Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

हतारको राजनीति

E-mail Print
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको नेतृत्वमा भएको आन्दोलनलाई सुरुमा धेरैले त्यो प्रजातन्त्र प्राप्तिका लागि वारपारको लडाइँ भएको बताएका थिए। तर यस सन्दर्भमा प्रश्न गर्दा आन्दोलनका नेता गणेशमान सिंहले राजनीतिमा वारपारको लडाइँ नहुने बताउँदै आफूहरूले थालेको आन्दोलन प्रजातन्त्र प्राप्त नहँुदासम्म जारी रहने बताएका थिए। त्यही आन्दोलनमार्फत् ३० वर्षपछि नेपाली जनताले निरंकुश पञ्चायती व्यवस्थाबाट मुक्ति पाएका थिए। तर पञ्चायतविरुद्धको लडाइँ ३० वर्षको समय सीमा तोकेर सुरु भएको थिएन। २०५२ सालमा विद्रोह गरेको माओवादीले पनि आफ्नो लडाइँ सय वर्षभन्दा बढी समयसम्म चल्न सक्ने बताएको थियो।

सिद्धान्त बोकेर गरिने राजनीतिका लागि उद्देश्य प्राप्तिको समय सीमा हँुदैन। त्यसैले त्यो सोह्रै आना शुद्ध हुन्छ। तर राजनीतिलाई व्यक्तिगत स्वार्थले ढाक्न पुगेमा सिद्धान्त ओझलमा पर्छ अनि सिद्धान्तरहित आन्दोलनका अगुवाहरूमा संकल्पको अभाव देखिन थाल्छ। उनीहरूमा उद्देश्य प्राप्तिका लागि हुनुपर्ने धैर्य समाप्त हँुदै जान्छ। अनि छिटो सत्ता र पद प्राप्त गर्न नेता र दलहरू आफूसँग हरेक विषयमा विपरित रहेकासँग 'कम्प्रमाइज' गर्न पुग्छन्। त्यसबाट सीमित समयका लागि दल र नेता विशेषले फाइदा उठाउन त सक्छन्। तर त्यसको दूरगामी परिणाम राष्ट्रका लागि अनुकूल हँुदैन। पछि गएर आफूले 'सर्टकट' फाइदाका लागि गरेका सहमति तिनै नेता तथा दलका लागि पनि प्रत्युत्पादक हुन जान्छन्। राजनीतिलाई आफ्नो तथा आफ्नो दलको स्वार्थका लागि प्रयोग गर्दै अगाडि बढ्नेहरू इतिहासमा असफल सावित हुँदै जान्छन्।
२०३७ सालको जनमत संग्रहमा पंचायतले धाँधली गरेर जितेको सबैलाई थाहा थियो। त्यस परिणामलाई बीपीले अस्वीकारमात्र गरेको भए जनता पञ्चायतको जरो उखेल्न तयार थिए। तर सिद्धान्तको राजनीति गर्ने महामानवले तत्काल आफूअनुकूल परिणाम भेटाएर सत्तामा पुग्ने लोभ देखाएनन्। सहयात्री नेता तथा कार्यकर्ताको अनेकन दबाबबीच उनले जनमत संग्रहको परिणामलाई स्वीकार गरे। त्यतिबेला विजयी हुन नसकेको प्रजातन्त्रलाई जनताले आफ्नो आन्दोलनको बलमा केही पछि भए पनि भेटाएरै छाडे। सिंहदरबारको कुर्सीमा धेरै जना बसिसकेका छन्। तर नेपाली इतिहासमा एक सुपात्रका रूपमा आफ्नो नाम दर्ता गराउनमा बीपी जति अन्य कोही सफल हुन सकेनन्। प्रजातन्त्र प्राप्तिका लागि अनवरत्रूपमा लाग्ने क्रममा उनको अवसान भयो तर उनी अझ पनि जनताको मनमा राज गरेर बसेका छन्। अझ कुनै बेला बीपीलाई राष्ट्रघाती भनेर नथाक्नेहरू नै अहिले उनलाई राष्ट्रियताको प्रतीकका रूपमा सम्झन्छन्। आफूलाई राष्ट्रको सच्चा सेवकका रूपमा प्रचार गर्दै हिँड्नेमध्ये धेरैजसो अहिले बीपीको तस्बिरसामु पनि निकै होचो देखिन्छन्।
सिद्धान्तको राजनीति भनेकै त्यागको राजनीति हो। अनि त्यस्तो राजनीतिलाई पछ्याउनेहरू मात्र देश र जनताका लागि लड्न तत्पर हुन्छन्। समयसीमाले उनीहरूका लागि कुनै अर्थ राख्दैन। राष्ट्रलाई हित पुग्ने किसिमको स्थिति नआउँदासम्म उनीहरू अनवरत्रूपमा लागिरहन्छन्। हुन पनि सिद्धान्तले सत्ता दिन्छ नै भन्ने पक्का हँुदैन। अनि सिद्धान्तको राजनीति गर्नेहरूमा सत्ताको लोभ पनि हुँदैन। उनीहरूको उचाई कुनै पनि पदभन्दा निकै माथि पुगेको हुन्छ।
२०४६ सालको आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले अन्तरिम प्रधानमन्त्री बन्नका लागि गणेशमान सिंहलाई प्रस्ताव गर्दा उनले त्यो प्रस्ताव सोझै अस्वीकार गरेका थिए। प्रधानमन्त्री नबने पनि गणेशमानलाई जनताले सबैभन्दा उचाईमा राखेका थिए र छन्। भारतकै उदाहरण लिने हो भने पनि मोहनदास करमचन्द गान्धी सत्तामा कहिल्यै आएनन् तर उनलाई अझ पनि भारतमा माहात्मा गान्धी भनेर राष्ट्रपिताका रूपमा पुजिन्छ।
तर अहिले नेपाली राजनीतिमा सिद्धान्तको लडाइँ लड्ने धैर्य देखिएको छैन। छिटोछरितोरूपमा आफ्नो उद्देश्य प्राप्त गर्न उनीहरूमा छोटो बाटो अवलम्बन गर्ने होडबाजी नै चलेको छ। अनि उद्देश्य भनेको पद र सत्ता प्राप्ति हुन पुगेको छ। यस प्रवृत्ति अंगालेर गरिएका हरेक आन्दोलनले अगुवाहरूलाई सत्तामा पुर्‍याउन सफल भए पनि जनताको स्थितिमा खासै परिवर्तन ल्याउन सकेको छैन र सक्दैन पनि। पद र प्रतिष्ठालाई केन्द्रमा राखेर गरिने राजनीतिले सिद्धान्तको छेउ पनि भेट्टाउन सक्दैन। त्यसले त राजनीतिलाई कुनै मेहनतविना सहजरूपमा किनेर खाने जंकफुडसरह बनाउँछ। अहिले नेपाली राजनीति 'जंकफुड' सरह नै हुन पुगेको छ। हतारको राजनीतिमा लागेका सबै कसरी हुन्छ, जति सक्यो चाँडो सत्तामा पुग्ने होडबाजीमा लागेका छन्। जनताको घरदैलोमा गएर उनीहरूको समस्या आत्मसात गर्ने परिपाटी अहिलेको राजनीतिमा औपचारिकतामात्र बन्न पुगेको छ, जुन निर्वाचनका बेला मात्र पूरा गरिन्छ।
अनि तत्काल सत्तामा आउनका लागि हुन सक्ने/नसक्ने सबै किसिमको नारा जनतासामु अगाडि सारिन्छ। जनताले माग्दै नमागेको मागलाई पनि पूरा गर्ने अठोट गरिन्छ। अनि सत्तामा पुगेपछि ती सबै माग रद्धीको टोकरीमा फाल्नुको विकल्प राजनीतिकर्मीहरूसँग हुँदैन। किनभने ती माग पूरा हुन नसक्ने किसिमका भएको उनीहरूलाई पहिल्यैदेखि नै थाहा हुन्छ। निर्वाचनका बेलामा जनतासमक्ष वाचा गर्दा सोचेर गर्नुपर्ने हो। जनताको विश्वासमा पछि कुनै किसिमको आँच नआउने किसिमले पूरा गर्न सकिने मागका सम्बन्धमा मात्र स्वीकृति जनाउनुपर्ने हो। तर त्यसो गरेको खण्डमा सत्ता आफूबाट टाढिने भय अहिलेका धेरैजसो राजनीतिकर्मीमा छ। पूरा गर्न सकिने मागका सम्बन्धमा पनि कुनै किसिमको प्रारम्भिक गृहकार्य नै नगरी निर्वाचन जित्नका लागिमात्र आश्वासन दिने गरिन्छ।
हतारको राजनीतिले मुलुकलाई दूरगामीरूपमा कत्तिको असर पार्छ भन्ने कुरा गत संविधान सभाले पनि सावित गरिसकेको छ। देशलाई संघीयतासहितको संविधान दिने भनेर वाचा गरेका दलहरू आफ्ना सबै वचनमा असफल प्रमाणित भए। हतार र व्यक्तिगत तथा दलगत स्वार्थमा अल्भि्कएर गरिएका वाचाले अहिले तिनै नेता तथा दललाई अप्ठेरो स्थितिमा पुर्‍याएको छ। मुलुक अहिले निर्वाचन उन्मुख भइसकेको छ। संघारमा आइसकेको निर्वाचन हेरेर धेरै राजनीतिक दल तथा नेताहरू असमञ्जस्यमा परेको आभास हुन थालेको छ। जनताले उनीहरूको असफलताबारे प्रश्न गर्न थालिसकेका छन्। उनीहरूसँग जनताको प्रश्नको जवाफ छैन। उनीहरू त जनतालाई भुलाउने किसिमका अन्य नाराको खोजीमा तल्लीन छन्।
मुलुकले बेहोरिरहेको वर्तमान विषम परिस्थितिको एकमात्र निकास भनेकै निर्वाचन हो। तर यसको अर्थ जसरी तसरी भए पनि निर्वाचनमात्र हुनु होइन। यसरी हुने निर्वाचनले मुलुकलाई निकास दिन सक्ने छैन। यस तथ्यलाई राजनीतिकर्मीहरूले आत्मसात गरे मुलुकका लागि राम्रो हुने थियो। मात्र निर्वाचन जित्नका लागि बनाइने घोषणापत्रको आयु लामो हुन सक्दैन। न त त्यसलाई यथार्थमा अनुवाद नै गर्न सकिन्छ। फेरि पनि हतारको राजनीति जारी रहेमा त्यसले केही नयाँ अनुहारलाई सत्ताको स्वाद चखाउला तर त्यसको दूरगामी दुष्परिणामलाई भने मुलुकले भोग्न बाध्य हुनुपर्नेछ। र, पछि गएर यो कसैका लागि पनि हितकर हुने छैन। सिद्धान्तविनाको शक्ति (सत्ता) ले मुलुकको हित गर्न सक्दैन।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता