युवाहरुको अपराध मोह

E-mail Print
युथ फोर्सका जिल्लास्तरीय नेता गणेश नेपाली मंगलबार दाङको घोराही-११ स्थित एक घरबाट पेस्तोलसहित पक्राउ परे भने माओवादीका पूर्व लडाकु यमबहादुर थापा र उनका तीन सहयोगी चाहिँ काठमाडौंमा सेमी अटोमेटिक (अर्धस्वचालित) राइफल र सिक्सर रिभल्बरसहित पक्राउ परे। उता म्यानपावर कम्पनी तोडफोड गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका संजीव लामा (स्याल) लाई छुटाउन भने कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघले बुधबार दुई घन्टा काभ्रेको सदरमुकाम नै बन्द गराए। एकै दिन प्रकाशित यी फरक-फरक समाचारले नेपालको युवा पुस्ता कता जाँदैछ? भन्ने कुराको डरलाग्दो संकेत गरेको छ।

यी घटनाले राजनीतिको आवरणमा कतिपय युवा आपराधिक क्रियाकलापतिर लागेको कुरालाई मात्रै देखाएको छैन, उनीहरूलाई राजनीतिक दलबाटै हुने संरक्षण पनि एकैसाथ उजागर गरेको छ। एकातिर राजनीतिक दलमा आबद्ध युवाहरू विभिन्न व्यक्ति धम्क्याएको र अपराध गरेको आरोपमा पक्राउ पर्ने गर्छन्, त्यो पनि खुलमखुल्ला हतियारसहित। अनि अर्काेतिर तिनै व्यक्ति छुटाउनका लागि राजनीतिक शक्तिकेन्द्रबाट प्रहरी प्रशासनलाई दिइने दबाब त छँदैछ। त्यतिले मात्रै नभएर पार्टीका भातृ संगठनका कार्यकर्ता त्यस्ता व्यक्ति छुटाउन सडक संघर्षमा नै ओर्लने गरेका छन्, जुन दलका लागि लाजमर्दाे अवस्था हो।
शक्ति केन्द्रबाट होस् वा सडकमार्फत् दिइने दबाब वा अन्य स्वरूपका दबाबका परिणाम आपराधिक कर्ममा सहभागी त्यस्ता व्यक्ति छुटने गर्छन्। र, तिनै व्यक्ति पटक-पटक त्यस्तै घटनामा संलग्न हुने गर्छन्। यसरी राजनीतिमा अपराधीकरणको प्रवृत्तिमात्रै बढेको छैन, अपराधको राजनीतिकरण पनि उही मात्रामा भएको छ। अपराध कर्ममा सहभागीहरू राजनीतिक दलका सहयोगी हुन पुगेका छन् भने दल र तिनका नेताहरू क्षणिक स्वार्थका लागि अपराध कर्ममा सहभागी व्यक्तिलाई संरक्षण दिने कार्यमा उद्यत छन्। कतिपय आपराधिक घटनामा राजनीतिलाई मिसाएर जटिल बनाउने र दण्ड तथा सजायबाट उन्मुक्ति दिने कार्य पनि भइरहेका छन्। त्यसैका कारण अपराध कर्ममा सहभागीले सजाय पाउनुको सट्टा उल्टै प्रहरी प्रशासनलाई नै धम्क्याउने स्थितिसमेत पैदा हुने गरेको छ। मुलुकमा देखिएको यस किसिमको दण्डहीनता र अराजक स्थितिले सुरक्षा प्रशासनलाई नै व्यंग्य गरेको छ।
शान्ति प्रक्रियामा सहभागी भएलगत्तै माओवादीलेे योङ कम्युनिष्ट लिग (वाइसिएल) गठन गर्योे, जुन संगठन व्यक्तिलाई धम्क्याउने, जबर्जस्ती गर्ने, चन्दा असुल्ने, कुटपिट गर्नेलगायत्का क्रियाकालापमा संलग्न भयो। यो संगठनको क्रियाकलापलाई लिएर सबै राजनीतिक दलले आलोचना पनि गरे। तर तिनै राजनीतिक दलहरू सरकारमा रहँदा त्यसलाई कानुनी हिसावले नियन्त्रण गर्नतर्फ भने लागेनन्। बरू, उल्टै आफ्नो पार्टीमा पनि प्रतिवाद गर्ने नाममा त्यस्तै संगठन स्थापनातर्फ लागे। एमालेले वाइसिएलको प्रतिवाद गर्नै भनेर युथ फोर्स गठन गर्यो भने कांग्रेसले औपचारिक रूप नदिए पनि ठाउँ-ठाउँमा तरूण दस्ता गठन गर्योभ। मधेसकेन्द्रित दलहरूले पनि त्यही बाटो अपनाए। एक हिसावले भन्ने हो भने सबै दल वाइसिएलकै बाटो लागे। अहिले सबै दलले आफ्ना युवा संगठनहरूको वाइसिएलकरण गरेका छन्, जुन राजनीतिमा देखिएको डरलाग्दो प्रवृत्तिका रूपमा झांगिदो छ।
त्यसैले दलहरूले अब आफ्ना भातृ संगठनहरूलाई ध्वंशको बाटोमा होइन, सिर्जनात्मक कार्यमा लगाउन जरूरी छ। युवाहरूलाई उद्यमशील बनाउने र त्यसका लागि श्रमसँग जोड्ने वतावरण निर्माण गर्नु जरूरी छ। राजनीतिक दलहरूले युवालाई हतियारका रूपमा प्रयोग गर्ने होइन, आत्मनिर्भर र स्वावलम्बी बनाउनतिर लाग्नुपर्छ। अनिमात्र दिनदहाडै हतियारसहित पक्राउ पर्ने घटना नियन्त्रण हुनेछन्।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता