जुजुमानको जिब्रो

E-mail Print

स्वेच्छाले पाँचौ पटक देवताको नाममा आफनो जिब्रो छेडाउने व्यक्ति भए जुजुमान। जिब्रो छेडाउँदा हुने पीडालाई आनन्द मानेर भोगे उनले। थिमीको इतिहासमा उनको नाम अमर हुने निश्चित भयो। जिब्रो छेडाएर धर्म र मोक्षको आनन्द लिनेहरु धेरै होलान् थिमीमा। जुजुमान समान ती कोही पनि हुन सकेनन् किनभने जुजुमानले आफ्नो जिब्रो पाँचौ पटक छेडाए। उनको साहस र शौर्यको कथा अखबारले लेखे, क्यामराले खिचे र टेलिभिजनले देखाए। सामान्य सुइ लगाउँदा त मान्छेको ज्यान कति दुख्छ, जिब्रो जस्तो संवेदनशील अंग नै सुइरोले छेड्दा ओहोहोहो कति दुख्यो होला।

धन-पैसा र आर्थिक गतिविधिको अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हालै विनोद चौधरीलाई अमेरिकी डलरको मूल्यमा पहिलो नेपाली अर्बपतिका रूपमा चिनायो। जानकारहरुबीच चलेको चर्चाअनुसार नेपालमा विनोद चौधरी समान वा उनीभन्दा पनि धनी अर्बपतिहरु एक दर्जन होलान् तर तीमध्ये कसैले पनि विनोद चौधरीले जस्तो आफ्ना हर-हिसाव र खातापाता जाँच गराएर विश्वका अर्बपतिहरुको सूचीमा आफ्नो नाम लेखाउने साहस गरेनन्। त्यसैले विनोद व्यापार जगतका सांसारिक कार्यहरुको कार्यान्वयन र व्यवस्थापनमा अरु व्यवसायीभन्दा भिन्न नभए पनि यो मामिलामा अरु सबैभन्दा बेग्लै देखिए। विनोद चौधरी समान अरु कोही हुन सकेनन्।

नेपालमा पत्रकारिता गर्दागर्दै अमेरिका भासिएका तन्नेरी रवि लामिछानेले गौतम बुद्धका नाममा लगातार ६२ घण्टासम्म विभिन्न व्यक्तिसँग टेलिभिजन संवाद गरेर विश्व कीर्तिमान कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नाउँ लेखिएको छ। लगातार बोल्ने र प्रश्न सोध्ने मामिलामा उनी पहिलो व्यक्ति बनेका छन्। रवि समान अर्को व्यक्ति अरु कोही हुन सकेनन्।

एक दशकअघिसम्म राजनीतिक नेताहरु राजनीतिलाई पेशा वा व्यवसाय भन्न लजाउँथे। धेरैले आफूलाई समाजसेवी वा गृहस्थका रूपमा चिनाउँथे। उनीहरुको पासपोर्टमा प्रोफेसनका ठाउँमा समाज सेवा भनेर स्पष्ट किटिएको हुन्थ्यो। समाजसेवा गर्नेहरुको आम्दानीको स्रोत के होला? आम्दानीको कुनै स्रोत नै नभएका समाजसेवीले कसरी गर्लान् जीवन यापन? विदेशी छक्क पर्थे। माओवादीहरु हतियार बिसाएर राजनीतिको मूलधार कब्जा गर्न आएपछि त्यो अवस्था रहेन। उनीहरुले नढाँटिकन आफ्नो पेशा पनि राजनीति र व्यवसाय पनि राजनीति हो भन्ने ठोकेर बताए। आफ्नो सम्पत्ति पार्टीको भएको र आफ्नी श्रीमतीले लगाएको सुनको बुलाकी पनि पार्टीकै भएको बताए उनीहरुले। वैधानिक वा अवैधानिक दुवै उपायले कमाएको पैसा पार्टीमा बुझाउने र पार्टीले तोकेको तलव सुविधामा जहान परिवारको भरण-पोषण गर्ने चलन भएको बताउँथे उनीहरु। यो कुरा ठ्याक्कै साँचो हो कि होइन, यसै भन्न सकिँदैन। पार्टीको काममा पूर्णकालिक हिसावले लागेकालाई पार्टीले तलव दिनु अस्वाभाविक थिएन। कार्यकर्ताको आर्थिक व्यवस्थापनका मामिलामा माओवादी समान अर्को कुनै पार्टी देखिएन। वैतनिक राजनीतिक नेता र कार्यकर्ता भएको पार्टीमा यो पहिलो र एक्लो भयो।

अलौकिक देश नेपालमा जिब्रो छेड्ने जस्ता रोचक घटना नियमित वास्तविकता बनेका छन्। कोही किसान आफ्नो बारीमा सामान्यभन्दा बढी तौलको फर्सी फलाएर पहिलो बनेका छन्। कसैले सामुदायिक वनको सुरक्षा गरेर नाम कमाएका छन्। पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गरेकै भरमा अस्पताल र कलेजहरुका लागि धन आर्जन गरिदिएका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका राष्ट्रपतिले आफ्नो सरकारविरुद्ध चार पटक कू गर्ने प्रयास गरेको रहस्योद्घाटन गरेर राजनीतिक वातावरण तताउनमात्र खोजेका छैनन्, कूबाट जोगिएका सरकार प्रमुखका रूपमा आफूलाई स्थापित गर्न खोजेका छन्। 'भाङ पेल कि धतुरो पेल, ले मेरो तेल' भनेजस्तै गरी प्रचारका मामिलामा बाबुराम भट्टराई समान सजग र सचेत अर्का कुनै राजनीतिज्ञ देखिएका छैनन्।

यस्ता घटनाको नालीवेली लगाइराख्नुको कुनै अर्थ र प्रयोजन छैन अहिले। नेपाल कल्पनाशील मानिसहरुको तपोभूमि हो, सांस्कृतिकरूपले धनी देश हो, जलस्रोतका हिसावले धनी देश हो, जडीबुटीका हिसावले धनी देश हो। यस्ता वाक्यांश दिनहुँ सुनिएका छन्। त्यसो भए, गरिबी कहाँ छ त? सबै कुराले सम्पन्न र भरिपूर्ण यो देश किन विपन्नतम् देशको पंक्तिमा सबभन्दा तल ओर्लिएको छ? यो स्तम्भकारको बा पुस्ता यिनै प्रश्नका उत्तर खोज्दाखोज्दै माटोमा विलिन भए। स्तम्भकार र उसका भाइ र छोरा पुस्ताका सहकर्मी पत्रकारहरु यिनै प्रश्नको खोजमा कलम रगड्दैछौं। देशको जनसंख्या दशकैपिच्छे बढ्दै गए पनि कृषि उत्पादन बढेको छैन। जनसंख्या वृद्धिले नेपाललाई जनशक्ति निर्यातकर्ता प्रमुख राष्ट्रहरुको लहरमा उभ्याएर नया" पहिचान पक्कै दिएको छ। तर रेमिट्यान्स अर्थतन्त्रको उपयोग देशको विकासमा हुन सकेको छैन।

सरकार एकातिर कृषि उत्पादन बढाउन कृषकलाई अर्ति दिँदै करोडौं करोड बजेट सखाप पार्दैछ भने अर्कोतिर विदेशबाट खाद्यान्न आयात गरेर जनताको मुखमा माड लगाउने प्रयास गर्दैछ। देशमा ऊर्जाको चर्चा धेरै भयो। झोलामा खोला बोक्ने र कागजमा योजना बोक्ने काम निरन्तर भए पनि बिजुलीको उत्पादन आठ सय मेगावाट नाघेको छैन। हाम्रो पानीको फाइदा छिमेकीले उठाउलान् भनेर भयभीत र शंकित नेताहरुले न त नदी थुन्न सकेका छन, न पानी फर्काउन। नेपाली राष्ट्रवाद राजनीतिको खा"वोमा टाक्सिएको छ। न यो भिडन सक्छ, न चूप लाग्न। यो मामिलामा पनि नेपाल समान अर्को कुनै देश छैन।

संविधान सभाका लागि दोस्रो पटक चुनाव हुँदैछ देशमा। संविधान निर्माण गर्ने एउटै कामका लागि दुई दुई पटक संविधान सभाको चुनाव गराउने नेपाल समान अब अर्को देश संसारमा कहीँ पनि छैन। यसमा एउटै सर्त लागु हुन्छ, त्यो हो चुनावचाहिँ हुनैपर्छ। चुनाव भन्दैमा हुने कुरा पक्कै होइन। जनता चुनावका लागि तयार छन् भन्दा नेताहरु पत्याउने मनस्थितिमा छैनन्। उनीहरु भन्छन्- जनता चुनावका लागि तयार छैनन्, बरु दलहरुको मिलीजुली शासनका पक्षमा छन्। अविश्वासको वातावरण चिर्न कोही तत्पर छैनन्। अविश्वासमा रमाउने नेपाल समान अर्को कुनै देश छैन। वास्तवमै अतुलनीय छ हाम्रो देश। कहीँ कसैसँग केही मिल्दैन। राजनीतिक द्वन्द्वमा बीस हजारभन्दा बढी मानिस मारिँदा पनि देशको अमन-चयन खलबलिएको छैन भन्ने मानसिकता विस्तारित छ देशमा। सुरक्षा चुस्त छ। सीमा सुरक्षित छ। कतै कुनै समस्या छैन। त्यसैले यो विश्व-ब्रह्माण्डमा नेपाल समान अर्को कुनै देश छैन।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता