Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

प्रकाशकीय

E-mail Print
सातौं लोकतन्त्र दिवससँगै नेपाल रिपब्लिक मिडियाले आजबाट चौथो वर्ष पूरा गरेको छ। हामीले यही अवसर पारेर नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन प्रारम्भ गरेका थियौं। प्रकाशनमा विविधता ल्याउने हाम्रो लक्ष्यअनुसार प्रारम्भ गरिएको शुक्रबार साप्ताहिकको प्रकाशन पनि लोकतन्त्र दिवसकै पूर्वसन्ध्यामा भएको थियो। छोटो अवधिमै हाम्रा प्रकाशनप्रति आदरणीय पाठकले देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामी निकै उत्साही छौं। नेपाली जनतालाई नागरिकका रुपमा रुपान्तरण गर्ने हाम्रो उद्देश्य प्राप्तिका लागि हामी समर्पित र प्रतिबद्ध छौं।
देशमा लोकतन्त्र पूर्ण बहालीपछि प्रकाशन प्रारम्भ भएको नागरिकले सर्वसाधारणको आवाजलाई महत्वसाथ उठाउँदै आएको छ। लोकतन्त्रलाई नेपाली नागरिकको जीवनपद्धतिका रुपमा विकास गरी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पत्रिकाको माध्यमबाट निभाउनुपर्ने भूमिकामा हामीले रत्तिभर कन्जुस्याइँ गरेका छैनौं। लोकतान्त्रिक पद्धतिको विकास, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार रक्षाजस्ता महŒवपूर्ण विषयमा हाम्रा प्रकाशनले अग्रपंक्तिमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।
आफ्ना प्रतिनिधिद्वारा लेखिएको संविधानबाट शासित हुने नेपाली नागरिकको चाहना अझै पूरा भएको छैन। संविधानसभालाई मुख्य केन्द्रबिन्दु बनाएर गरिएको दसवर्षे माओवादी विद्रोहका क्रममा हजारौं नेपालीले ज्यान गुमाउनुपर्योई। ०६२/६३ को जनआन्दोलनमा नागरिकले बगाएको रगत र परिवर्तनका पक्षमा देखाएको प्रतिबद्धताको अवमूल्यन भएको महसुस सर्वत्र हुन थालेको छ। नेपाली नागरिकले खोजेको परिवर्तनको पक्षमा राजनीतिक नेतृत्व इमानदार ढंगले प्रस्तुत नहुँदाको परिणाम हो, अहिलेको जटिल परिस्थिति। राजनीतिक रूपमा ठूलो फड्को मारिँदा पनि पद्धति निर्माण र विकासका कार्यसूचीमा देखिएको राजनीतिक उदासीनताले नेपाली नागरिकका शिरमाथि निराशाको कालो बादल मडारिइरहेको छ।
लोकतन्त्र आएको छ वर्ष भयो। तर, देशमा राजनीतिक स्थिरता र विकासको स्वाभाविक गति जनताले देख्न पाएका छैनन्। राजनीतिक रूपमा देश संक्रमणकालबाट गुजि्रए पनि विकासका मामिलामा जनताका पक्षमा उभिनुपर्ने दल तथा तिनका नेताहरू गम्भीर देखिएका छैनन्। नागरिकहरुको आकांक्षा र अपेक्षा पूरा गर्न दलहरूले जति छिटो कदम चाल्नुपर्ने हो, त्यो चालिन सकेको छैन। यो अवस्था वास्तवमा नै दुःखदायी छ।
दोस्रो संविधानसभा निर्वाचनका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद गठन गरिएको छ। असारको पहिलो सातामै निर्वाचन गरिसक्ने उद्देश्यसहित गठन गरिएको सरकारले अझै निर्वाचनको मिति घोषणा गर्न सकेको छैन। आफूहरू बीचमा नै अविश्वासको ठूलो पर्खाल लगाएर बसेका दलहरूले गैरदलीय संरचनामार्फत निर्वाचन गर्ने र शक्तिमा फर्किने बाटो पहिल्याएका छन्। निर्वाचन नहुँदासम्म न जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउँछन्, न त दलहरूको गुमेको शक्ति र साख नै फिर्ता हुने अवस्था सिर्जना हुन्छ। त्यसैले जतिसक्दो छिटो निर्वाचन सम्पन्न गरेर सबै नेपाली जनतालाई नागरिकका रुपमा स्थापित गरेर दलहरू शक्तिशाली हुने अवस्था निर्माण नगरेसम्म वर्तमान जटिलताबाट उम्किन सकिँदैन। अब हुने निर्वाचनबाट जनताले चाहेको संविधान र राजनीतिक स्थायित्व प्राप्त गर्न दल तथा तिनका नेता जिम्मेवार रूपमा प्रस्तुत हुन जरुरी छ।
नेपाल रिपव्लिक मिडियाको पाँचौं वार्षिकोत्सवका उपलक्ष्यमा पत्रिका प्रकाशनका लागि निरन्तर खटिने सम्पादकीय सहकर्मी, मार्केटिङ, वितरण, प्रशासन तथा छपाइमा खटिने सबै कर्मचारीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
स्थापनाको छोटो अवधिमै नागरिक दैनिकलाई दैनिक खुराकका रुपमा स्वीकार गर्नुहुने सम्पूर्ण पाठक, वितरक, विज्ञापनदाता, शुभचिन्तक तथा सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्छु। आगामी दिनमा पत्रिकाको वृद्धि र विकासमा यहाँहरूबाट अझ बढी सहयोग प्राप्त हुने विश्वास लिएको छु। लोकतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना!
विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक
नेपाल रिपब्लिक मिडिया प्रालि

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.