बढ्दो असुरक्षा

E-mail Print
नवलपरासीकी एक युवती रातभर बलात्कृत भइन्। राजधानीकै काँडाघारीमा विद्यालयकी प्रिन्सिपल गोली लागेर मरणासन्न अवस्थामा छिन्। काँडाघारी आसपासमै अर्की महिला रिभल्बरसहित पक्राउ परेकी छिन्। दुई दिनअघिमात्र माओवादी पूर्व लडाकु अत्याधुनिक हतियारसहित समातिएका थिए। जसले उक्त हतियार अवैध असूलीमा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ। यसले देखाउँछ कि यो मुलुकमा अहिले बाख्रा चराउने गोठालादेखि विद्यालय चलाउने प्रिन्सिपलसमेत सुरक्षित छैनन्। न रात, न दिउसो। कुनै पनि स्थान र व्यक्ति छैन, जो ढुक्कसँग बस्न सकोस्।

यी घटना नै काफी छन् कि अहिले मुलुकमा शान्ति सुरक्षाको स्थिति कस्तो छ भन्ने देखाउन। हुन त मुलुक संक्रमणकालबाट गुजि्ररहेको छ। पूर्व प्रशासकहरुको सरकार छ। तर यस्तो घटना भइरहनु वा शान्ति सुरक्षाको स्थिति मजबुत नहुनुमा भने यी कारण भन्दा पनि प्रहरी प्रशासनको फितलो सक्रियता नै प्रमुख देखिन्छ। किनकि पहिलो त स्थायी सरकार भनेकै कर्मचारी हुन्। अर्कोतर्फ शान्ति सुरक्षा कायम गर्ने जिम्मा नै प्रहरी प्रशासनको भएकाले यस्ता घटना बढ्नुमा उनीहरुको निकम्मापन जिम्मेवार देखिन्छ। जबकि आफूलाई सुम्पिएको काम जिम्मेवारपूर्वक सम्पन्न गर्न न कुनै सरकारको मुख ताक्नुपर्छ, न त मुलुकमा कस्तो र कसको नेतृत्वमा सरकार छ भनेर हेरिरहनु आवश्यक छ।
बलात्कारका घटना लगातार बढिरहेका छन् तर पनि यो रोकिएको छैन। किन? कारण स्पष्ट छ- यस्ता क्रियाकलापमा संलग्नलाई दिइने सजाय पर्याप्त छैन। अनि भएकै कानुनबारे पनि सबैलाई बुझाउन सकिएको छैन। यस अर्थमा दण्डहीनता दुर्घटना दोहोरिनुको मुख्य कारण हो। जसमा प्रहरी विशेष चनाखो रहनु आवश्यक छ। कतिपय घटनामा केही पैसा दिएर वा लोभलालचमा पारी 'मिलापत्र' गराउने कार्यले पनि बलात्कार जस्ता जघन्य आपराधिक घटना गराउन बल पुगेको छ। त्यसैले अपराधीलाई कठोर सजाय नदिलाउन्जेल यस्ता घटना न्युन हुने सम्भावना रहँदैन।
अर्कोतर्फ अवैध भनिएका हतियारको खुल्लमखुला प्रयोग झनै खतरनाक संकेतका रूपमा देखापरिरहेको छ। एकाध हतियार समातेर पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुबाहेक प्रहरीले यस्ता हतियार कसरी र कहाँबाट भित्रिरहेका छन् र यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ भन्नेबारे खासै रणनीति अख्तियार गरेको देखिन्न। एकपछि अर्को यस्ता हतियार फेला पर्दै जानुले यो अनुमान सहजै गर्न सकिन्छ। त्यसैले हतियार कसरी, कसले र कहाँबाट उपलब्ध गराउँछ भन्ने मार्ग नपहिल्याई समातिएका एकाध हतियारलाई उपलब्धिका रूपमा सन्तोष ठान्ने परिपाटीमा फेरबदल नआई हतियार सिर्जित आंतक घट्ने देखिन्न।
समग्रमा, अहिले मुलुकमा आपराधिक घटना बढिरहेका छन् र त्यसलाई रोक्न प्रहरी अक्षम देखिएको छ। यसले जनताको अमन चयन खल्बलाएको मात्र छैन, सबैलाई आतंकितसमेत बनाएको छ। सरकारी अड्डादेखि अदालत हुँदै सबै सार्वजनिक स्थानहरुमा आपराधिक गतिविधिमा संलग्नहरुको बोलवाला बढ्दो छ। जसले कानुनी शासनको मर्ममाथि नै प्रहार गरेको छ। यस्तो अवस्थामा जसको प्रमुख काम, कर्तव्य र अधिकार नै अपराध नियन्त्रणसँग सम्बन्धित छ, उसकै भूमिकामाथि प्रश्न उठाउनुपर्ने अवस्था पक्कै पनि सकारात्मक होइन। प्रहरी प्रशासनले गम्भीरपूर्वक आफ्नो भूमिकामाथि पुनर्विचार नगर्ने हो भने स्थिति थप भयाबह हुन बेर छैन।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता