२४ घ को पिरलो

E-mail Print
कहिले कुनै त कहिले कुनै समस्याले गाँजिरहने यो मुलुक यतिखेर भने विशेष बढुवामा परेका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा छ। निजामती सेवा ऐन २०४९ मा संशोधन गरेर थपिएको '२४ घ (१) अनुसार स्वतः बढुवामा परेका यस्ता कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने व्यवस्थासहितको निजामती सेवा अध्यादेश केही समयअघि मात्र जारी भएपछि अहिले प्रशासनको टाउको दुख्न थालेको हो। जुन संशोधनले खरिदारमा १०, सुब्बामा १२, अधिकृतमा १५ र उपसचिवमा १८ वर्ष पुगेकाले स्वतः बढुवा पाउने व्यवस्था गरेको थियो। त्यसैले यसरी बढुवा हुने १८ हजारभन्दा बढी 'भाग्यमानी' लाई अहिले निजामती वृत्तमा '२४ घ' ले सम्बोधन गरिँदै आएको सुनिन्छ।

मुलुकमा उद्योगधन्दा खुलिरहेका छैनन्। भएका पनि ट्रेड युनियनहरुका असम्भव मागहरुका कारण बन्द हुने क्रम जारी छ। सेवाग्राहीको संख्या दिनानुदिन बढिरहे पनि त्यही अनुपातमा सरकारी दरबन्दी सिर्जना हुन सकेका छैनन्। यही कारण मुलुकमा वर्षेनि बेरोजगारको संख्या दिन दुगुना, रात चौगुना हिसावले वृद्धि भइरहेको छ। नेपाली श्रम बजारमा प्रत्येक वर्ष ३ लाख जना कामको खोजीमा भौतारिने तथ्यांकले पनि हाम्रो बेरोजगारी समस्या कति भयाबह छ भन्ने देखाउँछ। अर्कोतर्फ करिब २६ लाख नेपाली भारतबाहेकका मुलुकमा तल्लो स्तरको काममा संलग्न भएका तथ्यांकले पनि यसको आकार प्रष्ट्याउन मद्दत नै पुर्‍याएको छ।
एकातिर बेरोजगारीको स्थिति यस्तो कहालिलाग्दो छ भने अर्कोतिर खासगरी सरकारी नीति नियमहरु बेरोजगारमैत्री नभएकाले समस्या चर्कने क्रममा छ। कुनै पनि पद खाली छ भने त्यसमा प्रक्रिया र नीतिसम्मत तरिकाले आवेदन खुलाउने र पूर्ति गर्ने व्यवस्था लोकतान्त्रिक पद्दतिमा हुने गर्छ। यसरी आवेदन खुलाउँदा दक्ष र प्रतिभावान उम्मेद्वार छनौट हुन्छ भने बाँकीले कि थप मेहनत गर्नुपर्छ कि त वैकल्पिक बाटो रोज्नुपर्छ। जसले स्थायी सरकारको पगरी गुथेको प्रशासन संयन्त्र सक्षम र दरिलो हुन सक्छ। ताजा र जेहेन्दार तथा समयानुकूल जनशक्ति भित्रने भएकाले यस्ता व्यक्तिले परम्परावादी प्रशासनिक संयन्त्रको काँचुली नै फेरिदिने हैसियतसमेत राख्छन्।
तर अहिले यसरी केही वर्ष जागिर खाएकालाई स्वतः पदोन्नति गर्ने सरकारी निर्णय नै हचुवा, अविवेकी र अवैज्ञानिकसमेत छ। अहिलेको समस्या निम्तनुको कारण पनि यही हो। कुनै पनि पदमा पुग्नका लागि उसको क्षमता प्राथमिकतामा पर्नुपर्छ, उसले गरेको कार्यसम्पादन मूल्यांकन हुनुपर्छ। उसले तल्लो पदमा कति वर्ष काम गर्‍यो भन्ने आधार बढुवाका लागि पर्याप्त हुन सक्दैन। तर 'कहीँ नभएको जात्रा हाडीगाउँमा' भनेझैं बढुवाका लागि यहाँ तोकिएको आधार नै वर्तमान टाउको दुःखाईको विषय हो। जसले निजामती सेवालाई त गन्जागोल बनाउँछ नै, साथै क्षमतावान र इच्छाशक्ति भएका नेवप्रवेशीलाई पनि ढोका बन्द गर्छ।
२०६२/२०६३ को आन्दोलनमा अधिकांश जनता सहभागी थिए। ती कसैको पनि लोकतन्त्र प्राप्तिबाहेक अर्को कुनै स्वार्थ थिएन। तर यही आन्दोलनमा सहभागी भएवापत भाग खोज्ने कर्मचारी प्रवृत्तिका कारण सरकार उनीहरुसामु झुकेको थियो। त्यहीँबाट सुरु भएको गल्ती अहिले झांगिदै आएर निजामती सेवालाई अस्तब्यस्त बनाउनेसम्मको कारण बन्न बेर छैन। यो दरिद्र मुलुकमा एक लाखमुनि रहेका निजामती कर्मचारीमात्र त्यस्तो भाग्यमानी वर्गमा पर्छन्, जसले समयमा निश्चित आम्दानी र सुविधा हात पार्छन्। बाँकीको जीविकोपार्जन 'मनसुन' को भरमा टिकेको छ। त्यसैले लोकतन्त्रका नाममा राष्ट्रले केही प्रदान गर्न सक्ने अवस्था आयो भने पनि त्यसको लाभग्राही गरिब र निमुखा किसान हुनुपर्छ। मजदूर र किनारीकृत समुदाय हुनुपर्छ। भुइँ तहका जनता र जबर्जस्ती अछुत बनाइएका दलित हुनुपर्छ। न कि कर्मचारी। तर यहाँ जे नहुनुपर्थ्यो, त्यही भयो। जसको परिणाम अहिले 'बाथ' का रूपमा देखापर्नु स्वाभाविकै हो। आन्दोलनले कहीँ पनि 'बोनस' उपलब्ध गराउँदैन, किनकि यो नाफामूलक व्यवसाय हैन। तर यही नौटंकी मञ्चनमा यहाँका कर्मचारी भने सफल भए।
दशौं पटक सेवा आयोग दिँदा पनि पास नहुने शिक्षकहरु अहिले स्वतः स्थायी गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन्। काका-मामा क्याम्पस चिफ भएका भरमा एक पिरियड मागेर छिरेकाहरु धम्क्याएर करार हुँदै अहिले सोझै स्थायी गर्नुपर्ने माग थर्काइरहेका छन्। एक रुपियाँको टिकट टाँसेर नेताको हुकुम प्रमांगीबाट छिरेकाहरु जाँचै नदिई जीवनभर जागिर सुरक्षित हुनुपर्ने आवाज दन्काइरहेका छन्। यी सबै त्यस्ता रोग हुन्, जसलाई सुरुमै निदान गर्न सकिएन भने पछि उपचार असम्भव हुँदै जान्छ। अन्ततः यस्तै रोगहरुका कारण मुलुक क्यान्सरको बिमारीले कहिल्यै नउठ्ने गरी ग्रस्त हुन असम्भव छैन।

प्रतिक्रियाहरू (3)add comment
0
radharam: ...
मुख्य सचिव भोजराज घिमिरेको अदुरदर्शितावाट सुरु भएको गल्ती अहिले झांगिदै आएर निजामती सेवालाई अस्तब्यस्त बनाउनेसम्मको कारण लगभग बनिसकेको छ । परिणाम आउन मात्र बाँकि हो ‌‍‌॥
1

April 23, 2013
भोट: +9
0
Govinda Tripathee: ...
प्रिय सम्पादक ज्यु
निजामती सेवामा २४ घ १ बदुवा स्वत भएको होईन,बरु कार्य सम्पादन मुल्यांकन को आधारमा भएको हो,यस्मा बदुवा हुनेहरु न तपाईं ले भने जस्ता होईनन्,बरु प्रतिभा देखाएर लोक सेवा पास गरेरै सेवा प्रवेश गरेका हुन । सम्पादक हुँदैमा सबै एन नियम को ज्ञान नहुन सक्छ । हजारौंको प्रतिस्पर्धा बाट निजामती सेवामा प्रबेश पाएकाको बारेमा लेख लेखेर आफै हास्स्यको पात्र हुनु भन्दा अध्ययन गरेर लेख्ने पो हो कि
2

April 23, 2013
भोट: -8
0
subash: ...
Govinda jee, entry po competition bata garya ta 24Gha ka le. Ek patak entry bhaya paxi competition nai hudaina bhanne ta haina ni? promotion bhaneko jestha nagarik ko pagari hora jo senior vayo usaile paune? promotion ma ta capacity, ability, performance evaluation huna paryo ni! 12 years kaam gareko oversear le BE nai napadi kasari engineer ko kam garxa? health ma sufficent knowledge nabhayako Dr. bhaya paxi usle operation garna laagyo bhane k hunxa? Knowledge nai nabhayako manxe DFO bhayo bhane, kasto forest management garxa?sampadak ko analysis ekdam ramro xa, arko article lekhnus ajha kura haru add garera
3

April 23, 2013
भोट: +11

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता