Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Apr 04th

पेशागत मर्यादा

E-mail Print
काँडाघारीस्थित युरो इन्टरनेसनलकी प्रिन्सिपल रमा भट्टराईमाथि निवास फर्कंदै गर्दा गोली हानियो। उनी अहिले उपचार गराइरहेकी छिन्। प्रिन्सिपल जस्तो शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिमाथिको यो व्यवहार कुनै पनि हालतले सह्य हुन सक्दैन। रात पर्नुअघि नै उनीमाथि मुख्य सडकमै भएको यो घटनाले खस्कँदो सुरक्षा व्यवस्था त इंगित गरेको छ नै, साथै हतियारको बिगबिगी र आपराधिक मनोवृत्तिसमेत बढ्दै गएको प्रष्ट्याएको छ। यस अर्थमा उनलाई गोली प्रहार गर्नेलाई पहिचान गरी हैदसम्मको कारबाही गर्नुपर्छ।

अहिले मुलुकमा शान्ति सुरक्षाको स्थिति खस्कँदै गएको कुरामा दुई मत छैन। लम्बिँदो संक्रमणकालका कारण दिन/प्रतिदिन यस्ता घटना बढ्न थालेका छन्। दण्डहीनता मौलाउँदै गएको छ। र, एकपछि अर्काे संक्रमणकालीन अराजकता बढ्दै गएको छ। यो संक्रमणकालीन स्थितिमा जसले जे गर्दा पनि छुट पाइरहेका कारण यस्ता घटना घट्नुको सट्टा बढ्दै गएको देखिन्छ। यसले शान्ति सुरक्षामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। मुख्य सडकमा यसरी सम्साँझै यस्तो घटना हुनुले शान्ति सुरक्षाको कमजोर पक्षलाई त्यसै पनि छर्लङ्ग पारेको छ ।
साथै यो घटनाले अन्य केही सवालबारे पनि घोत्लिन बाध्य बनाएको छ। जब प्रहरीले रमा ढुकुटीलगायत्का अन्य व्यवसायमा पनि संलग्न भएको र त्यही कारण गोली प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान सार्वजनिक गरेको छ, त्यसले केही महŒवपूर्ण सवाल उठान गरेको हो। ढुकुटीको विषयलाई लिएर यसअघि पनि बेलावखत विवादास्पद घटना सार्वजानिक हुँदै आएका हुन्।

त्यसमाथि कानुनले नै अवैध घोषणा गरेको ढुकुटीमा विभिन्न प्रतिष्ठित पेशामा लागेका व्यक्तिहरू समेत आकर्षित हुनु अचम्मलाग्दो छ। एकातिर कानुनले यसलाई अवैध घोषणा गरेको छ भने अर्काेतर्फ यो आमसमाजमा फैलँदै जानु अर्काे अचम्मको विषय हो। एउटै व्यक्तिको विभिन्न क्षेत्रमा, त्यसमाथि पनि अवैध क्रियाकलापप्रति देखिएको अभिरुचिले बेलाबखत ठूलै दुर्घटना निम्त्याउने गरेका छन्। यसप्रति सरोकारवाला निकायहरूले ध्यान दिन जरूरी छ।

अर्काेतर्फ कुनै काम कुरो यतिसम्म गर्न हुने/नहुने कुरालाई आचारसंहिताले नै मार्गनिर्देश गरेको हुन्छ। त्यसैले शिक्षक, पत्रकार, डाक्टर, कर्मचारी, नेता सबैको पेशागत मर्यादाको सीमा हुन्छ। जब अरुलाई मर्यादाको पाठ सिकाउनेहरु नै यही मर्यादा मार्ग भुल्न पुग्छन्, त्यतिखेर दुर्घटना निम्तिने सम्भावना प्रवल हुन्छ नै। त्यसैले खासगरी अतिरिक्त कमाइको लोभमा आफ्नो पेशाको मर्यादा बिर्सेर अन्यत्र मन डुलाउने प्रवृत्तिले नेपालमा कुनै पनि पेशालाई अछुतो राखेको छैन। जसले पेशा र मर्यादा दुवैलाई धरापतर्फ धकेलिरहेको छ।

नाडी छामेको ४ सय लिने डाक्टरसाबहरु लुसुक्क पैसो खल्तीमा हाल्छन्। नाम चलेका वकिलसाबहरु एउटै बहसका लागि लिएको बीसौं हजारवापत कुनै रिसिप्ट दिन आवश्यक ठान्दैनन्। न हिसावकिताप छ, न कर तिर्नुपर्ने झन्झट नै। प्राध्यापकहरु हाजिर गरेर हिँड्छन्, पढाउँदैनन्। अनि कसरी कायम हुन्छ पेशागत मर्यादा? यही कारण हो, अहिले नेपालमा सर्वसाधारणले विश्वास गरिहाल्ने कुनै क्षेत्र स्थापित हुन सकेको छैन।

त्यसैले सर्वसाधारणको नजरमा सबै पेशावाल मात्र पैसाका लागि मरिहत्ते हाल्छन्। उनीहरुलाई न प्रतिष्ठा गुम्ला भन्ने डर छ, न त लोकलाजप्रतिकै। न सर्वसाधारणप्रतिको उत्तरादायित्वमा कमी आउने भन्ने डर नै। अहिले नेपालमा राजनीतिमा मात्र हैन, धेरै पक्षमा खडेरी देखापर्दै आएको छ। जसमध्ये एउटा पेशागत मर्यादाको पनि हो।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता