अस्कल क्याम्पसका स्ववियु सभापति कमल बस्नेत पक्राउ पर्नु समाचार हो कि होइन? कुनै दैनिक अखबार र अनलाइन समाचार सेवाका लागि हो, कुनैका लागि चाहिँ होइन। कुनै दैनिक अखबारको वेभसाइटका लागि केही समयका लागि हो, केही समयपछिका लागि होइन। उनीहरूको व्यवहारले भनेको कुरा यही हो। बस्नेतलाई प्रहरीले समात्नु अनौठो हो कि होइन? विद्यार्थी राजनीतिमा वर्षाैंदेखि लागेका सभापति बस्नेत समातिनु कुनै असामान्य घटना पक्कै होइन। कहिले खुकुरी प्रहारबाट घाइते भएका, कहिले आन्तरिक गुटगत झगडामा संलग्न भएका विद्यार्थी नेता समातिनुलाई सामान्य घटना नै मानिनुपर्छ। तर, यस पटक भने उनी काठमाडौं, सुन्धारास्थित एक गेस्टहाउसबाट युवतीसहित 'आपत्तिजनक अवस्था' मा पक्राउ परेकाले धेरैलाई आश्चर्य भयो। प्रहरीको दाबीअनुसार बेश्यावृत्ति हुने गरेको गेस्टहाउसबाट बस्नेतसहित नौ जोडी समातिएको र उनीहरूलाई सार्वजनिक अपराधमा मुद्दा चलाउन लागिएको रहेछ। बस्नेत पनि बेश्यावृत्तिमै लागेका थिए कि कुनै युवतीसँग शारीरिक प्रेममा लिप्तमात्रै थिए, स्पष्ट भएको छैन। प्रेममा मात्रै लिप्त रहेको भए प्रहरीले 'आपत्तिजनक अवस्था' मा पक्राउ गर्दै सार्वजनिक अपराधमा मुद्दा चलाउन पाइन्छ कि पाइँदैन, विचारणीय प्रश्न बन्छ। यौनको मामिलामा नेपाल प्रहरीदेखि समाचारकर्मीसम्म पनि अचानक 'मोरल पुलिस' को भूमिकामा प्रकट भइहाल्ने नेपाली समाजमा प्रेम र व्यापारबीच खासै कुनै स्पष्ट रेखा छैन। त्यसको शिकार धेरैजसो मात्रामा युवती वा महिला नै हुँदै आएका छन्, यस पटक विद्यार्थी राजनीति गर्ने पुरुष पनि शिकार हुन लागेको छाँटकाँट देखिएको छ।
यो घटनापछि केही प्रश्न उठेका छन्, स्ववियुबारे, विद्यार्थी राजनीतिबारे अनि विश्वविद्यालयको व्यवस्थापनबारे। बस्नेत पक्राउ पर्नु कुनै व्यक्तिको यौन-जीवनसँग जोडिएको नितान्त निजी मामिलामा मात्रै सीमित रहेको छैन, यसले स्ववियु सभापति र विद्यार्थी नेतासँग जोडिएको सार्वजनिक मामिलाको रूप लिएको छ। कुनै युवक वा युवतीबीचको यौन संसर्ग वर्जित प्रदेशको यात्रा होइन, न त अनैतिकताको समुद्रमा मारिने डुबुल्की नै हो। तर यौन-जीवनलाई व्यवस्थित, स्वच्छ र सुन्दर बनाउन नसक्दा वा त्यसमा पैसाको लेनदेनको अंकगणित जोडिँदा समस्या सिर्जना हुन्छ र सार्वजनिक टीकाटिप्पणीको मामिलामात्रै भइदिन्छ। चाहे त्यो एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको सन्दर्भमा होस् या एमालेका अध्यक्ष झलनाथ खनालद्वारा संरक्षित मानिएका कमल बस्नेतको प्रसंग होस्।