Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

जय संजम बाबा !

E-mail Print
विनोद पाण्डे - विनोद भण्डारीको जुझारु प्रदर्शन एसिसी ट्वान्टी-२० कपमा नेपालले उपविजेता हुनुका अलावा पाएको अर्को उपलब्धि थियो। मलेसियासँगको अफ्ठ्यारो स्थितिमा उनले अर्धसतक बनाए। त्यसले नेपाललाई सेमिफाइनलको बाटो देखाउँदै विश्व ट्वान्टी-२० छनोट चरणसम्म पुर्यालयो। ट्वान्टी-२० विश्वकप खेल्ने सपनालाई पनि ब्युँतायो।

विनोदले अन्ततः आफूलाई प्रतिभाशाली खेलाडी प्रमाणित गरे। नेपाली क्रिकेटमा विनोदको छवि पाकिस्तानका जावेद मियाँदादको जस्तै छ। चार वर्षअघि नेपाल हारको मुखमा पुग्दा विनोदले अन्तिम बलमा छक्का प्रहार गरी कुवेतविरुद्ध विजय दिलाएका थिए। त्यो उनको पहिलो खेल थियो। त्यसपछिका वर्ष उनले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। एक किसिमले हेर्दा अबुधावीमा अन्तिम बलमा प्रहार गरेको छक्काको ब्याज विनोदले अहिलेसम्म खाइरहेका थिए।
नेपाली टोलीका अर्का खेलाडी सञ्जम रेग्मीलाई विश्वास गर्नुहुन्छ भने विनोदले एसिसी ट्वान्टी-२० मा पाएको सफलताको अद्भूत भित्री पाटो अर्कै छ। 'विनोद निकै प्रतिभा भएका खेलाडी हुन्, मैदानमा भने उनले त्यो देखाउन सकेका थिएनन्,' विनोदमा सञ्जमले खेल बाहिरको समस्या देखे। सञ्जमले विनोदलाई एउटा लकेट र रुद्राक्ष दिए, सिंगापुरसँग विनोदले रुद्राक्ष लगाएर खेले। मजाले अर्धसतक बनाए। सञ्जमले भने, 'उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धसतक बनाउँदा सवैभन्दा खुसी हुनेमा म नै थिएँ होला। आउट भएर आएपछि विनोदले पहिला मलाई धन्यवाद दिए।'
सञ्जमलाई नेपाली टोलीमा 'सञ्जम बाबा' भनेर भनिनुका कारण यिनै हुन्। तीन वर्षअघि इटाली खेल्न जानुअघि टोलीका अर्का खेलाडी मञ्जित श्रेष्ठले यो नाम जुराइदिएका थिए। नेपाली टोलीमा सञ्जम सवैभन्दा ब्रुजुक खेलाडी पनि हुन्। उनले दिने उपदेशहरुलाई 'सञ्जम वाणी' पनि भनिन्छ। आफ्ना टोलीका सदस्यहरूलाई मात्र नभई आफ्नो अगाडि आउनेहरूलाई उनी स्टिभ जब्सको निधनपछि परेको प्रभावदेखि नेपाल परिवार दल, हरियाली पार्टीको स्थिति र नेपालमा हकी खेलको सम्भावनासम्मका बौद्धिक तर्क राखिरहेका हुन्छन्। प्रशिक्षक पुबुदु दासानायके पनि उनका अगाडि कहिलेकाहीँ नतमस्तक हुन बाध्य हुन्छन्।
एसिसी ट्वान्टी-२० कपभरि नेपाली टोली सोल्टी होटेलमा बस्न जाँदै थियो। नक्सालबाट जाँदै गर्दा उनले कालिमाटी नपुग्दै अंक विज्ञान निकालिहाले। 'हामी चौथो तलामा बस्ने हो भने नेपाल फाइनलमा पुग्छ र उपाधि पनि जित्न सक्छ,' सोल्टी नपुग्दै सञ्जम बाबाको जिद्धी सुरु भइसकेको थियो। व्यवस्थापक सञ्जीव पाण्डेले यो सन्देश दासानायकेसामु पुर्याबए, प्रशिक्षक पनि सञ्जम पथमै मोडिए।
सञ्जमको मन भित्रबाट आएको पक्ष अथवा 'इन्स्टिङ्ट' यतिमै सीमित हुनेवाला थिएनन्। सञ्जमलाई फेरि भित्रबाटै आफ्नोअगाडि केही आएजस्तो लाग्यो। फेरि अंक विज्ञान सुरु भयो। 'माल्दिभ्ससँग खेल्न जाँदा चढेको बसमै गएर सबै खेल खेल्नुपर्ने' लाग्यो। सञ्जमले यो बसमा नेपालको सफलता देखेका थिए। १ नम्बर लटको बस थियो र नम्बर १३५। सवै जोड्यो भने १० हुन्थ्यो र अगाडि १ नम्बर आउँथ्यो। यसपटक उनले व्यवस्थापक पाण्डेलाई मञ्जुर गराए। दोस्रो खेलमा यो बस हङकङ टोलीले चढ्यो र नेपाललाई हरायो। त्यसपछि नेपालले यो बस कहिल्यै छाडेन।
मलेसिया चढेको बस नम्बर पनि सबै जोड्यो भने अगाडि १ आउँथ्यो। आफ्नो 'इन्सटिङट' जुध्ला भन्ने डरमात्र थियो सञ्जमलाई। नेपालले राम्रो सुरुआत गर्यो्। मलेसियाले पनि सुरुआती जवाफ त्यस्तै फर्कायो। नेपालले बलिङ र फिल्डिङले खेल जित्यो। नेपालको बानी बेहोरा, पारो र प्रवृति पूरै फरक भयो। 'यसले ट्वान्टी-२० मा धेरै फरक पार्छ। मलेसियासँगको खेलले नेपालको पारा पूरै परिवर्तन भयो। अफगानिस्तानलाई हामीले जुन चुनौती दियौं, त्यो विजय जस्तै हो। मलेसियासँगको खेलले यो स्थिति बनायो। यो परिवर्तनको क्षण प्रभाव विश्व ट्वान्टी-२० छनोटमा पनि देख्न पाइने छ,' सञ्जमको 'इन्स्टिङ्ट' अनुसार नेपाललाई अब उपाधि भिडन्तको मात्र प्रतीक्षा थियो, युएईसँगको कठिन सेमिफाइनल खेलको कही हिसाब किताब नै थिएन।
सञ्जम बाबाको यस्ता स्वभावले हक्की स्वभावका कप्तान पारस खड्कालाई समेत पगालेको थियो। नेपाल एपिएफ क्लब दुई वर्षअघि भारत खेल्न गएको थियो। समूह चरणका खेल सकिएपछि पुनेमा सेमिफाइनल प्रवेश गर्ने सम्भावना नेपाली टोलीमा रहेन। अर्को टोलीमा भर पर्ने भयो। स्थानीय दुई टोली समूह चरणका अन्तिम खेल्दै थियो। एपिएफ टोली ढुकढुक मन लिएर खेल हेर्न मैदान पुग्यो। सञ्जम बाबाले पारसको हातमा हनुमान चालिसा राखिदिए। एपिएफलाई आवश्यक पर्ने टोलीले खेल १ रनले जित्यो।
सचिन तेन्दुलकर ब्याटिङ गर्न जानुअघि पहिले देब्रे खुट्टामा प्याड लगाउँछन्। मैदानमा उत्रिँदा स्टिभ वाको खल्तीमा हजुरआमाले दिएको रुमाल हुन्छ। वीरेन्द्र सेवाग आमाले दिएको रुमाल टाउकोमा बाँधेकै हुन्छन्। नेपाली टोलीका व्यवस्थापक पाण्डे पनि प्रतियोगिताभरि यस्तैमा अल्भि्कए। उनले दाह्री काटेर जाँदा हङकङसँग नेपाल पराजित भयो। त्यसपछि प्रतियोगिताभरि दाह्री नै काटेनन्। सञ्जम बाबाको प्रभावले नछोए पनि उनी परिवर्तित स्वरूपमा आफैं ढुक्क हुन सकेनन्।
'मेहनत गर्नुपर्छ अनि मात्र भाग्यले साथ दिन्छ', यो पनि सञ्जम बाबाकै तर्क हो। त्यसमा सबै पक्ष मिलाउनु पर्छ। मन भित्रैबाटै केही आयो भने त्यो उतारी हाल्नुपर्ने उनको भनाइ छ। एसिसी ट्वान्टी-२० को सफलतालाई उनी दासानायके फ्याक्टर प्रमुख मान्छन्। आफ्ना गुरुलाई मेहनती प्रशिक्षक मान्दै उनी भन्छन्, 'नेपाली टोलीमा उनी ब्रदर फिगर भएर कार्य गरिरहेका छन्। ब्रदर र फादर फिगरमा फरक छ। फादर फिगरमा मान्छे जहिले पनि डराउँछ। ब्रदर फिगरमा एक आपसमा साथीजस्तै हुन्छ। त्यसैले नेपाली टोली एक ढिक्का छ।'
- - - - -
फाइनलमा चारपटक उपाधि जितेको अफगानिस्तानसँग हारे पनि नेपाल प्रतियोगिताको वास्तविक विजेता थियो। पहिलो संस्करणमा दुई संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। १६ महिनाअघि प्रतियोगिताको पछिल्लो संस्करणमा नेपाल मुस्किलले सेमिफाइनलसम्म पुगेको थियो। त्यतिखेर युएई र अफगानिस्तानसँग नेपाल सजिलै पराजित भएको थियो। 'पछिल्लो प्रतियोगितामा हेर्ने हो भने हामी युएई र अफगानिस्तानसँग खेल्नका लागि खेलेजस्तै भएको थियो। अहिले हामीले युएईलाई नै हराएर अफगानिस्तानलाई फाइनलमा बलियो चुनौती दियौं,' दासानायके नेपाली टोलीमा आएको फरक केलाउँछन्।
यो यस्तो प्रतियोगिता सावित भयो, जहाँ सबैको विजय भयो। अफगानिस्तानले चौंथो संस्करणमा पनि कुनै टोलीलाई अवसर दिएनन्। माल्दिभ्सले सिंगापुरमाथि सनसनी विजय हात पार्यो। अफगानिस्तान र युएईलाई कडा टक्कर दिएको कुवेतले बाँकी दुई खेल जित्यो। पछिल्लोपटक समूह चरणबाटै बाहिरिएपछि विश्व ट्वान्टी-२० छनोटमा हुन असफल भएको युएई यसपटक सेमिफाइनलसम्म पुग्यो। हङकङ लगातार दोस्रोपटक सेमिफाइनल पुगी विश्वकपको यात्रामा निरन्तर रह्यो।
सिंगापुरले प्रतियोगिताको सबै चार खेल हार्‍यो। टोलीका श्रीलंकाली मुलका खेलाडी चामिन्दा रुवानले कहिल्यै नबिर्सिने क्षण बोकेर फर्किए। उनी बिहानको फ्लाइटमा लुम्बिनी दर्शन गर्न गएर साँझ काठमाडौं फर्किए। अर्को दिन माल्दिभ्ससँगको खेलमा उत्रिए। ७ वर्षअगाडि पनि रुवान क्रिकेट खेल्न नेपाल आएका थिए, लुम्बिनी जाने साइत भने यसपटक मात्र जुर्योा। 'मेरो जिन्दगीको लक्ष्य पूरा भयो। मलाई एकपटक शान्ति क्षेत्र लुम्बिनी पुग्नु थियो। लुम्बिनी निकै शान्त र सुन्दर लाग्यो। म साथीहरूलाई एकपटक पुग्नैपर्ने ठाउँ भनेर भन्छु,' रुवानले भने। शक्ति गौचनले आफूसहित अमृत भट्टराई, बसन्त रेग्मी र राहुल विक त्यही क्षेत्रको भनेपछि रुवानका लागि लुम्बिनी नपुगी नहुने स्थल भयो।
ओमान पहिलो तीन संस्करणमा सेमिफाइनलसम्म पुगेको टोली हो। पहिलोमा अफगानिस्तानसँगै संयुक्त विजेता बनेको थियो। अफगानिस्तान र युएईकै समूहमा परेकाले ओमानको लक्ष्य खासै ठुलो थिएन। एक खेलमात्र जित्न सकेकोमा टोलीले खासै दुःखमनाउ गरेन। काइस विन खालिद अल साइद ओमानका खेलाडीमात्र होइन राजकुमार पनि हुन्। उनका लागि नेपालको माहोल विशेष थियो। ठमेलमा किनेको खुकुरीसहित अन्य उपहारले उनको झोला क्रिकेट किटभन्दा ठूलो बनेको थियो।
नेपालसँग हारको पीडा रोय डायसलाई छुट्टै थियो होला। खेल हारेपछि नेपाली व्यवस्थापक पाण्डेको 'सरी' मा डायसले हार मानेनन् र भने, 'दुवै टोलीले जितेको हो, खेल निकै रमाइलो भयो। दर्शकले दुवै टोलीलाई खेलपछि उत्तिकै सम्मान गरे।' उनी नेपाली दर्शकलाई एसोसिएटकै उत्कृष्ट दर्शक मान्छन्। नेपालको १० वर्ष प्रशिक्षक रहेका डायसको मलेसियाली टोली खेल सकिएपछि मनकामना पुगेको थियो।
एसिसी ट्वान्टी-२० कपलाई विजय गराउने यिनै दर्शक थिए, जसले नेपालको खेलमा कहिल्यै कीर्तिपुर मैदानमा खाली ठाउँ राखेनन्। विशेष गरी नेपालको मलेसिया, युएई र फाइनलमा अफगानिस्तानसँगको खेल हेर्न मानवसागर नै ओर्लिएको थियो। पूर्वमा सानेपा, पश्चिममा कलंकी खसी बजार, उत्तरमा कुलेश्वर र दक्षिणमा नयाँबाटोसम्म देखिएको भीड यसको प्रभाव थियो। फाइनलमा २५ हजार दर्शक मैदानभित्र थिए। खेल हेर्न आउने दर्शक जनआन्दोल- २ मा सहभागी भएझैं दंग थिए।
फाइनलमा हारे पनि दर्शकले नेपाली टोलीलाई तालीले जुन सम्मान गरे त्यसलाई धेरैले प्रतियोगिताको उत्कृष्ट क्षण माने। अफगानिस्तानका कप्तान मोहम्मद नावीले उपाधि जितेपछि यिनै दर्शकको भूमिका केलाउँदै भने, 'फाइनलमा हामी केही दबाबमा थियौं। फाइनल हाम्रा लागि दर्शकसँग खेल्नु जस्तो थियो। यसपटक दर्शक संयमित थिए। पहिलाभन्दा शान्त र परिपक्व पनि भएछन्। पहिले नेपाल हार्दा ढुंगा नै हानेका थिए।'
नेपाल यही प्रतियोगिताको पछिल्लो संस्करणमा युएईसँग हारको नजिक पुग्दा दर्शकले मैदानमै ढुंगासमेत हानेका थिए। यही कारण थियो नेपाललाई अघिल्लो वर्ष कुनै प्रतियोगिता गर्न नै दिइएको थिएन। यसलाई मनन गर्ने हो भने आयोजनाको हिसाबमा पनि नेपाल विजेता बन्यो। आयोजक थप खुसी हुनुको कारण अर्को थियो, जब एसियाली क्रिकेट परिषद् पदाधिकारीले नेपालमा अर्को वर्ष थप प्रतियोगिता लिएर आउने संकेत गरे।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार