दक्षिण कोरियामा नेपाली

E-mail Print
सन् २००७ मा कोरियाको श्रम बजारमा नेपाली कामदारको रोजगारी सम्झौता (इपिएस) भएपछि नेपालीहरुको कोरियामा आप्रवासन ह्वात्तै बढेको हो। अध्यागमन विभाग कोरियाको अभिलेखअनुसार सन् २०१२ मेसम्ममा करिव १९ हजार नेपाली कोरियामा विभिन्न पेशामा आबद्ध भई बस्दै आएका छन्। यसमध्ये १५ हजार १ सय ३० पुरुष, २ हजार ६४ महिला र भिसा अनुमति समाप्त भएर बसेका करिव २ हजार नेपाली रहेको कोरियास्थित नेपाली दूतावासले अभिलेख गरेको छ। कोरियाको श्रम बजारको औद्योगिक क्षेत्रमा कार्यरत् १३ हजार ४२७ नेपाली मजदुर छन्। यसमध्ये साना तथा मझौला उद्योगमा ११ हजार ३ सय ८३ जना, निर्माणसम्बन्धी काममा ७ सय ५४ जना, कृषि मजदुरमा ९ सय ४५ जना, माछा पालनमा ३ सय ५४ जना र ट्रेनी कामदारका रूपमा १ सय २१ जना कार्यरत् छन्। यस्तै अध्ययन/अध्यापनको सिलसिलामा पनि नेपालीहरु कोरिया पुग्ने गरेको पाइएको छ। कोरियामा नेपाली विद्यार्थी ५ सय ९८ छन्।

नेपालीको बसोबास

नेपाली राजदूतावासका अनुसार विभिन्न व्यवसाय गरी बस्ने नेपालीहरु १ सय ३६ जनाको संख्यामा छन्। ती सबैले सानोतिनो लगानी पनि गरेका छन्। ६५ जना पेशागतरूपमा कार्यरत् छन्। अवधि समाप्त भई कानुनी सहायताबाट ४ सय ४२ जनाले वैधानिकता प्राप्त गरेका छन्। ३ जनाले शरणार्थीको मान्यता पाएका छन्। १ सय ४४ जनाले शरण लिन आवेदन गरी बसेका छन्। पारिवारिक भिसामा रहनेहरु १ हजार १ सय २२ जना छन्। पारिवारिक स्वास्थ्य उपचार तथा अन्य हिसावमा १ हजार ३ सय २८ जना कोरियामा छन्।
नेपाली र दक्षिण कोरियाली मुलुकका नागरिकबीच केही वर्षदेखि वैवाहिक सम्बन्ध पनि हुँदै आएको छ। म्यारिज ब्युरोको विज्ञापनमार्फत् नेपाली महिला र कोरियन पुरुषबीच विवाह गर्नेहरुको संख्या पनि १ हजार नाघिसकेको छ। तर नेपाली महिला र कोरियन पुरुषबीचको वैवाहिक सम्बन्ध सफल नभएको कोरियामा कार्यरत् नेपाली बताउँछन्। कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध गरेका प्रायः महिलाले विवाहपश्चात् नारकीय जीवन भोगेको सार्वजनिक हुँदै आएको छ। नेपाली पुरुष र कोरियन महिलासँगको वैवाहिक संख्या चाहिँ ७६ जनाको छ। १ हजार ४६ जना नेपाली महिलाले कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध राखेका छन्। कोरियाको विभिन्न प्रान्त र शहरमा नेपाली महिला बसोबास गरेको अभिलेख दूतावासले अद्यावधिक गरेको छ।

नेपाल-कोरिया सम्बन्ध
नेपालभन्दा सानो ९९ हजार वर्गमिटर क्षेत्रफल भएको कोरियासँगको सम्बन्ध १५ मे १९७४ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि सुरु भयो। यो सम्बन्ध स्थापित भएको १८ वर्षपछि सन् १९९२ मा कोरियन युवा स्वयम्सेवी आदान-प्रदान सम्झौता भयो। सन् १९९७ मा नेपाल कोरियाबीच आर्थिक विकास कोष सम्झौता भयो। तर, सन् १९९० देखि नै नेपालीहरु रोजगारीको सिलसिलामा कोरिया जान सुरु गरिसकेका थिए। नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै कोरियासँगको सम्झौता हुँदै गए। तेस्रो पटक सन् २००१ मा नेपाल कोरिया व्यापार तथा लगानी प्रबर्द्धन तथा सन् २००५ मा हवाई तथा सांस्कृतिक सम्झौता भयो। यसरी क्रमैसँग विकसित हुँदै आएको सम्बन्धको विस्तार सन् २००७ मा आएर कोरियामा नेपाली आवासीय दूतावास स्थापित भयो। दूतावास खुलेसँगै इपिएस सम्झौता भयो र नेपाली कामदार वैधानिकरूपमै कोरिया जाने बाटो खुला भयो।
नेपाल र कोरियाबीचको व्यापार घाटा पनि बढ्दो छ। सन् २०१२ को तथ्यांकमा ७४ मिलियन डलर बराबरको कारोबार भएको थियो। तर नेपालबाट १ मिलियन डलर बराबरको मात्र निर्यात भएको देखिन्छ। कोरियाले माथिल्लो त्रिशूली र मोदीखोला जलविद्युत् आयोजनामा लगानी गरेको छ। सन् २०११ मा करिव २० हजार कोरियन नागरिकले नेपाल भ्रमण गरे। कोरियन इन्टरनेसनल कोअपरेसन (कोइका)मार्फत् नेपालको स्वास्थ्य तथा शिक्षामा पनि केही वर्षदेखि लगानी भइरहेको छ।

कोरियाको उदय
दोस्रो विश्व युद्ध समाप्तिपछि कोरिया सोभियत धुरी र अमेरिकन धुरीमा विभाजित भयो। सोभियत धुरीमा विभाजित आजको उत्तर कोरिया र अमेरिकी धुरी आजको दक्षिण कोरिया हो। सन् १९४५को अगस्तसम्म जापानको उपनिवेशका रूपमा थियो। सन् १९४५ पछिको सोभियत संघ र अमेरिकी शित युद्धको परिणामस्वरूप यी दुई कोरिया जन्मिएका हुन। सन् १९४८ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा उत्तर र दक्षिण कोरियाको विधिवत् विभाजन भयो। सन् १९५० देखि ५३ सम्म दुवै कोरियाले युद्ध झेले। यो युद्धमा हजारौं कोरियन, चिनी, सोभियत एवम् नाटो सैनिक तथा लाखौं कोरियन नागरिक हताहत भए। उत्तर कोरियालाई चीन, सोभियत संघ तथा दक्षिण कोरियालाई अमेरिका तथा नाटो देशको सहयोग थियो। यसरी 'प्रोक्सी' विभाजनमा परेको दुई कोरियामध्ये दक्षिण कोरिया एसियाको उदाउँदो आर्थिक शक्ति हो।
कोरियाको अर्थ राजनीतिक रूपरेखा सैनिक सरकारले स्थापना गरेको हो। सन् १९४८ मा नागरिक सरकार स्थापना चुनावको माध्यमबाट भए पनि सन् १९६० बाट त्यहाँ सैनिक शासन कायम भयो। सैनिक शासन ३२ वर्ष अर्थात् १९९२ सम्म रह्यो। सन् १९६० देखि १९७८ सम्म १८ वर्ष सैनिक जनरल पार्क चुङ हिले एकतन्त्रीय शासन गरे। उनकै अगुवाइमा आर्थिक विकासको पृष्ठभूमि तयार भयो। पार्क सरकारले ठूलठूला राजमार्ग, रेलवे तथा औद्योगिकीकरणको जग स्थापित गर्योो। उनले नयाँ गाउँ अभियानको योजना ल्याए। विधि र कानुनी व्यवस्थाको जग हाल्ने काम सैनिक शासकले गरे। १७ जुलाई १९४८ मा बनेको संविधानलाई यो कालखण्डमा ९ पटक संशोधन गरियो। आर्थिक विकासको जग हालेकाले उनलाई प्रायः कोरियनहरु 'गड फादर' भनेर पुकार्छन्। सन् १९९२ देखि पुनः त्यहाँ नागरिक सरकार स्थापना भइसकेको छ। यतिखेर पार्क चुङ हि कि छोरी पार्क कुन्हे राष्ट्रपति चुनिएकी छिन्।
कोरिया एकात्मक संरचना भएको मुलुक भए पनि संघात्मक संरचनाको विशेषतालाई पनि अंगालिएको छ। कोरियाले मुलुकलाई १७ वटा प्रशासनिक इकाईमा विभाजन गरेको छ। राजधानी सिउललाई विशेष शहर, सेजुङ शहरलाई विशेष स्वशासन क्षेत्र तथा ६ वटा अन्य शहर बुसान, डेगु, इन्छन, डेजोङ, ग्वान्जी र उलसन मेट्रो शहरको प्रशासनिक इकाईमा छन्। यसरी नै प्रशासनिक नाममा ९ वटा प्रदेश छन्। इलेक्ट्रोनिक्स, अटोमोवाइल, पानी जहाज, मेसिनरी, पेट्रोकेमिकल्सको उत्पादन कोरियाली अर्थतन्त्रको मुख्य हिस्सा हो। असीको ओलम्पिक गेम गराएर विश्व रंगमञ्चमा देखा परेको कोरिया यतिखेर एसियाको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो। विश्वको १२ औं ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा दर्ज भइसकेको कोरियाले आफ्नो अर्थतन्त्रलाई 'जादूमयी अर्थतन्त्र' को नाम दिएको छ।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता