Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

उल्टो बुद्धि

E-mail Print
संस्कृतमा एउटा उखान छ- 'विनास (नास) हुने बेलामा विपरित (उल्टो) बुद्धि आउँछ।' यो उखानले अहिले नेपालका चार राजनीतिक दलका नेतालाई सम्झाउँछ। उनीहरु राजनीतिक निकासका लागि भनेर निरन्तर विपरित या उल्टो बुद्धि लगाइरहेका छन्। नेपाली राजनीतिको १० महिने प्रहसनले यसैलाई पुष्टि गर्छ। संविधान सभाबाट संविधान निर्माण गर्नुको सट्टा संविधान सभा नै असामयिक मृत्युवरण गराएर संविधान सभाको निर्वाचन गर्न तम्सिनु र संविधान नबनाएको आरोपमा थप्पडको सामना गर्नु विपरित बुद्धिकै परिणम थिए।
संविधान सभाको नियम/विनियमले गर्दा काम गर्न अप्ठेरो परेको र सभासदहरुले मन लगाएर काम नगरेकाले नयाँ संविधान निर्माण नभएको होइन। देश दुनियाँलाई थाहा छ, यिनै चार दलका नेताले संविधान सभा अपहरण गरेर आ-आफ्नो खल्तीमा राखे र संविधान सभालाई कामै गर्न दिएनन्। आफूहरुलाई लोकतन्त्रको पक्षपाति र हिमायती भनेर नथाक्ने नेताहरुले नै नयाँ संविधानका विवादित विषयहरुलाई आपसी सहमतिमा समाधान गर्न पनि सकेनन् र सभासदहरुलाई उनीहरुको सार्वभौम अधिकार प्रयोग गर्न ती विवादित मुद्दाहरुलाई मतदानका लागि संविधान सभामा प्रवेश पनि गराएनन्। र, संविधानसभालाई विघटन गराए। संविधानको विषयमा भन्दा सत्ता समीकरणको विषयमै बढी बहस र छलफल गरे। र, त्यसैका लागि मरिहत्ते गरिरहे। यहीँबाट सुरु भयो उनीहरुको विपरित बुद्धिको आगमन र विनाश कालको शृंखला। संविधान सभाको विघटनपछि नेपाली राजनीति अँध्याँरो सुरूङबाट अगाडि बढिरहेको छ। कर्मचारीहरुको नेतृत्वमा असंवैधानिक सरकार गठन गरेर चुनावको रटान लगाइरहेका यी नेताले अगाडिका दिनमा झन ठूलो संकट डाकिरहेका छन्।
संविधान सभा विघटनपछि दलहरुलाई दुइवटा मात्र असंवैधानिक तर सहज बाटो थियो। ती उपायमध्ये पहिलो, संविधान सभा पुनर्स्थापना गरेर संविधान निर्माण गर्नु या अन्तरिम संविधानमा व्यवस्था नभएको नयाँ संविधान सभा चुनावको व्यवस्था गर्नका लागि संविधान संशोधन गर्नु। दोस्रो, सके सबै नभए पनि कम्तिमा संविधान सभामा प्रतिनिधित्व गरेका सबै दलबीच छलफल या नेकपा-माओवादीले भनेजस्तै गोलमेच सम्मेलन गरेर संविधान सभाले गरेको कार्यलाई संविधानकै अंग बनाई बाँकी नमिलेका विषयलाई लिएर निर्वाचनमा जानु। यी दुई विकल्पतिर गएको भए यतिबेला देशले नयाँ संविधान पाइसक्ने थियो या एउटा निकास पाइसक्ने थियो। तर चार दलका नेताहरुमा अहं देखियो। यी कुनै पनि विकल्पमा कहिल्यै छलफलै भएन बरु असंवैधानिक तरिकाले सरकारको नेतृत्व लिनलाई झगडामात्रै गरिरहे। झगडा मिल्ने स्थितिको थिएन। आखिर मिलेन। र, परिणामस्वरूप अहिले असंवैधानिक र तानाशाही तरिकाले अन्तरिम संविधानलाई क्षत विक्षत बनाएर संविधान, संविधानवाद र लोकतन्त्रकै मूल्य र मान्यता विपरित बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा कर्मचारी सम्मिलित सरकार गठन गरे। यो निर्दलीय सरकार गठनको परिणामलेे दलहरु शासन व्यवस्था सञ्चालन गर्न अक्षम छन् भन्ने मात्रै सन्देश दिँदैन, बरु यी नेताहरु लोकतन्त्र नै चाहँदैनन् कि भन्ने शंका जन्माएको छ।
च्ाार दलका नेताहरुले गरेको यो कार्यप्रति अन्य राजनीतिक दलहरुको त कुरै छाडौं, स्वयं सरकार गठन गर्ने ती पार्टीका दोस्रो दर्जाका नेताहरुलाई नै स्वीकार्य छैन। उनीहरु निरन्तर विरोध गरिरहेका छन्। चुनावी सरकारको नेतृत्व गरिरहेका अध्यक्ष खिलराज रेग्मीले शीतल निवासभित्र शपथ ग्रहण गरिरहंँदा चुनावमा भाग लिन जानुपर्ने राजनीतिक दलहरु नै बाहिर विरोध प्रदर्शन गरिरहेका थिए। त्यसपछि विरोधहरु निरन्तर जारी छ। अझै ३३ दलले यो सरकारको खारेजीको माग गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन्। चुनावमा भाग लिने राजनीतिक पार्टीहरु नै चुनाव गर्ने सरकारको विरोधमा छन् भने चुनाव कसरी होला? यदि भइहाल्यो भने पनि त्यस्तो निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ कि हँुदैन? र, त्यस्तो निर्वाचनबाट बनेको संविधान सभाले संविधान बनाउँछ भन्ने के निश्चितता छ? प्रश्नै प्रश्न जन्मिएका छन्।
संविधान कुनै दल र व्यक्तिको होइन, सबै जनताको लागि हो भने त्यो संविधान सभामा सबैको प्रतिनिधित्व हुनु अनिवार्य छ। एक थान संविधानमात्रै चाहिएको हो भने त २००४ सालदेखि २०६३ सम्ममा धेरैवटा संविधान बानिसकेका छन्। त्यसैले पनि अहिलेको चुनावविरुद्ध उठेका स्वरहरुको सम्बोधन गर्नैपर्छ, नत्र चुनाव असम्भव छ। यो सरकार संविधान सभाको निर्वाचन गर्नका लागि गठन भएको भने पनि यसको चरित्र र व्यवहारले त्यो दर्शाउँदैन। नेपाली काँग्रेस र एमालेका नेताहरुले त भनि नै सके कि यो सरकार चुनाव गराउनुभन्दा पनि बाबुराम सरकारलाई अपदस्त गराउनका लागि निर्माण गरिएको हो। चार दलका नेताहरुले प्रदर्शन गरिरहेका र अहिले भइरहेको एकलकाँटे र असंवैधानिक गतिविधिहरुले यसको पुष्टि गरिरहेको छ। संविधान सभाको निर्वाचन गर्ने भन्ने चर्का नाराहरु उराल्ने तर चुनावमा लैजानुपर्ने राजनीतिक दलहरुलाई नै चुनावमा जाने वातावरण नबनाउने गतिविधिले पनि उनीहरुको नियतमाथि शंकाको दृष्टिले हेर्न बाध्य बनाउँछ।
नेताहरु एकपछि अर्को गम्भीर गल्ती गरिरहेका छन्। निर्वाचनका लागि भनेर जुन बाटोमा उनीहरु हिँड्न खोजिरहेका छन्, त्यो बाटो नै अन्योल, अलमल, असंवैधानिक र अनिश्चित छ। विरोध र अवरोध हँुदाहँुदै पनि कुन तरिकाले कस्तो निर्वाचन गर्न चाहिरहेका छन् चार दलले? आमजनसमुदायले नबुझेको कुरा यही हो। निर्वाचन गर्नका लागि या भन्नका लागि हो? जनतालाई बुझ्न अप्ठेरो भएको छ। यो अप्ठेरो स्थितिमा जनता कसरी चुनावका लागि तयार हुने? चुनावअघि नै यी प्रश्नको उत्तर जनताले पाइसक्नुपर्नेछ होइन भने नहुने चुनावको लड्डु बाँडिहिँड्नु जनतालाई अझ मूर्ख बनाउनुमात्रै हो।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता