Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Apr 04th

कांग्रेस : विघटन कि पुनर्संरचना

E-mail Print
महात्मा गान्धीले ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि आफू स्वयम् लामो समय आबद्ध राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेस विघटन प्रस्ताव गरे। राष्ट्रिय कांग्रेसको गठन भारतलाई बेलायती उपनिवेशबाट मुक्त गर्नका लागि भएकाले लक्ष्य प्राप्तिपछि दल विघटन गर्नुपर्छ भन्ने गान्धीको तर्क थियो। ब्रिटिसलाई देशबाट भगाउनमात्र कांग्रेसमा जनसहभागिता भएकाले सत्ता सञ्चालनमा जानका लागि नयाँ पार्टी गठन गरेर निर्वाचनमा जानुपर्ने गान्धीको भनाई थियो। साथै, एउटा लक्ष्यका लागि गठन गरिएको राजनीतिक दलले अर्को प्रकृतिको काम सफलपूर्वक सम्पन्न गर्न गाह्रो हुने गान्धीको तर्क थियो। तर, आसन्न निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले चुनाव जित्ने अवस्था भएकाले जवाहरलाल नेहरुलगायत्का नेताले गान्धीको कुरा सुन्न आवश्यक ठानेनन्। कांग्रेस पार्टी निर्वाचनमा होमियो। र, भारी सफलतासमेत हासिल गर्योन। राष्ट्रिय कांग्रेसका सभापति जवाहरलाल नेहरु प्रथम प्रधानमन्त्री भए। स्वतन्त्रता हासिल गरेपछि सन् १९७७ सम्म लगातार ३० वर्ष भारतीय राष्ट्रिय कांग्रेसले देशमा शासन गर्योर। र, पछिका दिनमा समेत कांग्रेस सत्ता राजनीतिको मेरुदण्ड नै रह्यो। तर गरिब जनताको अवस्थामा खासै सुधार आएन।

मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर र बीपी कोइराला जस्ता नेताले देशबाट राणा शासन अन्त्य गर्न नेपाली कांग्रेस पार्टी खोले। स्थापनाको पाँच वर्षभित्रै कांग्रेसले सञ्चालन गरेको आन्दोलनले सफलता पायो। राणाहरु लखेटिए। देशमा प्रजातन्त्र आयो। प्रजातन्त्रको आगमनसँगै बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच राजनीतिक द्वन्द्व चर्कियो। २०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसलाई दुई तिहाई बहुमत दिएर जनताले राणाहरुबाट आफूलाई मुक्ति गराउने दल नेपाली कांग्रेसको कर्जा चुक्ता गरे। तर, कांग्रेस पार्टीमा आन्तरिक रडाको तीव्र भयो। समयको उपयोग गर्दै राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरे। र, देशमा एक दलीय पञ्चायती व्यवस्था लागु गरे। लोकतन्त्रमा प्रहार भएपछि कांग्रेस प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनमा होमियो। तीन दशकको संघर्षपछि कांग्रेसको अगुवाईमा देशमा प्रजातन्त्र पुनर्स्थापना भयो। मतदाताले कांग्रेसको बलिदानको फेरि एकपटक कदर गरे। संसदको निर्वाचनमा कांग्रेसले फेरि बहुमत पायो। र, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। तर, तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र कोइरालाबीचको राजनीतिक दरार देखियो। पार्टीका वरिष्ठ नेता गणेशमान सिंह कांग्रेसमा अटाएनन्। परिणाम- बहुमत हुँदाहुँदै प्रधानमन्त्री कोइरालाले संसद विघटन गरे।

नेपाली कांग्रेसमा देखिएको शक्तिको लडाइँले देशको सम्पूर्ण राजनीति प्रभावित भयो। सत्तामा पुग्न र पुर्या उन कुनै पनि किसिमको खेल कांग्रेसका लागि जायज बनिदियो। सांसद किनबेच, जनप्रतिनिधिलाई होटलमा थुन्नेसम्मको घटना सहज बने। पूर्व पञ्चहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द कांग्रेस र एमालेका लागि मार्गदर्शक ठहरिए। कांग्रेस र एमालेले देखाएको संसदीय नौटंकीबाट जनता दिक्दार भए। त्यही दिक्दारीका बीच माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वतिर जनता केही हदसम्म सहभागी हुन पुगे। यता तत्कालीन राजा ज्ञानेन्द्रले भने माओवादी सँगसँगै सबै राजनीतिक दललाई एकै पटक ठीक लगाउने उद्देश्यले सत्ता आफ्नो हातमा लिए। ज्ञानेन्द्रको महŒवाकांक्षी कदमले संसदीय पार्टी र गणतन्त्रवादी धारलाई एकै स्थानमा ल्यायो। तेस्रो पटक कांग्रेसको नेतृत्वमा गणतन्त्र स्थापनार्थ आन्दोलन भयो। गिरिजाप्रसाद कोइरालाको अगुवाईमा भएको आन्दोलनमा लोकतन्त्रवादी शक्तिहरूदेखि सशस्त्र आन्दोलन गरेको माओवादीसमेत गोलबन्द भए। आन्दोलन सफल पनि भयो। अन्ततः ज्ञानेन्द्र गद्दी छोड्न बाध्य भए। देशमा विधिवत्रूपमा गणतन्त्र स्थापना भयो।

भिन्न समयमा दुई पटक प्रजातन्त्र स्थापना र एक पटक गणतन्त्र ल्याउन नेतृत्व गर्योम कांग्रेसले। लोकमतका लागि तीन पटक आन्दोलन गरेर सफलता हासिल गरेको दल नेपाली कांग्रेस यस हिसावले पनि अनुपम पार्टी हो। तर, आज त्यही इतिहासको पानामा कुजिने अवस्थामा पुग्यो। सफलतापूर्वक आन्दोलनको नेतृत्व गरेको पार्टीले लगत्तै भएको निर्वाचनमा दयनीय परिणाम ल्यायो। नेपाली कांग्रेसले गत संविधान सभामा पाएको मत संख्याले कांग्रेसको दयनीय स्थिति देखाउँछ। तीन पटक आन्दोलनको नेतृत्व गरेको पार्टीले आन्दोलनलगत्तैको निर्वाचनमा पराजय भोगेको यो एक हिसावले असामान्य राजनीतिक घटना बन्न पुग्यो।

नेपाली कांग्रेसमा सबैभन्दा ठूलो समस्या नीति ठूलो कि नेता भन्नेमा प्रष्ट नहुनु नै हो। नीति जे भए पनि नेता भने आफैं रहनुपर्ने मान्यताका कारण नेपाली कांग्रेस दिनानुदिन कमजोर भयो। राजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रँदा उनलाई ...साइज' मा ल्याउन माओवादीसँग कार्यगत एकता गर्ने निष्कर्ष निकाले कोइरालाले। कांग्रेसको एउटा ठूलो समूह माओवादीसँगको कार्यगत एकताको विरोधमा उत्रियो। कोइरालाको उचो कदका अगाडि अरुको केही लागेन। कोइरालाले आफ्नो नीति लागु गरेरै छाडे। अहिलेका सभापति सुशील कोइरालासमेत माओवादीसँगको कार्यगत एकताको ठूलो आलोचक थिए। माओवादीसँगको साँठगाँठमा गिरिजा कोइरालाका सहयात्री थिए- कृष्ण सिटौला र शेखर कोइराला। प्रतिकूल अवस्थामा कोइरालालाई साथ दिएका कारण सिटौला र शेखर कोइरालाको उचाई पार्टीमा असहज हिसावले बढ्यो।

गत संविधान सभामा पार्टीले बेहोरेको अप्रत्याशित हार, गिरिजाप्रसाद कोइरालाको प्रथम राष्ट्रपति बन्ने इच्छामा तुषारापात र सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमति गरेपछि दिएको धोकाका कारण माओवादी इमानदार सहयात्री हुन नसक्ने ठहरमा पुगेको छ कांग्रेस। माओवादीसँग विगतमा भएको साँठगाँठ अस्वाभाविक र गम्भीर त्रुटि भएको पनि पार्टीको ठहर छ। दलमा नीति सर्वोच्च हो। जसको नीतिले जित्छ, त्यो व्यक्ति उच्चस्थानमा रहने पार्टीको सामान्य सिद्धान्त हो। नीतिमा असफल हुने व्यक्ति ओझेल पर्छ। यदि त्यस्तो व्यक्तिले नेतृत्व गरेको स्थितिमा पार्टी सवल हुन सक्दैन। माओवादीसँगको सत्ता साँठगाँठ अस्वाभाविक र कपटजन्य भएको जान्दाजान्दै सभापति सुशील कोइरालाको महामन्त्रीमा सिटौलालाई मनोनयन गर्ने निर्णय त्रुटिपूर्ण मात्र थिएन, बरु पार्टीलाई कमजोर बनाउने षडयन्त्र थियो। सोझा र इमानदार सुशील कोइरालाले पार्टीको भविष्य आँक्न सकेनन्। तत्कालका लागि पार्टीभित्र अर्को पक्षसँगको द्वन्द्वमा दह्रो सारथि हुने आशमा सिटौलालाई रोज्न पुगे सुशील। पार्टी बलियो बनाउने भन्दा आफू बलियो बन्ने सोचमा लागे सभापति कोइराला। परिणाम- पार्टी दिन/प्रतिदिन कमजोर हुँदै गयो।

नेपाली कांग्रेस त्यसै पनि मधेसमा निकै कमजोर छ। साथै निर्वाचन क्षेत्र बनोटका कारणसमेत तराईमा राम्रो तयारी नगरी काठमाडौंको राजनीतिमा निर्णायक हुने अवस्था छैन। कांग्रेस मधेसी समुदायको पार्टी भएको प्रत्याभूति गराउन नसके फेरि पनि कांग्रेसले तराईमा निर्वाचन हार्ने निश्चित छ। यस्तो अवस्थामा कांग्रेसले व्यक्ति छाडी नीतिलाई प्राथमिकता दिन नसके कांग्रेस पार्टीको विघटन धेरै टाढा छैन। महात्मा गान्धीले भनेझै नेपाली कांग्रेसको विघटन गर्ने अथवा पार्टीलाई पुनर्गठित गर्ने भन्ने कुरामा पार्टी नेतृत्वले ध्यान दिन जरूरी छ।

 

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता