्थ लगाउने र व्याख्या गर्ने क्रममा आफूखुसी यस शब्दको अर्थ लगाउने गरेका छन्। काठमाडौँस्थित वैष्णव धर्मावलम्वीहरुको एक पीठमा एकजना कथावाचक व्याख्या गर्दै थिए, ‘आजको हाम्रो हिन्दू समाज अश्लीलताको आक्रमणमा परेको छ। उता, मुसलमान महिलाहरु टाउकोदेखि पैतालासम्म कालो कपडाले ढपक्क ढाकिएर हिँड्छन्। शरीरको कुनै पनि अंगको एक छेउसम्म देखाउ"दैनन् भने उनीहरुका अगाडि हाम्रा हिन्दू महिलाले नांगिएर हिँडन मिल्छ?'
हिजो जे अश्लील देखिन्थ्यो, आज त्यही श्लील भएको छ। शब्दकोषहरुमा यी शब्दका अर्थ बेग्लाबेग्लै छन्। बदलिँदो समाजलाई पढेलेेखेका मानिसले कसरी बुझेका छन् भन्दा पनि समाजको नेतृत्व गरिरहेका सरकारी पदाधिकारीलगायत विभिन्न पेसा र वर्गका व्यक्तिहरुले कुन पृष्ठभूमिमा कस्तो शिक्षा पाएका छन्, त्यसैअनुसार अश्लील शब्दको अर्थ र व्याख्या गरिएको पाइन्छ। २००७ सालको क्रान्तिपछि आधुनिक युगमा प्रवेश गरेको नेपालमा पछिसम्म पनि व्रतबन्ध गरेका ब्राह्मणलगायत कथित उच्च जातिका मानिसले धोती नफेरी भात खायो भने उसलाई कांग्रेस भनिन्थ्यो। तीस-पैँतिस वर्षअघिसम्म पनि अंग्रेजीलाई ‘गाई खाने भाषा' का रूपमा परिभाषित गरिन्थ्यो। अंग्रेजी ‘म्लेच्छ भाषा' भएकाले वेद पढने ब्राह्मणका लागि अंग्रेजी पढ्नु वाञ्छनीय थिएन।
२००७ सालको परिवर्तनपछि काठमाडौँमा सिनेमाघरहरु खुले। कामिनी कौशल, नर्गिश, वैजयन्ती माला, मीना कुमारी, साधना, माला सिन्हा, आशा पारेखलगायत हिन्दी सिनेमाका पुराना र ठूला अभिनेत्रीहरुको पहिरनमा पर्याप्त ‘सेक्स अपिल' हुन्थ्यो। त्यतिमात्रै होइन, धार्मिक सिनेमाका नायिकाहरुको पोसाकमा पनि उत्तिकै ‘सेक्स अपिल' हुन्थ्यो। त्यतिले नपुगेर, स्वर्गका दृश्यहरू संयोजन गरेर अप्सराहरुको मादक नृत्यहरुको पनि आकर्षक ढंगले संयोजन गरिन्थ्यो। काठमाडौँ र काठमाडौँबाहिरको सानो शहरी समाजले त्यसलाई आत्मसात् गरेको थियो। शर्मिला टैगोरले ‘एन इभिनिङ इन पेरिस'मा बिकिनी लगाएर गरेको अभिनयलाई समेत समाजले स्वीकार गरेको थियो।
भारतीय सिनेमाले नेपालको जनजीवनमा पारेको प्रभाव थुप्रै भए पनि फेशनको दुनियाँमा नेपालका शहरहरू मौलिक हिसाबले आधुनिक भएका थिए। विदेशी सेनामा काम गर्ने सैनिकका परिवारले सानो धरानलाई नेपालकै सबैभन्दा आधुनिक शहर बनाए। तेस्रो मुलुकहरुसँग नेपालको प्रत्यक्ष सम्पर्कले गर्दा नेपाली जनजीवन बढी उदात्त र उदार रह्यो। पश्चिमी सभ्यताका कतिपय प्रयोग पर्यटकसँगै नेपाल भित्रिए। नेपालमा उपभोक्ता संस्कृतिले पाइलो चालेपछि डली गुरुङ देखापरिन्, पहिलो मोडलका रूपमा। बजारमा उनको उपस्थितिले चमत्कार गर्योा। डलीको मोडलिङमा मौलिकता थियो। अहिले मोडलहरुको दुःख छैन, मोडल बन्ने चाहनाको पनि दुःख छैन। डलीका लागि मोडलिङ सोख थियो। अहिले धेरैले मोडलिङलाई पेसा बनाएका छन्।
गणतन्त्र भइसकेपछिको नेपालको शहरी समाजले मोडल, फेशन, सौन्दर्यजस्ता कुरामा आफ्नो निश्चित मत बनाउन सकेको छैन। राजनीतिको स्पष्ट धार बन्न सकेको छैन। अनुदार राजनीतिको बाटो उदार अर्थनीति र प्रजातान्त्रिक शासन पद्धति हु"दै साम्यवादको प्रयोगभूमिका रूपमा देखापर्न थालेको हाम्रो समाजमा यता आएर थुप्रै पाखण्डहरु जीवित हुन थालेका छन्। मानिसले के पढ्ने, के हेर्ने, के खाने जस्ता कुरामा राज्यको चासो अनावश्यक रूपले बढ्न थालेको छ।
गरिबी अश्लील हो कि मोडलका आकर्षक तस्बिरहरु? यो प्रश्नको जवाफ मिश्रित छ। समाजका प्रतिष्ठित व्यक्तिहरू चरम गरिबीप्रति घृणा होइन, व्यर्थको सहानुभूति ओकल्छन्। कुकुर र मानिसको जीवनमा फरक नभएको अभिव्यक्ति दिन्छन्, चरम दरिद्रताको तस्बिर देखेर। तर, नया" पुस्ताका मानिसहरु भने सजग र सचेत छन्। उनीहरुको विचारमा सोखले अंग प्रदर्शन गर्न पाइन्छ र त्यो चाहिन्छ पनि। जसलाई अंग प्रदर्शन राम्रो लाग्दैन, त्यसले नहेरे भइहाल्यो। नया" पुस्तालाई थाहा छ- नग्नता पनि अहिलेको आवश्यकता हो। कसैले मोडलिङलाई व्यवसाय बनाएका छन् भने त्यसलाई सहज रूपले स्वीकार गर्नुपर्छ। मोडलको फोटो नेगेटिभमात्रै होइन, यसको सन्देश पोजेटिभ पनि छ।

शुक्रवारले जनमत बुझ्ने प्रयत्न गरेको थियो : अश्लील कुन हो, भल्गर कुन हो? गरिबी कि सौन्दर्य? सजना बराल, सुकृत नेपाल, अम्मर जिसी र संगीता श्रेष्ठले यहाँ प्रकाशित दुइटा फोटो देखाएर विभिन्न व्यक्तिका मत संकलन गरेका छन्। उनीहरूले जोरजाम गरेको जनमत यस्तो छ :


विपन्न शरीरधारीलाई शरीर भनेको जोगाउने विषय हो, देखाउने वस्तु होइन। विपन्नको फोटो अश्लील हुने कुरै भएन। मोडलको तस्बिरमा बडो प्रयत्नले साधारण रूपमा लगाएका स-साना लुगा तन्काएर अंग देखाउने प्रयास छ। यो अश्लील चित्र होइन। गरिब बच्चाको फोटो खिच्नेले पहिले अर्थ देखेर खिचेको हो। युवतीको फोटो पनि अर्थ बोकेरै खिचिएको हो। त्यसैले गरिबको फोटोले सुन्नेलाई भन्छ, युवतीको फोटोले तानिनेलाई तान्छ। चित्रले केही भन्दैन। हामी के भन्छौँ, त्यो महŒवपूर्ण हो। गरिबको चित्रले गरिबी हेरेर बानी परेको हाम्रो दृष्टिलाई फेरि एकपटक व्यंग्य गर्छ। युवतीको फोटोले आफैँमा केही भन्दैन। युवतीको भावनाशृ्न्य अभिव्यक्ति छ। कुनै फोटोग्राफरको अगाडि, कुनै निर्देशकले तयारी गर्दागर्दै रित्तो भएको अभिव्यक्ति हो त्यो। त्यस फोटोले आफैँमा धेरै केही भन्दैन। गरिबको फोटोले धेरै भन्छ किनकि त्यो स्वाभाविक अवस्था र जीवनको फोटो हो, जुन पात्रलाई थाहा छैन। अश्लील फोटो अलिक हदैसम्म नग्न हुने अनि अभिव्यक्तिमा अलिक सेक्सुआलिटीका भाव राख्ने किसिमको हुन्छ। तर यहाँनेर कसले कसलाई अश्लील बनाएर प्रयोग गर्न खोज्दै छ, त्यहाँबाट अर्थमा पस्नुपर्छ।
डा. अभि सुवेदी, साहित्यकार
यी दुई तस्बिरमध्ये यी (मोडलको तस्बिर) बजारु तरुनी हुन्, जो आफूलाई बिक्रीका लागि राखिएजसरी प्रस्तुत भएकी छिन्। अर्को तस्बिर चाहिँ ममतामयी आमा हुन्, जो सृष्टिको छेउमा सुतिरहेकी छिन्। गरिबीको चित्र यसमा देखिन्छ। अर्कोमा विलास देखिन्छ। आँखालाई विलास हेर्न मन परे पनि गरिबी यथार्थ भएकाले त्यसलाई पन्छाउन सकिँदैन। अहिले संसारभर सुन्दरतालाई अश्लीलताको खोल ओढाएर व्यापार गरिँदै छ। मोडलको तस्बिरले दरुण अवस्थालाई उपहास गरिरहेको छ। सौन्दर्यलाई कसरी प्रस्तुत गरिन्छ भन्ने महŒवपूर्ण कुरा हो। सौन्दर्यलाई छाडा रूपमा प्रस्तुत गर्दा त्यसले समाजलाई भाँडभैलोतिर लान्छ। मानिसको नैतिक र सांस्कृतिक चेतनाको स्तर जस्तो छ, त्यस्तै चिज रुचाउने हो। मानिसले रुचाए भन्दैमा खुला हुँदै जाने हो भने त्यसले मानिसलाई थप अनैतिक र तल्लो स्तरमा पुर्याेउँछ।
खगेन्द्र संग्रौला, साहित्यकार

महिला अधिकारका हिसाबले दुवै तस्बिर अश्लील छन्। दुवैमा महिलाको अधिकार र अस्तित्व हनन भएको दृश्य छ। तर, सामान्य अर्थमा भन्दा हेर्नलायक वा आँखामा नबिझ्ने खालको फोटो चाहिँ युवतीको नै छ। यसमा कम्तीमा सुखद क्षणको चित्रण त छ। उनले स्वेच्छाले वा आफूलाई पुरुषसमान देखाउन यस्तो फोटो खिचाएकी हुन् भने ठीकै छ नि। अर्काको दुःखभन्दा सुखै हेर्नु बेस!
कला राई, महिला अधिकारकर्मी
यी दुई तस्बिरको कम्बिनेसन नै मिलेन। एउटामा युवतीको लालाबालालाई पनि कसरी यस्तो मोडलसँग दाज्नु? बच्चीहरूको फोटो असाध्यै पीडादायक छ। हेर्दा आङै जिरिङ्ङ हुन्छ। युवतीको तस्बिरमा चाहिँ सौन्दर्यभन्दा बेसी एक्सपोजिसन छ। योे लवाइ हाम्रो समाजले नपचाउने खालको छ। यसर्थ उनको तस्बिर अश्लील मान्न सकिन्छ। बच्चीहरूको अवस्थालाई पनि समाजले रुचाउँदैन। तर, यो भल्गारिटी होइन, बाध्यता हो। उनीहरूको तस्बिर नदेखाएको भए म युवतीको फोटोलाई रामै्र छ भन्दिन्थेँ।
न्ह्यू वज्राचार्य, संगीतकार
यस तस्बिरले समाजमा स्वस्फूर्त रूपमा परिआउने घटनालाई देखाएको छ। यसमा यथार्थ छ। गरिबी र अज्ञानताको झलक छ। महŒवपूर्ण कुरा, यसमा बनावटीपन छैन। त्यसकारण मलाई बालबालिका भएको फोटो मन पर्यो । यसले मलाई दुःखी त बनायो तर त्यस्तो चिसो भुँइमा मस्त सुतेकी महिलाको अवस्था देख्दा रमाइलो पनि लाग्यो। रमाइलो यस अर्थमा कि उनी त्यस्तै जिन्दगीदेखि सन्तुष्ट छिन् सायद। अर्को फोटो (मोडलको) चाहिँ हेर्नलाई सुन्दर भए पनि यसमा सौन्दर्य भन्ने कुरै छैन। हामी त ट्वाइलेटमा नुहाउँदासमेत पेेटिकोट लगाएर नुहाउनुपर्छ भन्ने संस्कारका मान्छे हौँ। यस अर्थमा युवतीको फोटोलाई म अश्लील भन्छु।
कोमल वली, गायिका
हेर्दाखेरि दुःख लागे पनि मलाई बालबालिकासहितको फोटो हेर्नलायक लाग्यो। किनभने यसले केही मिनिङ (अर्थ) दिन्छ। समाजको दुःख र पीडा बोलेको छ यसले। यसको विश्लेषण गरिराख्नु पर्दैन। तर, युवतीको फोटोेले के भन्न खोजेको, त्यो मैले बुझिनँ। अर्थहीन फोटोलाई मन पराउँछु भन्न म चाहन्नँ। आवश्यक नभई यस्तो गर्नु मेरा लागि अश्लीलता हो।
मन्दिरा शर्मा, महिला अधिकारकर्मीं
दुवै तस्बिर अश्लील छन् वास्तवमा। तर, गरिबीका कारण भुइँमा जनावर (कुकुर) सँगै सुत्न पुगेकी महिला र उनका छोराछोरीको अवस्थालाई अश्लील भन्न हाम्रो आत्माले मान्दैन। बरु यसले उनीहरूप्रति करुणा र दयाको भाव जगाउँछ। उनीहरूको अवस्थाले हामीलाई चुकचुकाउन बाध्य बनाउँछ। विकल्प नभएपछि मान्छेको के लाग्छ? मोडलले यही पहिरनमा कम्मरसम्मको मात्रै फोटो खिचेको भए पनि यो अश्लील हुन्थेन। तर, त्यसभन्दा मुन्तिरको भाग, जहाँ उनले आफ्नो भित्री पहिरन देखाएकी छिन्, त्यसले यसलाई अश्लील बनाएको हो।
सिर्जना राणा, निर्देशक, होटल अन्नपूर्ण
युवतीको फोटोलाई म इन्टरटेन गर्दिनँ। महिलाले शरीर देखाएको भन्दा छोपेको नै राम्रो हुन्छ। जवानीमा उदांगो भएका महिलाले कालान्तरमा दुःख पाएका घटना मैले धेरै देखेकी छु। महिला-पुरुष समान भनिए पनि हाम्रो समाज महिलाको पक्षमा छैन। तर, गरिब महिला र दुई अबोध बच्चाबच्चीको फोटोले सम्पूर्ण मानिसलाई घोत्लिन बाध्य बनाउँछ। त्यसले अभावग्रस्त अवस्थाको चित्रण गरेको छ। दुःखद दृश्य र पीडादायी क्षण बुझाएको छ। त्यहाँ देखिएका केटाकेटी नांगा भए पनि तिनलाई अश्लील भन्न मिल्दैन।
बबिता बस्नेत, पत्रकार
एउटा फोटोमा राजीखुसी नांगिएको अवस्था छ, अर्कोमा गरिबीले नंग्याएको छ। गरिबी घटाउनुपर्छ। सबैलाई गाँस, बास र कपासको व्यवस्था गरिदिनुपर्छ। त्यसमा कुनै विवाद छैन। तर, पैसाका लागि नांगिने कुरालाई हामी नराम्रो भन्छौँ। कसैले व्यावसायिक रूपमा जे गरेर फाइदा हुन्छ, त्यही गर्छन्। त्यसलाई हामीले स्वीकार गर्न सक्नुपर्छ। नेपाली समाज परिवर्तन हुँदै छ। अब सबैले यस्ता कुरालाई सहज रूपमा लिनुपर्छ। हाम्रो बानी पनि खराब छ। आफ्ना दिदीबहिनी, श्रीमतीलाई छोटा कपडा लगाएको देख्न नसक्ने तर अरूलाई भने नांगै भएको देख्न चाहन्छौँ। त्यसैले यी तस्बिर होइन, यस्ता भावना अश्लील हुन्।
दिवेश बानिया, कोअर्डिनेटर, पद्माश्री इन्टरनेसनल कलेज
एउटामा केही नभएर नांगो, अर्कोमा चाहीँ बढी भएर नांगिएको फोटो रहेछ। बढी भएर नांगिनेका कपडा लिएर नहुनेहरूलाई बाँड्नुपर्छ। हाम्रा लागि त त्यस्ता तस्बिर खुराक हुन्छन् नि! त्यस्ता तस्बिरलाई अश्लील चाहिँ नभनिहालौँ। यो पनि समाजकै माग हो। जसलाई यस्ता लुगा लगाउन मन छ, उसले लगाउने । मन नहुनेले सभ्य भएर हिँडे भैगो नि।
विवेक के सुवेदी, विद्यार्थी

दुइटै फोटो भल्गर छैनन्। एउटा फोटोले गरिबी देखाएको छ। त्यसलाई निवारण गर्न हुनेखानेले सहयोग गर्नुपर्छ। सरकारले पनि उपाय निकाल्नुपर्छ। युवती चाहिँ सोखले नांगिएकी छन्। त्यो चाहिन्छ र पाइन्छ पनि। सबैलाई आफ्नो स्वतन्त्रता चाहिन्छ। राम्रो नलाग्नेले नहेरे कुरै खत्तम!
रचित श्रेष्ठ, विद्यार्थी
एउटामा रमितेहरूको लागि रमिता देखाइएको छ। अर्कोमा ‘रियल' नेपालको तस्बिर छ। नेपालमा देखावटीपन बढी भयो। मान्छेहरू भात खान नपाएर भोकै छन्, कोही भने अंग प्रदर्शन गरेर तहल्का मच्चाउन व्यस्त छन्। कसैलाई त्यस्तै खुराक आवश्यक होला। तर, वास्तविकताबाट भाग्न सकिन्न।
मनोरमा सिग्देल, विद्यार्थी
यो (मोडलको तस्बिर) अहिलेको आवश्यकता हो। त्यो फोटो नेगेटिभ मात्र होइन, पोजिटिभ पनि छ। कसैलाई यही तरिकाले प्रस्तुत हुनुछ भने त्यो उसको अधिकार हो। बाध्यताले नांगिनुपर्ने अवस्थालाई पनि हामीले मनन गर्नुपर्छ। त्यसैले मलाई दुवै तस्बिर भल्गर लागेनन्।
अमित सुमन, प्रोफेसर
यी दुई फोटोको तालमेलै मिल्दैन। युवती गजबकोे खाइलाग्दी देखिन्छे भने अर्कातिर खानै नपाएका बच्चाहरू। यो तस्बिर छापिनु भनेकै महिलामाथि हिंसा गर्नु हो। मलाई थाहा छ, धेरैले यी दुई तस्बिरमध्ये गरिब महिलाको तस्बिरलाई रुचाउँदैनन् किनकि हाम्रो समाजले नकारात्मक कुरा छिटो देख्छ।
राजुमानसिंह मल्ल, कानुन सचिव

पत्रपत्रिकामा छाप्नका लागि केटीको तस्बिर ठीक छ। मलाई चाहिँ खासै मन परेन। बरु केटीको तस्बिरभन्दा अर्को तस्बिर देखेर एकदमै दुःख लाग्यो। संसारमा गरिब भन्ने जात नै नहुनुपर्ने। उनीहरूको फोटो देखेर करुणा र दयाको भाव मनमा जागेर आयो। एउटा तस्बिरमा एकदमै अश्लीलता झल्कन्छ भने अर्को तस्बिरलाई अश्लील भन्न मिल्दैन। लुगा नलगाउँदैमा अश्लील हुने हो भने त त्यस्तो कति छन् कति हाम्रो देशमा। युवतीको तस्बिरलाई अश्लील भनिन्छ किनकि यसमा युवतीले रहरले लुगा फुकालेकी छिन्।
किशोर थापा, सचिव, शहरी विकास मन्त्रालय

बच्चा र आमा सुतिरहेको फोटोमा अश्लीलता देखिँदैन। यो त आर्थिक विपन्नताले ग्रसित परिवार हो। एकदमै अशक्त अवस्थामा रहेको देखिन्छ। यसमा कुकुरको जीवन र मानिसको जीवनमा फरक देखिँदैन। अर्को ग्ल्यामरस फोटो चाहिँ रहरको नग्नता देखिन्छ। यसलाई सम्पन्ताले जन्माएको नग्नता भने हुन्छ। यो एउटा विकृति हो। मोडलको तस्बिर आजकलका युवाहरूको लागि मात्र हो। हामी नेपाली गरिबीलाई ध्यान दिँदैनौँ तर यस्ता अश्लीलतालाई भने एकदमै नियालेर हेछार्ंे। यो लज्जास्पद कुरा हो।
नारायणप्रसाद सज्जेल, सचिव, सूचना तथा सञ्चार मन्त्रालय
दुइटा तस्बिरमध्ये एउटामा अभावले नांगिएका देखिन्छन् भने अर्काेमा रहरले। यी तस्बिर हाम्रो समाजका दुई वर्गका प्रतिनिधि हुन्। हेर्न नसकिने गरिबी देखिएको तस्बिर भए पनि भल्गरचाहिँ लुगा खोलेकै तस्बिर हो।
राजकुमार राई, अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ
दुइटा तस्बिरले फरक खालका भावना सिर्जना गर्छन्। एउटामा देखिएको गरिबीले मनमा दया र पीडा उत्पन्न गराउँछ। अर्काे तस्बिरले मान्छेलाई उत्तेजित गराउँछ। अघिल्लो तस्बिर देखे पनि मान्छेका आँखा अडिँदैनन् भने अर्काे तस्बिर मान्छे नियालेर हेर्छन्। मलाई राम्ररी हेर्नुपर्ने तस्बिर नहेरेर अर्काे तस्बिर(मोडलको) मै नीति निर्माणकर्ता भुलिरहेको महसुस भएको छ। त्यसैले गरिबीको तस्बिर हेरेर आवश्यक कदम नचाल्ने सरोकारवाला निकायको सोच भल्गर हो।
मौनता श्रेष्ठ, फिल्म लेखक
सुतिरहेको महिला भएको तस्बिर नेपाली समाजको सत्य हो, अर्काे चाहिँ भ्रम। यो तस्बिरमा देखिएका यी बालबालिकाको अवस्था हेर्दा पछिल्लो तस्बिरको अवस्थामा बहुसंख्यक नेपाली आउन अझै निकै समय लाग्ने देखिन्छ। हामी सत्य लुकाउन खोज्छौँ। मान्छेलाई सत्यले भन्दा भ्रमले आकर्षित गर्छ। त्यसैले यसमा धेरैजना आकर्षित हुन्छन्। बनावटी कुरा सबै भल्गर हुन्छन्।
दयाहाङ राई, अभिनेता
एउटा तस्बिर तराई बस्ने अधिकांश नेपालीको वास्तविक जीवन हो। यसले त्यस्तो भूगोलको प्रतिनिधित्व गर्छ, जहाँ गरिबी, अशिक्षा र बेरोजागारी व्याप्त छ। अर्काे तस्बिरले पँूजीवादी बजार र आधुनिक महिलाको सौन्दर्य झल्काउँछ। मलाई दुवै तस्बिरमा कुनै भल्गारिटी छ जस्तो लाग्दैन। यी समाजका दुई फरक पाटा हुन्।
मनोज पण्डित, फिल्म निर्देशक
झट्ट हेर्दा गरिबी झल्किए पनि पछि बसिरहेको कु्कुरका कारण मान्छे र कुकुरको जीवनमा भिन्नता के? भन्ने प्रश्न उठाएको छ। केटीको तस्बिरले आँखा तान्छ, अर्काेले आँखा खान्छ। यसमा भावनात्मक कुरा जोडिन्छ। साँच्चै सोच्ने हो भने आँखा रसाउन बेर लगाउँदैन। अर्काेले चाहिँ उत्तेजना सिर्जना गर्छ। एउटा अभावले नांगिएको छ, अर्काेमा चाहिँ सम्पन्नताले। गरिबी भल्गर हुन्छ।
राजन खतिवडा, रंगकर्मी

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार