Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 26th

अरबमा खसेका केशको मूल्य

E-mail Print

'आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई!' यो पुरानो उखानमा अझै सत्यता अवश्य छ। यसपालिको दशैं धेरै नेपालीलाई ऋण पनि बोकायो होला तर नेपालको ग्रामीण भेगका गरिब बस्तीमा भने दशैंले ढोल बजाउनै सकेन। देशका धेरैजसो गाउँघर सुनसान नै बिते। लिङ्गे पिङभन्दा पनि बढी मच्चिने मन भएका उत्साही युवा मलेसिया, अरब खाडीमा रहे। अनि गाउँघरमा लिङ्गे पिङ मच्चिनु त परै जाओस्, विदेश जान उमेर नपुगेका आफ्नो उमेर १८ पुग्ने दिन कुरेर बसेकालाई पनि लिङ्गो गाड्ने जाँगर चलेन। संयोगले घर आइपुगेका एकादुईले विदेशका कथा सुनाए। युवा छोरो विदेश पठाएकाले छोराको कहानी सुनाए- 'राम्रै छ रे! पेट्रोल पम्पमा काम गर्छ रे! म आउन पाइनँ, राम्ररी दशैं मान्न भन्दै थियो।'

मलेसिया र खाडी क्षेत्रपछि तल्लो वर्गका अदक्ष कामदारका लागि विस्तारै अफ्रिकामा पनि नयाँ रोजगारी खुल्न थालेछ। 'म त अल्जेरिया गएको थिएँ, एक साताअघि मात्र फर्केको'- विद्यालयमा आयोजित पुनर्मिलन समारोहमा भेटिएमा एक स्कुले सहपाठीले सुनाए। उनले त्यहाँको ग्यास प्लान्टमा काम गरेछन्। नेपालीहरूले त्यहाँ हिरा खानी र पेट्रोलियममा काम गर्दारहेछन्। १५ वर्ष विदेश बसेर आएका उनी फेरि चाँडै फर्कने तर्खरमा थिए। उनको अवस्था खाडी जानेभन्दा केही राम्रो देखिन्थ्यो।

खाडी गएर आएका एक-दुई जना ठिटा भेटिए। उमेरमा तीस ननाघेका युवाको टाउकोमा कपाल छैन। 'त्यहाँको तातोले होला दाइ, सबै झर्‍यो। यो त अहिले धेरै पलाएको', मसिना भुवाजस्ता कपाल भएको टाउको सुम्सुम्याउँदै सुनाए एउटाले। एक दशक विदेश बसेको उसले गाउँमा इँटा लगाएर तीनकोठे घर बनाएछ। गाउँकै 'सुचिकार' ले सिलाएको 'कट्टु' लाउँथ्यो, अहिले जिन्स सर्ट-प्यान्ट लगाएको छ। पहिले उसलाई बोलाउँदा पनि नाम बिगारेर एकलखे लगाएर भन्थे- 'ए किस्ने।' अहिले ऊ कृष्ण भनेर बोलाइने अवस्थामा फर्केको छ। खाडी क्षेत्रमा नेपालीले भोग्ने दारुण कथाको प्रत्यक्ष साक्षी ऊ भन्छ- 'मिल्यो भने अलि राम्रै ठाउँमा जान्छु, फेरि पहिल्यैको ठाउँमा चाहिँ सकेसम्म जान्न होला।' बिहे गरेको एक महिनापछि घरमा श्रीमती छाडेर विदेश गएको रहेछ ऊ। छोरो साढे ३ वर्ष हुँदा बल्ल मुख देख्न पाएको छ।

शायद् मेरो गाउँ जस्तै छ- देशभरिका गाउँ। गाउँमा युवा छैनन्। कि विदेशबाट फर्केका कोही संयोगले घरमा छन्, कि विदेश जान उमेर नपुगेकाहरू आफ्नो वर्ष गनेर बसेका छन्। बच्चा, महिला र बूढापाका मात्र छन् गाउँघरमा। मान्छे मर्दा घाट लाने मान्छे छैनन्। कोही विदेश गएको छोराका लागि केटी खोज्दैछन्। केटी हेरेर खबर गरेपछि आउने खबर घरमा पठाएका छन्। पहिल्यै बिहे भइसकेकाहरूका कतिपय पत्नीचाहिँ बच्चा पढाउन भन्दै नजिकको बजारमा डेरा लिएर बस्छन्। पति विदेश गएपछि यता पत्नीले घर-खेतको काम गर्नै नहुने गरी भाउ बढेको छ। उताबाट लोग्नेले कमाएर पठाउँछ। यता पत्नी नजिकको बजारमा डेरा गर्छे। पहिले गर्ने खेतीको काम उसले छुन छाड्छे। उसको एकमात्र उद्देश्य- छोरो पढाउने बहानामा पतिको कमाइमा काम नगरी 'सुखभोग' गर्नु हुन्छ।

बजारोन्मुख गाउँहरूको पीडा त झन् बेग्लै छ। मोबाइल फोनको भरपुर दुरुपयोग गरेका छन्। कसै-कसैको त अझ घर भाँडिएर बिजोग भएको छ। पति अरबको खाडीमा ५० डिग्रीभन्दा बढी तापक्रममा मजदुरी गरेर पैसा कमाउँछ। पत्नीको नाममा पठाउँछ, यता आफूलाई फिल्मी जगतकी एक सुकुमारी सम्झेर पत्नीको प्रेमालापमा उसले अरबको कमाइ खर्चेकी छे। घरमा आउँदा न पठाएको रकम छ, न पत्नी नै आफ्नो रहेकी छे। पत्नी विदेश गएका लोग्ने मान्छे जुवा-तास र मदिरामा रल्लिएर हिँड्थे होलान् तर हाम्रो समाजमा विदेश जाने महिलाको संख्या कम भएकाले पनि पुरुषले त्यो अवसर कम पाएका होलान्। जे होस्, समग्रमा भन्दा नेपाली युवाहरू सुखको खोजीमा संसारभर फैलिएका छन्। बेरोजगारीकै कारण गाउँ खाली भएका छन्। सामाजिक सम्बन्ध पनि खल्बलिएको छ। विदेश पठाएका आमाबाबुदेखि पत्नीसम्म सबै एउटै कुरा गर्छन्- पढ्न पनि सकेन, यहाँ काम पाइन्न, अनि विदेश गयो। दशैंकै दिन पनि विदेश जानेको ताँती टुटेन। मध्य दशैंमा पनि विदेश उडे।

सुन्दा कर्णप्रिय लाग्छ- देशमै बसेर काम गर्नुपर्छ, देशका लागि गर्नुपर्छ। यो सबैलाई थाहा भएको ध्रुवसत्य कुरा हो। तर यो पनि ध्रुवसत्य हो- मान्छेले आफ्नो क्षमताको उपयोग जहाँ बस्दा बढी हुन्छ, त्यसै ठाउँमा बस्नुपर्छ। यातायात र सञ्चारको तीव्र विकासले संसार साँघुरो भएको छ। विश्वव्यापीकरणले संसारका जुनसुकै कुनामा गएर पनि नेपालीले काम गर्न सक्छन्। छ पनि त्यस्तै, शायद् संसारमा नेपाली पुगेर काम नगरेको देश छैन। अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पनि विदेशमा कमाएर पठाएको रकम (रेमिटेन्स) को छ भनेर राज्यले स्वीकार्छ। पारिवारिक विछोड, त्यसपछि जन्मने विकृति र काम गर्न गएको ठाउँमा भोग्नुपर्ने पीडाहरूबारे राज्य अवश्य जानकार छ। देशभित्र त एकैपटक लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न नसक्ला, ठीकै छ। तर, उनीहरूले कमाएको रकमको प्रयोग कहाँ गरिरहेका छन् भन्नेबारे राज्य जानकार भएजस्तो देखिँंदैन। विदेशमा कमाएको पैसा केवल फुसको छानो भएको घरको सट्टा पक्की घर बनाउनमा खर्च भएको छ। कसै-कसैले खेती गर्ने जग्गा किनेका होलान्। नत्र स्थानीय बजारछेउको १० धुर घडेरी किनेर दशौं वर्षको कमाइ खर्च भएको छ। वर्षेनी अर्बौं रूपियाँ भित्रेको छ तर सबै अनुत्पादनशील क्षेत्रमा लगानी भएको छ।

देशमा लोडसेडिङको हाहाकार छ। मेची-महाकालीका बीचबाट बग्ने ठूला-साना गरी करिब चार हजार खोलाका पानी त्यसै खेर गइरहेका छन्। उता खेत सुखा लागेको छ। सिचाइ छैन। कृषिप्रधान भनेर दशकौं नारा लगाइयो तर देशमा अहिलेसम्म एउटा पनि मल कारखाना छैन। हाइड्रो पावर बनाउनेहरू लाइसेन्स झोलामा हालेर खोला ओगट्दै छन्। देशमा पुँजीको कमी हैन, त्योभन्दा पनि ठूलो अभाव त व्यवस्थापनको छ। सिंगो दिमाग दीर्घकालीन हितमा हैन, तत्कालीन कमिशनमा खर्च गरिँदैछ। विदेशमा बगाएकेा पसिनाको कमाइ देशभित्र उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने नीति राज्यले ल्याउनुपर्छ। कम्तिमा पनि ३० देखि ४० प्रतिशत लाभांश दिने कुनै जलविद्युत् परियोजना वा अरु कुनै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने नेपालीका लागि यहीँ रोजगारी अवश्य बढ्थ्यो। बल छँदा विदेश गएर ल्याएको कमाइले बाँकी जीवन चलाउन पुग्ने लाभांश आउँथ्यो। देशभित्र आएको रकमलाई पुँजीका रूपमा विकास गर्न लगानीका लागि उत्प्रेरित गर्ने दायित्व अवश्य राज्यको हो। त्यस्ता उद्योगको कमाइ सञ्चालकले मनोमानी गर्न नसक्ने गरी अनुगमन गर्ने निकाय राज्यले खडा गर्नुपर्छ। यसो गर्न सकेमात्र विदेशमा बगाएको पसिनाले ऊ स्वयम्, राज्य र उसको भावी पुस्ता लाभान्वित हुन्छ। अरबको मरुभूमिमा खसेका नेपाली युवाका केशको मूल्य रहनेछ। अन्यथा सुख्खा याममा पाँच सय मेगावाटभन्दा पनि कम बिजुली लिएर नेपालमा औद्योगिकीकरणको गफ हाँकेर कसैले पनि पत्याउने छैन। खेतबारी पनि क्रमशः थप बाँझो हुँदै जानेछ। नेपालका भावी दशैं अरु सुनसान हुँदै जानेछन्।

प्रतिक्रियाहरू (6)add comment
0
kiran sainju: ...
माधव ढुंगेलको लेख अरबमा खसेको केशको मूल्य Nagarik News online मा पढ्न पाउदा खुसि लाग्यो/ यो लेख समय सान्दर्बिक लाग्यो, र केहि नलेखी रहन सकिन्न/ स्वदेशमा रोजगारीको अवसर नहुदा बिदेसमा काम गर्न जानु हाम्रो बिबसता हो रहर होइन्न/
निश्चय पनि बिदेस जादा लामो समय परिवारका सदस्यसँग छुटिनुपर्दाको पिडा त छदैछ,त्येसले ल्याउने पारिवारिक समन्धमा बिचलन अर्को समस्या हो/ मा कामना गर्छु, यसबारे सबै समयमै सचेत होस् पनि/
मलाई अझै पनि कोरिया जाने बेलाको प्रसिक्षनका क्षनहरु याद छन्/ जहाँ कोरियन प्रसिक्षक् हरुले जोड दिएर भनुभएको थियो कि "कोरियामा कमाएको पैसाले जग्गा किने, घर बनायो भने पैसा सबै त्येस्म सकिन्छ, र छोराछोरी फेरी बिदेसमा काम गर्न जानुपर्ने हुन्छ/ बरु त्यो पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्यो भने रोजगारीको सृजना हुन्छ र बिदेस गएर काम गर्नुपर्दैन्न/" तर हाम्रो सरकार यसबारे त्यति गम्भीर भएजस्तो लाग्दैन्/
हामी बिदेसमा कमायको सिप र पुजीले देशमा केहि गर्न चाहन्छौ/ तर देशको राजनीतिक अस्थिरता, असुरक्षा, अशान्ति अनि सहि नीति नहुदा दिक्क लगेर आउछ/यसबारे सम्बन्धित पक्षको ध्यान जाओस/

किरण सैंजु, भक्तपुर. हाल seoul Korea
1

November 03, 2012
भोट: +41
0
lokendre: ...
its true i agree with that in abroad if we learn some thing we must get chance to do business in nepal bt this politics is mean problem for us
2

November 03, 2012
भोट: +16
0
Rudra Prasad Khanal: ...
" SO NICE STATEMENT-"कोरियामा कमाएको पैसाले जग्गा किने, घर बनायो भने पैसा सबै त्येस्म सकिन्छ, र छोराछोरी फेरी बिदेसमा काम गर्न जानुपर्ने हुन्छ/ बरु त्यो पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्यो भने रोजगारीको सृजना हुन्छ र बिदेस गएर काम गर्नुपर्दैन्न/
3

November 06, 2012
भोट: +15
0
dipesh paudel: ...
माधव ढुंगेलको लेख अरबमा खसेको केशको मूल्य Nagarik News online मा पढ्न पाउदा खुसि लाग्यो सत्य हो हाम्रो देस मा सरम को मूल्य नै छैन जति कामय पनि उत्पादन हुने ठाउमा प्रयोग हुन सकेको छैन यसमा नेपाल सरकार ले पनि हेर्नु पर्ने हो तर नेपाल को सरकार लाई त बिदेस बाट दुख गरेर कमायको पैसा रेमिटेन्स को नाम मा गन्दै ठिक्क छ
4

November 08, 2012
भोट: +6
0
madan kunwor: ...
माधव धुङेल को लेख सार्है मन पर्‍यो यो हामी नेपाली भएर जन्मदै लिएर आएको पिदा हो देश मा कही कतै भने जस्तो काम पाइने होईन अनि देश को राजनीति ले सधै पीडित भएका हामी जस्ता युबा हरु दिन प्रती दिन बिदेश मा श्रम बेच्न बाधेय छौ बिदेश को दुख लाई नेपाल मा गएर कुनै सन्कल्प का साथ लगनी गरौ सधै बिदेश मा नहिदौ यो मेरो देश को लागि केहि गरौ भन्ने भाबना केबल मैले मात्र गरेर हुँदैन म जस्ता हजारौ युबा साथी हरु मिलेर देश मा केहि गरौ ;; मदन कु व र बाग्लुङ हाल कोरिया smilies/smiley.gif
5

November 11, 2012
भोट: +1
0
krishna t: ...
लेख अरबमा खसेको केशको मूल्य Nagarik News online मा पढ्न पाउदा खुसि लाग्यो/ यो लेख समय सान्दर्बिक लाग्यो, र केहि नलेखी रहन सकिन्न/ स्वदेशमा रोजगारीको अवसर नहुदा बिदेसमा काम गर्न जानु हाम्रो बिबसता हो रहर होइन्न/
निश्चय पनि बिदेस जादा लामो समय परिवारका सदस्यसँग छुटिनुपर्दाको पिडा त छदैछ,त्येसले ल्याउने पारिवारिक समन्धमा बिचलन अर्को समस्या हो/ मा कामना गर्छु, यसबारे सबै समयमै सचेत होस् पनि/
मलाई अझै पनि कोरिया जाने बेलाको प्रसिक्षनका क्षनहरु याद छन्/ जहाँ कोरियन प्रसिक्षक् हरुले जोड दिएर भनुभएको थियो कि "कोरियामा कमाएको पैसाले जग्गा किने, घर बनायो भने पैसा सबै त्येस्म सकिन्छ, र छोराछोरी फेरी बिदेसमा काम गर्न जानुपर्ने हुन्छ/ बरु त्यो पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्यो भने रोजगारीको सृजना हुन्छ र बिदेस गएर काम गर्नुपर्दैन्न/" तर हाम्रो सरकार यसबारे त्यति गम्भीर भएजस्तो लाग्दैन्/
हामी बिदेसमा कमायको सिप र पुजीले देशमा केहि गर्न चाहन्छौ/ तर देशको राजनीतिक अस्थिरता, असुरक्षा, अशान्ति अनि सहि नीति नहुदा दिक्क लगेर आउछ/यसबारे सम्बन्धित पक्षको ध्यान जाओस/
krishna timilsina
nawalparasi
present in Bahrain
6

November 12, 2012
भोट: +2

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy